शुक्रबार बिहान सूर्य उदाउँदै गर्दा ५८ वर्षीया कृष्णमाया राइगाईंले घामतिर फर्केर दुई हात जोडिन्।
भोलिको सूर्योदय देख्न पाउँछु कि पाउँदिनँ भन्ने उनलाई लागेको थियो।
उनले भगवानसँग आफ्नो परिवारको रक्षा गरिदिन पुकारिन्।
अघिल्लो साँझ प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टर खाली गर्नू भन्दै माइकिङ गरेको थियो।
दुई बज्न अझै केही घन्टा बाँकी थियो।
त्यसपछि आफू कहाँ पुग्ने हो, सात जनाको परिवारलाई कहाँ लगेर राख्ने हो, कृष्णमायालाई थाहा थिएन।
कृष्णमाया र उनका श्रीमान ६१ वर्षीय कटकबहादुर थापाले जीवनको झन्डै चार दशक काठमाडौंमा ज्याला–मजदुरी गरेर बिताएका छन्। गलैंचा बुन्नेदेखि भारी बोक्नेसम्मको काम गरेर तीन सन्तान हुर्काएका छन्। डेरा भाडा तिर्न नसकेर थापाथलीको सुकुम्बासी बस्तीमा पुगेका उनीहरूले त्यहीँ बसेर छोराछोरी पढाए। त्यहीँ बस्दा एउटा छोरो गुमाए। पछिल्लो समय नातिनातिना हुर्काउँदै थिए।
वैशाख १२ गते सरकारले उनीहरूको घर भत्काइदियो।
सरकारले कृष्णमायाको परिवारलाई भूमिहीन ठहर गरेको छ। उनीहरूलाई कटकबहादुरले चार दशकअघि नै छाडेको गाउँ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा जग्गा व्यवस्थापन गरिदिने भनेको छ।
यतिका वर्ष काठमाडौंमा ज्याला–मजदुरी गरेर जीवन बिताएका कृष्णमाया र कटकबहादुर भने बुढेसकालमा गाउँ फर्केर कसरी गुजारा चलाउने भन्ने अन्योलमा छन्।
अहिले उनीहरूको सबभन्दा ठूलो चिन्ता नातिनातिनाको भविष्य हो।
झन्डै चार दशकअघि कटकबहादुर कामको खोजीमा काठमाडौं आएका थिए। सिन्धुपाल्चोकमा उनीहरूको परिवार गुठीको जग्गामा बस्थ्यो। दुई दाजुभाइ थिए। गाउँमा अलिअलि खेतीपाती गरे पनि त्यसको उब्जनीले खान पुग्दैनथ्यो।
गाउँमा पढ्ने अवसर पनि खासै थिएन।
गुजारा चलाउने बाटो खोज्दै युवा अवस्थामै कटकबहादुर काठमाडौं आइपुगे।
काठमाडौं आएपछि उनले गलैंचा कारखानामा काम पाए। त्यही बेला उदयपुरकी कृष्णमायासँग उनको चिनजान भयो। चिनजान प्रेममा परिणत भयो।
उनीहरूले २०४६ सालतिर प्रेमविवाह गरे।
केही समय गलैंचा कारखानामा काम गरेपछि उनीहरू पाटनमा बस्न थाले। ज्याला–मजदुरी गरेर घरखर्च चलाउँथे।
त्यही क्रममा उनीहरूका तीन सन्तान जन्मिए — दुई छोरा र एक छोरी।
परिवार बढ्दै गएपछि ज्याला–मजदुरीको कमाइले घरखर्च धान्न मुस्किल हुन थाल्यो। महिनैपिच्छे डेरा भाडा तिर्नुपर्थ्यो। छोराछोरी हुर्किँदै गएपछि उनीहरूलाई पढाउने खर्च पनि बढ्दै गयो।
ज्याला–मजदुरी गरेर कमाएको पैसाले डेरा भाडा तिर्ने कि छोराछोरीलाई खुवाउने र पढाउने?
यस्तै आर्थिक अभावबीच २०६२–६३ सालको जनआन्दोलनपछि थापाथलीको बागमती किनारमा सुकुम्बासी बस्ती विस्तार हुन थालेको उनीहरूले थाहा पाए।
त्यहाँ घर बनाएर बस्न पाए महिनैपिच्छे डेरा भाडा तिर्नुपर्दैनथ्यो।
कृष्णमाया र कटकबहादुर पनि त्यही बस्तीमा पुगे।
उनीहरूका निम्ति थापाथलीको सुकुम्बासी बस्ती केवल ओत लाग्ने ठाउँ थिएन। छोराछोरीलाई हुर्काउने र पढाउने आधार पनि थियो।
महिनैपिच्छे डेरा भाडा तिर्नुपर्ने बाध्यता हटेपछि उनीहरूको दैनिकी केही सहज हुन थाल्यो।
कटकबहादुर ज्याला–मजदुरी गर्थे। भारी बोक्थे। सानातिना जे काम पाइन्थ्यो, त्यही गर्थे। कृष्णमाया पनि काममा जान्थिन्।
श्रीमान–श्रीमती दुवैको कमाइले परिवारको दुई छाक टर्थ्यो। छोराछोरीलाई स्कुल पठाउन पनि पहिलेजस्तो गाह्रो भएन।
उनीहरूकी छोरीले सरकारी स्कुलबाट १२ कक्षासम्म पढिन्। जेठो छोराले भने आठ कक्षापछि पढाइ छाडे।
कान्छो छोरा पढाइमा राम्रो थियो। उनले राम्रोसँग पढोस् भन्ने कृष्णमाया र कटकबहादुरको चाहना थियो। तर त्यो चाहना पूरा हुन पाएन।
करिब एक दशकअघि कान्छो छोरा बिरामी परे।
कृष्णमाया र कटकबहादुरले छोरालाई उपचारका लागि अनेक अस्पताल पुर्याए। पाटन अस्पताल लगे। मेघा अस्पतालमा १०–१२ दिन आइसियुमै राखेर उपचार गराए। वीर अस्पताल र कान्ति बाल अस्पताल पनि पुर्याए।
सात–आठ महिनासम्म विभिन्न अस्पतालमा उपचार गराउँदा पनि छोराको रोग पत्ता लाग्न नसकेको कटकबहादुर बताउँछन्।
उनीहरूले कान्छो छोरा गुमाए।
छोराछोरीलाई राम्रोसँग पढाउन सकिएला भनेर थापाथलीको सुकुम्बासी बस्तीमा पुगेका कृष्णमाया र कटकबहादुरले त्यही बस्तीमा बस्दा एउटा सन्तान गुमाउनुको पीडा भोगे।
समय बित्दै गयो। छोरीको बिहे भयो। जेठो छोराले पनि बिहे गरे। नातिनातिना जन्मिए।
छोरीतर्फकी एक नातिनी पनि कृष्णमाया र कटकबहादुरसँगै बस्छिन्।
कुनै बेला आफ्ना तीन सन्तान हुर्काउन संघर्ष गरेका कृष्णमाया र कटकबहादुरको काँधमा अब नातिनातिना हुर्काउने जिम्मेवारी पनि थपिएको थियो।
उनीहरूको शरीरले भने पहिलेजस्तो साथ दिन छाडेको थियो।
पाँच–छ वर्षअघिसम्म कृष्णमाया ज्याला–मजदुरी गर्न जान्थिन्। कटकबहादुर पनि भारी बोक्थे। अहिले कटकबहादुर पहिलेजस्तो भारी बोक्न सक्दैनन्। घर बनाउने ठाउँमा मिस्त्रीको काम पाए जान्छन्। नत्र सात जनाको परिवार जेठो छोराको कमाइमा निर्भर छ।
परिवारका सदस्यहरूको मेहनतले जसोतसो गुजारा चलिरहेको थियो। थापाथलीमा कम्तिमा घरभाडा तिर्नुपर्दैनथ्यो। नातिनातिनालाई स्कुल पठाउन सकिएको थियो। दिनभर काम गरेर फर्किंदा आफ्नो परिवारसँग बस्ने ठाउँ थियो।
वैशाख १२ गतेदेखि त्यो पनि रहेन।
सरकारले थापाथलीको सुकुम्बासी बस्ती भत्काइदिएपछि कृष्णमाया र कटकबहादुरको परिवार विस्थापित भयो।
झन्डै दुई दशकदेखि एउटै ठाउँमा बस्दै आएको परिवारको ठेगाना फेरियो। कहिले कता, कहिले कता बस्नुपर्ने भयो।
