हिमाल हाँसेको छैन
गोधुली रोइरहेकी छे
गोठालाहरू निराश छन्
आउने रातको सन्नाटा सम्झेर।
रातले धेरै पटक निद्रा चोरेको छ
धेरै नानीहरूको सपना लुटेको छ
आमाहरू पीडाले रोइरहेका छन्
तिनीहरूको काख रित्तिएको छ
रित्तो काख ठटाएर
अलौनाबिलौना गर्दै
चिहान कोट्याउन हिँड्छन् आमाहरू।
एक झोला मृत जिन्दगी बोकेर
मान्छेहरू कहाँ जान हिँडेका हुन्?
हतारोमा छन् तिनीहरू
आफ्नै जिन्दगी घिसारेर
घर-परिवार छोड्नुको पीडा
अनुहारभरि पोतेर
बिरक्तिएको गीतहरू गाउँदै
गन्तव्यहीन यात्रामा छन् तिनीहरू।
घरको दुःख सम्झेर
आँखाबाट आँसु बर्सन्छ
साहुको ऋण तिर्न नसक्दा
जहान परिवारको माया मारेर
घर-खेत निखन्नका लागि
बिदेसिन बाध्य छन् तिनीहरू।
रहरहरू पाइतालाले कुल्चिएर
खुसीहरू चपाउँदै
दुःखहरू सिरानी लगाएर सुत्छन्
जिन्दगीका परिभाषा भेट्दैनन् तिनीहरू।
जिन्दगी हारको गीत जस्तै बनेको छ
जिन्दगीमा हार-जित हुन्छ भन्थे
जित अर्कैले खोसी लगेको छ
बाँच्दै मर्दै कति गर्ने ?
बाँच्ने आशा मरेको छैन फेरि किन ?
यतिन्जेल रोइ बस्यौँ
तिम्रो दमन खप्ने कति?
तिम्रो हाँसो खोस्छौँ अब
हाम्रो हाँसो खोसेपछि
निमुखा नि एक जुट भए
तिम्रो अवसान पक्का भएपछि।