डायरीको अन्तिम पाना पल्टाउँदा आज पनि आयुषाका औँलाहरू त्यसैगरी काँप्छन्, जसरी वर्षौँअघि भन्ज्याङबाट ओर्लिएको त्यो चिसो कुहिरोमा काँपेका थिए। पानाको ठीक बिचमा मसी उड्दै गरेको एउटा पुरानो प्रश्नले अझै सास फेरिरहेछ— ‘म के चाहन्छु?’
यस प्रश्नको ठीक तल आज पनि उस्तै खाली ठाउँ छ, तर त्यो खाली ठाउँ रित्तो छैन; त्यहाँ आयुषाको मौनता, उसका दबिएका आकाङ्क्षा र एउटा सिङ्गो समयको अदृश्य सुस्केरा कैद भएको छ। ऊ जब–जब विगतको त्यो आँगन सम्झन्छे, उसलाई लाग्छ— उसको कथा कुनै घटनाको विवरण होइन, बरु आफ्नै आवाज खोज्दाखोज्दै हराएको एउटा लय बनेर बसेको छ।
त्यस अपराह्न घामले आँगनको आधा भूभागलाई छाडेर भित्ताको पाखो मात्र न्यानो बनाउँदै थियो। आँगनभरि मकैका दाना छरिएका थिए। आयुषा चुल्होबाट ल्याएको भुटेको मकैको थाल काखमा राखेर पिँढीमा बसेकी थिई। पर भन्ज्याङमा कुहिरोको सेतो च्यादर बिस्तारै तन्किँदै थियो— कहिले पहाडको काँधमा बेरिँदै त कहिले तल बेँसीतिर झरेर बाटो नै निल्दै।
उसले थालबाट केही मकै टिपी। मुखसम्म पुर्याउन खोज्दा अचानक उसको हात हावामै जडवत् भयो। भन्ज्याङको त्यो बाक्लो कुहिरोभित्र उसले सायद आफ्नै भविष्यको अस्पष्ट आकृति देखी। भित्र कतै, छातीको गहिराइमा वर्षौँदेखि कसिँदै आएको एउटा अदृश्य गाँठो चट्ट चुँडिएजस्तो भयो।
टिनिन्न...
उसका हातबाट स्टिलको थाल खस्यो। भुटेका मकै आँगनभरि छरिए। कुखुराहरू हतारिँदै दानातिर झुम्मिए। आयुषाका औँलाहरू आफैँ भित्रपट्टि कस्सिए, घाँटी एकातिर लत्रियो र ऊ पिँढीबाट आँगनको चिसो भुइँमा ढली।
‘लौ, फेरि सुरु भो!’ भाउजूको अत्तालिएको स्वरले घरको शान्त वातावरण भङ्ग गर्यो।
आमा हस्याङफस्याङ गर्दै दौडेर आइन्। कसैले उसको निधारमा चिसो पानी छम्कियो, कसैले चिसिएका हातखुट्टा मोलिदियो। छिमेकीहरूको भिड जम्मा हुन बेर लागेन। कोही कुलदेवता रिसाएको अड्कल काट्दै थिए, कोही हतार–हतार धामीलाई फोन गर्न सुझाइरहेका थिए। आमाले पुरानो साडीको च्यातिएको टुक्रा बालेर आयुषाको टाउको वरिपरि सातपटक घुमाएर चौबाटामा फालिन्।
‘पढेलेखेकी केटी भएर पनि के दशा लागेको होला?’ एउटी छिमेकीले मुख खुम्च्याउँदै भनिन्। ‘अब बिहे गरिदिनुपर्छ। उमेर पनि ढल्किन लाग्यो। घरजम भएपछि मन आफैँ स्थिर हुन्छ,’ अर्को स्वरले उसको जीवनको फैसला सुनायो।
करिब आधा घण्टापछि आयुषाले आँखा खोल्दा दलिनमा माकुराको जालमा अल्झिएको एउटा झिँगा पखेटा फटफटाइरहेको थियो। ऊ एकोहोरो त्यसलाई हेरिरही। उसको वरिपरि आफन्त र छिमेकीहरूको बाक्लो भिड थियो, तर उसलाई भने त्यस भिडका बिचमा आफू कतै एक्लै छुटेको अनुभूति भइरहेको थियो।
आयुषा गाउँकै विद्यालय छिचोलेर कलेज पुगेकी थिई। किताबका पानाहरूमा उसको रुचि केवल परीक्षा पास गर्नमा सीमित थिएन। ऊ कविता पढ्थी, डायरीमा मनका म के चाहन्छु? अव्यक्त छालहरू पोख्थी र समाजका विभेदहरूमाथि प्रश्न उठाउँथी।
