जाडोयाम सुरू भएसँगै दक्षिण एसियाको ठूलो क्षेत्र, मुख्यतया पश्चिम पाकिस्तानदेखि बंगलादेशसम्मको इन्डो–गंगा भूभागलाई बाक्लो कुहिरोले ढाक्छ।
भारतीय उपमहाद्वीपीय क्षेत्रमा शीतलहर एक नियमित शृंखला जस्तै भएको छ। भारतमा अवस्थित १०३ वटा जल तथा मौसम मापन केन्द्रहरूको सन् १९६१ देखि २०१५ सम्मको अध्ययनले दक्षिण समथर भूभाग र उत्तर–पूर्वी भारतबाहेक अन्यत्र शीतलहर नियमित प्राकृतिक प्रक्रियाका रूपमा रहेको देखाएको छ।
नेपालको तराई क्षेत्र पनि शीतलहरबाट प्रभावित हुन्छ। यद्यपि, शीतलहर र यसको असरबारे पर्याप्त अध्ययन भएका छैनन्।
सन् १९७१ देखि २००६ सम्म भएको एक अध्ययनले तराई क्षेत्रमा जाडोयाममा न्यूनतम तापक्रम बढ्दो क्रममा र अधिकतम तापक्रम घट्दो क्रममा रहेको देखाएको छ।
त्यसैगरी, सन् १९७५ देखि २०१० सम्मको अवधिलाई आधार मानी कोशी बेसिनमा भएको एक अध्ययनले दैनिक न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो क्रममा रहेको देखाएको थियो।
सोही अध्ययनले इन्डो–गंगा समथर क्षेत्रमा जाडो र प्रि–मनसुन सिजनको अधिकतम तापक्रम घट्दै गएको र हिउँदमा जाडो हुने दिनहरूको संख्या बढ्दै गएको देखाएको थियो।
विगत साढे दुई दशकदेखि शीतलहर एक मुख्य स्वास्थ्य समस्याका रूपमा देखा परेको छ।
सन् २००० देखि २०१५ सम्मको तथ्यांक हेर्दा नेपालको तराई क्षेत्रमा शीतलहरबाट करिब ८ सय व्यक्तिको र ७ सय बत्तीस घरपालुवा जनावरहरूको ज्यान गएको थियो।
यसका अलावा २२ हजार हेक्टरमा लगाइएको बालीनाली नष्ट भएको थियो।
तराईमा शीतलहरको सुरूआत सामान्यतया मंसिरबाट हुने देखिन्छ। मिथिला क्षेत्रका स्थानीयवासीहरूको अनुभवमा विगत वर्षहरूमा विवाह पञ्चमीको दिनबाट कुहिरोको प्रभाव सुरू हुन्थ्यो र माघ अन्त्यसम्म रहन्थ्यो। औसतमा प्रत्येक वर्ष ३० दिन शीतलहरको प्रभाव देखिन्छ।
सन् १९७१ देखि २०१५ सम्मको ४५ वर्षको नेपालको तराई क्षेत्रको तापक्रम अध्ययन गर्दा जनकपुरबाहेक अन्य क्षेत्रको तापक्रम घटबढमा समानता पाइन्छ।
सो अवधिमा जाडोयाममा विराटनगरको औसत अधिकतम तापक्रम २५.२३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो। यद्यपि, सो अवधिमा विराटनगरको औसत वार्षिक अधिकतम तापक्रम ३९.२० डिग्री सेल्सियस थियो।
त्यसैगरी, सोही अवधिमा जनकपुरको जाडोयामको औसत अधिकतम तापक्रम २४.८०, न्यूनतम तापक्रम १० र औसत वार्षिक अधिकतम तापक्रम ३८.६० डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अर्कोतर्फ, सिमरामा जाडोयामको औसत अधिकतम तापक्रम २४.५१, न्यूनतम तापक्रम ९ र औसत वार्षिक अधिकतम तापक्रम ४०.२० डिग्री सेल्सियस थियो।
भैरहवा, नेपालगञ्ज र धनगढीमा जाडोयामको औसत अधिकतम तापक्रम क्रमशः २४.१२, २२.८४ र २४.०१ डिग्री सेल्सियस मापन हुँदा न्यूनतम तापक्रम ९.५०, ९.६० र ७.५० डिग्री सेल्सियस थियो।
