अचेल टेलिभिजनमा नेपाली लोकशैलीका गीत बजाउन पूर्णसिंह बराइली दम्पत्तिले रिमोट खिटिखिटी पारिहनुपर्दैन। रिमोट छोरीको ‘कब्जा’मा परेको छ।
तीन वर्षीया छोरी युट्युबबाट चल्तीका नेपाली गीत बजाउँछिन्। तोतेबोलीमा गीतको नक्क्ल गर्दै शरीर लच्काउँछिन्। लोकशैलीका गीतमा उनको चासो बढ्दै गएको छ। गीतमा ठेट नेपाली शब्द सुन्यो कि, बाबा–ममीलाई सोधिहाल्छिन्, ‘यो ... भनेको के हो?’
‘डोको, थुन्चे, नाम्लोजस्ता गाउँतिर चलनचल्तीका शब्दमा छोरीको रुची बढी छ,’ पूर्णसिंह आफ्नी छोरीबारे सुनाउँछन्, ‘गीतले उनलाई नेपालको मौलिकताप्रति रुची बढाउँदै लगेजस्तो लाग्छ।’
त्यसो त, पूर्णसिंहलाई यो कुरा राम्रोसँग थाहा छ, गाउँ–घरमा गाइने भाकामा दुई–चार ठेट शब्द मिसाएर तयार पारिएका ‘हिट’, ‘भाइरल’ भनिएका गीतले प्रवासमा हुर्किरहेका उनका छोरीजस्ता नेपाली सन्तानका (जसको ‘पहिचान’ नेपाली हो तर, नेपालको बारेमा धेरै थाहा छैन) जिज्ञासालाई पूर्ति गर्दैनन्।
त्यसोभए, त्यस्ता जिज्ञासु सन्तानले नेपालबारे कसरी बुझ्ने त?
पूर्णले तयार पारेको जवाफ हो, फिल्म फेस्टिभल।
त्यस्तो फेस्टिभल, जहाँ प्रवासी नेपालीलाई लक्षित गरेर नेपालदेखि आयात गरिएका ‘बजारु’ फिल्म हैनन्, न युट्युबमै तिनका लाखौं ‘भ्युज’ छन्, न गीत हिट छन्, न ट्रेलर– त्यस्ता फिल्म देखाउने साझा थलो। पूर्ण नेपाली समुदायमाझ त्यस्ता फिल्म देखाउने, छलफल गराउने अभियानमा जुटेका छन्।
त्यो अभियान हो, नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव।
पूर्ण आफ्नी छोरी र महोत्सवलाई सँगै हुर्काउँदैछन्।
छोरी तीन वर्षकी भइन्, फेस्टिभलले यसै शुक्रबारदेखि दोस्रो वर्ष टेकेको छ।

अमेरिकाको मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित ‘एएफआई सिल्भर थिएटर एन्ड कल्चर सेन्टर’ मा नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ को प्रिमियरसँगै तीन दिने महोत्सव सुरु भएको। त्यसो त, पूर्ण निर्माण सुरु भएको झन्डै दस वर्षमा प्रदर्शनका लागि तयार भएको यो फिल्मका कार्यकारी निर्मातासमेत हुन्। फिल्मको दुई–चार दृश्यमा पूर्ण रिसोर्टको वेटर भएर देखिन्छन्।
हजारौं वर्षदेखि दलनमा पर्दै आएका दलितको समस्यालाई केन्द्रमा राखेर बनाइएको ‘दलन’ टेलिश्रृंखलाका निर्मातामध्येका एक पूर्णको त्योभन्दा ठूलो परिचय हो, फेस्टिभल चलाउने हर्ताकर्ता। आयोजक भने पनि उनै, मूल ‘आइडिया’ फुराउने पनि उनै, त्यसलाई ‘प्लेटफर्म’मा उतार्ने पनि उनै। यो सोख उनले नेपालैदेखि बोकेर ल्याएका हुन्।
दलन निर्माणपछि फिल्म अध्ययन गर्न इटाली गएका बेला मानवअधिकारका विषयमाथि संसारमा थुप्रै फिल्म बनेको थाहा पाएपछि उनलाई लाग्यो, नेपाल मानवअधिकार हननको ठूलो कथा भएको देश हो। ती कथा, पर्दामा राम्रोसँग आएकै छैनन्।
इटालीबाट फिल्मको ज्ञानसँगै योजना तुन्दै फर्किए। नेपाल आएर फिल्ममा काम गरिरहेका, नेपाली फिल्मको मौलिकतामाथि पैरवी गर्दै आएका फिल्ममेकरहरुसँग थुप्रै ‘राउन्ड’ वार्ता गरे। त्यो वार्ताबाट निश्कर्ष निस्कियो, नेपालमा पनि मानवअधिकार फिल्म महोत्सव गर्ने। वर्षेनी आयोजना हुँदै आएको त्यो फेस्टिभलले हालै छैठौं वर्ष पुरा ग¥यो।
उता फेस्टिभल चल्दै थियो, उनी एउटा फिल्म महोत्सवमा भाग लिन यता आए। उनलाई यतै ‘सेटल’ हुने रहर जाग्यो। श्रीमतीसँगै आएका पूर्णले यतै डेरा जमाए।
कानुनी रुपमा स्थायी बसोबासका लागि कागजपत्र नबन्दै उनले यतै नेपाली संस्कृति र पहिचानको सवालमा केही काम गर्ने सोचिसकेका थिए।
तर, गर्नेचाहिँ के त?
