रातिको एक बजे छोरोलाई सुसु गराउन उठ्ने सधैँको बानी थियो मेरो। सधैँझैँ उठेँ र मोबाइलको बत्ती बालेर छेउमा छोरोलाई उठाउन हात बढाएँ तर छेउ खाली थियो। म घरबाट बाहिर एक्लै छु भन्ने बिर्सिएछु। घडी हेर्दा १:२० भएको रहेछ। निदाउन हर प्रयत्न गरे पनि पटक्कै आँखाका दुई ढकनी जोडिनै मानेनन्। ओल्टोकोल्टो फेर्दै बिहानीपख बल्ल आँखा लागे।
एक रात मात्र होइन, यो क्रम धेरै समयसम्म निरन्तर चलिरह्यो। साँझ सानो छोरो सम्झँदै एक्लै सुत्छु, राति यो कुरा मस्तिष्कले भुल्दो रहिछ। मलाई छोरोबिना राम्रोसँग रातभरि निदाउने बानी पर्न निकै समय लाग्यो। बिहान उठ्दा शरीर भारी भएर बिरामीजस्तो हुन्थेँ म। यातायात असुविधाले हरेक हप्ता घर आउन सक्दिनथेँ। कि त ६ किलोमिटर हिँड्नु पर्थ्यो, हिँड्ने बानी पनि थिएन मलाई।
दुई दिन लगातार बिदा कहाँ छ भनेर क्यालेन्डर हेर्दै दिन कुर्थेँ। दिनभरि विद्यार्थीसँग भुल्दा राहत महसुस हुन्थ्यो तर कोठामा फर्किएपछि एक्लोपन र निराशाले सताउँथ्यो। लगभग ६ महिनामा त मेरो शरीर सर्लक्क घटेर हाड र छाला मात्र भइसकेको थियो। कहिलेकाहीँ त यसले शरीर मात्र होइन जटिल मानसिक रोगी पो भइन्छ कि भन्ने डर पनि लाग्थ्यो।
म क्षेत्रपाटी स्थित जुद्धोदय माध्यमिक विद्यालयकी प्रावि शिक्षक, बसाइँ सतुङ्गल भए पनि आफ्नै साधनबाट २०/२५ मिनेटको घरपायक जागिर थियो। बिहान ११/१२ को कक्षा, दिनभरि स्कुल, साँझ घर आयो बच्चाको सामीप्य, घर सम्हाल्दै रामैसँग बित्दै थिए दिन। २०७९ सालमा शिक्षक सेवा आयोगबाट निम्न माविमा नाम निस्कियो जुन मेरा लागि निल्नु न ओकल्नु भयो।
ललितपुरको एक नम्बरमा सिफारिस भएकी थिएँ म, टाढा जानु परेन ललितपुरै पर्यो भन्ने लागेको थियो। बुढाबुढी भएर नियुक्तिको लागि फम भर्न जिल्ला समन्वय इकाई ललितपुर गयौँ। त्यहाँ पुग्दा थाहा भयो, नेपालीको दक्षिण ललितपुरमा मात्र छ। हामीलाई त वास्तवमा ललितपुर भनेको एकान्तकुना, सातदोबाटो, मङ्गलबजार, लगनखेललगायतका ठाउँभन्दा अरू थाहा थिएन।
अब सानो बच्चा छोडेर जागिर खान नजाने, यहीँको प्रावि जागिर नै ठिक भन्ने निष्कर्षमा पुगी फर्म नभरी घर फर्कियौँ। घर सल्लाह गर्दा श्रीमान्ले पनि ‘आफूले समय दिन सके यही छ जति काम, घरपायक जागिर छँदै छ, सानो बच्चा, घर छोडेर जाने रहर नगर’ भन्नुभयो। मिहिनेत गरी पढेर अगाडि नाम निस्किएर जागिर छोड्नु पर्दा मन खिन्न भए पनि बच्चा र घरको लागि ठिकै छ भनेर चित्त बुझाएँ।
साथीभाइ, आफन्तीसँग कुरा हुँदा कसैले जानुपर्छ कहाँ छोड्नु, कसैले जानुहुँदैन यस्तै सल्लाह सुझाव आउँदै थिए। यसै बखत मेरो बुबासँग कुरा भयो। बुबाले ‘अहिले प्रावि/निमावि खासै फरक नभए पनि भोलिको लागि एक तह माथिको जागिरले जित्छ, अब बाबु पनि ठुलो हुँदैछ, जागिर छोड्ने कुरा नगर छोरी, केही समय दुःख गर बिस्तारै सरुवा गर्नुपर्छ’ भन्नुभयो।
नजाने भनेर एक सोच भइसकेको मन फेरि दोधारमा अल्झियो। घरमा सल्लाह गरेँ र फर्म भर्ने अन्तिम दिन फेरि हामी दुवै जना समन्वय इकाई पुग्यौँ। मैले बागमती गाउँपालिका छनौट गरेँ, फर्म बुझाई घर फर्कियौँ। घरमा अझैँ पनि नपठाउने पक्षमा हुनुहुन्थ्यो। मेरै जिद्दीले नै म बागमती गाउँपालिकामा गई नियुक्ति बुझेँ। कालीदेवी माध्यमिक विद्यालय माल्टा मेरो कार्यक्षेत्र बन्यो। विद्यालयका हेडसर (महेश घिमिरे) सँग सम्पर्क गरी विद्यालय जाने भएँ।
सविना लौडारी म्याम अङ्ग्रेजी विषयमा र म नेपालीमा दुई जना परेमा थियौँ माल्टा। उहाँ बाइकमा जानुभयो। म भने भट्टेडाँडाबाट हेटौँडा जाने सुमो चढेँ। हेडसरले सालघारी भन्ने ठाउँ झर्नुहोला, यताबाट म लिन पठाउँला भन्नुभएको थियो तर संयोग त्यो सुमोवाला ड्राइभर पनि मजस्तै नयाँ रहेछ। उसलाई पनि सालघारी थाहा भएन। फेरि हेडसरलाई फोन गरेँ, म झर्नुपर्ने ठाउँ कटिसकेछ।
म आत्तिएको देखेर सुमोमा भएका एकजना बाले ‘म बगुवामा झर्छु, त्यताबाट पनि माल्टा जान सकिन्छ, तपाईँलाई म बाटो देखाउँला नआत्तिनु नानी’ भन्नुभयो। उहाँको कुराले बल्ल मन केही शान्त भयो। बगुवा झरेपछि उहाँले एउटा भुस बोकेको सानो गाडीलाई भन्दिनुभयो। बाको यो गुण मेरा लागि अविस्मरणीय छ। म अहिले धेरै पटक बगुवाको बाटो हिँडिसकेँ तर उहाँ को बा हुनुहुन्थ्यो पत्ता लगाउन सकिनँ।
म चढेको गाडी सानो कच्ची, मुस्किलले पाङ्ग्रा मात्र अट्ने बाटो हुँदै अघि बढ्यो। अत्यास लाग्दा अजङका पहाड थिच्ने गरी उभिएका, डरले मुटु फुट्ला जस्तै भइरहेको थियो। म तराईमा जन्मे-हुर्केकीले पनि होला सबैलाई सामान्य त्यो बाटो मेरा लागि डर मर्दो थियो। त्यो गाडीले मलाई ज्यामिरे भन्ने ठाउँसम्म लाग्यो। गाडीवाला भाइले ‘तपाईँ अब हिँडेर जानुपर्छ, हामी यहीँसम्म मात्र हो, माल्टा उपरको फाँट हो, आधा घण्टामा पुग्नुहुन्छ’ भने।
म ओर्लिएँ र त्यो अत्यास लाग्दो पहाडको देब्रे कोखाको बाटो भएर हिँड्न सुरु गरेँ। मेरो हिँड्ने बानी कत्ति पनि थिएन। उसले भनेको आधा घण्टामा त मैले आधा बाटो पनि छिचोल्न सकिनँ। ४ बजिसकेको थियो। जङ्गल, पहाडको बाटोमा यसरी एक्लै हिँड्नुपर्दाको त्यो पीडा म यहाँ शब्दमा व्यक्त गर्नै सक्दिनँ। एउटा खोलाको बगरमा पुगेँ। ठुलो ढुङ्गामाथि बसेँ अनि फुट्न लागेको मुटुको भार बिसाउन जोडले रोएँ, एकलास बगर थियो, कोही थिएन त्यहाँ।
एकछिनको रुवाइपछि आँसु पुछेँ, आफूलाई सम्हालेँ, जसरी पनि गन्तव्यमा त पुग्नु थियो। यसै बखत मोबाइलमा घण्टी बज्यो, पूर्व विद्यालय जेपी स्कुलका हेडसर (लक्ष्मण पौडेल) को फोन रहेछ। सरको फोनले अभिभावकत्वको भान भयो मलाई,झन् रुन मन लाग्यो। रोएको थाहा नहोस् भनेर सम्हालिँदै लक्ष्मण सरलाई नियुक्ति बुझी नयाँ स्कुल जान लागेको, बाटोमै भएको जानकारी गराएँ। सरले ‘ल मिस् राम्रोसँग पुग्नुहोला, आजबाट जेपीबाट कार्यका हिसाबले औपचारिक रूपमा टाढा हुनुभयो। चेलीबेटीका लागि जेपीको ढोका सधैँ खुला रहनेछ। हामीलाई नबिर्सिनुहोला, जहाँ रहनुहुन्छ, त्यहाँ पनि यहाँजस्तै विद्यार्थी, विद्यालयको मनमा बस्न सफल हुनुहोला’ भन्नुभयो।
मैले हस् बाहेक केही भन्न सकिनँ। अहिले लक्ष्मण सरले भनेजस्तो सबैको मनमन बस्न सकेँ कि सकिनँ थाहा छैन। फोन राखेर दुई पाइला अगाडि बढ्दै थिएँ, नयाँ स्कुलका हेडसरले फोन गर्नुभयो। मैले ठाउँ बताएपछि, बिस्तारै हिँड्नु, म लिन पठाउँछु भन्नुभयो। ५/७ मिनेट हिँडेपछि बाइकमा सर आउनुभयो, बिनोद सर हुनुहुँदो रहेछ। उहाँसँग हेडसरको कोठामा पुगियो। माल्टाको पहिलो परिचित व्यक्ति, मलाई गन्तव्यमा पुर्याउने बिनोद सरप्रति आभार छ।
हेडसरको परिवार यतै हुनुहुँदो रहेछ। सामान्य परिचयपछि खाजा खायौँ। घरमा फोन गरेँ। यसरी पुगेँ भन्दा मेरो सर पनि आत्तिनु भयो। ‘पुगेर हेरिहाल्यौ, अब चित्त बुझाऊ, भोलि फर्केर आऊ, त्यस्तो दुःख गरेर कसरी सक्छौ’ भन्नुभयो। मैले पनि हाजिर नगर्ने फर्केर जाने जस्तो मुड बनाएँ।
म्यामले अतिथि सत्कारको कत्ति कमी हुन नदिई मासुलगायतको मिठो खाना तयार गर्नुभयो। यसको लागि उहाँ मेरो हृदयदेखिको धन्यवादको पात्र हुनुहुन्छ। तर मलाई भने भोक थिएन, मन एकतमासले पोलिरहेको थियो। यसै बेला बुबाको फोन आयो। मैले मेरो यात्रा वर्णन सुनाउँदै हाजिर नगरी भोलि फर्कने कुरा सुनाएँ।
बुबाले ‘नियुक्ति बुझेर गइसकेपछि अब हाजिर गर्नुपर्छ, सरकारी जागिरमा नाम निकाल्न कति गाह्रो छ, केही समय दुःख गर्दा भविष्यलाई राम्रो हुन्छ’ भनेर ढाडस दिँदै ‘नआत्तिनु बिस्तारै सबै ठिक हुन्छ। छोडेर आउन कुरा नगर’ भन्नुभयो। म निकै दोसाँधमा अलमलिएँ। यता कि उता भन्ने कुराले छटपटी भयो। हेडसर, म्यामले पनि सम्झाउनु भयो।
१० बजे छेउमा बस्ने याल्मो लामा म्यामको कोठामा सुत्न गएँ। म अपरिचितलाई आफ्नो सुत्ने स्थान उपलब्ध गराउनु भएकोमा म्यामप्रति पनि म निकै आभारी छु। म्यामका आमाछोरी मस्त निद्रामा हुनुहुन्छ तर मेरा आँखा जोडिनै मान्दैनन्। झ्याल कटटट बज्ने गरी बाहिरबाट एकतमासको चिसो सिरेटो झ्यालका चेपबाट भित्र पसिरहेको छ भने मनभित्र भतभत पोल्ने आँधी तुफान चलिरहेको छ। जे होस्, एउटा निर्णय लिनुपर्छ, आइहालेँ, अब जागिर खान्छु नै भन्ने निश्चय गरेँ र सुतेँ।
