विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ। लगातार चार दिनसम्म १० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित फेला परिरहेका छन्। योसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।
हाल देशभरि सङ्क्रमितको सङ्ख्या ६५,३७४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाडौं उपत्यकामा छन्।
सक्रिय सङ्क्रमितमध्ये ३०,६८८ जना काठमाडौंमा, ७,१४५ जना ललितपुरमा र ४,२२३ जना भक्तपुरमा छन्।
सबैभन्दा बढी सक्रिय संक्रमित देखिएका काठमाडौं उपत्यकामा शुक्रवार मध्यरातबाट लागू हुने गरी थप निषेधात्मक आदेश जारी गरिएको छ।
त्यसमा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै जोरबिजोर प्रणाली अन्तर्गत सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था राखिएका छन्।
घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड अनिवार्य रूपमा राख्न भनिएको छ।
काठमाडौं उपत्यकामा आज शनिबार (माघ ८ गते) देखि जोर बिजोरमा सवारी साधन सञ्चालन हुने भएको छ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै जोर बिजोर प्रणाली लागू गरेको जानकारी दिएको हो।
सार्वजनिक यातायातसहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत यो नियम लागू हुने प्रशासनले जनाएको छ।
शनिबारबाट जोर बिजोर लागू हुने भएपछि प्रशासनले शुक्रबार अर्को विज्ञप्ति जारी गर्दै यसअघिको आदेशलाई स्पष्ट पारेको छ।
प्रशासनका अनुसार औषधि एवम् स्वास्थ्य सामाग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल र शववाहनमा जोर बिजोर लागू हुनेछैन।
यस्तै, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने साधनमा समेत जोर बिजोर लागू हुनेछैन। यद्यपि, यी सवारी साधनमा भने चालक र सहचालक मात्र बस्न पाउने प्रशासनले भनेको छ।
यस्तै, खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारीमा पनि यो प्रणाली लागू हुनेछैन। यी समाग्री बोक्ने गाडीमा पनि चालक र सहचालक मात्र बस्नु पर्नेछ।
यता, परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउनेछन्। यस्तै, बैंक, बीमा, वित्तिय संस्था र वायुसेवा निगमका कर्मचारीले पनि परिचय पत्र देखाएर सवारी चलाउन पाउनेछन्।
पत्रकारको हकमा भने सूचना तथा प्रशारण विभागले जारी गरेको परिचयपत्र बाहकले जोर बिजोरमा आधारित नभइ सवारीसाधन चलाउन पाउनेछन्।
सरकारी र कुटनीतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन।