बिपी राजमार्गअन्तर्गत बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाइदिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटरसम्मको खण्ड जाइकाले बनाइदिन तयार भएको हो।
गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्गको २४ किलोमिटर भागमा क्षति पुगेको थियो। १३ किलोमिटर बढी सडक कटान नै गरेको थियो। उक्त कटान गरेको भाग डाइभर्सन गरेर अहिले अस्थायी रूपमा राजमार्ग सञ्चालन भइरहेको छ।
उक्त क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि नेपाल सरकारले पटक-पटक जाइकालाई आग्रह गरेको थियो।
नेपाल सरकारको आग्रहअनुसार जाइकाले ३.२ किलोमिटर सडक बनाउन राजी भएको र त्यसको निर्णय भई सम्झौताको तयारी भइरहेको सचिव शर्माले जानकारी दिए।
‘बर्खे खेलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जाइकाले बनाउने गरी निर्णय भइसकेको छ। नेपाल सरकारसँग सम्झौताको तयारी उनीहरूले गरिरहेका छन्। केही दिनभित्रै सम्झौता हुन्छ,’ सचिव शर्माले भने।
उक्त खण्डका लागि २ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबर अनुदान दिन जाइका तयार भएको शर्माले बताए।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले नेपाल सरकारले बर्खेखोलादेखि डालाबेसीसम्मको साढे पाँच किलोमिटर खण्ड बनाइदिन आग्रह गरेको थियो।
तर जाइकाले पिप्लेसम्मको भाग मात्रै बनाउने भएको हो। बाँकी खण्ड नेपाल सरकारले नै बनाउने गरी ठेक्का आह्वान गर्ने तयारी भइरहेको डिभिजन प्रमुख योगेशले जानकारी दिए।
बिपी राजमार्गको बिग्रिएको भागलाई चार खण्डमा विभाजन ठेक्का आह्वान भएको छ। सिन्धुलीतर्फको एक खण्ड र काभ्रेतर्फको दुई खण्डको ठेक्का आह्वान भइसकेको छ। काभ्रेतर्फको डालाबेसीदेखि चारसयबसी र चारसयबेसीदेखि भकुण्डेबेसीसम्मको खण्डको ठेक्का आह्वान भइसकेको हो। बर्खाअगाडि निर्माण कम्पनी छनोट गरी परिचालन गर्ने तयारी भइरहेको डिभिजन प्रमुख योगेशले जानकारी दिए।
जाइकाले निर्णय दिन विलम्ब गरेकाले नेपाल सरकारले बिपी राजमार्ग पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो। डिपिआरअनुसार उक्त सडक खण्ड पुननिर्माण गर्न झन्डै १० अर्ब लाग्ने देखिएको थियो। गत फागुन ४ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि साढे आठ अर्बको स्रोत सुनिश्चित पनि गरेको थियो।
असोजको चारदिने झरीले राजमार्ग क्षतविक्षत पारेपछि सरकारले झन्डै १० दिन लगाएर अस्थायीरूपमा यातायात सञ्चालन गर्न मिल्ने बनाएको थियो। अहिले सडक डिभिजन भक्तपुरले बर्खा मासमा समेत यातायात सञ्चालन गर्ने गरी खोलालाई डाइभर्सन गर्ने, गहिर्याउने (खार्ने) र बाटोको सतह उचाल्ने कामसमेत गरिरहेको छ। अहिले पाँच किलोमिटरभन्दा बढी ठाउँमा खोला डाइभर्सन गर्ने, गहिर्याउने र सडकको ट्र्याक उचाल्ने काम भइसकेको साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए।