४० प्रतिशत बढी नेपालीले अर्कैको नामको सिम कार्ड प्रयोग गर्ने गरेको एउटा सर्वेक्षणले देखाएको छ। विश्व बैंकले सार्वजनिक गरेको डिजिटल अर्थतन्त्रमा आबद्धता र वित्तीय समावेशीकरण सम्बन्धी प्रतिवेदनले यस्तो उल्लेख गरेको हो।
विश्व बैंकले सन् २०२४ को जुलाई २६ देखि २८ सेप्टेम्बरसम्ममा नेपालका एक हजार व्यक्तिमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो।
अर्थात् एक हजारमध्ये चार सय जनाले अर्कैको नामको सिम कार्ड प्रयोग गर्ने गरेको पाइएको हो। विश्व बैंकले एक सय ४१ मुलुकमा यस्तो सर्वेक्षण गरेको थियो। भारतबाहेक अन्य मुलुकमा एक हजार जनाको संख्यामा सर्वेक्षण गरेको थियो।
भारतमा भने तीन हजार नमूना लिइएको बताइएको छ।
सर्वेक्षणमा भनिएको छ, ‘अफ्रिकी मुलुकहरू जस्तै कोमोरोस, कंगो गणराज्य, मोरक्को र तान्जानिया साथै जोर्डन र नेपालमा पनि मोबाइल फोन भएका व्यक्तिहरूमध्ये ४० प्रतिशतभन्दा बढीसँग उनीहरूको आफ्नै नाममा सिमकार्ड दर्ता छैन।’
कम र मध्यम आय भएका अर्थतन्त्रहरूमा मोबाइल फोन भएका व्यक्तिहरूमध्ये २३ प्रतिशतसँग उनीहरूको आफ्नै नाममा सिमकार्ड नहुने गरेको पाइएको हो। यस्तो सिमकार्ड अरू कसैको नाममा दर्ता भएको देखिन्छ।
दोस्रो व्यक्तिबाट किनेको वा आफन्त तथा साथीहरूबाट पाएको फोनमा सिम परिवर्तन नगरेको कारणले पनि यस्तो भएको हुनसक्छ।
त्यसबाहेक परिवार वा समुदायका सदस्यहरू सहर गएर धेरै सिमकार्ड किनेर अरूलाई बाँड्ने गरेको कारण पनि यस्तो हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
अफ्रिकाका केही देशहरूमा वयस्कहरूले परिचयपत्र नभएकाले सिमकार्ड किन्न नसकेको समेत उल्लेख गरेका छन्।
दक्षिण एसियामा पुरूषको तुलनामा महिलाहरूसँग रहेको फोनमा अर्काको नाममा सिमकार्ड हुने प्रवृत्ति कमै देखिन्छ। यसो हुनुमा महिलाहरूसँग फोन कम हुनु पनि मान्न सकिन्छ। दक्षिण एसियामा ३२ करोड महिलाहरूसँग मोबाइल फोन नरहेको देखिन्छ।
त्यस्तै, नेपालमा एक हजारमा २८० जना नेपालीले मात्रै डिजिटल कारोबार गर्ने गरेको पाइएको छ।
एक हजारमा ६० प्रतिशतसँग बैंक खाता रहेको, २८ प्रतिशतले डिजिटल कारोबार गरेको, २१ प्रतिशतले डिजिटल माध्यमबाट बचत गर्ने गरेको र १६ जनाले औपचारिक प्रणालीबाट सरसापट गर्ने गरेको अध्ययनले देखाएको छ।
हजार जनामा सात सय ८० सँग मोबाइल फोन रहेको र पछिल्लो तीन महिनामा ५० प्रतिशतले इन्टरनेटको प्रयोग गरिरहेको पाइएको हो।
विश्वभर बैंक खाता हुने जनसंख्या बढ्दै गएको र यसले लैंगिक आधारमा खाताको स्वामित्वमा देखिएको खाँडल कम गर्दै लगेको छ।
हजारमध्ये बैंक खाता हुने ६ सय नेपालीमा ४७ प्रतिशत अर्थात् दुई सय ८२ जनाले भने कारोबारको लागि डिजिटल प्रणाली प्रयोग गर्ने गरेका छन्।
नेपालमा ५८ प्रतिशत पुरूषहरूले डिजिटल कारोबार गर्दा ३६ प्रतिशत महिलाले यस्तो कारोबार गर्ने गरेको पाइन्छ।
त्यस्तै, भारत, नेपाल, र श्रीलंकामा २०१७ देखि २०२४ सम्म डिजिटल भुक्तानी गर्ने वयस्कहरूको संख्या २० प्रतिशत बिन्दुले बढेको छ। त्यस्तै, समग्र दक्षिण एसियामा सरकारबाट पाइने सुविधा डिजिटल भुक्तानीबाट लिनेहरूको संख्या बढिरहेको छ।
विश्व भरका धेरैजसो वयस्कमा आफूले गर्नुपर्ने भुक्तानीमध्ये धेरैको चिन्ता मासिक खर्च र स्वास्थ्य उपचार खर्चलाई लिएर हुने गरेको देखिन्छ। मासिक खर्च, स्वास्थ्य खर्च र विद्यालय शुल्क नेपाली लगायत सबै क्षेत्रका सबै वर्गका मानिसहरूको चिन्ताको विषय हुने गरेको पाइएको छ।
विश्वमा अझै पनि करोडौं मानिसहरूसँग मोबाइल वा बैंक खाता नहुनु र अझै पनि धेरैलाई आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य खर्च वा भविष्यका आर्थिक योजना बनाउन सघंर्ष गर्नुपर्ने अवस्था हुनुलाई चुनौतीको रूपमा विश्व बैंकको रिपोर्टले औंल्याएको छ।
‘मोबाइल फोन र बैंक खाता नहुने विश्वभरका ३० प्रतिशत वस्यकलाई वित्तीय समावेशीतामा जोड्न नयाँ रणनीति चाहिने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।