चार वर्षअघि पुस महिनाकै कुरा हो।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनपछि शेखर कोइराला समूहले काठमाडौंमा 'भोट अफ थ्यांक्स' कार्यक्रम आयोजना गरेको थियो।
कोइराला समूहबाटै उम्मेदवार बनेर सबभन्दा धेरै ६४.५७ प्रतिशत लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित गगन थापा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थिए।
आफ्नो सम्बोधन क्रममा थापाले महिनादिनको अन्तरालमा भएका नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी महाधिवेशनको तुलना गरे।
एमालेले कांग्रेसभन्दा एक महिनाअघि महाधिवेशन सम्पन्न गरेको थियो। चितवनको त्यो दसौं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव नै गराउन चाहेका थिएनन्। आफूलाई निर्विरोध अध्यक्ष छान्नुपर्ने जोडबल उनले अन्तिमसम्मै गरेका थिए।
'जित्न त नदिने हुनुभयो, कम्तिमा हार्ने अवसर त दिनुस्' भन्दै चुनावी प्रतिस्पर्धामा ओर्लेका भीम रावल, घनश्याम भूसाल लगायतको करकापले मात्र बल्लतल्ल निर्वाचन भएको थियो।
सामान्यतयाः चुनावमा भोट हाल्नुपर्ने आफ्नो गुटका उम्मेदवारहरूको सूची तयार हुन्छ। सहभागीहरूका अनुसार सौराहामा भने ओली पक्षले 'भोट हाल्नै नहुनेहरू' को सूची बनाएर वितरण गरेको थियो। क–कसलाई जिताउने भन्ने पहिल्यै तय थियो, हराउनैपर्ने सूची पनि तय भयो। सौराहाको एउटा होटलबाट जारी हुने ओलीको आदेश महाधिवेशन हलले पारित गर्ने औपचारिकता मात्र पूरा गर्नुपर्ने थियो।
त्यसको एक महिनाभित्रै काठमाडौंमा भएको कांग्रेस महाधिवेशनको दृश्य भने फरक थियो।
त्यहाँ प्रधानमन्त्रीसमेत रहेका शक्तिशाली सभापति शेरबहादुर देउवा पहिलो चरणमा निर्वाचित हुन सकेनन्। सभापतिको निर्वाचत दोस्रो चरणमा पुग्यो। देउवा महाधिवेशन प्रतिनिधिहरूलाई नमस्कार गर्दै दुवै चरणमा भोट माग्न व्यस्त थिए।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा मतदान हुने दिन देउवा राजधानीको चिसोमा बिहानदेखि साँझ अबेरसम्मै प्रतिनिधिहरूसामु हात जोडेर मत माग्न खटिएका थिए।
महाधिवेशनलाई अक्सर 'अधिवेशन' भन्ने महामन्त्री थापाले यही दृश्यलाई एमालेको चितवन महाधिवेशनसँग दाँज्दै भनेका थिए, 'त्यो अधिवेशन थिएन। खास अधिवेशन यो थियो। हामीले वास्तवमै अधिवेशन गरेका थियौं।'
ठ्याक्कै चार वर्षपछि यी दुई प्रमुख पार्टीको महाधिवेशन दृश्यमा आनका तान बदलाव आएको छ।
एमालेले यसपालि गगनले भनेजस्तै 'खास महाधिवेशन' सम्पन्न गरेको छ।
काठमाडौंको पुसको ठन्डीमा करिब २२ घन्टा लगाएर प्रतिनिधिहरूले मत खसाले। पदाधिकारीका सबै १९ पदमा नेताहरूले खुला र हार्दिकतापूर्वक प्रतिस्पर्धा गरे र निर्वाचित भए।
ठिक यही बेला महामन्त्री गगन थापाको कांग्रेस पार्टीभित्र भने महाधिवेशनलाई लिएर अन्योल बढ्दै गएको छ।
४५ दिन लगाएर केन्द्रीय कार्यसमितिले पुस २७–२९ मा महाधिवेशन गर्ने निर्णय गरेको छ। आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर प्रस्ताव दर्ता गराएपछि त्यसैको दबाबमा मात्र नियमित महाधिवेशनको निर्णय भएको हो भन्ने जगजाहेर छ।
पार्टीले औपचारिक रूपमा उक्त निर्णय गरे पनि संस्थापन पक्षका कतिपय नेताले सुरूदेखि अहिलेसम्मै महाधिवेशन सम्पन्न हुनेमा शंका व्यक्त गरिरहेका छन्। महाधिवेशनको कार्यतालिका प्रकाशित भएपछि पार्टी प्रवक्ता प्रकाशशरण महत स्वयंले 'रकेट गतिको कार्यतालिका' भनेर व्यंग्य गरेका थिए।
महाधिवेशनको तिथि नजिकिँदै गर्दा कांग्रेसमा विवाद र तानातान बिस्तारै देखिन थालेका छन्। केन्द्रीय समितिले चुनावमा भाग लिने निर्णय गरेको पार्टीका केही सांसदहरू संसद पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पार्टी सभापतिको 'ग्रिन सिग्नल' बिना उनीहरूले त्यसो गर्ने थिएनन् भन्ने घामजत्तिकै छर्लंग छ।
पछिल्लो समय क्रमसंख्या बेगरको क्रियाशील सदस्यता फारम विवाददेखि आउँदो चुनावका लागि उम्मेदवार सिफारिसको चटारोसम्म कांग्रेसले बेहोरिरहेको छ।
पार्टी रूपान्तरणको पैरवी गरिरहेका दुई महामन्त्री कार्यतालिका एक–दुई दिन यताउता गरेर भए पनि महाधिवेशन गर्ने अडानमा छन्। तर 'तपाईंपछि को त' भन्दै सभापति देउवातिर आशापूर्ण नजर लगाइरहेका 'सात भाइ' को प्रयास भने महाधिवेशन गर्नेभन्दा सार्नेतिर बढ्ता केन्द्रित देखिन्छ।
स्वयं सभापति शेरबहादुर देउवा के चाहन्छन् भन्नेमा प्रश्नहरू खडा भएका छन्। उनले जसरी पनि महाधिवेशन पुसभित्रै गरिसक्न चाहे भने महाधिवेशन सम्पन्न हुन्छ, समयले छेक्दैन। कुनै बहानामा उनले महाधिवेशन रोक्न खोजेका हुन् भने क्रियाशील सदस्यताकै विवाद हजार ठाउँमा उठने छन्, र ती समय सीमाभित्र सल्टिने छैनन्।
कांग्रेस महाधिवेशन समयमा सम्मन्न गर्ने सकस बेहोरिरहेका कांग्रेस महामन्त्री थापालाई चार वर्षअघि एमालेबारे आफूले गरेको टिप्पणी आज कति सम्झना होला!
यसपालि छोटो समयमै एमालले सफलतापूर्वक 'महाधिवेशन' सम्पन्न गरिसकेको छ। आफूमाथि प्रश्न उठेपछि ओलीले कम्तिमा महाधिवेशनमार्फत आफूलाई अनुमोदन गराएका छन्। आफ्नो नेतृत्वमा एमालेलाई चुनावमा लैजाने वैधता उनले महाधिवेशनमार्फत हासिल गरेका छन्।
जनताले उनको नेतृत्व स्वीकृत गर्छन् वा अस्वीकृत, त्यो भने आउने निर्वाचनमा देखिने छ।
कांग्रेसको महाधिवेशन पनि आन्तरिक प्रश्न मात्र होइन। जेनजी आन्दोलनपछि कांग्रेस कसको नेतृत्वमा चुनावमा जान्छ भन्ने पेचिलो प्रश्न पनि कांग्रेसीहरूसामु छ।
विधानत: दुई कार्यकाल पूरा गरिसकेका पार्टी सभापतिले कुनै बहानामा नियमित महाधिवेशन र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन टारे भने?
ती महाधिवेशन छलेर आफ्नै नेतृत्वमा कांग्रेसलाई चुनावमा लैजान खोजे भने?
आफ्नो नेतृत्वबारे प्रश्न उठेपछि कम्तिमा ओलीले महाधिवेशन बोलाएर त्यसको सामना गरेका छन्। बलियो आन्तरिक लोकतन्त्र अभ्यास गरेको दाबी गर्ने कांग्रेसमा भने महाधिवेशन निश्चित हुन सकेको छैन।
सभापति देउवा स्वयं यी प्रश्नबाट भाग्न खोजिरहेजस्तो देखिन थालेको छ।
महाधिवेशनबारे कांग्रेसमा अन्योल बढदै जाँदा यसपालि खिसिट्युरी गर्ने पालो एमालेको आउन सक्छ। अत्यधिक मतसहित सचिव निर्वाचित भएका महेश बस्नेतले पनि कांग्रेसलाई भन्न सक्छन्, 'महाधिवेशन कसरी गर्नुपर्छ र कस्तो हुन्छ देख्नुभयो नि?’
कांग्रेस महामन्त्री थापा र महाधिवेशन गरेर चुनावअघि नै नयाँ नेतृत्व चुन्न कसिएका कांग्रेसका बहुसंख्यक नेता–कार्यकर्तालाई यस्ता सम्भावित प्रश्नले घोच्न थालेको हुनुपर्छ!
***