म कानुन पढ्न चाहन्थेँ। त्यसका लागि आवश्यक शैक्षिक योग्यता पूरा गर्न परीक्षा दिएँ, निर्धारित समयमै प्रवेश परीक्षाको आवेदन भरेँ, शुल्क बुझाएँ र विश्वविद्यालयले तोकेको प्रक्रिया पालना गरेँ।
तर जुन विश्वविद्यालयले मेरो स्नातक तहको परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्ने थियो, त्यही विश्वविद्यालयको ढिलाइका कारण म तीनवर्षे एलएलबीको प्रवेश परीक्षामा सहभागी हुन सकिनँ।
पछि नतिजा प्रकाशित भयो, म उत्तीर्ण पनि भएँ। तर त्यति बेलासम्म प्रवेश परीक्षाको अवसर गुमिसकेको थियो।
आज म यही गुमेको अवसरको न्यायोचित समाधान खोज्दै विभिन्न सरकारी, प्राज्ञिक र संवैधानिक निकाय धाइरहेको छु।
मेरो प्रश्न सामान्य छ, तर यसको उत्तर त्यति सजिलो देखिएको छैन। विद्यार्थीले आफ्नो जिम्मेवारी समयमै पूरा गर्दा पनि विश्वविद्यालयले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको परिणाम विद्यार्थीले नै किन भोग्नुपर्ने?
परीक्षा र नतिजा प्रकाशनमा भएको प्रशासनिक ढिलाइको मूल्य मेरो जीवनको एक शैक्षिक वर्षबाट किन असुलिनुपर्ने?
मोरङको लेटाङबाट विराटनगर आएर पढ्दा मेरो उद्देश्य स्पष्ट थियो। कुनै न कुनै दिन स्नातक तह पूरा गर्ने, कानुन अध्ययन गर्ने र भविष्यमा न्याय तथा कानुनी क्षेत्रमा योगदान पुर्याउने।
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट तीनवर्षे बिए उत्तीर्ण गरेपछि शैक्षिक सत्र २०८२/०८३ मै डिग्री क्याम्पस, विराटनगरमा तीनवर्षे एलएलबी अध्ययन गर्ने मेरो योजना थियो।
तर विश्वविद्यालयको परीक्षा व्यवस्थापन र अन्तरसंकाय समन्वयमा देखिएको कमजोरीले मेरो शैक्षिक यात्रालाई अनिश्चित बनाइदिएको छ। यो अब मेरो व्यक्तिगत भर्नाको विषयमा मात्र सीमित छैन।
यसले देशको उच्च शिक्षा प्रणालीमा विद्यार्थीको समय, अधिकार र भविष्यलाई कति महत्त्व दिइन्छ भन्ने आधारभूत प्रश्न उठाएको छ।
परीक्षा फारम भरेको एक वर्ष नौ दिनपछि नतिजा, तर अवसर पहिल्यै समाप्त
मैले २०८२ भदौ १३ गते बीए प्रथम वर्षको आंशिक परीक्षाको फारम भरेको थिएँ। विश्वविद्यालयको सूचनाअनुसार २०८१ सालको आंशिक परीक्षा २०८२ सालमै सञ्चालन हुने भनिएको थियो।
मेरो त्यही अपेक्षा थियो।
तर परीक्षा फारम भरेको करिब नौ महिनापछि मात्रै परीक्षा दिन पाएँ। २०८३ जेठ १८ गते सुरु भएको परीक्षा जेठ २७ गते सम्पन्न भयो। त्यसको दुई दिनपछि, जेठ २९ गते, त्रिभुवन विश्वविद्यालयले तीनवर्षे एलएलबीको प्रवेश परीक्षा सञ्चालन गर्यो।
त्यति बेलासम्म मेरो स्नातक तहको नतिजा प्रकाशित भएको थिएन। प्रवेश परीक्षाका लागि आवेदन र शुल्क बुझाइसकेको तथा स्नातक उत्तीर्ण हुने विश्वाससहित आवश्यक स्वघोषणा पेस गरेको भए पनि अन्तिम नतिजा उपलब्ध नभएकाले म परीक्षामा सहभागी हुन सकिनँ।
विश्वविद्यालयले भदौ २२ गते बीएको नतिजा प्रकाशित गर्यो। म उत्तीर्ण भएँ। तर कानुन अध्ययनका लागि प्रवेश परीक्षा सम्पन्न भएको झन्डै तीन महिना बितिसकेको थियो।
यसरी परीक्षा फारम भरेदेखि नतिजा प्रकाशनसम्म एक वर्ष नौ दिन लाग्यो। यो समय केवल प्रशासनिक ढिलाइको तथ्याङ्क होइन, मेरो अर्को तहको अध्ययनमा प्रत्यक्ष असर पार्ने अवधि हो।
यही कुराले मलाई मन पिरोल्छ। दिमागमा प्रश्न उठ्छ। मैले परीक्षा दिन अस्वीकार गरेको थिएँ? आवेदन दिन ढिलाइ गरेको थिएँ? शुल्क बुझाउन बाँकी राखेको थिएँ? वा विश्वविद्यालयले मागेको शैक्षिक योग्यता पूरा गर्न असफल भएको थिएँ?
यीमध्ये कुनै कारणले मेरो अध्ययन रोकिएको होइन। मेरो नियन्त्रणबाहिर रहेको नतिजा प्रकाशनको प्रक्रियाले निर्धारित समयमा योग्यता प्रमाणित गर्न नसक्ने अवस्था सिर्जना गर्यो।
विश्वविद्यालयले ढिलो भए पनि नतिजा प्रकाशित गरेर आफ्नो एउटा प्रशासनिक काम सम्पन्न गर्यो। तर त्यसबीच विद्यार्थीले गुमाएको अर्को शैक्षिक अवसरको जिम्मेवारी कसले लिने?
एउटै विश्वविद्यालयका दुई निकायबीच विद्यार्थी किन चेपिनुपर्ने?
मेरो समस्याको सबैभन्दा गम्भीर पक्ष विश्वविद्यालयभित्रकै समन्वय अभाव हो। स्नातक तहको परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने संरचना त्रिभुवन विश्वविद्यालयकै हो।
तीनवर्षे एलएलबीको प्रवेश प्रक्रिया सञ्चालन गर्ने कानुन संकाय पनि त्यही विश्वविद्यालयको हो।
एउटा निकायले अघिल्लो तहको परीक्षा सञ्चालन गर्न सकेन, नतिजा समयमै दिन सकेन। अर्को निकायले निर्धारित समयमा प्रवेश परीक्षा सञ्चालन गर्यो। दुवैले आ–आफ्नो कार्यक्षेत्रअनुसार काम गरेको तर्क गर्न सक्लान्।
तर ती प्रक्रियाबीच समन्वय नहुँदा विद्यार्थीको उच्च शिक्षामा प्रवेश गर्ने अवसर प्रभावित भयो भने समग्र संस्थाको जिम्मेवारीको प्रश्न उठ्दैन र?
विद्यार्थीले परीक्षा तालिका निर्धारण गर्दैन। उत्तरपुस्तिका परीक्षण गराउँदैन। नतिजा प्रकाशित गर्दैन। प्रवेश परीक्षाको मिति पनि विद्यार्थीले तोक्दैन।
यी सबै विश्वविद्यालयका अधिकार र जिम्मेवारीभित्रका विषय हुन्।
त्यसैले विश्वविद्यालयका विभिन्न निकायले आफ्ना काम अलग–अलग रूपमा सम्पन्न गर्नु मात्र पर्याप्त हुँदैन। ती कामबीचको समन्वयले विद्यार्थीको शैक्षिक निरन्तरता सुरक्षित गरेको छ कि छैन भन्ने पनि हेर्नुपर्छ।
यदि एउटा संकायको नतिजा अर्को संकायको प्रवेश परीक्षाका लागि अनिवार्य छ भने ती दुवै प्रक्रियाबीच उचित तालमेल कायम गर्नु विश्वविद्यालयको संस्थागत जिम्मेवारी होइन र?
योग्यतामा छुट होइन, गुमेको प्रतिस्पर्धाको अवसर चाहिएको हो
मेरो मागलाई स्पष्ट रूपमा बुझ्न आवश्यक छ।
मैले प्रवेश परीक्षाबिना स्वतः भर्ना गरिदिनुपर्छ भनेको छैन। निर्धारित शैक्षिक योग्यता हटाउन, पाठ्यक्रम परिवर्तन गर्न वा प्रतिस्पर्धात्मक मापदण्ड कमजोर बनाउन माग गरेको पनि छैन।
मेरो माग केवल यति हो। विश्वविद्यालयकै प्रशासनिक ढिलाइका कारण गुमेको प्रतिस्पर्धाको अवसर प्रचलित कानुन र शैक्षिक मापदण्ड कायम राख्दै पुनः स्थापित गरियोस्।
विशेष वा पूरक प्रवेश परीक्षा सञ्चालन गर्न सकिने कानुनी आधार छ भने त्यसको अध्ययन र प्रयोग गरियोस्। अन्य वैधानिक प्रतिस्पर्धात्मक विकल्प उपलब्ध छन् भने तिनको सम्भावना परीक्षण गरियोस्। यस्तो कुनै विकल्प सम्भव छैन भने कुन नियम, कुन व्यवस्था वा कुन आधिकारिक निर्णयले रोक्छ भन्ने स्पष्ट कारणसहित लिखित जानकारी दिइयोस्।
तर मेरो माग लिखित जबाफमा मात्रै सीमित छैन। मलाई नीतिनियम बनाएर सम्भव बनाएर जे-जसरी भए पनि चालु शैक्षिक सत्रमै निर्धारित प्रक्रिया अनुसार प्रतिस्पर्धा गरेर अध्ययन गर्न पाउने वास्तविक अवसर चाहिएको हो।
कानुनको एउटा मान्य सिद्धान्त छ। कानुनले असम्भव कार्य गर्न बाध्य पार्दैन। विश्वविद्यालयले प्रकाशित गर्नुपर्ने नतिजा विद्यार्थीले आफैँ प्रकाशित गर्न सक्दैन। त्यसैले विद्यार्थीको नियन्त्रणबाहिरको प्रशासनिक ढिलाइबाट उत्पन्न परिस्थितिमा न्यायोचित उपचारको सम्भावना परीक्षण गर्नु आवश्यक छ।
यसको अर्थ स्वतः भर्ना पाउने अधिकार स्थापित हुन्छ भन्ने होइन। तर परिस्थितिको वास्तविकता, विद्यार्थीले पूरा गरेको जिम्मेवारी र संस्थागत ढिलाइको असरलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्नुपर्ने तर्क अवश्य उठ्छ।
मलाई अरू विद्यार्थीभन्दा विशेष सुविधा चाहिएको होइन। म जस्तै परिस्थितिमा परेका, समयमै आवेदन दिएर, प्रवेश परीक्षाको शुल्क बुझाएका तथा आवश्यक शैक्षिक योग्यता पूरा गरेका अन्य विद्यार्थीलाई समेत समान मापदण्डका आधारमा अवसर उपलब्ध गराइनुपर्छ भन्ने मेरो आग्रह हो।
नियमको सम्मान गर्नु विद्यार्थीको दायित्व हो भने नियम लागू गर्दा उत्पन्न भएको अन्यायको कानुनसम्मत उपचार खोज्नु संस्थाको जिम्मेवारी पनि हो।
विश्वविद्यालयको ढिलाइ अपवाद होइन, प्रणालीगत समस्या
मेरो अनुभवलाई एउटा आकस्मिक प्रशासनिक त्रुटिका रूपमा मात्र हेर्न मिल्दैन। पछिल्लो समय सार्वजनिक भएका परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक क्यालेन्डरसम्बन्धी विवरणले विश्वविद्यालयको व्यवस्थापनमा सुधार आवश्यक रहेको देखाएका छन्।
तीनवर्षे बिएको आंशिक परीक्षा ढिला सञ्चालन भएको, नतिजाको प्रतीक्षाले विद्यार्थीको थप अध्ययन प्रभावित भएको र समयमै नतिजा प्रकाशन गर्न माग उठेको विषय सार्वजनिक भइसकेका छन्।
२०८३ साउनमा सार्वजनिक विवरण अनुसार बिएको आंशिक तथा मौका परीक्षाका दुई हजारभन्दा बढी विद्यार्थी नतिजाको प्रतीक्षामा रहेको विषय उठेको थियो। यसले ढिलाइको असर कुनै एक व्यक्तिमा मात्र सीमित नभएको संकेत गर्छ।
विश्वविद्यालयकै रणनीतिक दस्तावेजमा समेत शैक्षिक क्यालेन्डर कार्यान्वयन, परीक्षा व्यवस्थापन र नतिजा प्रकाशनमा देखिएका समस्यालाई सुधार गर्नुपर्ने विषयका रूपमा पहिचान गरिएको छ।
पछिल्लो समय नतिजा ६० दिनभित्र प्रकाशित गर्ने तथा प्रश्नपत्र वितरणलाई विद्युतीय प्रणालीमा लैजाने योजना सार्वजनिक हुनु सकारात्मक प्रयास हो।
तर सुधारको घोषणा र सुधारको वास्तविक परिणाम फरक विषय हुन्।
भविष्यमा परीक्षा र नतिजा समयमै सम्पन्न गर्ने प्रतिबद्धता स्वागतयोग्य छ। तर विगतको ढिलाइबाट प्रत्यक्ष प्रभावित विद्यार्थीको समस्या समाधान नगरी भविष्यको सुधार मात्र पर्याप्त हुन सक्दैन।
अझ महत्त्वपूर्ण कुरा, नतिजा ६० दिनभित्र प्रकाशित भए पनि अर्को तहको प्रवेश परीक्षा त्यसअघि नै सम्पन्न हुने अवस्था रह्यो भने समस्या फेरि दोहोरिन सक्छ।
त्यसैले सुधार केवल परीक्षा छिटो सञ्चालन गर्ने वा नतिजा छिटो प्रकाशित गर्ने विषयमा सीमित हुनु हुँदैन। परीक्षा, नतिजा, प्रवेश प्रक्रिया र शैक्षिक सत्रबीच प्रभावकारी समन्वय सुनिश्चित गर्नुपर्छ।
दस उजुरी, पटक पटक पत्राचार, तर निर्णय कहाँ?
मेरो समस्या समाधानका लागि मैले विश्वविद्यालयकै सम्बन्धित निकायबाट पहल सुरू गरेँ। विश्वविद्यालयमा पटक पटक निवेदन दिएँ। त्यसपछि हेलो सरकारमार्फत दस वटा उजुरी दर्ता गराएँ।
त्रिभुवन विश्वविद्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, नेपाल कानून व्यवसायी परिषद तथा संसदीय समितिसम्म लिखित निवेदन पुर्याएँ।
२०८३ असोज ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट चलानी नम्बर भ्र.नि./५२१/१६२९ र शिक्षा मन्त्रालयबाट चलानी नम्बर १२१ मार्फत उपसचिव र शाखा अधिकृत दुवै जनाद्वारा हस्ताक्षरित दुई पत्र विश्वविद्यालयलाई पत्राचार भएको विवरण मसँग छ।
त्यसपछि कात्तिक १९ गते शिक्षा मन्त्रालयबाट चलानी नम्बर १७५, मंसिर १ गते नेपाल कानुन व्यवसायी परिषदबाट चलानी नम्बर २१२, मंसिर २ गते प्रधानमन्त्री कार्यालयबाट चलानी नम्बर २६५२ र मंसिर ३ गते शिक्षा मन्त्रालयबाट चलानी नम्बर १७९ मार्फत थप पत्राचार भएको छ।
प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयबाट भएका पहल तथा सिफारिसप्रति म सकारात्मक छु। सम्बन्धित निकायले देखाएको चासो र सहयोगलाई सम्मान गर्छु।
तर पत्राचार र समाधान एउटै कुरा होइनन्।
एउटा कार्यालयले अर्को कार्यालयलाई पत्र पठाउँछ। अर्को कार्यालयले सम्बन्धित निकायलाई जानकारी गराउँछ। यसरी सरकारी कागजको यात्रा जारी रहन्छ, तर विद्यार्थीको शैक्षिक यात्रा रोकिएको रोकियै हुन्छ।
मलाई सिफारिसपत्रको संख्या बढाउनु छैन। मलाई मेरो समस्याबारे अधिकारप्राप्त निकायबाट समयमै निर्णय र कार्यान्वयन चाहिएको हो।
विश्वविद्यालयका आफ्नै ऐन, नियम र प्राज्ञिक प्रक्रिया छन्। अन्य निकायबाट प्राप्त सिफारिस स्वतः भर्ना आदेश नहुन सक्छ। तर ती सिफारिस र निवेदनमाथि अध्ययन गरेर कारणसहित निर्णय दिनु विश्वविद्यालयको संस्थागत जिम्मेवारी हो।
एउटा विद्यार्थीले कति पटक निवेदन दिएपछि उसको समस्या सुनिन्छ? कति निकायबाट पत्राचार भएपछि निर्णय हुन्छ? र निर्णय गर्नुपर्ने निकायले निर्णय नगर्दा त्यसको जबाफदेहिता कसले लिन्छ?
