नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई २१ कार्यदिन भित्र ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता बुझाउन ताकेता गरेको छ।
गएको असोज १२ गते सूचना सार्वजनिक गर्दै कात्तिक १७ गतेसम्म बक्यौता बुझाउन ताकेता गरेको हो।
अहिले कतिपय उद्योगहरूले बक्यौता बुझाउन सुरू गरिसकेका छन्। शुक्रबारसम्म विभिन्न ९ वटा उद्योगहरूले बक्यौता किस्ता बुझाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।
प्राधिकरणका अनुसार हुलास, असोक स्टिल, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिज लगायतले किस्ता बुझाउन सुरू गरेका छन्।
कतिपय उद्योगीले प्रमाण भए मात्रै बक्यौता बुझाउने बताइरहेका छन्।
विभिन्न २६ उद्योगीले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र लेख्दै विद्युत प्राधिकरणबाट जारी हुने बिजक अनुसारको सम्पूर्ण रकम नियमित तिरेको र कुनै बक्यौता नरहेको बताएका छन्।
उनीहरूले निर्वाध रूपमा उद्योग सञ्चालन गर्न पाउने वातावरण बनाउन आग्रह समेत गरेका छन्।
तोकिएको समयसीमा भित्र क्यौता नबुझाउनेको हकमा के गर्ने भन्ने विषयमा प्राधिकरणले कुनै निर्णय लिइसकेको छैन।
बक्यौता बारे उद्योगीहरूसँग थप छलफल गर्ने र उठाउन ताकेता गर्ने प्राधिकरण प्रवक्ता ढकालको भनाइ छ।
कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत बक्यौता उठाउने सम्बन्धी पहिलो निर्णय गरेका थिए।