भोलिपल्ट समयमै स्कुल पुगियो। अफिस कोठामा पुग्दा अनायासै आँसु खसे, मन थामेँ, हेडसरले नाम लेखेर हाजिरी कापी अगाडि बढाउनुभयो। हात कमाउँदै जागिरको अर्को अध्यायको पाना थपेँ। ‘म्याम प्रार्थना सभामा केही बोल्नुहोस् है’ हेडसरले भन्नुभयो। म बोल्न सक्ने स्थितिमा थिइनँ, खै किन हो मन भारी भयो, आँखा रसाए, घर सम्झिएँ, छोरोको याद आयो। बोल्दिनँ सर मात्र भनेँ।
पहिलो दिन भए पनि मैले त्यो दिन पाँच पिरियड पढाएँ। विद्यार्थीसँग भुल्दा पिर बिर्सिएजस्तो भयो। एकैदिनमा म गएका कक्षाहरूमा घुलमिल भइहालेँ। मेरो एउटा विशेषता के हो भने नि; मलाई घरको, स्कुलको कुनै तनावमा छु, कसैसँग बोल्नै मन छैन भने पनि कक्षाकोठामा विद्यार्थीका अगाडि पुगेपछि सबै कुरा भुल्छु र विद्यार्थीसँगै हराउँछु। अर्को कुरा किताब पढाउनभन्दा पनि किताबका विषयवस्तुसँग जीवन सिकाउन मन पर्छ मलाई। ४ बजे छुट्टी भएपछि मलाई घर जान मन लाग्यो, कहिल्यै नछोडेको सानो छोरोको एकदम न्यास्रो लागिरहेको थियो। तर यातायातको सुविधा नभएकाले त्यो दिन पनि हेडसरकैमा बसेँ।
अब बस्ने भएपछि कोठाको पनि बन्दोबस्त गर्ने सोच आयो। हेडसरसँगै गएर एक ठाउँमा कोठा हेरेँ। हेडसरलगायत परिवारले एक अनजान मान्छेलाई अपरिचित ठाउँमा अभिभावक, आफन्त बनेर मलाई जुन आत्मीयता प्रस्तुत गर्नुभयो। त्यो मेरा लागि अमूल्य छ। यो गुण म कहिल्यै बिर्सन्नँ।
२०७९ फागुन ७ गते हामीसँगै नियुक्ति भएका सविना म्याम र म कोठाका सामान ल्याएर माल्टा पुग्यौँ। कोठा मिलायौँ। अब हाम्रो परिवारभन्दा बाहिर एकान्त बास भयो। यो सुरुको क्षण सोच्न, सम्झन पनि गाह्रो लाग्छ मलाई। बानी पर्न ६ महिना लाग्यो। २ दिन बिदा परे बल्लतल्ल २ रातका लागि घर आउँथ्यौँ हामी। एकान्तको तड्पाइले घर आइपुग्यो, कस्तो गाह्रो भयो भन्न पाइँदैन थियो। ‘रहरले गएको, राम्रै होला नि’ भन्ने प्रतिउत्तर पाउँदा मुटु चुलेसीले काटेभन्दा पनि बढ्ता दुख्थ्यो। चुपचाप सहन्थेँ, एक्लै हुँदा कति रुन्थेँ, त्यसको लेखा छैन। पछि पछि त घर पुगेर गाह्रो भयो, यसरी आएँ, उसरी आएँ भन्नै छोडिदिएँ। म त्यहाँ रहरले गएको, घर गर्नु परेको छैन, बच्चा सम्हाल्नु परेको छैन, आनन्दले रमाइलोसँग बसेको छ, घर बस्नेलाई घर सम्हाल्न, बच्चा सम्हाल्न सजिलो छैन भन्ने नहोस् भनेर। बरु पुग्छु, पाकेको खान्छु, एउटा औषधि निल्छु र चुपचाप सुत्छु। मेरो जिद्दीले, नजा भन्दाभन्दै गएकोले, मेरो जागिर घरका लागि रहर थिएन बाध्यता थियो भन्ने मैले बुझाउनै सकिनँ। मभित्रकै संसार चियाउन थाले अचेल, बाहिरी संसार फिक्का पो लाग्न थाल्यो।
पछिपछि म्यामहरूसँग हिँड्ने बानी परेपछि लगभग २ घण्टा (६ किलोमिटर) हिँडेर कान्ति लोकपथ आउँथ्यौँ र त्यहाँबाट गाडी चढी हरेक हप्ता २ रातलाई घर पुग्थ्यौँ। अहिले पनि शुक्रवार काठमाडौँ, आइतबार माल्टाको यो यात्रा जारी नै छ हाम्रो।
सविना म्याम र म वल्लोपल्लो कोठामा बस्थ्यौँ। खासै एकअर्काको कोठामा आवतजावत नगरे पनि बेलाबेला सँगै हुँदा दुवै जनाले साना-साना छोरा छोडेर आएको एउटै व्यथाले अङ्गालो हालेर रुन्थ्यौँ हामी। उहाँ माविमा नाम निकालेर अन्तै नियुक्त भई माल्टाबाट बिदाइ भएको दिन म उहाँ निस्किएको हेर्ने साहस नभई उहाँभन्दा पहिल्यै काठमाडौँ हिँडेकी थिएँ। अहिले पनि उहाँको कोठातिर हेर्दा उहाँ बोल्नुहुन्छ कि भन्ने झल्को आइरहन्छ।
बाटो, यातायातको असुविधा भए पनि यहाँ आइपुगेपछि ठाउँ रमाइलो र आनन्दको छ। हामीलाई ठाउँले जागिर खान यति विधि गाह्रो भएको पनि होइन। सानो बच्चा छोड्नुको व्यथाले गाह्रो भएको हो भन्ने कुरा यहाँ पनि बुझाउन सकिएन। घरको सम्झना गर्यो भने ‘यहाँ के नराम्रो छ, बस्न यति राम्रो छ, यो छ, उ छ ‘ भन्ने कुरा आइहाल्छ। ए बाबा! हामीलाई ठाउँले फरक परेकै होइन, बच्चासँगको दूरताले मन आत्तिन्छ भन्ने पनि महसुस गराउन सकिएन।
साँझ छोरोको यादले सताउँदा म मेरी आमाबाहेक वरपर केही देख्दिन। आमा पुकार्दै जोडले रुन्छु। खाना पकाउँछु, खाने बेला आमाकै याद आउँछ। आमा भएको भए ‘स्कुलबाट आइस्, खाजा खाइस्, खाना खाइस्?’ दिनमा एक दुई पटक मोबाइलमा घण्टी बज्थ्यो। एक्लै भए पनि खान अल्छी नगर्नु है, यस्तै यस्तै कति कति। यसको मतलब यो होइन कि अरूले माया गर्नुहुन्न, भन्नुहुन्न! घरपरिवार, बा, दिदीबहिनी, दाजुभाइ, साथीभाइ, इष्टमित्र सबै हुनुहुन्छ मेरा लागि तर सबैलाई समय अनुकूलता, घर व्यवहार, आआफ्नै टन्टो रन्को हुन्छ। फुर्सद निकाल्नुपर्छ।
स्कुलमा पनि नयाँ भएर होला कसैसँग खासै बोलचाल हुँदैनथ्यो। कोठामा पनि एकदम एक्लो महसुस हुन्थ्यो। कसैले फोन गरे पनि, सन्चो बिसन्चो सोधे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। कुराकानी गरे पनि मन भुल्थ्यो जस्तो लाग्थ्यो। यस्तो हुँदा आमाको एकदम याद आउँछ। अहिले पनि दिनमा १/२ पटक आमा सम्झेर नरोएको दिन हुन्न। भित्रैदेखि रोएँ भने मात्र मलाई हल्का महसुस हुन्छ। एक्लोपनले मानसिक रोगी भइएला भन्ने डरले बिहान बिहान योग साधनालाई समय दिन्छु।
समय बित्दै गयो। विद्यालयको रङरूप बदलिँदै गयो। एउटा विदेशी संस्थाले छात्राका लागि छात्रावास बनाइदियो। ‘म्याम, तपाईँ र लक्ष्मी म्याम छात्रावास बस्नुपर्ने भयो’ भन्नुभयो हेडसर; म भने छात्रावास बस्न चाहन्न थिएँ किनकि स्कुलबाट आएर छोरोसँग बोल्नुपर्थ्यो, ऊ सुत्दा भिडियो कल गरेर उसलाई सुताउनुपर्थ्यो, बिहान उठेदेखि भिडियो खोलेर उसको अगाडि बस्नुपर्थ्यो, ऊ भ्यान चढेर स्कुल नजाउन्जेलसम्म। नर्सरीमा पढ्ने बच्चा, उसलाई आमाको काख चाहिने बेला आमाको सामीप्यको महसुस गराउनु पर्थ्यो, मेरो यो पीडा कसले बुझ्ने? मैले बस्न इन्कार गर्नुको कारण यहीँ थियो तर यसमा स्कुललाई सहयोग गर्न नखोजेको, स्कुलको समस्यामा हात झिकेको भन्ने कुरा आएपछि म मेरो व्यक्तिगत कुरा छोडेर स्कुल र विद्यार्थीको लागि स्कुलकै छात्रावासमा बस्न थालेँ।
त्यहाँ बस्न सुरु गरेपछि एक्लोपना कम भए पनि परिवार, छोरो र आफन्तसँगको दूरी बढ्दै गयो। छोरो २ मिनेटभन्दा बोल्न छोड्यो, होस्टेलमा मिल्दैन होला मामु भन्न थाल्यो। आफन्त, दाजुभाइ, दिदीबहिनीसँग पनि फोन पातलिँदै जान थाल्यो। म कहिले विद्यार्थीको कोठामा, कहिले किचनमा, त कहिले कता व्यस्त, कोठामा पनि म एक्लै थिइनँ, म्यामलाई डिस्टर्ब हुन्छ भनेर फोनमा भुल्नै छोडे। ‘एकछिनपछि गर्छु है’ भन्दाभन्दै फोनमा कुराकानी प्रायः बन्द नै भयो। जे भए पनि बिस्तारै सहज बन्न कोसिस गर्दै थिएँ, स्वास्थ्यमा समस्या देखियो। त्यसपछि म होस्टेल नबस्ने सोच बनाएँ।
छोरो पनि हरेक शुक्रवार म आउने पर्खाइमा बस्छ, कुनै शुक्रवार जान नपाए खिन्न महसुस हुन्छ। सानो बच्चा छोडेर बाहिर बस्दा आमा र बच्चामा के बित्छ, सायद भोग्नेलाई मात्र थाहा हुन्छ, अरूले देख्ने मात्र हो महसुस गर्न सक्दैन। कसैले ‘बाबु ठुलो भइसक्यो, घरमा गाह्रो छैन, हेर्ने हुनुहुन्छ’ भन्दा कतै कुनामा ठोक्किएको भान हुन्छ। हो, घरमा बाबुसँग बाबुकी फुपू हुनुहुन्छ र त म जागिरमा आउन सम्भव भएको हो। मैलेभन्दा धेरै स्याहार गर्नहुन्छ, बच्चा हेर्न सजिलो छैन तर कुनै सिकायतबिना भदो स्याहार्न तल्लीन देख्दा उहाँमा देवीकै रूप देख्छु म, जुन ऋणको बोझ म चुकाउन पनि सक्दिनँ सायद।
बाबु जन्मिनु अगाडिदेखि मलाई स्नेहपूर्वक साथ दिने, मेरा हरेक कुराको ख्याल गर्ने अङ्कु, ‘घरमा भाइ हेर्ने कोही छैन’ भन्यो भने कुनै पनि हालतमा तुरुन्त दाङबाट भाइका लागि हाजिर हुने, आफ्नो पढाइका बाबजुद भाइका लागि तल्लीन हुने अंशु, परेका बखत मलाई साथ दिने अनु, अम्बु; यी छोरीहरूको मप्रतिको समर्पण त म कसो गरी तिर्न सकुँला र! यसै गरी पर्दा जति बेला पनि यहाँ साथ दिने नानी, भाइ र परेका बेला परोक्षबाट सपोर्ट गर्ने बा, दिदी, भाइ, बुहारीहरू, मेरो परिवार, आफन्तजन सबै सबैप्रति आभार व्यक्त छ।
