बेइजिङ डायरी
चिनियाँ राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर १, सोमबार देशहरूलाई अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणालीका लागि एकसाथ काम गर्न आह्वान गर्दै विश्वव्यापी शासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटिभ 'जिजिआई') प्रस्ताव गरे।
सीले बेइजिङ नजिकैको बन्दरगाह सहर थिआनचिनमा 'शाङ्हाई सहयोग संगठन (एससिओ) प्लस' बैठकको अध्यक्षता गर्दै सम्बोधन गर्ने क्रममा उक्त आह्वान गरेका हुन्।
एससिओको २४ वर्षको इतिहासमा सबभन्दा ठूलो शिखर सम्मेलनका रूपमा आयोजित थिआनचिन शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू र १० अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू उपस्थित थिए।
सी चिनफिङले विश्वव्यापी विकास पहल 'जिडिआई', विश्वव्यापी सुरक्षा पहल 'जिएसआई' र विश्वव्यापी सभ्यता पहल 'जिसिआई' अगाडि सारेको केही वर्षपछि विश्वव्यापी शासन पहल 'जिजिआई' ल्याएका हुन्।
सो अवसरमा नेता सी चिनफिङले जिजिआईका पाँच सिद्धान्तहरूको पनि व्याख्या गरेका छन्। सी चिनफिङले प्रस्ताव गरेको जिजिआईका मुख्य सिद्धान्तमा सार्वभौम समानताको पालना, अन्तर्राष्ट्रिय कानुनी शासनको पालना, बहुपक्षीयताको अभ्यास, जनताकेन्द्रित दृष्टिकोणको वकालत र वास्तविक कार्यहरू छन्।
शान्ति, विकास, सहयोग र पारस्परिक लाभको ऐतिहासिक प्रवृत्ति अपरिवर्तित रहे पनि शीतयुद्धको मानसिकता, आधिपत्यवाद र संरक्षणवादले विश्वलाई सताइरहने बताउँदै नयाँ खतरा र चुनौतीहरू बढ्दै गएको र विश्वले आफूलाई अशान्त र रूपान्तरणको नयाँ अवधिमा पाएको सीले प्रस्ट्याएका छन्। विश्वव्यापी शासन नयाँ चौबाटोमा उभिएको उनले चेतावनी दिए।
आकार, शक्ति र धनको पर्वाह नगरी सबै देशहरू विश्वव्यापी शासनमा समान सहभागी, निर्णयकर्ता र लाभार्थी हुने कुरा उनले उठाएका छन्। कुनै पनि दोहोरो मापदण्ड हुन नहुने र केही देशहरूले आफ्नो स्वार्थका लागि बनाएको घरेलु नियमहरू अरूमाथि लाद्न नहुने कुरामा पनि उनले जोड दिएका छन्।

सी चिनफिङले यसो भन्दै विशेष गरी पश्चिमा शक्ति र अमेरिकाप्रति संकेत गरेका हुन्। अमेरिकाले आफ्नो स्वार्थपूर्ति गर्न अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र अमेरिकी नीति लाद्ने गरेको कुरा अन्तर्राष्ट्रिय समाजमा प्रस्ट देखिन्छ।
जिजिआई परिवर्तनका लागि दायरा र अभियानको सन्दर्भमा विश्वव्यापी व्यवस्था सुधार गर्न पहिलेका आह्वानहरू भन्दा फरक छ। यो पहलमार्फत चीनले सोझै अमेरिकालाई चुनौती दिएको देखिन्छ। अमेरिकाले अब कम भूमिका खेल्ने ठान्दै अमेरिका बिना विश्व मञ्चमा अग्रणी भूमिका खोज्ने चिनियाँ प्रयत्नका रूपमा यसलाई हेरिएको छ।