कानुनी शिक्षाको जिम्मेवार निकायको भूमिका कहाँसम्म?
मैले नेपाल कानुन व्यवसायी परिषदसमक्ष पनि समस्या समाधानका लागि निवेदन दिएको छु। परिषदबाट विश्वविद्यालयको कानुन संकायलाई पत्राचारसमेत भएको छ।
नेपाल कानुन व्यवसायी परिषद ऐन, २०५० को दफा ८(झ) मा कानुनी शिक्षाको मापदण्डका सम्बन्धमा विश्वविद्यालयलाई सिफारिस गर्न सक्ने व्यवस्था उल्लेख छ।
परिषदले विश्वविद्यालयको प्रवेश परीक्षा आफै सञ्चालन गर्ने वा विद्यार्थी भर्ना गर्ने अधिकार राख्छ भन्ने मेरो दाबी होइन। तर कानुनी शिक्षाको मापदण्डसँग सम्बन्धित संस्थाले प्रशासनिक ढिलाइबाट प्रभावित विद्यार्थीको समस्याबारे आवश्यक परामर्श, समन्वय र सिफारिस गर्न सक्ने सम्भावना किन अध्ययन नगर्ने!
कानुनी शिक्षा न्याय, समानता र विधिको शासनसँग जोडिएको विषय हो। त्यसैले कानुन अध्ययन गर्न चाहने विद्यार्थीले न्यायोचित प्रतिस्पर्धाको अवसर माग्दा सम्बन्धित संस्थाहरूले संवेदनशीलता देखाउनु आवश्यक छ।
संसदसम्म पुगेको आवाज मानव अधिकार आयोगमा किन?
मेरो शैक्षिक समस्या प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसम्म पुगेको छ। संसदीय तहमा विश्वविद्यालयको परीक्षा व्यवस्थापनबाट विद्यार्थीलाई परेको असरबारे विषय उठाइएको छ। सम्बन्धित संसदीय समितिहरूमा मेरा निवेदन प्रक्रियामा छन्।
तर यति धेरै प्रयासपछि पनि ठोस समाधान प्राप्त नभएपछि मैले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको हुँ।
आयोगसमक्ष मेरो आग्रह विश्वविद्यालयको अधिकार खोसेर आफै भर्नाको निर्णय गरिदिनु भन्ने होइन। विश्वविद्यालयको प्रशासनिक ढिलाइले शैक्षिक अवसरमा पारेको असर अध्ययन गरियोस्, आवश्यक कागजात झिकाइयोस्, सम्बन्धित निकायसँग जानकारी मागियोस् र कानुनसम्मत न्यायोचित समाधानका लागि अनुसन्धान, आवश्यक संरक्षणात्मक पहल तथा सिफारिस गरियोस् भन्ने हो।
मूल उजुरीमा प्रधानमन्त्रीदेखि विश्वविद्यालयका सम्बन्धित पदाधिकारी, संवैधानिक तथा सरकारी निकाय, संसदीय समिति र क्याम्पस तहसम्मका २५ निकाय तथा पदाधिकारीलाई आवश्यक जानकारी र समन्वयका कामकारबाहीका लागि भन्दै बोधार्थसहित निवेदन पेस गरेको छु।
त्यसपछि थप प्रमाणसहित पूरक निवेदन पेस गरी ७ गते अन्य सम्मानित आयोगमा तीन सम्बन्धित निकायलाई समेत जानकारी गराई बोधार्थ जानकारी एवम् आवश्यक कामकारबाहीका लागि भनेर निवेदन दर्ता गराएको छु। निवेदन अघि बढेर प्रक्रियामा रहेको छ।
यति धेरै निकायलाई जानकारी गराउनुको उद्देश्य सबैले छुट्टाछुट्टै निर्णय गरून् भन्ने होइन। समस्याको गम्भीरता बुझेर अधिकारप्राप्त निकायबाट समन्वयपूर्ण, समयबद्ध र न्यायोचित निर्णय होस् भन्ने हो।
सामान्यतया विश्वविद्यालयभित्रै समाधान हुनुपर्ने शैक्षिक समस्याका लागि विद्यार्थी प्रधानमन्त्री कार्यालय, संसद् र राष्ट्रिय मानव अधिकार आयोगसम्म पुग्नुपर्ने अवस्था आउनु आफैमा गम्भीर आत्मसमीक्षाको विषय होइन र?
