भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घनिभूत बनेको राजनीतिक दलहरूको नेतृत्व परिवर्तनको मागलाई नेकपा एमालेले महाधिवेशनबाटै अस्वीकार गरेको छ।
जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट पदच्यूत गराएका केपी शर्मा ओलीलाई पुनः अध्यक्षमा भारी मतले जिताउँदै एमालेका कार्यकर्ताले उनको विकल्प नखोज्ने प्रस्ट सन्देश दिएका छन्।
राजनीतिक विश्लेषक केशव दाहालका शब्दमा महाधिवेशनमार्फत एमालेले 'हामी जे गरिरहेका छौं, त्यो ठिक छ' भन्ने लाइन लिँदै ओलीलाई फेरि अनुमोदन गरेको छ।
बिहीबार सार्वजनिक मत परिणाम अनुसार आफ्ना पुराना सहयात्री ईश्वर पोखरेललाई १०९९ मतको फराकिलो अन्तरले हराउँदै अध्यक्षमा 'ह्याट्रिक' गर्ने क्रममा ओलीले १६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी पोखरेलले ५६४ मतमा चित्त बुझाउनुपरेको छ।
११औं महाधिवेशनअघि ओलीले बारम्बार भन्दै आएका थिए, 'एमालेमा मेरो विकल्प छैन। जित्ने कि मैले हो अथवा मैले रोजेको उम्मेदवारले।'
नभन्दै उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईको जीतलाई अपवाद मान्ने हो भने १९ मध्ये १७ जना पदाधिकारी ओलीकै टिमबाट जितेका छन्।
पार्टीभित्र आफ्नो प्रचण्ड शक्ति रहेको सन्देश दिँदादिँदै पनि ओलीले आफ्ना विश्वासपात्र विष्णु रिमाललाई उपमहासचिवमा दोहोर्याउन भने सकेनन्। रिमालले केन्द्रीय सदस्यमै पनि ठाउँ पाएनन्।
आफैले मनोनित गरेर उपाध्यक्ष बनाएका गुरू बराललाई ओलीले फेरि उही पदमा देख्न चाहेका थिए। तर बरालले पनि उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पद गुमाएका छन्।
जेनजी आन्दोलनले पदच्यूत गरेपछि राजनीतिक रूपमा पराजित भए पनि शारीरिक हाउभाउमा त्यस्तो कहिल्यै नदेखाएका ओली 'नयाँ राजनीतिक जीत' को खोजीमा थिए।
जेनजी विद्रोहपछि एमालेभित्र सानै आकारमा भए पनि नेतृत्व परिवर्तनको माग उठेको थियो। त्यही माग उठ्न थालेपछि महाधिवेशनलाई आफूले एक वर्षअघि नै सारिदिएको ओलीले सार्वजनिक रूपमा बताउँदै आएका थिए।
'मैले नै उपाध्यक्ष बनाएकाहरू कराँते खेल्दै मेरै टाउकामा हान्ने' भन्दै उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईहरूप्रति रोष प्रकट गर्दै आएका थिए।
अध्यक्षमा तेहेरिनकै लागि विधानका प्रावधान आफू अनुकूल फेरेका ओलीलाई त्यो अवसर दिएर महाधिवेशन प्रतिनिधिले उनको इच्छा पूरा गरिदिएका छन्।
एमाले कार्यकर्ताले गरेको ओलीको यो अनुमोदनले एमाले र उनी स्वयंको आगामी यात्रामा कस्तो प्रभाव राख्ला?