अमेरिकी प्रभावमा रहेका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा विकासशील देशहरूको प्रतिनिधित्व र आवाज नगन्य पाइन्छ। त्यस कारण चीनले यति बेला विकासशील देशहरूको प्रतिनिधित्व गर्दै उनीहरूको आवाज बुलन्द बनाएको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले यस्तो समयमा जिजिआईको आह्वान गरेका छन् जति बेला अमेरिकाले दोस्रो विश्व युद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्था उल्टाएको छ। यो पहलको प्रस्ताव गर्दा सी चिनफिङले उक्त संकेत गरेका छन्।
शीत युद्धको मानसिकता, प्रभुत्ववाद र संरक्षणवादले संसारलाई सताइरहन्छ र नयाँ खतरा र चुनौतीहरू बढ्दैछन् भन्ने विचार चीनले अगाडि सार्दै आएको छ। यस्तो अनिश्चितताका बीचमा चीनले विश्वव्यापी व्यवस्थालाई पुनः आकार दिन सामूहिक रूपमा ग्लोबल साउथ भनेर चिनिने देशहरूको ठूलो समूहसँग मिलेर आफूलाई अग्रणी भूमिका खेल्ने रूपमा उभ्याउँदैछ।
चीनले सम्बन्धित देशहरूका लागि चिनियाँ कम्पनीहरू र आतिथ्य राष्ट्रहरूको हित सन्तुलन कायम गर्ने लक्ष्य राखेर सामान र लगानीको प्रवाह राम्रोसँग व्यवस्थापन गर्दै सञ्चार र सम्भावित समन्वय बढाउने अवसर छ। यो जिजिआईको जनताकेन्द्रित उद्देश्य पूर्ति हुने एउटा अवसर पनि हो।
यति बेला विश्वव्यापी दक्षिणका मुलुकहरूले चुनौतीपूर्ण समयमा स्थिर, सुनौलो भविष्य र पारस्परिक लाभदायक सहयोगीका रूपमा चीनलाई हेर्न थालेका छन्। दीर्घकालीन दृष्टिकोणबाट हेर्दा एक शताब्दीमा नदेखिएका परिवर्तनलाई सम्बोधन गर्न चीनले मात्र आवाज उठाइरहेको छ र त्यसका लागि जिजिआई अवधारणा अगाडि ल्याएको बुझ्न कठिन छैन।
आजको दुनियाँ कुनै भेदभाव र भड्काउको दुनियाँ होइन। त्यस कारण पर्खालहरू भत्काउँदै मानिसबीच विभेद ल्याउनु हुँदैन भन्ने कुरा चीनले पहिल्यैदेखि बताउँदै आएको छ। विभाजन होइन, एकीकरणमा जोड दिँदै विश्वलाई विकासका अनुभव साझा गर्न चीनले उच्च गुणस्तरीय बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अगाडि सारेको छ।
यसमार्फत् विश्वव्यापी लाभदायक र समावेशी आर्थिक भूमण्डलीकरणका लागि साझा मानव भाग्य समुदाय निर्माण गर्न चीनले आह्वान गरेको एक दशक नाघेको छ।

चीनलाई विश्वको कारखाना मानिन्छ। अन्य एससिओ सदस्य राष्ट्रहरूमा चीनको लगानी स्टक ८४ अर्ब अमेरिकी डलर नाघेको छ र अन्य एससिओ सदस्य राष्ट्रहरूसँगको यसको वार्षिक द्विपक्षीय व्यापार ५०० अर्ब अमेरिकी डलर नाघेको छ।
आफ्नो विशाल बजारका अवसरहरू बाँड्ने, एससिओ परिवारभित्र आर्थिक र व्यापारिक सहयोगको उच्च गुणस्तरको विकासका लागि कार्य योजना कार्यान्वयन गर्ने कार्यसँगै विश्वमा सदभावपूर्ण विकास र स्थिरताका लागि जिजिआई प्रस्ताव गरिएको हो।
चीनले एससिओ सदस्य राष्ट्रहरूलाई दुई अर्ब चिनियाँ युआन (लगभग २८ करोड १० लाख अमेरिकी डलर) अनुदान र एससिओ इन्टरबैंक कन्सोर्टियमका सदस्य बैंकहरूलाई १० अर्ब चिनियाँ युआन (लगभग १.४१ अर्ब अमेरिकी डलर) ऋण दिने बताएको छ।
यसका साथै सदस्य राष्ट्रहरूमा १०० 'साना र सुन्दर' जीविकोपार्जन परियोजनाहरू कार्यान्वयन गर्ने, सदस्य राष्ट्रहरूमा प्राविधिक तालिम प्रदान गर्न १० लुबान कार्याशालाहरू स्थापना गर्ने र १० हजार मानव संसाधन तालिम अवसरहरू प्रदान गर्ने जस्ता सहयोग उपायहरूको एक विशाल राशिको प्रतिबद्धता व्यक्त गरिएको छ।
