कर्णाली प्रदेशको मुगुस्थित सोरू गाउँपालिका–४, फोतु गाउँका ७६ वर्षीय मान्ते शाहीको अनुहारमा अचेल छुट्टै चमक देखिन्छ।
उमेरले शरीर थाकेको छ। दाँत झरेका छन्, कपाल खुइलिएको छ। टाढाका वस्तु ठम्याउन नसक्ने भएका छन्।
तर जीवनको उत्तरार्द्धमा गाउँमा आएको परिवर्तन देख्दा उनको मन भने जवान भएको छ।
सहरको विकास गाउँमै पुगेपछि मान्ते लाई अनौठो लागेको छ। राति निद्रा खुलेका बेला उनी उहिलेका दुःख सम्झिँदै अचम्म मान्छन्।
घरको आँगनबाट पारिपट्टि हुम्ला कर्णाली नदीको किनारबाट गाडी गुडेको दृश्य हेर्दा उनी अचम्म मान्छन्। आफू तन्नेरी अवस्थामा नुन, चामल र लत्ताकपडा लिन महिनौं हिँड्नुपर्ने गाउँमा अहिले मोटरगाडी आइपुगेको छ।
पैदल हिँडेर थाकेका पुस्ताका आँखाअघि गाउँमै सडक पुगेको छ। हिजोको दुर्गम बस्ती आज विस्तारै सुविधाको संसारसँग जोडिएको छ।
'७६ वर्षसम्म दुःखै दुःखमा बित्यो। अहिले बल्ल सुखका दिन देख्न पाइयो,' मान्ते भन्छन्, 'तर हामी डाँडाको जुनबेलजस्तै भइसक्यौं। सुखका दिन राम्ररी भोग्न नपाउँदै मर्नुपर्ने हो कि भन्ने चिन्ता लाग्छ।'
उनका लागि अहिलेको समय कुनै चमत्कारभन्दा कम छैन। किनभने उनले देखेको पुरानो मुगु र अहिलेको मुगुबीच आकाश–जमिनको फरक छ।
मान्तेलाई अझै सम्झना छ, तन्नेरी उमेरमा घरपरिवारका लागि नुन, भाँडाकुँडा र लत्ताकपडा किन्न बर्दियाको राजापुर र चिसापानी पुग्न एक महिना लाग्थ्यो। न बाटो सहज थियो, न यातायातको सुविधा। गाउँमा पसल थिएनन्, सामान ढुवानी गर्ने साधन पनि थिएनन्।
'नुन, खाना पकाउने भाँडा र शरीर ढाक्ने कपडा ल्याउन एक महिना हिँडेर राजापुर, चिसापानी पुग्थ्यौं। भीरको बाटो हिँड्नुपर्थ्यो। कर्णाली नदीमा तुइन तर्नुपर्थ्यो। बास बस्ने होटल थिएनन्। कहिले ओढारमा, कहिले चौरमा रात बिताउँथ्यौं,' उनी विगत सम्झिँदै दुःख सुनाउँछन्।
पिठ्युँमा गह्रुँगो भारी, हातमा लौरो। त्यसरी सामान बोकेर घर पुर्याउन कति दुःख भयो होला भन्ने उनी सम्झिन्छन्।
मान्तेको पुस्ताका लागि नांगो पैताला नै यात्राको साथी थियो। ढुंगा, काँडा र जोखिमपूर्ण अप्ठ्यारा बाटामा हिँड्दा पैतालामा घाउ लाग्थ्यो। तर दुःख सहनुको विकल्प थिएन।
'उति बेला जुत्ता कहाँ पाइन्थ्यो र! नांगो खुट्टाले हिँड्ने बानी परेको थियो। पैतालामा काँडा र ढुंगा बिझेको पनि थाहा हुँदैनथ्यो,' उनी सुनाउँछन्।
१२ वर्षकै उमेरदेखि भारी बोक्न थालेका शाहीले बाल्यकाल खेल्दै र रमाउँदै बिताउन पाएनन्। सानै उमेरमा तलको हाट र माथिको भोट गर्दै जीवन निर्वाहको संघर्षमा होमिनुपर्यो।
भेडा र खसी लिएर तिब्बतको तालाखार पुग्ने, त्यहाँबाट ऊन र नुनको कारोबार गर्ने उनको पुस्ताको बाध्यता थियो।
त्यो समयमा गाउँमा एक माना नुन पाउनु पनि ठूलो कुरा थियो। अहिले बजारमा सजिलै पाइने नुनका लागि त्यस बेला लामो यात्रा गर्नुपर्थ्यो।
'एक सय चाँदीका सिक्का बोकेर सामान किन्न हाट जान्थ्यौं। त्यो पैसाले धेरै भारी सामान आउँथ्यो। खर्च गर्न नसकेर केही पैसा घर फर्काउँथ्यौं,' मान्ते विगतको आर्थिक अवस्थासँग तुलना गर्छन्।
