तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान ४५ दिनदेखि रोकिएको छ।
कोदारीमा अवस्थित करिब ३५ मिटर सडक खण्डको मर्मत नहुँदा चीनको नेलम यार्डमा करिब १५ सयबढी कन्टेनर अलपत्र परेका छन्।
दसैं नजिकिँदै गर्दा उद्योगी तथा व्यापारीहले कच्चा पदार्थ र तयारी सामान नपाउँदा गम्भीर समस्या खेपिरहेका छन्।
नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले रसुवा नाका ठप्प भएको र तातोपानी नाका पनि असहज हुँदा व्यापार चक्रमा नै ठुलो प्रभाव परेको बताए।
‘नेपालका उद्योगहरूले ठूलो क्षति भाेगिरहेका छन्। निर्यात अर्डरहरू रद्द भइरहेका छन्। नेपालको आर्थिक मेरुदण्ड भासिँदै गएको छ,’ अध्यक्ष अग्रवालले भने।
दसैंका लागि ल्याइएका लुगाफाटा, जुत्ता लगायतका सामग्री चीन तर्फ नै रोकिएको अवस्थामा बजारमा सामानको अभाव हुन सक्ने उनको भनाइ छ।
चीनको नेलम यार्डबाट २० वा ४० फिटका साना गाडीहरूमा सामान पल्टी गरेर नेपाल ल्याइने गरिन्छ। तर, कोदारी क्षेत्रमा सडक बिग्रिएपछि आवत–जावत पूर्ण रूपमा रोकिएको हो।
चिनियाँ भन्सार कार्यालयले भने सड्ने वस्तु जस्तै स्याउ र लसुनलाई मात्र प्राथमिकता दिइरहेको छ। कच्चा पदार्थ र अन्य सामानहरू भने रोकिएको छ।
गोल्डस्टार जुत्ताका आपूर्ति प्रमुख संजीव कार्कीका अनुसार गोल्डस्टारका चार वटा कन्टेनर १० दिनदेखि चिनियाँ भन्सारमा गेट पासको प्रतिक्षामा अड्किएका छन्, किनभने ती सड्ने वस्तुमा पर्दैनन्। कार्कीले थपे, १० वटा कन्टेनर नेलममा एक महिनादेखि रोकिएका छन्।
यसरी औद्योगिक कच्चा पदार्थ रोकिएपछि निर्यात अडर्रहरु स्थगित हुनुका साथै स्थानीय बजारमा माग पूरा गर्न पनि समस्या भएको गोल्डस्टारका प्रतिनिधिहरूले बताएका छन्।
‘कच्चा पदार्थ नआएपछि उत्पादन घटेको छ। उत्पादन घटेको कारण बजारको माग पूरा गर्न समस्या भएको छ,’ गोल्डस्टारका एक प्रतिनिधिले भने, ‘कच्चा पदार्थ सकिसकेको छ। निर्यात शून्यमा झरेको छ।’
उनीहरुका अनुसार गोल्डस्टारको मात्रै ५० करोड रुपैयाँभन्दा बढीको कच्चा पदार्थ चीनतर्फ अड्किएको छ।
तातोपानी भन्सार कार्यालयका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार नेपालतर्फको सडक बिग्रिएको छ। ठूला कन्टेनरहरू आवतजावत गर्ने अवस्था छैन। सड्ने प्रकारका सामान बोकाएर ल्याएको छ, तर धेरै सामान रोकिएका छन्न।
सडक मर्मतको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग भए पनि हालसम्म काम हुन नसकेको उनकाे भनाइ छ।
स्थानीय बासिन्दाहरूले पहिरोले गाउँमा असर गर्न सक्ने भन्दै स्थायी समाधान माग गरिरहेको उनले जानकारी दिए।
वाणिज्य मन्त्रालयले पनि समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार, प्राकृतिक प्रकोपका कारण समय–समयमा अवरोध भए पनि नाका खुलाउन यथासक्य प्रयास भइरहेको छ।
व्यापारीहरू भने तत्काल सरकारले ३५ मिटर सडक खण्ड मर्मत गरेर नाका सञ्चालन गर्नुपर्नेमा जोड दिइरहेका छन्।
साथै, ५० दिनभन्दा बढी समयदेखि सामान अड्किएको कारण उद्योगहरू ठूलो आर्थिक भारमा परेकाले बैंकिङ क्षेत्रबाट ब्याज छुट वा सहुलियतको आवश्यकता रहेको पनि उनीहरूले बताएका छन्।
नेपाल–चीन व्यापारको प्रमुख नाका मानिने तातोपानी नाका ४५ दिनदेखि पूर्ण रूपमा ठप्प हुँदा आन्तरिक आपूर्ति प्रणाली र निर्यात दुवैमा असर परेको छ।
सडक मर्मत तथा व्यवस्थापनमा ढिलाइ कायमै रहे दसैं–तिहारको बजारमा ठूलो असर पर्ने व्यवसायीहरूको भनाइ छ।
कुहिने प्रकृतिका सामान भरियालाई बोकाएर भित्र्याइए पनि लागत धेरै महँगो पर्ने व्यापारिहरूको गुनासो छ।