एससिओ सन् २००१ मा स्थापना भएको हो। अहिले यो विश्वको सबभन्दा ठूलो क्षेत्रीय संगठनमा विस्तार भएको छ। यसमा ५० भन्दा बढी क्षेत्रहरू र लगभग ३० ट्रिलियन अमेरिकी डलरको संयुक्त आर्थिक उत्पादन समेटिएको छ। तसर्थ यस्तो शक्तिकाली र प्रभावकारी संस्थालाई जिजिआईको कार्यान्वयन गर्ने मञ्च बनाइएको छ।
यति बेला विश्वव्यापी शासन प्रणालीले प्रतिनिधित्व, वैधता र प्रभावकारिताको संकटको सामना गरिरहेको छ। साइबरस्पेस र बाह्य अन्तरिक्ष जस्ता क्षेत्रहरूमा शासन क्षति र प्रभावकारी शासनको अभाव निम्तिँदैछ।
विशेष गरी विश्वव्यापी शासनमा विकासशील देशहरूको प्रतिनिधित्व तीव्र छ। विश्व एक महत्त्वपूर्ण चौबाटोमा उभिएको छ। देशहरूले शान्ति, विकास र सहयोगको मार्ग रोज्ने कि समूह टकरावको सहारा लिँदै नयाँ शीतयुद्ध सुरू गर्ने भन्नेबारे छनोट गर्नुपर्ने बाध्यता आइपरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा कोटा र मतदान अधिकारहरू अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी शक्तिहरूलाई असमान रूपमा बाँडफाँड गरिएको छ।
यस महत्त्वपूर्ण मोडमा जिजिआईले विश्वव्यापी शासनका लागि सही दिशा प्रदान गर्छ। यो पहलले हालको अन्तर्राष्ट्रिय ढाँचा बाहिर नयाँ प्रणाली सिर्जना गर्ने लक्ष्य राख्ने होइन; बरू यसले अवस्थित अन्तर्राष्ट्रिय व्यवस्थाका सिद्धान्त र सही अभ्यासहरूलाई बलियो बनाउन खोज्छ।
जिजिआईको अवधारणा दस्तावेजले संयुक्त राष्ट्र संघको केन्द्रमा रहेको युद्धपछिको प्रणाली, अन्तर्राष्ट्रिय कानुनद्वारा आधारित विश्व व्यवस्था र संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूले विश्वव्यापी शान्ति कायम राख्न र विकास प्रवर्द्धन गर्न मद्दत गरेको कुरामा जोड दिन्छ।
जिजिआईका पाँच मुख्य सिद्धान्तहरू; विशेष गरी सार्वभौम समानता पालना गर्ने, अन्तर्राष्ट्रिय कानुनको शासन पालना गर्ने र बहुपक्षीयता कायम राख्ने नीतिले अन्तर्राष्ट्रिय व्यवस्थाप्रति आफ्नो निष्ठा देखाउँछन्।

अवस्थित अन्तर्राष्ट्रिय प्रणालीको रक्षक, सहभागी र योगदानकर्ताका रूपमा, चीनले विश्वव्यापी विकास शासनमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका खेल्दै आएको छ। चिनियाँ कूटनीतिले समावेशीता, समानता, पारस्परिक लाभ र सहयोगका सिद्धान्तहरूको पालना गर्दै विश्वव्यापी विकासलाई पुनः आकार दिन मद्दत गरिरहेको छ। यसले 'दिगो विकासका लागि २०३० एजेन्डा' साकार पार्न पनि मद्दत गरिरहेको छ।
विश्वव्यापी आर्थिक र जलवायु शासन जस्ता क्षेत्रहरूमा अमेरिकाले अन्तर्राष्ट्रिय संस्थाहरू र सन्धिहरूबाट हात झिकेको र संयुक्त राष्ट्र केन्द्रित प्रणाली कमजोर बनाएको परिस्थितिमा चीनले बहुपक्षीय संयन्त्रहरूलाई निरन्तर समर्थन गरेको छ। यस्तो परिस्थितिमा विश्वव्यापी शासन पुनर्जीवित गर्न सही मार्गमा फर्काउन आवश्यक छ र यस्तो कार्य जिजिआईले प्रवर्द्धन गर्छ।