अहिले पैसा पनि धेरै छ, खर्च पनि त्यत्तिकै बढी छ भन्ने उनको भनाइ छ।
कर्णालीका नदी र खोला पार गर्न पनि अहिलेको जस्तो पुल थिएन। बाबियोको डोरीमा तागुलो लगाएर तुइनबाट वारपार गर्नुपर्थ्यो। कतिपय स्थानमा खोला तर्न सुरूवाल फुकालेर जाँघसम्म पानीमा पसेर पार गर्नुपर्ने अवस्था थियो।
त्यो समयका नदी केवल पानीका बहाव थिएनन्, ती गाउँलेका लागि जीवन र मृत्युकै जोखिमपूर्ण सीमा थिए। घर नपुग्दासम्म परिवारले बाटो हेरिरहनुपर्ने अवस्था थियो।
साउनमा उर्लिँदो कर्णाली नदीको भेलमा तुइन तर्दा कस्तो दुःख हुन्थ्यो होला भन्ने मान्ते सम्झिन्छन्।
भोकमरीले रूवाएको पुस्ता
मान्ते शाहीको मात्रै होइन, छायाँनाथ रारा नगरपालिका–रूगा गाउँका इन्द्रजीत लावडको जीवनकथा पनि अभाव र संघर्षको लामो उदाहरण हो।
इन्द्रजीतलाई २०४५ सालको भोकमरी अझै पनि झलझली सम्झना आउँछ।
खेतबारीमा अन्न फल्दैनथ्यो। गाउँमा खाद्यान्न पाइँदैनथ्यो। बिहान र बेलुका परिवारलाई के खुवाउने भन्ने चिन्ताले घरका अभिभावकको निद्रा हराउँथ्यो।
'त्यो बेला पेट भर्न नपाएर आँखाबाट आँसु झार्नुपर्ने दिन थिए। घरमा अन्न थिएन। जिल्लामा खाद्यान्न पाइँदैनथ्यो,' उनी भन्छन्।
परिवारको पेट पाल्न उनले निगालोको सुपो, बाबियोको कुचो र गाईभैंसी बाँध्ने दाम्लो तथा गलैँयू बनाएर गाउँगाउँ डुल्दै बेचेर अन्न जुटाउनुपर्थ्यो। त्यसबाट दुई–चार पाथी अन्न जुट्थ्यो।
त्यही अन्नले परिवारले बिहान–बेलुका छाक टार्थे। दुःख गरेर जुटाएको अन्न कतिखेर सकिने हो भन्ने चिन्ताले उनलाई सधैं पिरोलिरहन्थ्यो।
कहिलेकाहीँ २० दिनसम्म पैदल हिँडेर अछामको साँफेबगर पुग्नुपर्थ्यो। त्यहाँबाट ३० किलो चामल र पाँच पाथी गहुँ बोकेर घर फर्किन्थे।
'२० दिन हिँडेर साँफेबगर पुगेर ३० किलो चामल र पाँच पाथी गहुँ ल्याएर परिवार पाल्यौं। साब, त्यो बेलाको दुःख सम्झिँदा अहिले पनि आँसु आउँछ,' उनी भावुक हुन्छन्। उनका उहिलेका दुःख अहिले कथाजस्तै भएका छन्।
त्यो बेलाको दुःख अहिलेका युवापुस्तालाई सुनाउँदा कथा सुनाएजस्तै हुने गरेको उनको भनाइ छ। उति बेला ठूलो भोकमरी हुन्थ्यो। बिहान खाए बेलुका के खाने भन्ने चिन्ता हुन्थ्यो।
घरभरि अन्न हुने व्यक्ति साहु भनेर चिनिन्थे। आफूले पनि परिवारलाई भोकमरीको पीडा भोगाउँदै दिनदिनै अन्नको जोहो गरेर आधा पेट पाल्नुपरेको मान्ते बताउँछन्।
भोकमरीका ती दिनमा कर्णालीका माछा, झारीको साग र जंगलमा पाइने खानेकुराले पनि जीवन धानेको इन्द्रजीतको सम्झना छ।
'कर्णालीका माछा, झारीको साग खाएर भोक टार्यौं। अहिलेका केटाकेटी कोदोको रोटी, कागुनोको भात र फापर खान मान्दैनन्। उति बेला यिनै खानेकुरा पाउँदा कति खुसी हुन्थ्यौं होला,' उनी भन्छन्।
फोतु गाउँका मनवीर शाही र दलबहादुर शाहीका परिवारसँग अन्नको जोहो गर्दै परिवार हुर्काएको उनी बताउँछन्।
मान्तेलाई अहिले गाउँमा पुगेका सुविधाले खुसी बनाएको छ। तर उनी विकाससँगै बदलिएको जीवनशैलीप्रति केही चिन्तित पनि छन्।
'सुविधासँगै तन्नेरी बिगार्ने व्यवस्था पनि आयो! अहिलेका कतिपय युवाले खेतीपाती गर्न छाडे। पुर्ख्यौली सम्पत्ति जगेर्ना नगर्ने चिन्ता थपिएको छ,' मान्तेले भने।
उनको भनाइमा विकासले जीवन सहज बनाएको छ। तर सुविधा उपभोग गर्ने क्रममा श्रम, उत्पादन र पुराना सीप बिर्सिनु हुँदैन। खेतबारी बाँझिँदै गएपछि युवाहरू सहरमुखी हुन थालेको स्थानीयको भनाइ छ।
बाह्रखरी सिक्न गाउँ छाड्नुपर्ने
मुगुमा कुनै समय खाद्यान्न र लत्ताकपडाको मात्रै अभाव थिएन। शिक्षाको उज्यालो पनि गाउँबस्तीमा पुगेको थिएन।
छायाँनाथ रारा नगरपालिकास्थित कार्कीबाडाका शिक्षाविद तथा पूर्वप्रधानाध्यापक देवीकृष्ण रावलले बाल्यकालमा अक्षर चिन्ने रहर पूरा गर्न पनि निकै सास्ती खेप्नुपरेको थियो।
घरबाट एक घण्टा हिँडेर हेन्नीकाँध गाउँ पुग्नुपर्थ्यो। त्यहाँ एक जना बाहुनसँग गुरूपूजा राखेर क, ख, ग सिक्नुपर्ने अवस्था थियो।
'जिल्लाभरि स्कुल थिएनन्। पढ्न निकै दुःख थियो। चामलको माना र घ्यूको बट्टा बोकेर जुम्लाको सिँजा पुगेर बाहुनसँग बाह्रखरी पढ्नुपर्थ्यो,' देवीकृष्ण सम्झिन्छन्।
कापी र कलम पाइँदैनथ्यो। काठको पाटीमा लेखेर अक्षर सिक्नुपर्थ्यो। निगालोको कलम, भोजपत्रको कापी र जडीबुटीबाट बनाइएको मसी प्रयोग गरेर पढ्ने चलन थियो।
बाह्रखरी जान्ने मानिस गाउँमा ठूलो विद्वान मानिन्थ्यो। अक्षर चिन्ने व्यक्तिलाई सबैले गुरू भनेर सम्मान गर्थे।
मुगुमा शिक्षाको संस्थागत सुरूआत बिस्तारै भएको थियो। २००९ सालमा श्रीनगरको छत्यालबाडा गाउँमा पहिलो पाठशाला स्थापना भएको थियो। त्यसपछि २०११ सालमा रारा हुटुमा प्राथमिक विद्यालय खुलेपछि शिक्षाको पहुँच विस्तार हुन थालेको देवीकृष्ण बताउँछन्।
'पहिले पढ्न पाउनु नै ठूलो कुरा थियो। स्कुल जाने अवसर हुनेखानेका छोराछोरीले मात्रै पाउँथे,' उनी भन्छन्।
२०४८ सालपछि बहुदलीय व्यवस्था स्थापना भएपछि मुगुमा विद्यालय विस्तारको क्रम तीव्र भएको स्थानीयको भनाइ छ।
तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको पहलमा मुगुका हरेक बस्तीमा विद्यालय स्थापना भएपछि गरिब, दलित र महिलाका छोराछोरीले पनि पढ्ने अवसर पाएको उनी बताउँछन्। मुगुमा हस्तबहादुरलाई शिक्षाको ज्योति भनेर पनि चिनिन्छ।
अहिले जिल्लाका चारवटै स्थानीय तहमा प्राथमिकदेखि माध्यमिक तहसम्मका १४१ भन्दा बढी विद्यालय सञ्चालनमा छन्। गमगढीमा रारा बहुमुखी क्याम्पस र खत्याडमा चतुर्देव क्याम्पस स्थापना भएपछि उच्च शिक्षा अध्ययनका लागि सुर्खेत, नेपालगञ्ज र अन्य जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। विपन्न, गरिब र दलितका छोराछोरी घरमै बसेर उच्च शिक्षा पढ्न पाएका छन्।
स्थानीय क्याम्पसबाट हालसम्म तीन सयभन्दा बढी युवायुवतीले स्नातक तह पूरा गरिसकेको बताइन्छ। कृषि प्राविधिक र ओभरसियर पढ्न जुम्ला जानुपर्ने अवस्था पनि क्रमशः घटेको छ।
जिल्लामै उच्च शिक्षा अध्ययन गरेर लोक सेवा परीक्षाको तयारी गर्ने युवाको संख्या बढ्दै गएको छ।
हिजो अक्षर चिन्ने मानिसलाई गाउँलेले गुरू मान्थे। आज त्यही गाउँका युवा उच्च शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने सपना देखिरहेका छन्। अहिले प्रत्येक घरका युवा उच्च शिक्षा हासिल गर्न सफल भएका छन्। पढाइसँगै सरकारी तथा निजी क्षेत्रमा जागिर प्राप्त गर्न पनि सफल भएका छन्।
