हो, म अटेरी हुँ
किनकि म मिल्न जान्दिनँ त्यहाँ
जहाँ मिल्नु भनेको
गलतसँग हात मिलाउनु हो
म अटेरी हुँ
किनकि मेरो जिब्रो
डरको तालिमले बाँधिएको छैन
र मेरो मौनता
कुनै पावरको दरबारमा
हाजिर छैन।
जहाँ गलत हुन्छ
त्यहाँ मेरो मन
पहिले नै उठिसकेको हुन्छ
आवाज भएर
असहमतिका काँडा बोकेर
आफ्नो होस् या पराई
रगतको होस् या विचारको
गलत त गलत नै हो
किनकि सत्यको
कुनै नाता हुँदैन।
साथीहरू रिसाउँछन्, भन्छन्-
‘किन यति छिटो बोल्छस्?’
म हाँस्छु
किनकि म लास होइन
जो बोकिँदै जाओस्
अर्काको मौनतामा।
पैसाले तौलन खोज्दा
म अझै भारी हुन्छु
शक्तिले थिच्न खोज्दा
म अझै ठाडो उभिन्छु
हो, म बिक्छु
तर माया र सम्मानमा
पावर र पैसाको बजारमा
मेरो आत्मा
कहिल्यै सूचीकृत हुँदैन।
मलाई मतलब छैन
को आफ्नो, को पराई
मलाई मतलब छैन
सत्य बोल्दा को टाढिन्छ
मलाई एउटै प्रश्नले पोल्छ
गलत हुँदा
म चुप बसेँ कि बोलेँ?
त्यसैले म अटेरी हुँ
यति अटेरी कि
आउने-जानेको हिसाब राख्दिनँ
मलाई केवल यत्ति थाहा छ
म गलतको छायामा छु
कि सहीको उज्यालोमा?
सबैले भन्छन्
‘तँ अटेरी छस्’
हो, म आफैँ पनि स्विकार्छु
म अटेरी नै हुँ।
मेरो अटेरका
प्रशंसक पनि छन्, समर्थक पनि
तर यदि त्यही प्रशंसक
गलतको पक्षमा उभिए
म ऊसँग पनि
अटेर गर्छु।
हो, म असहज छु
तिनका लागि
जो गलतलाई सिस्टम बनाउँछन्
तर म सहज छु
आफ्नै आँखामा
किनकि म सत्यसँग निदाउँछु
र सत्यसँगै उठ्छु।
त्यसैले
हो, म अटेरी हुँ
शान्त तर अडिग
एक्लो तर सही।