जब मनको मरुभूमिमा खडेरी पर्छ
कविताले शीतलताको झरी बर्साउँछ
जब पेट भरिएर पनि अन्तर्मन भोको रहन्छ
शब्दका साना दानाहरूले तृप्ति दिलाउँछ।
जसरी अन्नले शरीर पाल्छ
कविताले चेतना जगाउँछ
निरीहको दबिएको आवाजलाई
उभिन सक्ने साहस दिन्छ
कविताले शासकको तरबार
कलमको नोकले काट्न सिकाउँछ
र समाजको बन्जर भूमिमा
प्रेमको बिरुवा उमार्छ।
हो,
कविताले अण्डा पार्दैन
तर हजारौँ सपनाहरू
कोरल्ने सामर्थ्य राख्छ
कविताले अन्न फलाउँदैन
तर बाँच्ने आशा फलाउँछ
कविताले प्रश्न फलाउँछ
र ती प्रश्नहरू नै हुन्
जसले मानिसलाई
पशु हुनबाट जोगाउँछन्।
कविता उपभोगको वस्तु होइन
यो त चेतनाको विस्तार हो।
हो हजुर,
शरीर बाँच्न रोटी चाहिन्छ
तर मान्छे भएर बाँच्न
तिनै रोटीका कथाहरू
तिनै कथाका कविता चाहिन्छ।