विश्वविद्यालयको स्वायत्तता जवाफदेहिताबाट अलग हुन सक्दैन
त्रिभुवन विश्वविद्यालय स्वायत्त प्राज्ञिक संस्था हो। यसको शैक्षिक स्वतन्त्रता, पाठ्यक्रम निर्धारण गर्ने अधिकार र परीक्षा प्रणालीको स्वायत्ततालाई सम्मान गर्नुपर्छ।
तर स्वायत्तता भनेको प्रशासनिक जबाफदेहिताबाट उन्मुक्ति होइन।
विश्वविद्यालयले विद्यार्थीलाई नियम पालना गर्न लगाउँछ भने आफ्ना प्रशासनिक प्रक्रियाको प्रभाव र परिणामप्रति पनि जिम्मेवार हुनुपर्छ।
नेपालको संविधानको धारा १८ ले समानताको हक, धारा ३१ ले शिक्षासम्बन्धी हक र धारा ४६ ले संवैधानिक उपचारको हक सुनिश्चित गरेको छ।
यी व्यवस्थाले आफूले चाहेको उच्च शिक्षाको कार्यक्रममा स्वतः भर्ना पाउने निरपेक्ष अधिकार प्रदान गर्दैनन्। तर सार्वजनिक संस्थाको व्यवहारबाट असमान, अनुचित वा मनोमानी असर परेको प्रश्न उठेमा त्यसको कानुनी परीक्षण गर्ने आधार प्रदान गर्छन्।
मेरो विषयमा पनि अन्तिम कानुनी निष्कर्ष सम्बन्धित नियम, प्रमाण र अधिकारप्राप्त निकायको निर्णयबाटै निर्धारण हुनुपर्छ।
तर त्यसका लागि निर्णय प्रक्रिया अघि बढ्नुपर्छ। निवेदनमाथि सुनुवाइ हुनुपर्छ। सम्भावित उपचार अध्ययन गरिनुपर्छ।
विश्वविद्यालयको प्रतिष्ठा कमजोरीबारे प्रश्न उठ्न नदिएर होइन, उठेका प्रश्नको तथ्यपूर्ण र न्यायसङ्गत समाधान गरेर बलियो हुन्छ।
एउटा विद्यार्थीको एक वर्षको मूल्य कति?
विश्वविद्यालयका लागि एक वर्ष एउटा शैक्षिक सत्र हुन सक्छ। प्रशासनका लागि त्यो क्यालेन्डरको अवधि हुन सक्छ। तर विद्यार्थीका लागि त्यो जीवनको अमूल्य समय हो।
एक वर्ष अध्ययन ढिला हुँदा रोजगारीमा प्रवेश गर्ने समय पछाडि सर्न सक्छ। परिवारको आर्थिक योजना प्रभावित हुन सक्छ। आत्मनिर्भर बन्ने लक्ष्य टाढिन सक्छ। भविष्यप्रतिको आत्मविश्वास कमजोर हुन सक्छ।
देशमा युवाहरूको विदेश पलायन, उच्च शिक्षाको गुणस्तर र स्वदेशमै अवसर सिर्जना गर्ने विषयमा निरन्तर बहस भइरहेको छ।
तर आफ्नै देशमा अध्ययन जारी राख्न चाहने विद्यार्थीले विश्वविद्यालयकै प्रशासनिक ढिलाइका कारण अर्को शैक्षिक अवसर गुमाउनुपर्ने अवस्था आउँछ भने युवालाई देशमै बस्न प्रेरित गर्ने हाम्रो सन्देश कति विश्वसनीय हुन्छ?
देशमै बस्न प्रेरित गर्ने भाषणभन्दा समयमै परीक्षा, विश्वासिलो नतिजा प्रणाली, निष्पक्ष प्रवेश प्रक्रिया र प्रभावकारी गुनासो सुनुवाइ बढी महत्त्वपूर्ण छन्।
म विश्वविद्यालयसँग द्वन्द्व चाहन्नँ। कुनै पदाधिकारीको प्रतिष्ठामा आघात पुर्याउन चाहन्नँ। मेरो उद्देश्य आफ्नै शैक्षिक यात्राको न्यायोचित निरन्तरता र भविष्यमा अन्य विद्यार्थीले यस्तो अवस्था भोग्नुनपर्ने व्यवस्था हो।
अब समाधानको जिम्मेवारी कसले लिने?
समाधानका लागि सबैभन्दा पहिले विश्वविद्यालयका सम्बन्धित निकायले परीक्षा सञ्चालन, नतिजा प्रकाशन र प्रवेश प्रक्रियाको वास्तविक समयरेखा अध्ययन गर्नुपर्छ।
परीक्षा नियन्त्रण कार्यालयले ढिलाइको कारण स्पष्ट गर्नुपर्छ। कानुन संकायले निर्धारित योग्यता र प्रतिस्पर्धात्मक मापदण्ड कायम राखेर विशेष, पूरक वा अन्य वैधानिक प्रवेश प्रक्रियाको सम्भावना परीक्षण गर्नुपर्छ।
आवश्यक भए कानुन संकायको विद्यापरिषद, प्राज्ञिक परिषद, कार्यकारी परिषद तथा सम्बन्धित स्थायी समितिहरूले आफ्नो अधिकारक्षेत्रअनुसार समन्वय गरी निर्णय गर्नुपर्छ।
निर्णय गर्दा अन्य विद्यार्थीको अधिकार, शैक्षिक मापदण्ड र समान प्रतिस्पर्धाको सिद्धान्त सुरक्षित रहनुपर्छ।
यदि वैधानिक विकल्प उपलब्ध छ भने त्यसको समयमै कार्यान्वयन गरियोस्। उपलब्ध छैन भने कुन नियम र कुन निर्णयका आधारमा सम्भव छैन भन्ने कारणसहित लिखित जबाफ दिइयोस्। साथै अन्य उपलब्ध कानुनी उपचारबारे स्पष्ट जानकारी गराइयोस्।
तर यो प्रक्रिया अनिश्चितकालसम्म लम्बिनु हुँदैन। शैक्षिक सत्र समाप्त भएपछि प्राप्त हुने निर्णयले चालु सत्रमा अध्ययन गर्ने अवसर पुनः स्थापित गर्न नसक्न सक्छ।
यसैले न्यायोचित उपचारको अर्थ केवल निर्णय दिनु होइन, निर्णय उपयोगी हुने समयमा दिनु पनि हो।
दीर्घकालीन रूपमा विश्वविद्यालयले परीक्षा, नतिजा र प्रवेश प्रक्रियालाई समन्वित शैक्षिक क्यालेन्डरमा आबद्ध गर्नुपर्छ। एउटा तहको नतिजा ढिलो हुँदा अर्को तहको प्रवेश अवसर गुम्ने अवस्था दोहोरिन नदिन स्पष्ट कार्यविधि आवश्यक छ।
कानुन पढ्ने सपना बोकेको विद्यार्थीलाई न्याय खोज्न कति ढोका ढकढक्याउनुपर्ने?