तर वार्षिक अधिकतम तापक्रम भैरहवा, नेपालगञ्ज र धनगढीमा क्रमशः ४०.२०, ३९.८० र ३९ डिग्री सेल्सियस मापन भएको थियो।
यी तथ्यांकहरूले तराईका क्षेत्रहरूमा जाडोयाममा औसत दैनिक अधिकतम तापक्रममा थोरै फरक देखाएको छ। उक्त अवधिमा न्यूनतम तापक्रम सबभन्दा बढी जनकपुरमा रेकर्ड हुँदा सबैभन्दा कम धनगढीमा मापन गरिएको थियो।
तराई क्षेत्रमा जनवरी, फेब्रुअरी र मार्चमा अत्यधिक चिसो हुन्छ। सन् १९७१ देखि २०१५ सम्मको ४५ वर्षको अध्ययनले तराई क्षेत्रमा वार्षिक रूपमा चिसो दिनको संख्या औसतमा सबभन्दा कम धनगढीमा १५.६ र सबभन्दा बढी नेपालगञ्जमा १७.९ दिन रहेको देखाएको छ।
त्यसैगरी, औसत वार्षिक चिसो रातहरूको संख्या सबभन्दा कम जनकपुरमा १३ र सबभन्दा बढी भैरहवामा १७.६ दिन रेकर्ड भएको थियो।
उक्त अध्ययनले ४५ वर्षको अवधिमा चिसो दिनहरूको संख्या नेपालगञ्जबाहेक तराईका अन्य सबै क्षेत्रमा बढिरहेको देखाएको छ।
सन् १९८६ देखि १९९५ सम्मको दशकमा पश्चिम नेपालको भैरहवा र धनगढीमा सबभन्दा कम शीतलहरका दिन मापन गरिएको थियो।
विगतको तुलनामा सन् २००६ देखि २०१५ मा विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीमा शीतलहरका दिनमा वृद्धि भएको थियो।
तराई क्षेत्रमा सबभन्दा बढी शीतलहरका दिन जनवरीमा देखिएको छ। औसतमा १९.३, ६८.२ र १२.५ प्रतिशत शीतलहर क्रमशः डिसेम्बर, जनवरी र फेब्रुअरीमा रहने गरेको अध्ययनको निष्कर्ष छ।
एक अध्ययनले वार्षिक औसतमा शीतलहरका दिन सबभन्दा कम धनगढीमा ११.३ र सबभन्दा बढी विराटनगरमा १६.१ दिन रहने देखाएको छ।
सन् १९७१ देखि २०१५ सम्मको ४५ वर्षको तथ्यांक अध्ययन तथा विश्लेषण गर्दा तराई क्षेत्रमा वार्षिक रूपमा चिसो दिनहरू नेपालगञ्जबाहेक अन्य स्थानहरूमा बढ्दै गएको छ।
पूर्वी तराईदेखि पश्चिम तराईसम्मका ६ वटा जल तथा मौसम केन्द्रहरूको ४५ वर्षको तथ्यांक अध्ययनले १ दशकको अवधिमा शीतलहरका दिनहरू ७२ देखि १९८ दिनसम्म रहेको देखाएको छ।
सन् १९८६ देखि १९९५ को दशकमा पश्चिम नेपालको भैरहवा र धनगढीमा सबैभन्दा कम शीतलहरका दिनहरू मापन गरिएको थियो। विगतको तुलनामा सन् २००६ देखि २०१५ को दशकमा विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीमा शीतलहरका दिनहरूमा वृद्धि भएको तथ्यांक छ।
तराई क्षेत्रमा शीतलहरको प्रभाव डिसेम्बरबाट सुरू भए पनि कुहिरो लाग्ने क्रम नोभेम्बरबाटै सुरू हुन्छ। कुहिरो लाग्ने र शीतलहर चल्ने दिनहरूको अध्ययन गर्दा विराटनगरमा ८० प्रतिशत दिनहरूमा एकैपटक शीतलहर र कुहिरो लाग्ने देखिन्छ।
त्यसैगरी, सिमरामा ४९, भैरहवामा ७९ र नेपालगञ्जमा ५९ प्रतिशत दिनहरूमा एकैपटक कुहिरो लाग्ने र शीतलहर चल्ने गरेको अध्ययनको निष्कर्ष छ।
