म्यारोडोनाले रूस विश्वकपमा खराब लयमा रहेको अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन्।
नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्नुअघि अर्जेन्टिनाका खेलाडीलाई आफूले भेट्न चाहेको बताएको खबर अन्तर्राष्ट्रिय मिडियामा छापिएका छन्।
भोलि अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल नाइजेरियासँग खेल्दैछ।
पहिलो खेलमा आइसल्याण्डसँग अंक बाडेँको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग ३–० को हार व्यहोरेको थियो।
२ खेलबाट १ अंक भएको अर्जेन्टिनाका लागि अन्तिम १६ मा पुग्न नाइजेरियालाई हराउनैपर्छ।
टिमको पछिल्लो प्रदर्शनबाट तनावमा देखिएका म्याराडोनाले अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडिओ तापिएको आलोचना गर्दै आक्रोश पोखेका छन्।
विश्वकपको दोस्रो खेलमा क्रोएसियासँगको हारपछि अर्जेन्टिनी फुटबलले महंगो मूल्य चुकाउनुपर्ने अवस्था आएको भन्दै उनले अब अर्जेन्टिनी फुटबलका लागि खराब समय आएको दाबी गरेका छन्।
सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका म्याराडोनाले गोल्डेन बलसमेत जितेका थिए।
भेनेजुएलाको एक टेलिभिजन ‘तेलेसुर’सँगको अन्तर्वार्ताको क्रममा म्याराडोनाले आफू प्रशिक्षक जर्ज साम्पाओलीको टिमका खेलाडीलाई भेट्न इच्छुक रहेको बताएका छन्।
उनले आफूहरू हाम्रो सम्मान बचाउने अभियानमा रहेको बताए। देशको प्रदर्शनबाट आफू निकै उदास र निराश भएको भन्दै उनले भने, ‘अर्जेन्टिनाको जर्सी लगाएको कोही पनि क्रोएसियाबाट त्यसरी पराजित भएको देख्न सक्ने अवस्थामा हुँदैन। त्यो हार जर्मनी, ब्राजिल, नेदरल्याण्डस वा स्पेनबाट थिएन।’
आफ्नो साथमा आफ्ना पुराना साथी खेलाडीलाई पनि लैजान चाहेको भन्दै उनले सबै दोष अर्जेन्टिनी फुटबल एसोशिएसनलाई दिए।