नेप्लीज अस्ट्रेलियन युथ एशोसियसन (नया) ले आगामी शनिबार (मार्च ११) मा सिड्नीको समुन्द्री तटमा क्रुज पार्टीको आयोजना गर्ने भएको छ।
अस्ट्रेलियाभर छरिएका युवालाई विभिन्न परोपकारी कर्म तथा खेलकुदको माध्यमबाट आपसी भाइचारामा बाँध्न सफल नयाले यो सातौं संस्करणको रूपमा आफ्नो सहयोगी अभियान थालेको हो।
लामो समय कोभिडले थलिएको संघ संगठन जुर्मुराउँदै गर्दा नयाले पनि आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत परोपकारी अभियानका लागि आर्थिक संकलन गर्न क्रुज पार्टी आयोजना गर्न लागेको अध्यक्ष निजन चौलागाइँले जानकारी दिए।
कार्यक्रमबाट उठेको रकम परोपकारी कार्य तथा युवा विद्यार्थीको हितमा लगानी गर्ने योजना रहेको क्रुज पार्टीका संयोजक अर्जुन गौतमले बताए।
करिब चार घन्टासम्म प्रशान्त महासागरमा विविध मनोरन्जनसहित आयोजना हुने क्रुज पार्टीमा करिब तीन सय पचास जनाको सहभागिता रहने संगोजक गौतमले बताए।
कार्यक्रममा अस्ट्रेलियाका एनआरएन अभियन्ता, विद्यार्थीलगायत सबै संघ संस्थाको प्रतिनिधित्व हुने समेत नयाले विश्वास लिएको छ।
सिड्नीमा युवाबीच लोकप्रिय रहेको नया र यसको परोपकारी अभियानलाई सहयोग गर्ने संघ संस्थालाई समेत नयाले आभार प्रकट गरेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९, ०७:२८:००