‘जानेको भनेकै फिल्मकै काम थियो,’ पूर्ण सुनाउँछन्, ‘आफ्नो पहिचानका लागि नेपालीहरुको संघसंस्थाले दसैं–तिहार, नयाँ वर्षजस्ता अवसरमा साँस्कृतिक कार्यक्रम पहिलेदेखि गर्दै आएको थियो। हाम्रो सांस्कृतिक कार्यक्रम भनेको नाच्ने–गाउने, नेपाली पोशाक लगाउने, नेपाली खाना खाने मात्र भइरहेको छ। तर, हाम्रो सांस्कृतिक पहिचानलाई त्यतिले मात्र समेट्न सक्दैन। त्यसपछि गहन फिल्म ल्याउने र देखाउने काम रोजेँ।’
हुन त, अमेरिकामा नेपाली फिल्म प्रदर्शन नौलो होइन। नेपाली समुदायले हल बुक गरेर नेपाली फिल्म देखाउँदै आएका छन्। तर, यहाँ त्यस्ता फिल्म मात्र आउँछन्, जसले नेपालमा राम्रो व्यापार गरेका छन्। मूलतः व्यापारका लागि ल्याइने त्यस्ता फिल्मले नेपाली पहिचानका लागि संघर्ष गरिरहेका आप्रवासीहरुको धित मार्न सक्दैन भन्ने लाग्छ पूर्णलाई।
‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ नामक संस्थाबाट फेस्टिभल आयोजना गर्दै आएका पूर्णलाई आफूले रोजेको काम आफ्नो सोख पूर्ति गर्ने मात्र नभई एउटा वृहत अभियान नै हो भन्ने लाग्छ।
‘संसारभर फिल्म मुभमेन्टले फिल्म निर्माणमा ठूला क्रान्ति ल्याएका छन्,’ उनी भन्छन्, ‘मौलिक फिल्म निर्माणको बहस भनेको फिल्म निर्माण मात्र होइन, बनेका फिल्मलाई दर्शकसम्म पु¥याउने मञ्च सिर्जना गर्नु पनि हो। तर, त्यस्ता मौलिक फिल्मलाई व्यावसायीक थिएटरहरुले सजिलै स्वीकार गर्छन् भन्ने छैन। विशेष ठाउँमा नियमित प्रदर्शन गर्नु, एकै समयमा त्यस्ता धेरै फिल्म प्रदर्शन हुने ठाउँले मौलिक फिल्म मेकरलाई प्रोत्साहन गर्न सक्छन्। फेस्टिभल त्यस्ता थोरै गहन काममध्येको एक हो भन्ने लाग्छ।’
गत वर्ष ‘एएफआई सिल्भर थिएटर एन्ड कल्चर सेन्टर’ मा करिब बीस फिल्म प्रदर्शन भएको फेस्टिभलमा यसपाली दोब्बर संख्यामा फिल्म छन्। अमेरिकाको प्रख्यात ‘चेन’ थिएटर रिगल सिनेमामा एकैसाथ तीनवटा हलमा संसारभरका फिल्म प्रदर्शन भइरहेका छन्।
सुरुमा त पूर्णलाई फेस्टिभलमा नेपाली फिल्म मात्र देखाउने कि भन्ने लागेको रहेछ। तर, उनले सोचे, नेपाली फिल्म मात्र देखाउने हो भने त नेपालमा गरिरहेको कामभन्दा के भिन्न भयो र?
त्यसो त, उनलाई के पनि लाग्छ भने फेस्टिभल मापदण्डको स्तरीय नेपाली फिल्म पर्याप्त छैनन्। ‘राम्रा नेपाली फिक्सन होस्, या डकुमेन्ट्री फिल्म कि द्वन्द्व, कि त भुइँचालोसम्बन्धित छन्,’ उनी भन्छन्, ‘पोहोर ‘सेतो सूर्य’ देखाएका थियौं। यसवर्ष गुडबाई काठमान्डु, तान्द्रो आदि छन्। यी सबै शसस्त्र द्वन्द्वसँग सम्बन्धित छन्। कि, भने भुइँचालोमाथि बनेका फिल्म मात्र। पछिल्लो समय फिल्ममा नेपाली मौलिक कथा आएको छ भनिए पनि नेपालको सांस्कृतिक विविधता, फरक–फरक समुदायका विशेषता र समस्यामाथि बनेका फिल्म अझै हेर्न पाइएको छैन।’
यही सोचका कारण उनले पहिलो वर्षदेखि नै संसारभरका फिल्मका लागि दैलो उघारिदिए। फिल्म संसारकै समेटिने भएपछि दर्शक पनि संसारभरकै समेटिने नै भए।
तै पनि फेस्टिभल मूलतः नेपाली दर्शक लक्षित नै हो भन्छन् पूर्ण। अझ यतै जन्मिएर यतै हुर्किरहेका दर्शकलाई पहिलो प्राथमिकता ठान्छन्। नेपाली दर्शकपछि दक्षिण एसियाली मुलका आप्रवासीलाई उनले प्राथमिकताको दोस्रो नम्बर दिएका छन्। त्यसपछि संसारभरका आप्रवासी र रैथानेलाई।
फेस्टिभलमा पर्याप्त नेपाली दर्शक जुटाउनु नै अहिलेको ठूलो चुनौति ठान्छन् उनी। त्यसैले उनले यस वर्ष पनि नेपालीको दैलो–दैलो चाहारेर टिकट बेचे।
‘तर, मलाई के विश्वास छ भने नेपाली दर्शक फेस्टिभलमा नआई धरै पाउँदैनन्,’ उनी ठोकुवा गर्छन्, ‘भोलि आफ्ना सन्तानलाई नेपाल यस्तो छ भनेर कसरी देखाउने त? यस्ता फेस्टिभलमार्फत नै त हो, आफ्नो पहिचान थाहा पाउने।’
‘सत्यजीत रेको फिल्म जब विश्वका थुप्रै देश पुग्यो, थुप्रै वर्षदेखि फिल्म बनाइरहेका, फिल्म पढेकाहरु नै भन्थे रे, ‘भारतमा पनि यस्ता सिनेमा बन्दा रहेछन् त...’ त्योभन्दा वर्षौंअघिदेखि भारतमा फिल्म बने पनि विश्वले भारतको मूलधारलाई मात्र चिन्थ्यो,’ फेरि पनि पूर्ण पहिचान र फिल्म मुभमेन्टकै कुरा गर्छन्, ‘हामीले एउटै मन्चमा नेपाली फिल्म मात्र देखाएर किन पुग्दैन भने आफ्नो कामको तुलना आफ्नैसँग मात्र गरेर पुग्दैन। आफ्नो देशले बनाइरहेकोसँग अरु देशका कामसँग तुलना गर्दा थाहा पाइन्छ, कतै हामीले अरुको भन्दा विशेष काम पो गरिरहेका छौं कि?’
फेस्टिभल सन्चालनको पहिलो वर्षले नेपाली पहिचान विस्तारका लागि दैलो खोलेको ठान्छन् उनी। दोस्रो वर्षलाई ‘दैलो सिँगार्दै’ गरेको वर्षको रुपमा लिएका छन्।
यो शब्द पूर्णको आफ्नै भने होइन, अभिनेत्री पूजा चन्दको हो।
एक कार्यक्रममा अभिनेत्री चन्दले भनेकी थिइन्, ‘हामी यहाँ सांस्कृतिक काम त गरिरहेका छौं तर, ती सबै बन्द कोठाभित्र सीमित छन्। फिल्म फेस्टिभल त्यस्तो दैलो हो, जसले नेपाली संस्कृतिलाई संसारभर फैलने बाटो खोल्छ। पूर्णजी अमेरिकामा नेपाली दैलो सिँगार्दै हुनुहुन्छ।’
त्यसपछि, पूर्णलाई पूजाले बोलेको ‘नेपाली दैलो’ शब्द साह्रै प्रिय लागेछ!
जसरी, फेस्टिभलसँगै हुर्किरहेकी उनकी छोरीलाई यस्ता शब्द प्रिय लाग्छन्!