कुनै बेला यस्तो लाग्छ, म जागिरमा नगएको भए कसैलाई यस्तो दुःख दिनु पर्दैनथ्यो। मैले सबैलाई दुःख दिएँ, क्षमा गर भगवान्। अझ कसैले त के भन्छन् थाहा छ; त्यहीँ ललितपुर जागिर, सानो बच्चा, घर छोडेर उतै बस्नुपर्छ त! घरैबाट जाँदा भइहाल्छ नि। अरे बाबा! भ्याउँथेँ भने रहर थिएन नि घर छोडेर बस्न। त्यसैले अहिले कसैले सोधे ललितपुर भन्नै छोडेकी छु, मकवानपुर हो भन्ने गरेकी छु। लाग्थ्यो जीवन गणितको शून्यजस्तो होस्, एक्लै यो निरर्थक भए पनि कसैसँग मिल्दा मूल्यवान् बनोस् तर होइन रहेछ, एक्लै आँखीझ्यालबाट संसार चियाउनु नै ठिक रहेछ।
अहिले त मेरी आमा, म र मेरो सन्तान समरूप देख्छु म। मैले चाहेर पनि आफ्नो सुख, दुःख, पीडा पोख्न आमाको सामीप्य पाउन सक्दिनँ, एक्लै आमा पुकार्दै रुने सिवाय। छोरोले चाहेको बेला म पनि भौतिक रूपमा उपस्थित हुन सक्दिनँ। म आएको बेला राति सुत्दा भन्छ, ‘मामु मैले किन सधैँ हजुरलाई मिस गर्छु होला, पापाले सधैँ राम्रो कथा भनेर सुताइसिन्छ अनि फुपूले मैले भनेको भनेको खानेकुरा ख्वाइसिन्छ, स्कुलबाट आउँदा पसलबाट पनि खानेकुरा किन्दिसिन्छ, अंशु दिज्जु मैले भनेको जसरी मसँग खेलिसिन्छ, होमवर्क गराइसिन्छ र पनि म सधैँ हजुरलाई मिस गर्छु। अरू साथीका मामु त जब गर्न टाढा गइसिन्न त, हजुर मात्र किन गइसेको हो र?’
मैले उसको चित्त बुझ्दो जवाफ दिन नसके पनि ऊ चुप हुन्छ र एकछिनपछि मलाई बाचा पनि गराउँछ तर पापा, फुपू, दिज्जुलाई मैले भनेको कुरा नभनिस्यो है। मलाई कति धेरै माया गरिसिन्छ, फेरि चित्त दुखाइसिन्छ के! म चकित पर्छु, मैले छोडेर हिँडेपछि छोरो कति बुझ्ने भएछ। मैले हुन्छ म कसैलाई भन्दिनँ भनेपछि ऊ निश्चिन्त भएर सुत्यो, मलाई भने अन्तस्करणमा यति नमज्जाले घोच्यो कि पटक्कै निदाउन सकिनँ।
मेरो पहिला केही न केही लेखिरहने बानी थियो। पत्रपत्रिकामा, रेडियोमा, अनलाइन पत्रिकातिर मेरा रचना आइरहन्थे। तर माल्टा गएपछि लेख्ने कहिल्यै मुडै आएन। हेडसरले कहिले केही लेख्न भन्नुभयो भने पनि लेख्न नआएजस्तो हुन्छ, आउँदैन नै भन्छु। हुन त लेखेर के पो हुन्छ र जस्तो पनि लाग्छ, मेरा कयौँ गजल, कविता, कथा, लेख, संस्मरण जस्ता थुप्रै रचना दराजमा ठाउँ ओगटेर बसेका छन्। अब त झन् लेख्नै छोडिसकेँ। यो पनि एक बसाइँमा सकिन्थ्यो तर मैले पूरा ६ महिना लगाएँ।
मेरो लेखाइमा कमजोरी के छ भने लेख्न बस्दा शब्द पोख्ने मात्र होइन जुन पात्रको लेख्दै छु, त्यो पात्रको आवाज नै कानमा गुन्जिन थाल्छ। आँखा बर्सन थालेपछि कहिले त ४/५ हरफमै लेख्न छाडिदिन्छु। यहीँ रचना तयार पार्ने क्रममा लेखिएका आफूलाई मन पर्ने हरफ फेसबुकमा हालेँ। तर उसले मलाई भनेको, अर्कोले मलाई नै भनेको भन्ने कमेन्ट आयो। मैले कसैलाई भन्न फेसबुकमा हाल्ने होइन, मनको भाव पोखेकी मात्र हो माफ पाऊँ।
अन्ततोगत्वा, मलाई प्रत्यक्ष, परोक्ष साथ दिने, हौसला दिने, सम्पूर्ण आफन्तजन, गुरुजन, साथीभाइ सबैप्रति आभार।