शीतलहर र कुहिरोबाट मानवबाहेक घरपालुवा जनावर, पन्छी र कृषिजन्य बालीनालीमा बढी प्रभाव पर्छ। शीतलहर र कुहिरोबाट तराईमा मुख्यतः आलु र अन्य गोलभेँडा, भन्टा, खुर्सानीजस्ता तरकारी खेती प्रभावित हुन्छन्। गहुँ खेतीसमेत कुहिरोबाट प्रभावित हुने स्थानीय कृषकहरूको अनुभव छ।
एक अध्ययन अनुसार कुहिरोले आलुमा लाग्ने डडुवा रोगका लागि उपयुक्त वातावरण तयार गरिदिन्छ। स्थानीय कृषकहरूको अनुभवमा आलु रोप्ने समयका आधारमा पनि यो रोगको प्रकोप र असर फरक हुन्छ। अक्टोबरमा रोपिएका आलुमा नोभेम्बरमा रोपिएकाभन्दा डडुवा रोगको असर कम हुन्छ। डडुवाका कारण आलु उत्पादन ५० प्रतिशतले कम हुन्छ र कतिपय स्थानमा सम्पूर्ण खेती नै नष्ट भएका उदाहरण पनि छन्।
घरपालुवा जनावर र पन्छी पनि शीतलहर र कुहिरोबाट प्रभावित हुन्छन्। गाई, भैंसीले निकै कम मात्रामा दूध दिन्छन्। यो अवधिमा २५ देखि ३० प्रतिशतले दूध उत्पादनमा कमी आउने स्थानीय किसानहरू बताउँछन्।
वयस्क गाईवस्तुभन्दा तिनका बच्चाहरू बढी प्रभावित हुन्छन्। खसीबाख्रामा श्वासप्रश्वास सम्बन्धी रोग पनि देखिने गरेको छ।
शीतलहर र कुहिरोबाट गाईवस्तु सुरक्षित राख्न न्यानोपनका लागि स्थानीय कृषकहरूले जुटको बोरा, पुराना कपडा जनावरको शरीरमा कोटको रूपमा प्रयोग गरेको देखिन्छ।
त्यस्तै, केटाकेटी र वृद्धवृद्धा निमोनिया र श्वासप्रश्वास जस्ता स्वास्थ्य समस्याबाट पीडित हुन्छन्।
यो अवधिमा खेतबारीमा काम गर्ने कामदार अभाव हुन्छ। कार्यदक्षतामा पनि ५० प्रतिशतले कमी आउने कृषकहरूको अनुभव छ।
केन्द्रीय तथ्यांक विभागको सन् २०१७ को सर्वेक्षणले तराई क्षेत्रमा करिब २४ प्रतिशत घरहरू शीतलहरबाट प्रभावित हुने देखाएको छ। अत्यधिक चिसोका कारण कतिपय अवस्थामा स्कुल बन्द हुन्छन्। बाक्लो कुहिरोका कारण उत्पन्न न्यून दृश्यताले सडक र हवाई यातायात समेत प्रभावित हुन्छ। सडक यातायात प्रभावित हुँदा दुर्घटना वृद्धि हुन्छ।
शीतलहर र कुहिरोको प्रभावबाट उत्पन्न रोगहरूबाट कृषिजन्य बालीनाली बचाउन कृषकहरूले रासायनिक औषधि प्रयोग गरेको देखिन्छ।
आलुलाई डडुवाबाट बचाउन अक्टोबरमै बीउ रोप्ने अभ्यास बढ्दै गएको छ। भूमिगत सिँचाइका स्रोतहरू जस्तै इनार, ट्युबवेलबाट प्राप्त पानीमा तुलनात्मक रूपमा सतही पानीभन्दा तातोपना बढी हुन्छ। त्यसैले शीतलहर र कुहिरोको समयमा भूमिगत स्रोतको पानीको प्रयोगमा कृषकहरूले जोड दिएको पाइन्छ।
खुला आकाशमुनि गाईवस्तु राख्ने परम्परागत शैलीमा सुधार ल्याउँदै गोठ र आश्रयस्थल निर्माण गर्ने क्रम बढेको छ।
तर राज्यको तर्फबाट शीतलहर र कुहिरोको समयमा मानव जीवन, कृषि र पशुपन्छीको संरक्षण गर्ने ठोस कार्यक्रम लागू गर्न नसकेको स्थानीयहरूको गुनासो छ।
सरकारले यसलाई एक प्राकृतिक विपत्तिका रूपमा लिई समयमै आवश्यक कदम चालेमा यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ।

(डा. मुकेशराज काफ्लेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @MukeshKafle4