राजनीतिक विश्लेषक केशव दाहाल महाधिवेशन आयोजना हुनु सुखद भए पनि यसले लिएको बाटो र दिएको सन्देश भने सुखद हुन नसकेको बताउँछन्।
यो महाधिवेशनले एमालेभित्रको 'निर्देशित लोकतन्त्र' लाई फेरि उजागर गरेको र उसले नेपालको जेनजी विद्रोहको माग बेवास्ता गरेको उनको ठहर छ।
'महाधिवेशन गर्ने कि नगर्ने विवादमै कांग्रेसको केन्द्रीय कमिटी बैठक लामो समयसम्म चल्यो। नयाँ भनिएका पार्टीहरूले भेला समेत गर्न नसकेको अवस्थामा एमालेले संकटबीच पनि अधिवेशन सम्पन्न गर्यो, यो राम्रो कुरा हो,' दाहालले भने, 'यो बाहिरबाट हेर्दा लोकतान्त्रिक अभ्यास जस्तो देखिए पनि सारमा यो निर्देशित लोकतन्त्र मात्रै थियो।'
दाहालका अनुसार एमालेभित्र अहिले एउटा यस्तो संस्कृति विकास भएको छ, जहाँ 'पार्टीमा एकजना मुखिया वा प्राधिकार हुन्छ, कार्यकर्ताहरूमा उसैले सबै जान्छ, उसैले विवेक पुर्याउँछ र हामीले उसको निर्देशन मान्नुपर्छ' भन्ने मानसिकता हाबी छ।
'यसले सदस्यहरूको सार्वभौमिकता संकुचित भएको छ। जब सदस्यको सार्वभौमिकता खुम्चिन्छ, तब चुनावी प्रक्रिया र मतदान भए पनि त्यसलाई वास्तविक लोकतन्त्र मान्न सकिँदैन,' दाहालले थपे, 'अधिवेशनको परिणाम एउटा खास गुटको पक्षमा आउनु स्वाभाविक थियो। यद्यपि, केही फरक गुटका व्यक्ति व्यक्तिगत लोकप्रियताका कारण निर्वाचित भए, जसले एमालेलाई तत्कालका लागि विभाजन हुनबाट जोगाएको छ।'
तर जेनजी विद्रोहको दृष्टिबाट हेर्दा एमालेले त्यसको माग बेवास्ता गरेको उनको ठहर छ।
'नेपालको जेनजी आन्दोलनले परम्परागत दलहरूको पुनर्गठन माग गरेको थियो। विचार, एजेन्डा, नेतृत्व र राजनीतिक संस्कृतिमा आमूल परिवर्तन आजको पुस्ताको चाहना हो,' उनले भने, 'तर एमालेले यो भावना समात्न सकेन। अधिवेशनमार्फत एमालेले हामी जे गरिरहेका छौं, त्यो ठिक छ भन्ने नै पुनर्पुष्टि गर्यो।'
जति बेला एमालेमा शक्तिशाली महासचिवका रूपमा माधवकुमार नेपालको हालीमुहाली थियो, पार्टीमा लोकतान्त्रीकरणको आवश्यकता औंल्याउने मुख्य पात्र थिए ओली। तर आफू शक्तिमा हुँदा फरक विचारलाई निषेध गर्ने पात्र बनेको भनेर उनी आलोचित छन्।
'ओलीलाई नै अध्यक्षमा जिताएर एमालेले हाम्रो विद्रोह केही थिएन भन्ने सन्देश दिन खोजेको छ। तर कार्यकर्ता पंक्तिमा जे सन्देश दिए पनि जनतामाझ के हो भन्ने सबै थाहा छ,' जेनजी आन्दोलनमा सक्रिय रहेका विराटनगरका विद्यार्थी साहिल दाहाल भन्छन्, 'एमालेले थोरै मात्र पनि आत्मसमीक्षा गरे हुन्थ्यो भन्ने थियो, गरेन।'
तेह्रथुममा जन्मेका, झापामा हुर्केका र २०२० को दशकको सुरूबाटै वामपन्थी आन्दोलनमा लागेका ओली १४ वर्ष जेल बसेका नेता हुन्।
२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर दुईतिहाइ नजिकको शक्तिसहित प्रधानमन्त्री बनेका उनले दुई पटक संसद विघटन गरेका थिए। माओवादीसँगको एकता टिकाउन नसकेका उनले एमाले पंक्ति पनि एकताबद्ध राख्न सकेनन्। माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पार्टी विभाजन गरे।
दसौं महाधिवेशनमा उनलाई चुनौती दिने भीम रावल र घनश्याम भूसालहरू पनि आज ओलीको साथमा छैनन्।
यसपालि महाधिवेशनमा पराजित पक्षप्रति ओलीले आगामी दिनमा कस्तो व्यवहार गर्लान् भन्नेमा उनी इतर पक्ष चासोका साथ पर्खिरहेका छन्।
'एमालेको भविष्य उनको आगामी कार्यशैलीमा भरपर्छ,' ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा पराजित एक नेताले भने, 'हामी अब पर्खने र हेर्ने हो।'