२०६३ साल ताकाको कुरा हो देशमा माओवादी युद्ध चल्दै थियो। यसै ताका बिहे भयो। भर्खरै घरमा भित्रिएकी नयाँ दुलही घरमा रौनक थियो। हामी दंग थियौं। दुबैको काम जागिर चलिरहेको थियो। केही दिनमा जब उनीले मेरो सर्टमा एउटा चिर्कटो भेटिन त्यो चिर्कटोमा दिनभर बेचेको कुखुराको खुट्टा टाउकोको हिसाब टिपेको रहेछ।
मलाई सोधिन्- के हो त्यो सर्टमा सानो कागज भेटेँ, त्यहाँ त कुखुराको खुट्टा टाउको नङ्ग्रा कलेजको हिसाब छ त!
मैले श्रीमतीजीलाई यथार्थ बताएँ।
जीवनमा खासै ढाँट्न जानेको छैन पनि झनै श्रीमतीसँग त ढाँट्ने कुरा आउँदैन नै।
कुरा के थियो भने म एउटा सडक बालबालिकाको नाउमा विदेशीले चलाएको एनजिओमा काम गर्थें। जहाँ म पि टु पि थिए कामको दायरा थिएन।
विदेशी पनि खट्ने हामी सबै खट्ने थियौं। परेको बेला अफिसको जोकुनै काम पनि गर्थ्यौं। सबै युवा थिए भान्छे, गार्ड आदि केही मात्र वयस्क थिए। म पनि समय परिवेशले त्यहाँ जोडिन पुगेँ, जुन संयोग अर्को विदेशी संस्थाले जुरायो।
अफिसले काठमाडौं उपत्यकाका सडकमा रहेका प्लाष्टिक टिप्ने, टिन फलाम बटुल्ने, माग्ने काम गर्ने, सडकमा बस्ने त्यही काम गर्ने घर परिवार छाडेका, आमाबाबु गुमाएका स–साना ५ वर्षदेखि १६ वर्ष काटेकासम्म बालबालिकासँग काम गर्थे। यसै क्रममा ती बच्चालाई डिल्लीबजार पिपलबोटमा सेल्टर राखेर सहायता गर्दै आएका थियौं। बच्चालाई कसरी कुलत छुटाउने, सही दिशामा ल्याउने, घर फर्काउने, बानी व्यहोरा व्यवहारमा परिवर्तन ल्याउने विषयमा हामी धेरै विचार गर्थ्यौं। हामी बच्चालाई जबर्जस्ती उनीहरूको इच्छा विपरीत हैन, उनीहरूको रूचिमा बिस्तारै परिवर्तन हुनुुपर्छ भन्ने मान्यता राख्दथ्यौं।
यसै क्रममा हाकिमले एकदिन अब बच्चा कवाडीमा बस्ने, उतै खाने, सामान बेच्ने, कवाडीबाटै ऋण लिने, काम गर्ने, ठगिने पनि बरू हामी यहाँ नै कवाडी जम्मा गर्ने हामीले किन्ने हिसाब राख्ने अनि उनीहरूलाई पैसा जम्मा गरिदिने घर जाने बेला दिने यसको लागि उनीहरूको कवाडी हामीले बेच्ने भन्ने प्रस्ताव गरेपछि हामीले किला काँटा किनेर कार्यालय परिसरमा नै कवाडी जम्मा गर्न थाल्यौं।
काठमाडौंको मुटु डिल्लीबजार संभ्रान्त बस्ने क्षेत्र भएकोले छिमेकीले 'यो त बच्चा सुधार्ने अफिस होइन, बिगार्ने अफिस रहेछ' भन्ने आरोप लगाए।
केही महिना बच्चाले सडकमा बटुलेको कवाडी हामीले जम्मा गरेर बेच्यौं। बच्चाहरू सस्तो ननभेज खाने त्यसैले उनीहरूलाई सहज होस् भनेर कार्यालय परिसरमा सानो खाजाघर खोल्यौं। सुरूमा त एक जना बाहिरको शाहीलाई जिम्मा दिइयो। तर उनले चलाउन सकेनन्। पछि अफिसले नै चलाउने भन्ने कुरा आयो। बच्चाहरूले खाजा घरमा कुखुराको खुट्टा, टाउको, पाङ्ग्रा, कलेजो फ्राई आदि किनेर खान्थे। उनीहरूको कवाडी बेचेको पैसा हामीसँग उनीहरूको खातामा हिसाब हुने भएकोले उधारो पनि खान्थे। त्यही हिसाब मलाई स्टाफले साँझ बुझाउँथे। त्यो हिसाबको चिर्कटो मसँग सर्टमा परेको रहेछ।
यसरी त्यो खुट्टा टाउकोको हिसाबको बारेमा श्रीमतीले भनिन् कि 'श्रीमान एनजिओमा काम गर्छ भनेको त त्यस्तो काम पो गर्ने रहेछ'। जीवनमा हामीले अनेक काम जिम्मेवारी बहन गर्नुपर्छ। सबैलाई सबैको सबै कुरा थाहा हुने पनि भएन। भन्दै हिँड्ने कुरा पनि हुँदैन। फेरि यो काम विशिष्ट, यो काम निकृष्ट भन्ने पनि छैन।
फेरि श्रीमान श्रीमतीको सम्बन्ध, श्रीमानले के काम गर्छ श्रीमतीले के काम गर्छे भन्ने मान्यतामा मात्र सीमित हुँदैन त्यो त एउटा सामाजिक बन्धन, मूल्य, मान्यतामा टिकेको हुन्छ। यसैले त हामी पूर्वीय दर्शनमा विश्वास गछौं, जहाँ विश्वास, भावना, संस्कार, नैतिकता, संयम र सहनशीलता छ।