आज म एउटा असहज परिस्थितिमा उभिएको छु।
कानुन पढेर न्यायको क्षेत्रमा भविष्य बनाउने सपना बोकेको म आफ्नै शैक्षिक अवसरको न्यायोचित समाधानका लागि विभिन्न निकायको ढोका ढकढक्याइरहेको छु।
मैले आफ्नो तर्फबाट पूरा गर्नुपर्ने प्रक्रिया समयमै पूरा गरेको थिएँ। तर विश्वविद्यालयको नियन्त्रणमा रहेको परीक्षा र नतिजा प्रकाशनको ढिलाइले मेरो शैक्षिक योजना प्रभावित भयो।
समस्या समाधानका लागि निवेदन दिएँ। उजुरी दर्ता गराएँ। सरकारी निकायबाट सिफारिस र पत्राचार भयो। संसदीय तहसम्म विषय पुग्यो। राष्ट्रिय मानव अधिकार आयोगमा समेत न्यायोचित पहलको माग गरेँ।
तर मेरो मूल प्रश्न अझै अनुत्तरित छ।
मलाई नियमभन्दा माथि राख्नुपर्ने होइन। नियमभित्रै रहेर गुमेको प्रतिस्पर्धाको अवसर पुनः स्थापित गर्ने सम्भावनाको निष्पक्ष परीक्षण हुनुपर्छ भन्ने हो।
आज मेरो समस्या हो। भोलि अर्को विद्यार्थी यस्तै परिस्थितिमा पर्न सक्छ। त्यसैले मेरो समस्याको समाधान केवल व्यक्तिगत राहतको विषय होइन, विश्वविद्यालयको संस्थागत सुधारको अवसर पनि बन्न सक्छ।
विश्वविद्यालयको महानता त्यसको इतिहास, विद्यार्थी संख्या वा भौतिक संरचनाले मात्र निर्धारण गर्दैन। आफ्ना विद्यार्थीको समय, परिश्रम र भविष्यप्रति देखाउने जिम्मेवारीले पनि निर्धारण गर्छ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रतिष्ठा र विश्वसनीयतालाई अझ बलियो बनाउने अवसर यहीँ छ। प्रशासनिक ढिलाइबाट प्रभावित विद्यार्थीको समस्या निष्पक्ष रूपमा अध्ययन गर्ने, उपलब्ध वैधानिक विकल्प खोज्ने र समयमै न्यायोचित निर्णय दिने।
विश्वविद्यालयले परीक्षा फेरि सञ्चालन गर्न सक्छ, नतिजा सच्याउन सक्छ र प्रशासनिक प्रक्रिया सुधार्न सक्छ। तर विद्यार्थीको जीवनबाट गुमेको एक वर्ष फिर्ता दिन सक्दैन।
त्यसैले मेरो अन्तिम प्रश्न विश्वविद्यालय र राज्यका जिम्मेवार निकायहरूसँग छ।
मैले आफ्नो जिम्मेवारी पूरा गरेँ। विश्वविद्यालयले आफ्नो जिम्मेवारी समयमै पूरा गर्न सकेन। अब त्यसको सजाय मैले आफ्नो शैक्षिक भविष्य गुमाएर किन भोग्नुपर्ने?
के आफ्नै देशमा कानुन पढ्न चाहने विद्यार्थीले पहिले आफ्नै शैक्षिक अधिकारका लागि न्यायको लडाइँ लड्नुपर्ने हो?
मलाई आश्वासनको अर्को पत्र होइन, प्रचलित कानुन र शैक्षिक मापदण्ड अनुसार अध्ययनको वास्तविक अवसर सुनिश्चित गर्ने समयबद्ध, जिम्मेवार र न्यायोचित निर्णय चाहिएको छ।
किनकि ढिलो आएको नतिजाले स्नातक उत्तीर्ण भएको प्रमाण दिन सक्छ, तर त्यसकै ढिलाइले गुमेको अर्को शैक्षिक अवसर आफै फिर्ता ल्याउन सक्दैन।
(लेखक योगराज दाहाल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, मोरङबाट स्नातक उत्तीर्ण, सूचनाको हक तथा भ्रष्टाचारविरोधी अभियानी हुन्।)