कविता
मान्छेहरू भन्छन्
गुँड छोडेर आकाशमा उड्ने
चराको कथा जस्तै हो जीवन।
हिमालबाट पग्लिएर समुन्द्रतिर बगेको
पानीको अनिश्चित यात्रा हो जीवन।
जीवन बत्तीको वरिपरि घुमिरहने
पुतलीको दु:खान्त कथा हो?
या फूलका नाभी चुसेर
मधु बनाउने मौरीको कर्म झैँ हो?
जीवन यायावरको यात्रा जस्तै हो?
वा, गन्तव्यहीन यात्रीको दौड?
सोच्दछु,
ऊ जीवनको अस्तव्यस्त दौडमा छ।
जीवनको भाग दौडमा ऊ यसरी दौडिएको होला
जसरी कलिला हत्केलामा बन्धक हुने डरले पानीकीरो भाग्दछ।
ऊ जीवनको भाग दौडमामात्र होला
या जीवनका रङ्गहरूबाटै भाग्दै होला?
जीवनका रङ्गबाट नभाग्दो हो त
म एकलासमा लास झैँ बाँचेको उसलाई पत्तो हुँदो हो
र, शायद फर्कँदो हो उसको नाभी गाडिएको आँगन
जसरी चारा खोज्ने गएकी भंगेरी गुँड फर्किन्छे।
म सोच्दछु ऊ आउने आश मर्नुअघि
म आफै मरें भने?
मेरो चिसो शरीर जब तुलसीमठ छेउ लमतन्न हुँदो हो
ऊ सबथोक छोडेर शव हेर्न अवश्य आउँदो हो।
र, ढोग्दो हो मेरा गोडा अन्तिम पटक।
सासले साथ नछोड्दै म सोच्दछु
ऊ ग्लानीको आगोमा जलेर आउँदो हो
वा पश्चाताप पखाल्न?
दु:खी भएर आउँदो हो वा दु:खी देखिएर
रूँदै आउँदो हो वा रूवाएको सम्झेर?
मैले ताते ताते गराउँदा
उसले पक्डेका मेरा औंलाहरू सम्झँदै आउँदो हो
वा म निष्प्राण झैँ ढलेको बेला उठाउन नआएका
उसका बलिष्ठ पाखुरा र हात हेर्दै?
ऊ आफू घोडा भएर चढेको मेरो पिठ्युँ सम्झँदै आउँदो हो?
वा म बाँचुञ्जेल उसले मपट्टि फर्काएको पिठ्युँ?
म एकलासमा लास झैँ बाँचेको बेला कहिल्यै नआएको ऊ
भीडबीच लमतन्न लास भएको बेला आउने छ शायद।
मलामी जान जम्मा हुने मेरा गाउँले आफन्तहरू हो
मेरो लास छेउ बसेको उसलाई कसैले चोर औँला नठड्याइदिनू।
तिखा, चिसा प्रश्नले भरिएका तिम्रा आँखाहरूले उसलाई नघेर्नू।
नचिथोर्नू उसलाई निर्मम प्रश्नहरूले
मेरो रक्त अंश छ उसमा
उसलाई घृणाको नजरले हेर्दै नहेर्नू।
ऊ रोयो भने उसको आँसुमा शंका नगर्नू।
कसैले नभनिदियोस्
म लास भएर आगोमा जल्नु अघि
चिन्ताको आगोमा खरानी भएको थिएँ।
बरू उसलाई भनिदिनू
तिम्रा बाको स्मृति डुंगाले पानीमा बनाएको बाटोजस्तै थियो।
तिम्री आमाको स्मृति जहाजले बादलमा बनाएको धर्सोजस्तै थियो।
उनीहरूको स्मृतिको आयु चुरोटको धुवाँले
हावामा बाँचेको आयुभन्दा कम थियो।
उसलाई कसैले नभनोस्
काँचा चिसा बाँसको ओछ्यानमा सुतेको मेरो निष्प्राण शरीर
उसका बलिष्ठ पाखुराले उठाउन पाउने छैन
काँधले बोक्न छैन।
निश्वास बन्द मेरो मुखमा सलेदो बालेर
मलाई दागबत्ती दिन पाउने छैन।
खरानी भएर पानीमा बग्नुअघि
धुवाँ भएर हावामा बिलाउनुअघि
मलाई उसको समीप हुनु मन छ।
आगो नै सही
मलाई अन्तिम पटक उसले दिएको
न्यायो स्पर्श अनुभूत गर्न मन छ।