उनीहरूको पछिल्लो आश्रयस्थल हो — भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टर।
१५ दिनका लागि भनेर होल्डिङ सेन्टरमा ल्याइएका सुकुम्बासीको बसाइ आठ महिना पुगिसकेको छ। कृष्णमाया सरकारले कतै बसोबासको व्यवस्था गरिदेला, रोजगारीको अवसर जुटाइदेला भन्ने झिनो आशामा यहाँ बसिरहेकी थिइन्।
त्यही क्रममा सरकारले उनको परिवारलाई भूमिहीन ठहर गर्यो।
तर सरकारले उनीहरूलाई जग्गा व्यवस्थापन गरिदिने भनेको ठाउँ हो — सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७।
जुन गाउँमा खान नपुगेर कटकबहादुर चार दशकअघि काठमाडौं आएका थिए, त्यही गाउँमा अब फर्किनुपर्ने भएको छ।
कटकबहादुर युवा अवस्थामा त्यो गाउँ छाडेर आएका थिए। काठमाडौं आएपछि कृष्णमायासँग बिहे गरे। यहीँ परिवार बनाए। यहीँ छोराछोरी हुर्काए। नातिनातिना पनि यहीँ हुर्किरहेका छन्।
चार दशकपछि गाउँ फर्किंदा उनीसँग न पहिलेजस्तो काम गर्ने शरीर छ, न त्यहाँ बस्ने आफ्नै घर छ।
सरकारले जग्गा व्यवस्थापन गरिदिने भने पनि कहाँ र कस्तो जग्गा पाउने हो भन्ने टुंगो नभई गाउँ फर्किन नसक्ने उनीहरूको भनाइ छ।
यही कारण कृष्णमायाले सरकारसँग लालपुर्जा मागिरहेकी छन्।
मंसिर २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरका केही कर्मचारी बोडेको होल्डिङ सेन्टरमा आएका थिए। उनीहरूले त्यहाँ बसिरहेका सुकुम्बासीलाई भनेका थिए, 'अब तपाईंहरूले होल्डिङ सेन्टर छाड्नुपर्छ। सरकारले जग्गा दिएको ठाउँमा जानुहोस्।'
त्यति सुन्नेबित्तिकै कृष्णमायाले जबाफ फर्काएकी थिइन्, 'जाऊ भन्नेबित्तिकै हामी जाँदैनौं। लालपुर्जा दिनुहोस्, तत्काल निस्किन्छौं।'
होल्डिङ सेन्टरमा बसिरहेका अरू सुकुम्बासीले पनि उनको कुरामा समर्थन जनाए।
त्यस दिन जिल्ला प्रशासनका कर्मचारीहरू चुपचाप फर्किए।
कृष्णमायाको मनमा भने डर पस्यो — सरकारले थापाथलीको बस्तीबाट जस्तै यहाँबाट पनि एकाएक निकालिदिने त होइन?
एक सातापछि मंसिर ९ गते बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै सूचना टाँस्यो।
'सरकारले छोड्न भने पनि यसै अलपत्र अवस्थामा नलखेट्लान् भन्ने लागेको थियो,' कृष्णमायाले भनिन्, 'दया नभएको सरकारले जे पनि गर्न सक्छ भनेर निदाउनै सकिनँ।'
बुधबार सूचना टाँसेर गएको प्रशासनले बिहीबार साँझ प्रहरी पठायो।
प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्नू भन्दै माइकिङ गरेपछि त्यहाँ रूवाबासी चल्यो।
'कहाँ जाने, के खाने कुनै अत्तोपत्तो थिएन। ओत लाग्ने ठाउँ कतै छैन,' कृष्णमायाले भनिन्, 'सम्बन्धित जिल्लामा गएर बस्नू भन्छ। के हामी रूखको फेदमा गएर बस्नू?'
बुधबार र बिहीबार दुवै रात कृष्णमाया राम्ररी निदाउन सकेकी थिइनन्।
शुक्रबार बिहान सूर्यतिर फर्केर आफ्नो परिवारको रक्षा निम्ति भगवान पुकारेकी कृष्णमायालाई केही बेरमै अर्को चिन्ताले सताउन थाल्यो— नातिनातिनालाई के खुवाउने?
होल्डिङ सेन्टरमा बिहान–बेलुका खाना खुवाउँदै आएको शान्ति सेवा गृहको टोली बिहीबार साँझ नै फर्किसकेको थियो।
यसअघिका दिनमा बिहान साढे ८ बजेतिर चिया–बिस्कुट पाइन्थ्यो। बिहान–बेलुका खाना पाइन्थ्यो।
शुक्रबार त्यो पनि पाइएन।
परिवारका सदस्य भोकभोकै बस्नुपरेपछि कृष्णमाया नजिकैको पसल पुगिन्। बिस्कुट किनेर ल्याइन् र खुवाइन्।
त्यस दिन उनले नातिनातिनालाई स्कुल पनि पठाइनन्।
साँझ आफूहरू कहाँ पुग्ने हो भन्ने टुंगो नभएकाले उनीहरूलाई आफूसँगै राखिन्।
कुनै बेला छोराछोरीलाई स्कुल पठाउन सजिलो होला भनेर सुकुम्बासी बस्तीमा पुगेकी कृष्णमाया आज सरकारले कतिखेर कहाँ पुर्याउँछ भन्ने डरले नातिनातिनालाई स्कुल पठाउन सकिरहेकी थिइनन्।
समय आफ्नै गतिमा चलिरहेको थियो। कृष्णमायाको ध्यान भने एउटै कुरामा थियो — कति बेला २ बज्छ र सरकारले के गर्छ?
बिहान ९ बज्यो। कोही आएनन्।
१० बजे पनि उनले गेटतिर हेरिन्। कोही देखिनन्।
११ बजेपछि भने केही पत्रकार आएको खबर पाइन्।
'पत्रकारहरू आए भनेपछि झन् अब निकाल्छ भन्ने त्रास भयो। त्यसैले अब गोली हाने पनि हान्छ भनेर बाहिर निस्किएँ,' उनले भनिन्, 'सन्तानलाई भोकभोकै राख्नुभन्दा सरकारको गोली खाएरै ज्यान दिन्छु।'
दिउँसो १ बजेर २५ मिनेट जाँदा होल्डिङ सेन्टरको गेटअगाडि प्रहरीको एउटा गाडी रोकियो।
त्यसको १९ मिनेटपछि प्रहरीको अर्को गाडी आइपुग्यो।
बन्दुक बोकेका सुरक्षाकर्मी होल्डिङ सेन्टरभित्र पसेपछि त्यहाँ बसिरहेका सुकुम्बासीमा त्रास र आक्रोश बढ्दै गयो।
दिउँसो २ बज्यो।
प्रशासनले होल्डिङ सेन्टर खाली गर्न दिएको समय सकियो।
बिहानदेखि खाना नपाएका बालबालिकाका निम्ति केही अभियन्ताले चिउरा र दालमोठ किनेर ल्याए।
बालबालिकासँगै उनीहरूका अभिभावक पनि होल्डिङ सेन्टरको गेटबाहिर सडकमै बसेर चिउरा–दालमोठ खान थाले।
स्थायी बसोबासको विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी र केही अभियन्ता नाराबाजी गरिरहेका थिए।
कृष्णमायाका श्रीमान कटकबहादुर पनि चर्को स्वरमा नारा लगाइरहेका थिए।
कटकबहादुर थापा
त्यसको केही समयपछि उनी अनुहारमा थोरै खुसी झल्काउँदै हामीकहाँ आए।
'सरकार पछि हट्यो रे नि, हो म्याम?' उनले सोधे।
प्रशासनले तत्काल कुनै निर्णय नगरेको सुनाएपछि उनी निराश भए।
साँझ पौने ५ बजेतिर भने प्रहरी होल्डिङ सेन्टरबाट फर्कियो।
कृष्णमाया र कटकबहादुरको परिवारले त्यो रात पनि होल्डिङ सेन्टरमै बिताउन पायो। तर उनीहरूको समस्या जहाँको तहीँ छ।
चार दशकअघि कटकबहादुरले गाउँ छाड्दा उनीसँग ज्याला–मजदुरी गरेर कमाउने उमेर थियो।
दुई दशकअघि कृष्णमाया र कटकबहादुर डेरा छाडेर सुकुम्बासी बस्तीमा पुग्दा दुवै जना काम गर्न सक्थे।
अहिले दुवैको उमेर ढल्किँदै गएको छ। पहिलेझैं काम गर्न सक्दैनन्। परिवारमा हुर्काउनुपर्ने ससाना नातिनातिना छन्। जीवनभर ज्याला–मजदुरी गरेर आफ्ना सन्तान हुर्काएका उनीहरू अब नातिनातिनाले राम्रोसँग पढ्न पाऊन् भन्ने चाहन्छन्।
त्यसका निम्ति उनीहरूलाई चाहिएको छ — फेरि भत्काइने र फेरि छाड्नुपर्ने डर नभएको एउटा स्थायी बसोबास।
त्यही भएर कृष्णमायाले सरकारसँग एउटै कुरा मागिरहेकी छन् —
'लालपुर्जा दिनुहोस्, तत्काल निस्किन्छौं।'
***