दसैं आउनासाथ गाउँको स्वरूप नै बदलिन्छ।
अरू बेला सुनसान र शान्त रहने गाउँ एक्कासि जीवन्त हुन्छ। टाढा टाढाबाट रोजगारी, पढाइ, व्यवसाय वा अन्य काममा व्यस्त मानिसहरू गाउँ फर्किन्छन्।
गाउँका आँगनमा सेलरोटीको सुवास आउँछ, मासुको भट्टी चल्छ, हाँसोठट्टाले चोक गुञ्जिन्छ, आँगन आँगनमा दियो बल्छ।
सहरमा कोही एसी कोठामा बसेर रमाइरहेका हुन्छन् भने गाउँ फर्केपछि उनीहरू पनि धूलो, माटो, गोबर, धुवाँ र चुल्होको गन्धसँगै घुलमिल हुन्छन्। यही रमाइलोको बीचमा आफन्तसँग भेटघाट गर्ने, पुराना कुरा गर्ने र विगत सम्झिने अवसर मिल्छ।
हाम्रो घरमा पनि यसपालि काकाकाकी, दाजुभाउजू, दिदीबहिनी सबै जम्मा हुनुभयो।
आँगनमा टीका–जमराको तयारी, मासुभातको मिठो गन्ध, रमाइलो गफगाफको रौनकले गाउँ अझ आकर्षक बनेको थियो।
बिहान सधैं आमाले चिया पकाएर खुवाउने चलन थियो।
तर यसपालि सहरबाट आउनुभएकी कार्की दिदीले हातमा तातो चिया ल्याएर 'ल, यहाँ चिया खाऊ' भन्नुभयो।
चियाको पहिलो चुस्की पिउन नपाउँदै प्रश्न आयो— बासु, बिहे कहिले गर्छस्? कतै केटी खोजेको छस् कि?
मैले मुस्कुराउँदै जबाफ दिन पनि नपाउँदै काकाले थप्नुभयो, 'अब त उमेर भइसकेको छ, यसै दसैंमा बिहे गर्नुपर्छ।'
अनि सुरू भयो एउटै प्रश्नको पुनरावृत्ति।
दाजुभाउजू, काकाकाकी, दिदीबहिनी, साथीसंगी, पल्लाघरे साइँला बा — सबै एउटै कुरा दोहोर्याउन थाले।
घर वरिपरि प्रतिध्वनिजस्तै लाग्यो, मानौं दसैंमा सबैको मुखमा एउटै भनाइ थियो— बिहे कहिले गर्छस्?
यो प्रश्न दसैंमा त अनिवार्य परिकारजस्तै हुन्छ भन्ने मलाई लाग्छ। टीका–जमरा, मासु, सेलरोटी जत्तिकै अनिवार्य कुरा यो पनि हो।
बिहान चिया पिउँदा सोधिन्छ, दिउँसो टीका लगाउँदा सोधिन्छ, बेलुकी खाना खान बस्दा फेरि सोधिन्छ।
कतिले त मासु खायौ भन्दा पहिले नै सोधे — बिहे कहिले गर्छस्?
कतिले टीका लगाउँदा आशीर्वाद दिइसकेर कानमा फुसफुसाएर भने— अब ढिला नगर है, उमेर ढिलो भयो।
अझ पल्लाघरे साइला बाले त ठट्टै गर्दै भन्नुभयो— यस्तो केटी बिहे गर्नुपर्छ, लक्ष्मीकी छोरी ठीक हुन्छ!
यसरी हेर्दा दसैंको गफगाफमा मुख्य परिकार मासुभन्दा पनि यही प्रश्न हो। एक पटक सोधियो भने पनि अर्को घण्टामै अर्को आफन्तले दोहोर्याउँछन्। मानौं, दसैंमा रमाइलो गर्न पूरा हुने सर्त नै यही हो। चियाको कप, टीकाको थाली वा मासुको भाँडासँगै सोधिने प्रश्न नै हो यो।
म त हाँस्दै जबाफ दिन्छु, 'बिहे भनेको चुरोट सल्काएझैं एक्कासि हुने कुरा होइन नि। तपाईंहरूले खोजिदिनुभयो भने म त तयार छु।'
तर जबाफ दिए पनि प्रश्न थामिँदैन। झन् अर्को ठाउँमा अर्को शैलीमा सोधिन्छ। सबैलाई लाग्छ, मैले चाँडै विवाह गरेर स्थिर जीवन सुरू गर्नुपर्छ। हाँसोभित्रै दबाब मिसिएको हुन्छ। अरूले हाँस्दै भने पनि मलाई भने गम्भीर प्रश्नझैं लाग्छ।
सहरमा हुँदा कोही खासै सोध्दैनन्। साथीभाइको गफ त अन्य विषयमा घुम्छ। तर गाउँ फर्केपछि भने यो प्रश्न अनिवार्य हुन्छ।
दसैंमा सबै आफन्त एउटै ठाउँमा भेला हुने भएकाले सबैलाई लाग्छ, यसै बेला सम्झाउनुपर्छ, यसै बेला धकेल्नुपर्छ।
यसैले दसैंमा 'बिहे कहिले गर्छस्' भन्ने प्रश्न मासुभन्दा बढी खपत हुन्छ, सेलरोटीभन्दा धेरै बाँडिन्छ र रक्सीभन्दा छिटो घुम्छ।
यसपालि दसैंमा मलाई यही प्रश्नले घेर्यो।
आफन्तहरू एकपछि अर्को गर्दै सोध्दै गर्दा लाग्यो— यो त केबल सामान्य जिज्ञासा मात्रै होइन, हाम्रो समाजको संस्कार हो। विवाह नगरेको मान्छेलाई दसैंमा यो प्रश्न अनिवार्य सोधिनैपर्छ। चाहे उमेर २५ होस् वा ३५!
सोध्नेहरूले भन्ने त एउटै हो— अब त ढिला भयो, अब त पक्का गर्नुपर्छ।
तर म सोच्दै जान्छु— बिहे जीवनको ठूलो निर्णय हो। यो चाडपर्वको उत्साहमा सजिलोसँग लिइहाल्ने कुरा होइन। आफन्तका हाँसो, ठट्टा र सुझावहरू रमाइलो लाग्छन्, तर मनभित्र भने एउटा चाप पनि बस्छ।
म हाँस्दै भन्छु — अर्को दसैंसम्म पक्का जबाफ दिन्छु।
तर त्यो पक्का जबाफ कहिले आउँछ भन्ने कुरा अझै टाढै छ।
अन्ततः यो दसैंले मलाई फेरि एक पटक सिकायो— दसैंमा टीका, जमरा, मासु, सेलरोटी जति अनिवार्य हुन्छन्, बिहे कहिले गर्छस् भन्ने प्रश्न पनि उत्तिकै अनिवार्य रहेछ।
यसपालि त म हाँस्दै टारेँ, रमाइलोको रूपमा लिँदै जबाफ दिँदै गएँ।
मनमनमा भने लागिरहेको छ, अर्को दसैंसम्म त यो प्रश्नको निश्चित जबाफ दिनैपर्ने होला।