चालु वर्षमा नयाँ उद्योग दर्ता प्रक्रिया तथा सञ्चालन रफ्तार बढेको छ।
उद्योग दर्ता तथ्यांक र नेपाली उद्योग परिसंघले गरेको औद्योगिक सर्वेक्षणले गत वर्षको तुलनामा यो वर्ष नयाँ उद्योग दर्ता प्रक्रिया उल्लेख्य बढेको देखिएको छ।
उद्योग विभागको तथ्यांकअनुसार चालु वर्षको नौ महिनाको अवधिमा दुई खर्ब ३९ अर्ब रूपैयाँ बराबरको कुल पुँजी हुने गरी उद्योग दर्ता भएका छन्।
गत वर्ष यो समयमा एक खर्ब ५६ अर्ब रूपैयाँ बराबर कुल पुँजी हुने गरी उद्योग दर्ता भएका थिए। यस हिसाबले नयाँ उद्योग दर्ताको पुँजी ५३ प्रतिशतले बढी छ।
विदेशी लगानीको स्वीकृति पनि यो वर्ष बढेको छ। चालु वर्षको नौ महिना (साउनदेखि चैत) को अवधिमा ९३ प्रतिशतले बढेको छ।
गत वर्ष ३० अर्ब रूपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव स्वीकृत भएको थियो। यो वर्ष ५८ अर्ब रूपैयाँको बराबरको विदेशी लगानीको लागि स्वीकृत भएको छ।
नेपाल उद्योग परिसंघले गरेको औद्योगिक सर्वेक्षणले पनि सुधार भएको देखाएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिएको सर्वेक्षण अनुसार सहभागी ६५ प्रतिशत उद्योगीले आगामी त्रैमास (माघ, फागुन र चैत महिनामा) नयाँ लगानीको योजना रहेको बताएका थिए।
जबकि गत वर्ष यो समयमा ५९ प्रतिशत सहभागीले आगामी त्रैमासमा कुनै पनि लगानीको योजना नभएको बताएका थिए।
लगानी योजना बनाएका उद्योगीले पनि समय पर सारेका थिए। नेपाल उद्योग परिसंघले करिब सय जना ठूला र मध्य स्तरका उद्योगीहरूको प्रतिक्रियाको आधारमा यो सर्वेक्षण गर्ने गर्छ।
त्यस्तै गत वर्ष उद्योगहरूको आत्मविश्वास अति न्यून भएको सर्वेक्षणले देखाएको थियो भने यो वर्ष मध्यम स्तरको रहेको देखाएको छ।
चालु वर्षमा माग, उत्पादन र लगानीमा केही सुधार देखिएको सर्वेक्षणले देखाएको छ। व्यवसायीहरूका अनुसार यो वर्ष नयाँ सञ्चालनमा आउने उद्योगको क्रम पनि बढेको छ।
चालु आर्थिक वर्षमा उद्योग विभागमा ७५४ वटा उद्योग दर्ता भएका छन्। गत वर्ष भने ३८७ वटा मात्रै उद्योग दर्ता भएका थिए।
गत वर्षको तुलनामा यो वर्ष ठूलो उद्योग दर्ताको संख्या १० वटाले बढेर ४७ पुगेको छ। मध्य उद्योग दर्ता संख्या ४ वटाले बढेर ३७ पुगेको छ।
त्यस्तै, साना उद्योग दर्ताको संख्या ३५४ वटाले बढेर ३७१ पुगेको छ।
१५ करोड रूपैयाँसम्मको पुँजी भएको उद्योगलाई साना उद्योगको रूपमा गणना गरिन्छ।
१५ करोडभन्दा धेरै र ५० करोडभन्दा सानो पुँजी भएका उद्योगलाई मझौला तथा ५० करोड रूपैयाँभन्दा धेरै पुँजी भएका उद्योगलाई ठूला उद्योगको रूपमा वर्गीकरण गरिएको छ।
कुन क्षेत्रमा कति लगानी?
