रसियामा जारी विश्वकपमा आज समूह ईका अन्तिम खेलमा हुँदैछन्।
तीमध्ये एउटा खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले सर्वियाको सामना गर्दैछ।
यो समूहबाट ब्राजिलसँगै स्विट्जरल्याण्ड र सर्वियाको नकआउट चरण प्रवेशको सम्भावना जिवितै छ। कोष्टारिका भने अन्तिम खेलअघि नै बाहिरिसकेको छ।
आजको खेल जिते ब्राजिल समूह विजेताको रूपमा नकआउट चरणमा पुग्नेछ। बराबरीको अवस्थामा पनि ब्राजिल नकआउट चरण पुग्न सक्छ तर त्यसका लागि स्विट्जरल्याण्डले कोष्टारिकालाई पराजित गर्नुपर्छ।
सर्विया भने ब्राजिललाई पराजित गर्नै पर्ने दबाबमा छ। बराबरी गरेको अवस्थामा पनि सर्विया नकआउट चरण पुग्न सक्छ। तर त्यसका लागि कोष्टारिकाले एकभन्दा बढी गोल अन्तरले स्विटरल्याण्डलाई पराजित गर्नुपर्छ।
बलियो ब्राजिललाई पराजित गर्न सर्वियालाई सजिलो छैन।
सर्वियाले स्वतन्त्र हुनुअघि युगोस्लोभाकियाबाट फुटबल खेल्थ्यो। विश्वकप फुटबलमा ब्राजिल र युगोस्लोभाकिया चार पटक भिडेका छन्। दुई खेल बराबरीमा टुंगिएको थियो भने दुबै राष्ट्रले एक/एक पटक जित हात पारेका थिए।
सर्विया स्वतन्त्र भएपछि ब्राजिलसँग एक पटकमात्र मैत्रीपूर्ण खेल खेलेको छ। त्यो खेलमा ब्राजिलले १-०को जित हात पारेको थियो।
सर्वियाको भरोसा उसका स्टार खेलाडी अलेक्जेण्डर मित्रोभिकमा छ। न्यु क्यासल युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने मित्रोभिकले २६ खेलमा १८ गोल गरेका छन्। उनले स्विटरजल्याण्डविरुद्ध हेडमार्फत् गोल गरेका थिए। जारी विश्वकपमा इटालियन क्लब रोमाबाट खेल्ने सर्वियाका अर्का खेलाडी अलेक्जेण्डर कोलारोभले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कोलारोभले कोष्टारिकाविरुद्ध फ्री किकमा गोल गरेका थिए।
तर पछिल्ला १३ खेलमा अपराजित ब्राजिललाई पराजित गर्नु सर्वियाका लागि सहज छैन। ब्राजिलले पछिल्ला ९ खेलमा जित हात पारेको छ भने ४ खेलमा बराबरी गरेको छ। नेइमारले ८७ खेलमा ५६ गोल गरिसकेका छन्।
सर्विया मिडफिल्डर आदम एलजेजिकले ब्राजिलसँगको खेलमा 'चमत्कार'को अपेक्षा गरिरहेको बताएका छन्।
'ब्राजिल विश्वकपमा छनौट हुनुअघि नै मानिसहरूको मन पर्ने टोली हो। उनीहरुको टिम राम्रो छ। व्यक्तिगत रूपमा खेलाडी उत्कृष्ट छन्', एलजेजिकले भनेका छन्, 'खेल हाम्रा लागि सहज छैन। उनीहरू मिडफिल्डदेखि डिफेन्स अनि एट्याकमा पनि बलियो छन्। तर हामी ब्राजिलविरुद्ध राम्रो खेल्नेछौं। जे गर्ने हो ९० मिनेटमै गर्नुपर्नेछ। म आशा गर्छु, चमत्कार हुनेछ।'
ब्राजिलका डिफेन्डर फार्गिनर कोनसेर्भा लिमोसले सर्विया बलियो टोली भएकाले ब्राजिललाई दु:ख दिने सक्ने बताएका छन्।
'सर्विया बलियो टोली हो', फार्गिनरले भनेका छन्, 'उनीहरूलाई गोल हान्नै पर्ने दबाब छ। त्यसैले दु:ख दिन सक्छन्।'
फार्गिनरले ब्राजिलको एट्याक बलियो भएका कारण सर्वियाले धेरैजसो डिफेन्सिभ खेल्ने र काउन्टर प्रहार गर्ने बताएका छन्। सर्वियाका प्रशिक्षक मादेन क्रष्टाजिकले ब्राजिलको टोलीमा रहेका २३ खेलाडी नै उत्कृष्ट रहेको बताएका छन्।
'ब्राजिलका लागि को मैदानमा उत्रन्छ भन्ने प्रश्न रहेन', उनले भनेका छन्, 'ब्राजिल राम्रो टोली हो भन्नु नयाँ कुरा होइन। तर हाम्रो विश्वकपको प्रदर्शन हेरे पुग्छ। हाम्रो टोलीमा युवा खेलाडी छन्। टोली उत्कृष्ट छ।'
ब्राजिलका प्रशिक्षक टिटेले भने विश्वकपमा ब्राजिलको प्रदर्शनको सम्पूर्ण जिम्मेवारी नेइमारको काँधमा बोकाउन नहुने बताएका छन्। नेइमारले जारी विश्वकपमा राम्रो खेल्न सकिरहेका छैनन्। टिटेले नेइमार 'रिकभरी स्टेज'मा रहेको बताएका छन्।
दबाबमा रहेका नेइमार कोष्टारिकाविरुद्धको खेलमा गोल गरेपछि मैदानमै रोएका थिए। टिटेले भनेका छन्, 'हामी भावुकता र दबाबबारे जानकार छौं।'
खेल राति पौने १२ बजे मस्कोस्थित स्पातक रंगशालामा सुरू हुनेछ।