कम्प्युटर सिक्न सहर धाउनुपर्ने मुगुका विद्यार्थी अहिले गाउँकै विद्यालयमै कम्प्युटर सिक्छन्। विद्यालयमै कम्प्युटर शिक्षा पढाइ हुन थालेको छ।
औषधि उपचार सहज
मुगुका वृद्धवृद्धाका लागि विगतको अर्को कहालीलाग्दो पक्ष स्वास्थ्य सेवाको अभाव हो। सामान्य ज्वरो, पेट दुख्ने, आँखा पाक्ने र झाडापखालाजस्ता रोगको उपचारका लागि गाउँमा स्वास्थ्य संस्था थिएनन्। बिरामी परेपछि जंगलबाट जडीबुटी ल्याएर ढुंगामा घोट्ने र खुवाउने चलन थियो।
'ज्वरो आए, पेट दुखे, आँखा पाके जंगलबाट जडीबुटी ल्याउँथ्यौं। ढुंगामा घोटेर खुवाउँथ्यौं। झाडापखालाको महामारी फैलिँदा धेरै मानिस अकालमै मरे,' इन्द्रजीत सम्झिन्छन्।
कतिपयले बिरामीलाई भूत लागेको भन्दै धामीझाँक्रीसमेत देखाउँथे। रोगको पहिचान, औषधि र दक्ष स्वास्थ्यकर्मीको अभावमा सामान्य बिरामी पनि ज्यान जाने अवस्थामा पुग्थे।
२०५२ सालदेखि साविकका २४ वटै गाउँ विकास समितिमा उपस्वास्थ्य संस्था स्थापना हुन थालेपछि सामान्य रोगको उपचार र औषधि प्राप्त गर्न केही सहज भएको हो।
त्यसपछि स्वास्थ्य संस्थाको विस्तार, औषधि उपलब्धता र जनचेतनाले गाउँलेको जीवनमा परिवर्तन ल्यायो। गमगढीमा १५ शय्याको अस्पताल सञ्चालन भएपछि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता पनि केही कम भएको छ।
जटिल रोगबाहेक सामान्य रोगका बिरामी जिल्लामै निको हुन सक्छ।
अहिले सामान्य टाउको दुख्दा पनि स्वास्थ्यकर्मीलाई देखाउने चलन बढेको छ। स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने, सुरक्षित सुत्केरी सेवा लिने र जोखिममा परेका बिरामी उद्धार गर्ने व्यवस्था विस्तार हुँदै गएको छ। मुगुका चारवटै स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ।
२०६५ सालअघि मुगुका गर्भवती महिलाका लागि सुरक्षित प्रसूति सेवा ठूलो चुनौती थियो। अकालमै सुत्केरीको ज्यान जान्थ्यो। प्रसूतिगृहको अभावमा अधिकांश महिला घरमै सुत्केरी हुन बाध्य थिए। प्रसूतिका क्रममा आमा र शिशुको ज्यान जाने जोखिम उच्च थियो।
अहिले सरकारी क्षेत्रबाट नौवटा प्रसूतिगृह र ब्याक टू लाइफको आर्थिक सहयोगमा मुगुमा कार्यरत मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक) नामक संस्थाको प्राविधिक सहयोगमा १७ वटाभन्दा बढी प्रसूतिगृह सञ्चालनमा आएका छन्। यसले गर्भवतीको स्वास्थ्य परीक्षण र सुरक्षित सुत्केरी सेवामा पहुँच बढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
'स्वास्थ्य क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाको लगानी र जनचेतना अभिवृद्धिका कारण मातृ तथा शिशु मृत्युदर न्यूनीकरण भएको छ,' चिकित्सक अर्जुन भाम बताउँछन्।
जोखिममा रहेका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था पनि सुरू भएको छ। जोखिम अवस्थामा रहेका गर्भवती महिलालाई तत्काल उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्याइन्छ।
नुन र चामलको दुःख अन्त्य
