'जिन्दगीमा यस्ता दसैं कति आए कति, मनाएर के भएको छ र? यो वर्ष नमनाउँदा के हुन्छ फरक पर्छ?'
मेरा लागि यो एक दसैं पनि जीवनको आयुमध्येको एक हिस्सा हो। भगवानले मलाई पृथ्वीतलमा पठाउँदा जीवनसँगै पाएको रमाइलो हिस्सा।
सायद सबै धर्मावलम्बीहरूमा मेरो जस्तो हुन्छ होला। मानिस पीडा, दुःख, बेदना आदिले भरिएकाले कहिलेकाहीँ यस्ता अभिव्यक्ति दिन्छ। तैपनि आआफ्ना चाडपर्वप्रति कसलाई पो लगाव हुँदैन र?
म हिमालपारिको जिल्ला मुस्ताङमा काम गर्थेँ। आठ महिना लगातार काम, बिना छुट्टी। चार महिना त हिउँ पर्ने।
त्यो बेलाको जागिरको समयमा दसैंमा घर आउन नपाई काममै रहनुपरेको नमिठो सम्झना पल अहिले पनि याद छ।
दसैं मनाउन नपाउँदा नमज्जा त थियो नै। त्यो बेला हामी जस्तै दसैं मान्न घर जान नपाएका प्रहरीहरू पनि थिए। प्रहरी चौकीमै दसैं मनाउन सई साहेबको निमन्त्रणामा च्यांग्रा काटेर भोज खाँदा घर–परिवारको याद गर्दै दसैं मनाइयो।
तिहारमा घर आउन पाइयो। तर दसैं–तिहारका बीच तुलना गर्न मिल्दैन, आ–आफ्नै महत्व छन्।
दसैं अर्थात् टीका, भेटघाट, पुनर्मिलन, भोज, पार्टी, खानपान रमाइलो। साथै हामी काम गर्नेहरूलाई लामो बिदाले अलग्गै रौनक र आनन्द हुन्थ्यो।
हिमाली बौद्धमार्गी सम्प्रदायमा दसैं मनाउँदैनन्। माथिल्लो मुस्ताङ अर्थात् लोमानथाङमा गुरूङ जातिको बसोबास बहुल छ। पहाडमा बस्ने गुरूङहरूले दसैं मनाए पनि त्यहाँका गुरूङ र विष्टले दसैंतिहार मनाउँदैनन्।
त्यहाँ तिजी, यार्तुङ घोडा दौडाउने प्रतियोगिता, ल्होसार मनाउँछन्। म गुम्बाको कारिन्दा थिएँ। झन्डै १८० घर रहेको लोमानथाङ उपत्यकाको ५ मिटर अग्लो माटोको पर्खालको घेराभित्र सबै गाउँलेले मलाई 'माटा' अर्थात् 'मास्टर' भनेर चिन्थे।
गाउँमा अरू सरकारी स्कुल र बोर्डिङ पनि थिए। तर हामीकहाँको गुम्बा स्कुलमा लामा विद्यार्थीलाई मात्र खोलिएकाले नेपाली सरकारी क्यालेन्डरको बिदा, चाडपर्व खासै मतलब हुन्थेन।
मन फकाउँदै, पीडादुःख मनमा लिएर, त्यो दसैं घरपरिवार सम्झिँदै रूँदै त्यहाँ कर्मथलोमा बसेर काटियो।
'आफू नमरी स्वर्ग देखिन्न' भनेझैं, त्यो बेला घर छाडेर मुगलान, परदेश भारत, अरब, विदेश गएकाहरूको पीडा महसुस भयो। लाग्यो, म त कमसेकम मुलुकमै छु। उनीहरू त परदेशमा, घर–परिवार, चाडपर्व कति याद आउँदो हो।
कोही कोही दसैंलाई दशा, फजुल खर्च भन्छन्। तर चाडपर्व मान्ने तरिकाले यस्तो अवस्था आयो होला। किनभने घाँटी हेरेर हाड निल्ने हो। जथाभावी खर्च गरेर ऋणमा डुब्नु चाडपर्वको अर्थ हुँदै होइन। हाम्रै अर्कमण्यता हो।
नजानेर, बुद्धि नपुगेकोले, अज्ञानतावश हामी हरेक अवसर, उत्सव, पललाई अवहेला, हेय, निन्दा तथा बोझ मानिरहेका छौं। हामी कहिलेकाहीँ उत्तेजना र आवेगमा खर्च गर्छौं र चाडपर्वलाई दोष दिन्छौं।
जिन्दगी सम्झौता हो। मानिसले जे पनि भोग्नुपर्छ। हुन त यो कुरा खासमा ठूलो होइन तर हरेक घडी, पल, निमेष, रात, दिन, हप्ता, महिना, वर्ष, दशक गर्दै मानिसको आयु बनेको छ। त्यसमा चाडपर्व, दुःख, सुख, आँसु, हाँसो, रोदन सबैको मिश्रण छ। जुन कुनै पनि घटना, पल, परिघटना, अवसर, उत्सव, चाड, रमाइलोमा सहभागी हुन नपाउँदा, छुटाउँदा मन पोल्दो रहेछ।
यस कारण घर–परिवार, अभिभावक, मान्यजन सबै हुँदा, साथमा रहँदा, चाडपर्वमा खुसी साट्न पाउँदा आफुलाई भाग्यमानी सम्झौं। जीवनलाई सार्थक बनाउन पल–पलको हाँसो, खुसी र रमाइलो आवश्यक छ। यसले दीर्घायु, निरोगी तथा जीवनलाई पूर्णता दिन्छ।