कलेजका छलफलहरूमा ऊ शिक्षा, असमानता र मान्छेको स्वतन्त्रताबारे निर्धक्क बोल्थी। उसलाई आफ्नो नामभन्दा आफ्ना विचार चिनिऊन् भन्ने गहिरो चाहना थियो। विडम्बना, आफूले खोजेको जीवनको ठोस नक्सा के हो भन्ने कुरा उसले आफैँलाई पनि प्रस्ट्याउन सकेकी थिइन।
बुबाको मृत्युपछि घरको आर्थिक मेरुदण्ड भाँचिएको थियो। त्यसै समयदेखि ऊ गाउँमै बस्न थालेकी थिई। आमाको जीर्ण स्वास्थ्य, भाइबहिनीको पढाइ र खेतबारीको अनन्त कामले उसको समयलाई चौतर्फी घेरेको थियो। कलेजबाट फर्कनेबित्तिकै झोला बिसाएर भान्सामा पस्नु, बिहान झिसमिसेमै पानी बोक्नु, घाँस काट्नु र आमाको औषधि मिलाउनु उसको अघोषित धर्म बनेको थियो।
ऊ परिवारप्रतिको जिम्मेवारीबाट भाग्न चाहन्नथी, तर आफ्ना आकाङ्क्षा र घरको आवश्यकताबिच निरन्तर सम्झौता गरिरहँदा उसका मनभित्र एउटा अदृश्य गाँठो कसिँदै गएको थियो। किताब खोलेर बस्दा घरको रित्तो भकारीले गिज्याउँथ्यो, घरका काममा जोतिँदा कलेजका छुटेका पाठहरूले पोल्थे। उसलाई लाग्थ्यो— आफ्नो भागको समय अरूका आवश्यकताहरूले निलिरहेका छन्।
एकपटक परीक्षाको नतिजा सोचेजस्तो आएन। कक्षाकोठामा शिक्षकले सबैका अगाडि व्यङ्ग्य कसे, ‘तिमी ठूला–ठूला कुरा त निकै गर्छ्यौ, तर नतिजा भने यस्तो!’
कक्षामा हाँसोको फोहोरा छुट्यो। आयुषा चुपचाप टाउको निहुराएर बाहिर निस्किई। घर फर्कने बाटामा खेतको डिलमा बसेर उसले आकाशतिर हेरी। हावाले बादलका टुक्राहरूलाई यताउता धकेलिरहेको थियो। उसलाई आफ्नो अस्तित्व पनि ठ्याक्कै त्यही बादलजस्तो लाग्यो— जसको न कुनै निश्चित आकार छ, न त आफ्नै रोजाइको दिशा।
त्यसपछि उसका रातहरू अनिद्राको सिकार हुन थाले। रातभरि छटपटीमा बित्थ्यो, बिहान उठ्दा शरीर सिसाजस्तै भारी हुन्थ्यो। मनभित्र ज्वालामुखीझैँ अनेक कुरा उम्लन्थे, तर कसैसँग पोख्न खोज्दा शब्दहरू घाँटीमै अड्कन्थे।
पहिलोपटक कलेजको पुस्तकालयमा उसको शरीरले विद्रोह गरेको थियो। किताबका अक्षरहरू एक्कासि धमिला हुँदै गए, साथीले बोलाएको आवाज कुनै गहिरो इनारबाट आएजस्तो सुनियो। उठ्न खोज्दा खुट्टाले शरीरको भार थाम्न सकेनन् र ऊ भुइँमा ढली।
सहरको अस्पतालमा परीक्षण गर्दा चिकित्सकले शारीरिक रूपमा कुनै खराबी नभएको बताए। बरु उसका आँखामा गहिरिएर हेर्दै भनेका थिए, ‘शरीरले सधैँ रोगको कारण मात्र बताउँदैन, नानी। कहिलेकाहीँ मनमा थुप्रिएर बसेका अव्यक्त तनाव र दबाबहरू पनि यसरी शरीरमार्फत विस्फोट हुन्छन्।’
आयुषाले मौन सहमतिमा टाउको हल्लाई, तर उसका मनभित्र के पाकिरहेको छ भन्ने कुरा स्वयं उसलाई नै पत्तो थिएन। घरमा भने चिकित्सकको विज्ञानभन्दा गाउँको अन्धविश्वास बलियो थियो। आमाले छोरीको पीडा देखेर आँसु त बगाइन्, तर उसको मौनताको भाषा पढ्ने सामर्थ्य उनीसँग थिएन।
‘अब तँलाई बिहे गरिदिए मलाई पनि शान्ति मिल्थ्यो,’ एक साँझ आमाको स्वरमा माया, चिन्ता र समाजले सिकाएको पुरानो विश्वास एकैसाथ पोखियो, ‘आफ्नो घर भएपछि दुःखसुख बिसाउने काँध त हुन्छ।’
आयुषालाई विवाहसँग कुनै घृणा थिएन, तर विवाहलाई हरेक मानसिक उकुसमुकुसको अचुक औषधि मान्ने सोच ऊ स्वीकार्न सक्दिनथी। उसले सुस्तरी भनी, ‘आमा, म अहिले केही गर्न चाहन्नँ।’