मुगुका गाउँलेले भोगेको दुःखमध्ये खाद्यान्न अभाव पनि प्रमुख थियो। २०६८ सालअघिसम्म जिल्लामा खाद्यान्न र नुनको पर्याप्त आपूर्ति नहुँदा सर्वसाधारण, व्यापारी र कर्मचारीले पाँच किलो चामल र एक किलो नुन लिनसमेत दिनभर लाइन बस्नुपर्थ्यो।
खाद्य गोदामबाट चामल वितरण हुने दिन बजारमा मानिसको भीड लाग्थ्यो। खाद्यान्न पाउन कर्मचारीले हाकिमबाट राशन कार्ड बनाउनुपर्ने, सर्वसाधारणले प्रमुख जिल्ला अधिकारीबाट कुपन लिनुपर्ने र कतिपय अवस्थामा नेताको भनसुन गर्नुपर्ने अवस्था थियो।
चामल वितरणका क्रममा भीड नियन्त्रण गर्न प्रहरी परिचालन गर्नुपर्ने अवस्था पनि थियो।
तर अहिले खाद्यान्न आपूर्तिको अवस्था बदलिएको छ। बजारमा चामल र नुन सहज रूपमा उपलब्ध हुन थालेपछि विगतमा जस्तो गोदाममा लाइन बस्नुपर्ने बाध्यता घटेको छ। खाद्य संस्थानको चामलसमेत बिक्री गर्न समय कुर्नुपर्ने अवस्था देखिन थालेको छ।
हिजो एक किलो नुनका लागि राजनीतिक पहुँच खोज्नुपर्ने अवस्थाको अन्त्य भएको छ। अहिले बजारमा उपभोग्य वस्तु किन्न पाइन्छ।
नुन–चामलको राजनीति पनि अन्त्य भएको छ। पहिले नुन–चामल उपलब्ध गराउने आश्वासन दिएर दलका नेताहरू स्थानीयलाई कार्यक्रम र आमसभामा लैजाने गर्थे। तर अहिले त्यो अवस्था अन्त्य भएको छ।
गाडीमार्फत सहरको सेतो चामल गाउँमै पुग्न थालेको छ। सेतो चामलले स्थानीय उत्पादनलाई चुनौती थपेको र परनिर्भरता बढाएको स्थानीयको भनाइ छ।
सडकले फेरिएको जीवन
मुगुको विकास यात्रामा सडक सञ्जालको विस्तार सबैभन्दा ठूलो परिवर्तनमध्ये एक बनेको छ।
२०६९ साल पुस १ गतेदेखि मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाद्यान्न आपूर्ति, व्यापार व्यवसाय र आवतजावतमा सहजता आएको हो। सडक पुग्नुअघि सुर्खेत र नेपालगञ्जबाट सामान ल्याउन हेलिकप्टरको भर पर्नुपर्ने अवस्था थियो। कतिपय सामान हवाईजहाजबाट ल्याउनुपर्ने र कतिपय सामान मानिसले नै बोकेर ओसार्नुपर्ने बाध्यता थियो।
'सडक नपुग्दासम्म सुर्खेत र नेपालगञ्जबाट सिम्रिक हेलिकप्टरमार्फत प्रतिकिलो १२० रूपैयाँ भाडा तिरेर सामान ल्याएर बेच्थ्यौँ,' उद्योग वाणिज्य संघका जयबहादुर शाही भन्छन्, 'गाडी पुगेपछि नेपालगञ्जबाट प्रतिकिलो सात रूपैयाँमा सामान आयात–निर्यात हुन थालेको छ।'
सडकले ढुवानी खर्च घटाएको छ। सामानको मूल्यमा समेत प्रभाव पारेको जयबहादुरको भनाइ छ।
अहिले गमगढीमा मात्र सीमित नभई छायाँनाथ रारा नगरपालिकाका सबै बस्तीमा सडक पुगिसकेको छ भने सोरू गाउँपालिकाका दुई–चारवटा बस्तीबाहेक सबै बस्तीमा मोटरबाटो पुगेको छ।
सोरूको हुम्ला सीमासँग जोडिएको विकट बस्ती नेर गाउँमा समेत मोटरबाटो पुगेको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए।
त्यसैगरी खत्याड गाउँपालिकाको गम्था, सेरी, श्रीकोट, खमाले लगायतका बस्तीमा मोटरबाटो पुगेको छ। मुगुम कार्मारोङ गाउँपालिकाको छाइलबाहेक अन्य बस्तीमा भने अझै मोटरबाटो पुग्न सकेको छैन। सडक निर्माण कार्य जारी छ।
स्थानीयवासी हिजो गाडी हेर्न र चढ्न गमगढी पुग्नुपर्थ्यो। अहिले गाउँले गाउँबाटै जिप चढेर गमगढी, जुम्ला, कालिकोट, सुर्खेत, नेपालगञ्ज र काठमाडौं पुग्न थालेका छन्।
सोरू गाउँपालिका–सिप गाउँकी गोविन्दा विष्टलाई पनि गाउँमै सडक पुग्ला भन्ने विश्वास थिएन।
'गाउँमा गाडी आउला भन्ने सपना पनि थिएन। अहिले घरबाटै गाडी चढेर सहर पुग्न पाउँदा विगतका दुःख बिर्सिँदै गएका छौं,' उनी भन्छिन्।
सडकले बिरामीलाई अस्पताल लैजान, खाद्यान्न ल्याउन र व्यापार व्यवसाय सञ्चालन गर्न सहज बनाएको छ। बजारसम्मको दुरी घटेपछि गाउँलेको समय र श्रम दुवै बचत हुन थालेको छ।
तुइन विस्थापित
मुगुमा सडकसँगै पुल निर्माणले पनि गाउँलेको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। मुगुमा परम्परागत रूपमा कर्णाली नदीदेखि खोलासम्म रहेका करिब ७६ भन्दा बढी तुइन विस्थापित भएका छन्।
कुनै समय बाबियोको डोरी समातेर कर्णाली नदी पार गर्नुपर्ने र खोला तर्न ज्यानको बाजी लगाउनुपर्ने अवस्था थियो।
अहिले जिल्लाका चारवटै स्थानीय तहमा रहेका खोला र कर्णाली नदीका विभिन्न स्थानमा परम्परागत तुइन विस्थापित गरी हालसम्म ६८ वटाभन्दा बढी झोलुंगे पुल र आधा दर्जनभन्दा बढी बेलिब्रिज निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ।
समितिका प्रमुख मञ्जन कार्कीका अनुसार खोला र नदीमा पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ। पुल निर्माणले गाउँ र समुदायबीचको सम्बन्ध जोडिएको छ।
त्यसैगरी तीनवटा गाडी आवतजावत गर्न मिल्ने बेलिब्रिज निर्माण भएका छन्। पुल बनेपछि विद्यार्थीलाई एक गाउँबाट अर्को गाउँको विद्यालय पुग्न सहज भएको छ।
बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान, खेतीपातीका लागि वारपार गर्न र आफन्तसँग भेटघाट गर्न पनि सहज भएको छ।
नागरिक अगुवा रूपबहादुर मल्लका अनुसार पुल निर्माणले स्थानीयको ज्यानको सुरक्षा मात्रै गरेको छैन, छिमेकी गाउँबीचको सामाजिक तथा पारिवारिक सम्बन्धसमेत विस्तार गरेको छ।
हातमा मोबाइल, घरमा इन्टरनेट
मुगुका गाउँलेको जीवनमा सञ्चार सुविधाले पनि ठूलो परिवर्तन ल्याएको छ। एक कल फोन गर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
२०६० सालअघिसम्म जिल्ला बाहिर रहेका आफन्तसँग कुराकानी गर्न सहज थिएन। सञ्चो–बिसञ्चोको खबर हुलाकमार्फत चिठी पठाएर आदानप्रदान गर्नुपर्थ्यो। चिठी पठाएको एक–दुई महिनापछि मात्रै खबर आइपुग्थ्यो। गमगढी बजारमा समेत फोन गर्न नेपाल टेलिकममा नाम लेखाएर पालो कुर्नुपर्ने अवस्था थियो।
२०६४ सालदेखि जिल्ला सदरमुकाम गमगढीमा नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल जडान गरी सेवा सुरू गरेपछि सञ्चारको क्षेत्रमा नयाँ अध्याय सुरू भयो। स्थानीयको समस्यालाई ध्यानमा राखेर नेपाल टेलिकमले जिल्लाका विभिन्न १४ स्थानमा मोबाइल टावर जडान गरेपछि गाउँदेखि सहरसम्म सञ्चार पहुँच विस्तार भएको हो।
अहिले मुगुका प्रायः सबै बस्तीका गाउँलेको हातमा मोबाइल छ। मोबाइलमा कुराकानी मात्रै होइन, इन्टरनेट चलाएर देश–विदेशका खबर हेर्न र सामाजिक सञ्जाल प्रयोग गर्नसमेत सहज भएको छ।
