माकुरे यो जालो, मगजमै
मक्किन्छ कि क्या हो
विचार मेरो
जुन छ भित्र जालोमा जडिएको।
पोखेर यो पोख्न नपाउँदै
पोखिन्छन् कि भावहरू
जुन कहिल्यै भएनन् आफ्नो
न तिम्रो, न मेरो।
नबोलेरै बोलूँ भन्छु
बाँधिएको बोली मेरो
नखोलेरै खोलूँ भन्छु
खाँदिएको खोज मेरो।
सोचेर यो
सोच्नै नसकिने
खै, कस्तो यो सोच मेरो।
न त देख्छु, न देखाउँछ
न त सुन्छु, न सुनाउँछ।
जुन थ्यो यो मगजमा कहिल्यै
सेरोफेरो मेरो।
तर आज
शून्य छु म सुनसानमा
गुन्य छु म गुणगानमा
खोजी हिँड्छु खोजहरूमा
उज्यालो यो किरणसँगै
उदाउँदै छ बोध मेरो।
भाग्यरेखा हुन्छ भन्छन्
खै के लेखेछ कुन्नि यसले
मेटाउनै सकिनँ मैले
खोजी हिँड्छु जतातता
भेट्टाउनै सकिनँ कहिल्यै।