‘के गर्न चाहन्छेस् त?’ आमाको प्रतिप्रश्नले उसलाई फेरि निरुत्तर बनायो।
गाउँमा एक छिमेकीको मृत्यु हुँदा शोकसभामा जम्मा भएका गाउँलेहरूबिच मृतकका विदेशिएका छोराछोरीको चर्चा चल्यो। कसैले समयमै घरजम नगरिदिँदा सन्तान बिग्रने तर्क गरे त कसैले ‘धेरै पढेलेखेका छोरीहरूले स्वतन्त्रताको नाममा घरपरिवारको इज्जत र मर्यादा बिर्सन्छन्’ भने।
आयुषा छेवैमा बसेर ती कुरा सुनिरहेकी थिई। ती वाक्यहरू सोझै उसतिर लक्षित थिएनन्, तर प्रत्येक शब्दले उसको आत्मसम्मानमा सियोले झैँ घोचिरहेको थियो। उसलाई लाग्यो, आफ्नो जीवनको फैसला गर्ने अधिकार समाजले उहिल्यै खोसिसकेको रहेछ।
अचानक उसका आँखाअगाडि अँध्यारो छायो। वरपरका आवाजहरू एउटै कोलाहलमा मिसिए। शरीर शिथिल भयो र ऊ फेरि एकपटक बेहोस भएर ढली। त्यसपछि आमाले उसलाई पुनः सहरको अस्पताल पुर्याइन्। मनोचिकित्सकसँगको लामो परामर्शका क्रममा उनले आयुषालाई एउटा प्रश्न सोधे, ‘तपाईंलाई सबैभन्दा बढी के कुराले थकाएको छ?’
त्यतिबेला ऊ नाजवाफ थिई, तर होटलको सुनसान कोठामा फर्किएर उसले जब डायरी खोली, कलम आफैँ चल्यो— ‘म थाकेकी छु। तर मेरो थकाइको नाम कसैले सोध्दैन।’
ऊ धेरै बेर कलम समातेर टोलाइरही। घरको अभाव, आमाको चाउरिएको अनुहार, अधुरो पढाइ, शिक्षकको व्यङ्ग्य र गाउँलेका निर्णयहरू— यीमध्ये कुन कुराले उसलाई भित्रभित्रै खोक्रो बनाएको थियो, उसले छुट्याउन सकिन। सायद कुनै एउटै कारण थिएन; साना–ठूला असन्तोष, दबिएका इच्छा र नबोलिएका प्रश्नहरूको पहाडले उसको चेतनालाई थिचेको थियो।
गाउँ फर्किएपछि बाहिरी रूपमा आयुषा सामान्य देखिई, तर भित्री आँधी थामिएको थिएन। घरको दिनचर्या उस्तै थियो, समाजको दृष्टिकोण उस्तै थियो।
र, फेरि उही साँझ आइपुग्यो— जुन साँझको स्मृतिले उसलाई आज पनि झस्काउँछ।
ऊ पिँढीमा बसेर डायरी पल्टाइरहेकी थिई। भन्ज्याङमा कुहिरो बाक्लिँदै तल बेँसीका घरहरूलाई निल्दै थियो। भान्साबाट आमाको आवाज आयो, ‘आयुषा, भोलि तेरो बिहेको कुरा छिन्न मान्छे आउँदै छन्। केटा खानदानी र राम्रो छ रे।’
उसले डायरीबाट आँखा उठाई। प्रतिवाद गर्न खोजी, तर आमाको स्वरमा मिसिएको विवशता र आशाले उसका शब्दहरू घाँटीमै अँठ्यायो।
‘आमा, मेरो पढाइ...’ उसको स्वर काँप्यो।
‘पढाइ त पछि पनि गर्न सकिन्छ। पहिले जीवनको बाटो त मिल्नुपर्यो नि!’ आमाको जवाफ तयार थियो।
भान्साबाट भाँडा बजेको आवाज आइरहेको थियो; आमा भोलिका पाहुनाको स्वागतको तयारीमा थिइन्। आँगनका डिलमा उभिएर आयुषाले पर भन्ज्याङतिर हेरी। कुहिरोले बाटो पूरै छोपिसकेको थियो।
आज बर्सौँपछि जब ऊ त्यो पुरानो डायरीको अन्तिम पाना पल्टाउँछे, भन्ज्याङको त्यो कुहिरो उसकै आँखाअगाडि मडारिन थाल्छ। ऊ कलम समाउँछे र त्यो पुरानो प्रश्न— ‘म के चाहन्छु?’ को मुनि केही लेख्ने प्रयास गर्छे, तर विगतको त्यो साँझझैँ आज पनि उसका अगाडि बाटो हराएको मात्र छैन, बरु कुन बाटो आफ्नो हो भन्ने प्रश्न उस्तै अनुत्तरित र मौन भएर उभिएको छ।