अहिले फोरजी सेवाका कारण घरभित्रै इन्टरनेट चलाउन सकिने भएपछि जिल्ला बाहिरका आफन्तसँग प्रत्यक्ष कुराकानी गर्न पाइएको सोरू लिब्रू गाउँका गुरा देवताका धामी अंगबहादुर शाही बताउँछन्।
पर्यटकीय क्षेत्र रारामा फोरजी सेवा तथा स्थानीय तहका विभिन्न वडामा इन्टरनेट सेवा विस्तार भएपछि गाउँका युवा र कर्मचारी विश्वव्यापी सञ्चार सञ्जालसँग जोडिएका छन्।
हिजो चिठीको जबाफ आउन महिनौं कुर्नुपर्ने गाउँमा आज एकैछिनमा भिडिओ कल गरेर विदेशमा रहेका आफन्तसँग अनुहार हेर्दै कुरा गर्न सकिने भएको छ। इन्टरनेटको पहुँच विस्तारले मुगुका स्थानीय संसारसँग जोडिएका छन्।
उज्याला गाउँबस्ती
राति सल्लोको दियालोको भरमा उज्यालो गर्ने मुगुका स्थानीय अहिले सोलार र विद्युतको बत्ती बालेर उज्यालोमा बस्न थालेका छन्। स्थानीय तह र संघसंस्थाले स्थानीयको दुःख बुझेर पानीको स्रोत भएका स्थानमा विद्युत र नभएका बस्तीमा सोलार प्रविधिबाट उज्यालो पुर्याइदिएका छन्।
'पानीको स्रोत नभएका हाम्रा गाउँमा अहिले बत्तीले झिलिमिली छ,' सोरू गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले भने, 'वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तीन सय घरधुरीलाई सोलार प्रविधिबाट बत्ती बाल्ने व्यवस्था गरिदिएको छ।'
त्यसैगरी मुगुम कार्मारोङ गाउँपालिकाको रिउस बगरमा कादुरी नेपाल नामक संस्थाले खोलाबाट विद्युत उत्पादन गरिदिएपछि करिब दुई सयभन्दा बढी परिवार दियालोबाट मुक्त भएका छन्।
सोरूकोटमा पनि ६० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत उत्पादन भएपछि दुई सय परिवार दियालोबाट छुटकारा पाएका छन्।
त्यस्तै सोरू जिमा पुरूमुरू गाउँमा पनि सौर्य ऊर्जाबाट विद्युत उत्पादन गरिएको छ।
कालापहाड जाने न्यून
मुगुका तन्नेरीका लागि कुनै समय भारतको कालापहाड रोजगारीको प्रमुख गन्तव्य थियो। गाउँमा रोजगारीका अवसर नहुँदा खेतीपातीले वर्षभरि खान नपुग्ने र ज्यालादारी काम पनि नपाइने भएपछि युवाहरू भारतका विभिन्न सहरमा मजदुरी गर्न जान्थे।
२०६० सालअघिसम्म ज्यालादारी कामका लागि भारत जाने युवाको संख्या करिब ४५ प्रतिशतभन्दा बढी भएको अनुमान थियो। अहिले त्यो संख्या घटेर पाँच प्रतिशत हाराहारीमा पुगेको दलित अधिकारकर्मी जर्मन नेपाली बताउँछन्।
'डेढ दशकअघि बस्ती नै पुरूषविहीन हुने गरी युवा भारत जान्थे। अहिले गाउँमै विकास निर्माणका काम हुन थालेका छन्। स्थानीयस्तरमै आम्दानी गर्न पाउने भएपछि भारत जानेको संख्या घटेको छ,' उनले भने।
उनका अनुसार अहिले रहरले विदेश जानेहरूबाहेक बाध्यताले मजदुरी गर्न भारत जाने युवाको संख्या घट्दै गएको छ। गाउँमै सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र अन्य विकास निर्माणका काम हुन थालेपछि स्थानीयले श्रम बेचेर आम्दानी गर्ने अवसर पाएका छन्।
घरघरै चर्पी, सरसफाइमा सुधार
एक दशकअघिसम्म गाउँ पुग्नेबित्तिकै बाटोको तलमाथि दिसापिसाबका कारण दुर्गन्ध फैलिएको देखिन्थ्यो। नाक छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
विभिन्न संघसंस्था र सरकारी निकायको पहलमा अहिले मुगुका प्रत्येक घरमा कच्ची तथा पक्की चर्पी बनेका छन्। चर्पी बनेपछि बाटो र सार्वजनिक स्थानमा दिसापिसाबको गन्ध आउन छोडेको छ।
