ग्लोबल नेपाली
काठमाडौंका वीरमान श्रेष्ठ सन् २००९, डिसेम्बरमा स्लोभेनिया गए। त्यहाँबाट इटाली गएर केही समय बसे अनि सन् २०१० मै उतै फर्किए।
उनले स्लोभेनियाको एउटा आइटी कम्पनीमा ग्राफिक डिजाइनर भएर काम गरे। कम्पनीको जिम्मेवारीमा रहँदै उनले युरोपेली पर्यटकहरूलाई नेपाल घुमाउने काम गरे।
केही वर्ष यसरी दोहोरो काम गरेपछि सन् २०१५ मा आफ्नै व्यवसाय सुरू गरे।
'अर्काको काम मात्र गरेर बस्दा दास भएजस्तो लाग्यो। आफ्नै कुनै व्यवसाय गर्नुपर्छ भन्ने सोचेँ,' उनले भने, 'मैले नेपालमा पर्यटक लैजाने र नेपालबाट हस्तकला (ह्यान्डिक्राफ्ट) सामान ल्याएर बेच्ने काम थालेँ।'
उनका अनुसार युरोपेलीहरू प्राकृतिक खालका उत्पादनहरू रूचाउँछन्। यस्तो रूचिका कारण हस्तकलाका सामान र घरेलु कपडाको व्यापार सजिलो भएको उनले बताए। उनी पस्मिना र कटन कपडा पनि लैजान्छन्।
खास गरी ग्राहकले मगाए अनुसारका सामान मात्र युरोप लैजान्छन्।
उनी 'सिंगिङ बउल' पनि लैजान्छन्। सिंगिङ बउल बौद्ध परम्परामा आधारित छ। यो कचौरा आकारको धातुले बनेको एक किसिमको भाँडो हो जसलाई बेल्ना जस्तो काठले बिस्तारै हिर्काउँदा वा रगड्दा सुरिलो आवाज दिन्छ। यो सानो कचौरा जत्रोदेखि ठूलो आरी जत्रो पनि हुन्छ।
सामान्यतया सिंगिङ बउल ध्यान र 'साउन्ड थेरापी' मा प्रयोग हुन्छ।
'म युरोपमा सिंगिङ बउलको महत्त्व बुझाउँदै छु। यसको माग पनि बढ्दै छ,' उनले भने।
उनी चित्रकला पनि गर्छन्। नेपाली कला र संस्कृति झल्काउने पेन्टिङ गर्ने गरेको उनले बताए।
वीरमान अहिले रियल–इस्टेट व्यवसायमा पनि अघि बढेका छन्। जग्गा किन्छन्, घर बनाउँछन् र बेच्छन्।
स्लोभेनिया मध्य युरोपमा रहेको मुलुक हो। यसको क्षेत्रफल २०.२७ वर्ग किलोमिटर र जनसंख्या करिब साढे २१ लाख छ।
उनी हाल एनआरएनए (गैरआवासीय नेपाली संघ), स्लोभेनियाका अध्यक्ष समेत हुन्। त्यहाँ रहेका कतिपय नेपालीहरू विभिन्न समस्या लिएर उनलाई भेट्न आउँछन्।
स्लोभेनियामा छोटो समयमा नेपालीको संख्या बढ्दै गएको छ। तीन हजार नेपाली त्यहाँ रहेको उनको अनुमान छ। नेपालीहरू कामदार भिसामा स्लोभेनिया पुग्छन्। धेरैजसो नेपाली निर्माण क्षेत्र र हाउस किपिङमा काम गर्छन्।
'कोही काम गर्दै गरेको कम्पनी बन्द भयो भन्छन्, कोही काम पाइएन भन्छन्। कोही भाषाका कारणले पनि समस्यामा परेका हुन्छन्। कोही एजेन्टबाट ठगिएका हुन्छन्,' उनले भने।
युरोपमा देशअनुसार भाषा फरक छ। जुन देशमा जाने हो त्यहाँको भाषा र त्यहाँ आवश्यक कामको सीप सिकेर मात्र प्रक्रिया अघि बढाउन उनको सुझाव छ। ड्राइभिङ सिकेर जानु राम्रो हुने उनले बताए।
'गाडी चलाउने लाइसेन्स भएर मात्र हुँदैन, गाडी चलाउन जानेकै हुनुपर्छ,' उनी भन्छन्, 'यस्तो सीप भए गाडी किनेर आम्दानी गर्न सकिन्छ।'
उनका अनुसार स्लोभेनियामा न्यूनतम पारिश्रमिक मासिक १२ सय युरो छ। कर कटाएर ९ सय युरो हात पर्छ, हालको विनिमय दरमा एक लाख ३७ हजार रूपैयाँ।
'खानबस्न सामान्यतया तीन सय युरो खर्च हुन्छ। खर्चको रकम व्यक्तिको स्वभावमा भर पर्छ,' उनले भने।