सन् २००२ पछि रसिया विश्वकपमा एसियाली मुलुक जापानले राम्रो खेल देखाइरहेको छ।
जारी विश्वकपमा अन्य एसियाली मुलुकको प्रर्दशन खस्किएको बेला नकआउट चरण पुग्न जापानलाई मौका मिलेको छ।
नकआउट चरण पुग्ने मुख्य लक्ष्य लिएर मस्को आएको जापानले पहिलो खेलमा कोलम्बियालाई हराउँदै आफूलाई उत्कृष्ट साबित गरिसकेको छ।
दक्षिण अमेरिकी बलियो टोली कोलम्बियाविरुद्धको ऐतिहासिक जितले हौसिएको जापानलाई आज एउटा अर्को मौकाले पर्खिएको छ। यदि समूहको दोस्रो खेलमा अफ्रिकन मुलुक सेनेगललाई हराउन सके जापान नकआउट चरण पुग्नेछ।
तर यसअघि आफ्नो पहिलो खेलमा युरोपको बलियो प्रत्यासी पोल्याण्डलाई पन्छाउँदै अगाडि बढेको सेनेगल पनि समूहमा उत्कृष्ट भएको प्रमाण देखाइसकेको छ।
समूह चरणको अंक तालिकाले दुवै टोलीको समान ३-३ अंक छ। उनीहरूलाई दोस्रो चरण प्रवेश गर्न आजको खेल जित्नैपर्ने दबाब छ। यस्तो आँकडामा आइतबार राति नेपाली समय अनुसार पौने ९ बजे रसियाको एकान्टेरिनवर्ग एरिनामा रोचक भिडन्त हुनेछ।
जापान र सेनेगलको यसअघि ३ पटक आमने सामने भएका छन्। जसमा २ खेलमा सेनेगल विजयी भएको छ भने एक खेल जापानले जितेको छ।
सेनेगलका माने र जापानी डिफेन्डर माया योसिडाबीचको प्रतिस्पर्धाले पनि थप रोचक बनाउनेछ। माने जापानी खेलाडीको मुख्य निगरानीमा हुनेछन्। मानेलाई स्वतन्त्र छाडेर चुकाउनु पर्ने मुल्यबारे समेत जापान पक्कै जानकार छ।
सेनेगलको गति, शारीरिक बनावट र पूर्ण टिमको अगाडि होचा कदका जापानी खेलाडीले गेम प्लान अनुसार खेल्नुपर्नेद्ध।
प्रतियोगिता अगाडि सेनेगल २००२ यता विश्वकपमा छनोट हुन सकेको छैन। तर, पछिल्ला ११ अन्तर्राष्ट्रिय खेलमा एक खेल मात्र गुमाएको सेनेगल लयमा देखिएको छ।
सन् १९९८ बाट लगातार छैटौं विश्वकप फुटबल खेल्न लागेको जापान अहिलेसम्म २ पटक मात्रै नकआउट चरणमा पुगेको छ।
सन् २००२ र २०१० को विश्वकपमा जापान प्रिक्वाटरफाइनलमा पुगेको थियो।
चार वर्षअघि ब्राजिल विश्वकपमा १ अंकमात्र जोडेर घर फर्किएको जापानले आज पक्कै इतिहासमा दोहोर्याउँदै तेस्रोपल्ट नकआउट चरणमा पुग्ने प्रयास गरिरहेको छ।
यता अफ्रिकन मुलुक सेनेगल दोस्रो पटक विश्वकप खेलिरहेको टोली हो। यसअघि सन् २००२ मा विश्वकप फुटबल खेलेको सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो ।
सेनेगलले आफ्नो डेब्यु विश्वकपमा नै तहल्का मचाएको थियो । जापान र दक्षिण कोरियाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपको क्वाटरफाइनलसम्म पुग्नु सेनेगलको लागि इतिहासकै ठूलो उपलब्धि थियो ।
सिन्जी कागावा (जापान)
बोरुसिया डर्टमुन्डबाट खेल्ने सिन्जीले इंग्लिस प्रिमियर म्यानचेस्टर युनाइटेडबाट २ वर्षदेखि खेलिरहेका छन्। युरोपका दिग्गज क्लबको अनुभव बटुलेका सिन्जीले कोलम्बियाविरुद्ध राम्रो प्रदर्शन गरेका थिए। यसैका आधारमा उनी सेनेगलविरुद्ध पनि जापानका लागि प्रेरणादायी खेलाडी बन्न सक्छन्। सन् २००८ देखि राष्ट्रिय टिमबाट खेलिरहेका उनले ९३ खेलमा ३१ गोल गरेका छन्।
युया ओसाका (जापान)
जापानिज टोलीका स्ट्राइकर युया ओसाका प्रतिभाशाली फुटबलर हुन् । जर्मनीको दोस्रो डिभिजन क्लब कोल्नबाट क्लब फुटबल खेल्ने उनी जापानिज टोलीमा युरोपेली क्लब फुटबलको अनुभव बटुल्ने खेलाडीमध्येका हुन्। जापानले रुस विश्वकपको पहिलो खेलमा बलियो टोली कोलम्बियासँग २-१ को जित हात पार्दा उनै ओसाकाले निर्णायक गोल गरेका थिए।
लामो दूरीबाट सशक्त प्रहारमा गोल गर्नसक्ने क्षमताका खेलाडी उनी रुस विश्वकपमा जापानको महत्वपूर्ण स्ट्राइकरका रूपमा रहेका छन् ।
सन् २०१३ बाट जापानको राष्ट्रिय टोलीमा डेब्यु गरेका ओसाकाले हालसम्म ३० खेलबाट ८ गोल गरेका छन् ।
चार वर्षअघि ब्राजिल विश्वकपमा पनि अवसर पाएका उनले दुई खेल मात्रै खेलेका थिए।
सडियो माने (सेनेगल)
सडियो मानेले सन् २०१३ मा सेनेगल राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। २६ वर्षीय मानेले अहिलेसम्म खेलेका ५२ खेलमा १४ गोल गरेका छन्। उनी सेनेगलका भरपर्दा खेलाडीमध्येका एक हुन्।
बेय निएङ (सेनेगल)
२३ वर्षिय एमबिए निएङ सेनेगलका उत्कृष्ट फरवार्ड हुन्। सन् २०१२ बाट सेनेगलको राष्ट्रिय टोलीबाट खेल्न सुरू गरेका निएङ एसिमिलानबाट क्लब फुटबल खेल्ने गरेका छ्न्।
९ अन्तर्राष्ट्रिय खेलबाट १ मात्र गोल गरेका उनले रसिया विश्वकपको उद्घाटन खेल जिताउन महत्वपूर्ण गोल गरेका थिए।