'अहिले गाउँबस्तीमा सरसफाइ राम्रो छ। चर्पी बनेका छन्, पानीका धारा बनेका छन्,' गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी बासु रावल भन्छन्।
गाउँबस्ती सफा हुन थालेपछि रोगव्याधि पनि कम देखिन थालेको उनको भनाइ छ।
स्थानीय तह र गैरसरकारी क्षेत्रले सरसफाइमा बढी जोड दिँदै गाउँबस्तीलाई दिसामुक्त क्षेत्र घोषणा गर्न थालेका छन्।
फेरिएको शैली, बदलिँदो जीवन
मुगुका गाउँबस्तीमा आएको परिवर्तन केवल भौतिक संरचनाको विस्तार मात्रै होइन, यो एउटा पुस्ताले भोगेको अभाव, संघर्ष र पीडाबाट अर्को पुस्ताले पाएको सहज जीवनसम्मको यात्रा हो।
हिजो नुन लिन महिनौं हिँड्नुपर्थ्यो, आज घरनजिकै बजार पुगेको छ।
हिजो नदीमा तुइन तर्दा ज्यान जाने जोखिम थियो, आज झोलुंगे पुल र बेलिब्रिज बनेका छन्।
हिजो अक्षर चिन्ने रहर पूरा गर्न जुम्ला पुग्नुपर्थ्यो, आज गाउँमै विद्यालय र जिल्लामै क्याम्पस तथा निजी स्कुल खुलेका छन्।
हिजो बिरामी पर्दा जडीबुटी र धामीझाँक्रीको भर पर्नुपर्थ्यो, आज स्वास्थ्य संस्था, अस्पताल र औषधि उपलब्ध छन्।
हिजो आफन्तको खबर आउन महिनौं कुर्नुपर्थ्यो, आज मोबाइलको एक कलले संसार जोडिएको छ।
तर विकाससँगै केही चुनौती पनि बाँकी छन्। सबै गाउँमा समान रूपमा सडक, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन। युवालाई स्थानीय उत्पादन, कृषि र उद्यमसँग जोड्नुपर्ने आवश्यकता छ।
गाउँमा पुगेको सुविधालाई उत्पादन र रोजगारीसँग जोड्न नसके फेरि नयाँ प्रकारको परनिर्भरता बढ्न सक्छ। वृद्ध पुस्ताका अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
सोरूका भैरै कामीका लागि विकासको अर्थ घरअगाडि गाडी गुड्नु मात्रै होइन। त्यो त जीवनभर बोकेको भारी बिसाउन पाएको अनुभूति हो।
इन्द्रजीत लावडका लागि गाउँमा खाद्यान्न उपलब्ध हुनु भोकमरीबाट मुक्ति पाउनु हो। देवीकृष्ण रावलका लागि विद्यालय र क्याम्पस खुल्नु अशिक्षाको अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो।
यी सबै परिवर्तनका बीच ७६ वर्षीय मान्ते शाहीको मनमा भने एउटा अधुरो चाहना छ— बाँकी जीवनमा गाउँको अझ धेरै विकास देख्न पाऊँ।
उनको घरको आँगनबाट देखिने कर्णाली करिडोरमा गुडिरहेका गाडीले उनलाई विगतका ती लामा पैदल यात्राको सम्झना दिलाउँछन्।
कुनै समय काँडाले घोचेका उनका पैताला अहिले विश्राममा छन्। मनमा भने राजापुर र चिसापानीसम्मको त्यो एकमहिने यात्रा अझै दौडिरहेको छ।
कहिल्यै जुत्ता नलगाई महिनौं हिँडेको पुस्ताले अहिले आफ्नै गाउँमा गाडी गुडेको देखिरहेको छ। त्यो दृश्य उनीहरूका लागि सडकको दृश्य मात्रै होइन, दुःखले थिचिएको जीवनले विस्तारै सुखको बाटो समातेको प्रमाण पनि हो।
कुनै समय मुगुका गाउँलेका लागि एक माना नुन जुटाउनु नै ठूलो उपलब्धि थियो। आज त्यही गाउँमा सडक, विद्यालय, अस्पताल र सञ्चार सुविधा पुगेका छन्।
समय फेरिएको छ, जीवन फेरिएको छ। तर नांगो पैतालाले छिचोलेका ती दुःखका बाटाहरू पुरानो पुस्ताको स्मृतिमा अझै मेटिएका छैनन्।
***