कृषि र वन क्षेत्रमा १० वटा उद्योग भएका छन्। जसमध्ये ठूलो एक उद्योगको लागि ५६ करोड रूपैयाँ कुल पुँजी लाग्ने उल्लेख गरिएको छ। त्यस्तै साना नौ उद्योगको लागि ४९ करोड ५० लाख कुल पुँजी लाग्ने अनुमान गरिएको छ। दर्ता भएका कृषि उद्योगबाट ४०६ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
पुँजीका हिसाबले सबैभन्दा धेरै लगानी ऊर्जा क्षेत्रमा रहेको छ। यस वर्ष नौ महिनामा १७ ठूला ऊर्जा उद्योगको लागि ९० अर्ब ६० करोडको पुँजी बराबरको उद्योग दर्ता भएका छन्।
मध्यम स्तरका तीन वटा ऊर्जा उद्योगको कुल पुँजी एक अर्ब १४ करोड साना स्तरको एउटा यस्ता उद्योगको लागि २ करोड लगानी प्रस्ताव गरिएको छ।
आइसिटी केन्द्रित २०२ वटा उद्योग दर्ता भएकोमा सबै साना स्तरका रहेका छन्। जसको कुल पुँजी एक अर्ब ४६ करोडको छ।
पूर्वाधारमूलक २ वटा साना उद्योग दर्ता भएका छन्। जसको कुल पुँजी ४ करोड रहेको छ।
उत्पादनमूलक क्षेत्रमा ८ वटा ठूला, १७ वटा मध्ये र ७६ वटा साना उद्योग दर्ता भएका छन्।
यस्ता ठूला उद्योगको लागि १३ अर्ब ८८ करोड, मध्यम उद्योगको लागि ७ अर्ब ५५ करोड र साना स्तरका उद्योगको लागि ७ अर्ब २५ करोड कुल पुँजीको प्रस्ताव गरिएको छ।
सेवा क्षेत्रमा ठूला स्तरका नौ, मध्यम स्तरका ६ र साना स्तरका १०७ वटा उद्योग दर्ता भएका छन्। जसको कुल पुँजी ३० अर्ब रूपैयाँ बराबरको पुँजी प्रस्ताव गरिएको छ।
त्यस्तै पर्यटन उद्योगतर्फ २९१ उद्योग दर्ता भएका छन्। जसमध्ये साना २७०, मध्यम नौ र ठूला १२ वटा रहेका छन्। यी उद्योगको लागि कुल प्रस्तावित पुँजी ४५ अर्ब रूपैयाँ बराबरको छ।
कुन क्षेत्रमा कति विदेशी लगानी
चालु आर्थिक वर्ष २०८१/८२ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृतिमा उल्लेख्य वृद्धि देखिएको छ।
उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा मात्रै झन्डै ५८ अर्ब रूपैयाँ बराबरको एफडिआई स्वीकृति दिइएको छ।
यो अघिल्लो वर्षको यही अवधिको तुलनामा यो रकम करिब २८ अर्ब रूपैयाँले बढी हो। गत वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख रूपैयाँ बराबरको एफडिआई स्वीकृत भएको थियो।
उद्योग विभागका अनुसार चैत मसान्तसम्म एफडिआईमध्ये ५५ अर्ब ७ करोड रूपैयाँ अप्रुभल रुटमार्फत र २ अर्ब ८९ करोड रूपैयाँ अटोमेटिक रुटमार्फत स्वीकृत भएको हो।
त्यसमध्ये मात्र चैत महिनामा १३ अर्ब १७ करोड रूपैयाँ बराबरको एफडिआई स्वीकृत भएको छ, जुन गत वर्ष चैतको ९६ करोड रूपैयाँको तुलनामा झन्डै १४ गुणा बढी हो।
चालु वर्षको ९ महिनामा ४८० वटा उद्योग दर्ता भएका छन्। यसमध्ये चैत महिनामा मात्रै ५३ वटा उद्योग थपिएका छन्।
स्वीकृत एफडिआईको प्रवृत्ति हेर्दा लगानी साना उद्योगमा बढी केन्द्रित देखिन्छ।
चैत मसान्तसम्म दर्ता भएका कुल उद्योगमध्ये ४६८ साना प्रकृतिका छन्। मध्यम स्तरका उद्योग ८ र ठूला उद्योग केबल ४ मात्रै दर्ता भएका छन्।
विशेषतः चैत महिनामा दर्ता भएका सबै उद्योग साना छन्।
एफडिआई पाउने उद्योगमध्ये पर्यटन र सूचना प्रविधि क्षेत्र प्रमुख छन्।
पर्यटनसँग सम्बन्धित १८९ र आइटीसँग सम्बन्धित १८५ उद्योग दर्ता भएका छन्। सेवा क्षेत्रमा ६३ र उत्पादन क्षेत्रमा ३४ उद्योग दर्ता भएका छन्। कृषिमा ७, ऊर्जा र पूर्वाधारमा एक–एक उद्योग दर्ता भएको छ।
एफडिआई रकमको दृष्टिले सेवा क्षेत्र सबैभन्दा अगाडि छ। सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा १८ अर्ब ३८ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
यद्यपि आइटी क्षेत्रमा उद्योगको संख्या बढी भए पनि लगानीको प्रतिबद्धता भने केबल १ अर्ब ११ करोड रूपैयाँमा सीमित देखिएको छ।