बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपाल भित्रिएर भारी वर्षा गराउने सम्भावना देखेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे निर्देशन जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ।
विभागले नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने पनि बताएको छ।
विशेषतः बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिमसमेत औंल्याएको छ।
त्यस्तैले उल्लिखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न प्राधिकरणले सतर्क गराएको छ।
सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिन र सो निर्णय पालना गराउन पनि प्राधिकरणले भनेको छ।
पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, डुबान हुने बस्तीका बासिन्दाहरूले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरूलाई पनि जानकारी दिने काम गर्न प्राधिकरणले भनेको छ।
आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।
जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न र पूर्वतयारी, पूर्वकार्य, प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क रहन पनि प्राधिकरणले भनेको छ।
