अमेरिकास्थित नेपाली राजदूतको निवासकाका लागि करिब ८० करोडमा किन्ने भनिएको निवासमा 'आणविक हतियार प्रतिरोधी' बंकर समेत रहेको जनाइएको छ। परराष्ट्र मन्त्रालयले किन्न लागेको भनिएको उक्त अत्याधुनिक निवास सन २००२ मा बनेको र 'आणविक हतियार प्रतिरोधी' रहेको 'कमिङ एण्ड को' कम्पनीमा कार्यरत घरजग्गा ब्यापारी किरण पन्तले बताएका हुन्।
आणविक विष्फोट वा आक्रमण भएका वेला रेडियो विकिरणबाट बच्न वासिङ्टन डिसीमा बनाइएका सिमित भवनहरुमध्येको यो एउटा भवन हो।
'स्वीमिङ पुल र ठूलो चौर भएको भवन मात्र हुँदा पनि महिनावारी व्यवस्थापन गर्न महंगो पर्ने गर्छ। 'बंकर' सहित यस्ता अत्याधुनिक भवनहरुको ब्यवस्थापन अझ बढी खर्चिलो हुन्छ।' पन्तले बताए।

अमेरिकास्थित दूतावासका प्रवक्ता जीवन श्रेष्ठले 'सरकारको निर्णय अनुसार नै काम गरिरहेको' सेतोपाटीलाई बताएका थिए।
अमेरिकाका पूर्वराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुका लागि बंकरसहितका यस्ता निवासहरु प्रयोगमा ल्याइन्छन्। घर जग्गा खरिद विक्री सम्बन्धी काम गर्ने कम्पनीहरुले समेत नेपाली दूतावासले किन्ने भनेको उक्त निवास 'आणविक हतियार प्रतिरोधी' बंकर रहेको बताएका छन्।
'यस्ता भवनहरु हेरचाह एवम् मर्मत-सम्भार गर्न निकै महंगो पर्न आउँछ। त्यसैले यस्ता भवनहरू धेरै बिक्री हुँदैनन्। जसका कारण यस्ता भवनहरु धेरै बन्दैनन् पनि', रियाल्टी युएसकी प्रमुख रिचेल एल्डरले सेतोपाटीलाई बताइन्।
अमेरिकास्थित नेपाली राजदूतका लागि ८० करोडमा निवास किन्ने तयारी