चीनका हरेक अभियानलाई अमेरिका लक्षित बताइन्छ। भूराजनीति द्वन्द्वमा आफू नपर्ने बताउँदै चीनले आफ्ना अभियानले सबैलाई समेट्ने र कसैप्रति लक्षित नहुने स्पष्टीकरण दिइरहे पनि भूराजनीतिका विज्ञहरू चीनको स्पष्टीकरणसँग सहमत छैनन्।
जिजिआई अमेरिकाले छोडेको कुनै पनि शून्यता भर्न वा विश्वव्यापी शासनमा कुनै पनि देशको भूमिका प्रतिस्थापन गर्न डिजाइन गरिएको होइन भनेर चीनले स्पष्ट पारेको छ। बरू यसले एक प्रमुख देशका रूपमा चीनको जिम्मेवारी र प्रतिबद्धताको भावना प्रदर्शन गर्छ।
विश्वव्यापी शासनमा अमेरिकाको स्थितिमा आएको गिरावट उसको आफ्नै कार्यहरूको परिणाम हो। पछिल्लो समय अमेरिकी प्रशासनले बारम्बार आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीहरूबाट पन्छिने काम गर्दै आएको छ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय सहायतामा उल्लेखनीय रूपमा कमी ल्याएको छ र आफ्नो भन्सार नीतिहरूद्वारा विश्व व्यापार संगठन केन्द्रित व्यापार प्रणाली कमजोर बनाएको छ। फलस्वरूप विश्वव्यापी शासनमा यसको विश्वसनीयता कमजोर बनाएको छ।
सन् २०२५ जुनमा गरिएको 'प्यू रिसर्च सेन्टर' को सर्वेक्षण अनुसार गत वर्ष सन् २०२४ देखि १५ देशहरूमा अमेरिकाको सकारात्मक धारणामा उल्लेखनीय गिरावट आएको छ। यसमा स्विडेनको स्वीकृति मूल्यांकन सबभन्दा कम छ। स्विडेनको जनसंख्याको ७९ प्रतिशतले वाशिङटनबारे प्रतिकूल राय राख्छन्। क्यानडा र मेक्सिकोका १० मध्ये ६ जनाभन्दा बढी वयस्कले अमेरिकालाई नकारात्मक रूपमा हेर्छन्। अस्ट्रेलिया, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन र टर्कीमा बहुमतले अमेरिका विरोधी धारणा साझा गरेका छन्।
चीनले अमेरिका लगायत प्रमुख देशहरूलाई आफ्नो उचित विश्वव्यापी जिम्मेवारी पूरा गर्न र विश्वव्यापी स्रोत र सार्वजनिक वस्तुहरूमा बढी योगदान दिन निरन्तर आग्रह गर्दै आएको छ। कुनै पनि देश एक्लैले विश्वव्यापी शासनमा आएको क्षति पूरा गर्न सक्दैन। विश्वव्यापी शासनमा देशहरूको भूमिका अन्तरनिर्भर र पारस्परिक रूपमा सुदृढ रहन्छ।
विश्वव्यापी शासनमा विकासशील देशहरूको प्रतिनिधित्व बढाउने चीनको आह्वानको अर्थ पश्चिमी देशहरूको प्रभाव घटाउनु होइन। बरू यसले विश्वव्यापी शासन संयन्त्रमा विकासशील देशहरूको वर्तमान कम प्रतिनिधित्व सम्बोधन गर्न, विश्वव्यापी शासनलाई थप समावेशी बनाउन र अन्तर्राष्ट्रिय सम्बन्ध लोकतान्त्रिकीकरण गर्न, मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्न सुधारात्मक उपायको रूपमा काम गर्छ।
जिजिआईलाई शून्य–योग सोचको विकल्पका रूपमा पनि हेरिएको छ।
अर्काको निर्णय लाद्नुको सट्टा जनताको कुरा सुन्ने, कसैलाई सर्वोच्च मान्नुभन्दा सबैमा एकताको भाव विकास गर्ने र पृथक लाभभन्दा साझा समृद्धिमा जिजिआईले जोड दिएको छ।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)