कामको सिलसिलामा धेरै विद्यालयका पुस्तकालयहरू हेर्ने मौका मिल्यो। योसँगै जोडिएका केही रमाइला र केही तीता प्रसङ्गहरू कोट्याउने मन भयो।
एउटा विद्यालयमा पुग्दा सरकारी र गैर-सरकारी संस्थाको सहयोगबाट बनेका एक भव्य पुस्तकालयमा छिर्ने मौका मिल्यो। सायद धेरै दिन भएको थियो पुस्तकालयमा ताल्चा नखोलिएको। मेरो अनुरोधमा हेडसरले खोल्न लगाउनु भएको थियो।
लामो समयदेखि विद्यार्थीका हातहरूले पुस्तक छोएका थिएनन्। एक पत्र धुलोले पुस्तकका कभरपेजहरू धमिलिएका थिए। पुस्तक पढ्न मुसा, माउसुली, साङ्ला, माकुराहरू तल्लीन देखिन्थे। मैले यो कुरा बताउँदा हेडसर फिस्स हाँस्नुभयो।
‘किन सर विद्यार्थीले पुस्तक पढ्दैनन्?’
मेरो सवालको जवाफ दिँदै हेडसरले भन्नुभयो, ‘हाम्रोमा आठ पिरियड पढाइ हुन्छ। अतिरिक्त कक्षा पनि छ। विद्यार्थीलाई यता आउने फुर्सद मिल्दैन।’
‘अनि घर लाँदैनन्?’
‘नाइँ सर, घर लगे भने फिर्ता ल्याउँदैनन्। हराउने डर हुन्छ। साना विद्यार्थीले पाए भने झन् च्यातिदिन्छन्। त्यही भएर यहाँ पनि ताल्चा लगाएर राखेको।’
‘ए!’
अर्को एक आधारभूत विद्यालयमा पुस्तकालय हेर्ने अवसर मिल्यो। पुस्तकालयमा थुप्रै पुस्तकहरू थिए। रामायण, महाभारत, ऋग्वेद, शाकुन्तला महाकाव्य, बृहत् नेपाली शब्दकोष, अन्य अङ्ग्रेजी र नेपाली साहित्य र इतिहासका पुस्तकहरू। त्यसो यी किताबहरू पढिनु हुँदैन भनेको चाहिँ होइन। पुस्तकमा प्लास्टिकका सिलबन्दी पनि नखोलिएका हुँदा पढिएनछ भन्ने चाहिँ हो। बिचरा! ती किताबहरूले कहिल्यै पाठक पाएनन्।
‘म्याडम! विद्यार्थीहरू पुस्तकालय जाँदैनन्?’
‘अहँ सर! यसो कहिलेकाहीँ लाने गरेकी छु। खासै किताब पढ्ने रुचि देखाउँदैनन्। पाना पल्टाउँछन् मात्र।’
‘अनि चार कक्षाको नानीले महाभारत बुझ्छे त?’
‘खै सर, मैले नि पढ्न भ्याएकी छैन।’
‘उनीहरूले रुचाउने बाल साहित्यका पुस्तकहरू किन्नुहुन्न?’
‘त्यस्तो पुस्तक नि हुन्छ र सर?’
‘ए!’
केही अघिको कुरा हो। एक संस्थाले बाल साहित्यका पुस्तकहरू विद्यालयलाई उपलब्ध गराए। यस्ता पुस्तक विद्यालयमा किन ल्याएको भनेर प्रधानाध्यापकले उल्टै गाली गर्नुभयो।
‘जाँचमा प्रश्न नआउने यस्ता किताब केटाकेटीलाई किन पढाउने? बेकारको झन्झट!’
‘ए!’
केही प्रश्नहरूले मन बेस्सरी कुत्कुत्याउँछ।
विद्यालय-पुस्तकालयहरूमा ताल्चा सधैँ बन्द भएका होलान्?
पुस्तक पढ्न नदिने भए किन किन्ने?
आधारभूत विद्यालयका पुस्तकालयमा रामायण र अर्थशास्त्रको ठेली किन?
झन् अत्यास लाग्दो त के हो भने, के पुस्तक केवल जाँचमा उत्तर लेख्नका लागि मात्रै पढ्ने हो र? जवाफ दिने जिम्मा पाठकको।
यी त भए मनै अमिलो पार्ने प्रसङ्गहरू। केही रोचक र मन हौस्याउने परिघटनाहरू पनि छन्।
गत वर्ष मात्रै स्याङ्जाका एक सामुदायिक विद्यालयमा पढ्ने कक्षा २ की एक छात्राले दुई वर्षमा नै ९०० भन्दा बढी पुस्तक पढेको समाचार आएको थियो। उनले बाल साहित्यका कैयन् पुस्तकहरू सानो उमेरमै पढिन्। उनको पुस्तक पढ्ने चाहना विद्यालय र अभिभावकले पूरा गरेका थिए। ती पुस्तकले उनको औपचारिक अध्ययन र अभिव्यक्ति शिल्प पनि अद्भुत बनाएको थियो।
स्याङ्जाकै एक विद्यालयले देउसी-भैलो खेलेर जम्मा भएको पैसाले बाल पुस्तक खरिद गरेको समाचारले मन हर्षित बनाएको थियो।
नुवाकोटका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले पुस्तकालयमै चन्दा बाकस खडा गरी जम्मा भएको पैसाले पुस्तक किनेको कुरा देख्न पाइयो। आफ्नो जन्मदिनमा पुस्तकालयलाई पुस्तक उपहार दिने शिक्षकहरू पनि हुने रहेछन्। कतिपय विद्यालयहरूले धेरै पुस्तक पढ्ने विद्यार्थीलाई प्रोत्साहन गरेको पनि पाइयो। साना कक्षाका बालबालिकालाई कथा वाचन शैली सिकाएर पढाइप्रति अभिरुचि पैदा गरेको पनि भेटियो। केही विद्यालयहरूले कथाका पुस्तकहरू पढेर बालबालिकालाई पनि कथा लेखनका सिर्जनात्मक अभ्यास गराएको नि पाइयो।
किन पढाउने बालबालिकालाई पुस्तक?
धेरै अनुसन्धानका नतिजाहरूले बताउँछ कि बाल साहित्यका पुस्तकले बालबालिकाको भाषिक ज्ञान र शब्द भण्डारको विकासमा ठूलो सहयोग मिल्छ। पुस्तक पढ्ने बानीले बालबालिकाको सुनाइ, बोलाइ र लेखाइ सीप सिक्न मद्दत पुग्छ। संज्ञानात्मक विकास मात्रै होइन, उनीहरूमा सोच्ने, समस्या समाधान गर्ने, सिर्जनशील कार्य गर्ने र समालोचनात्मक सीपको पनि विकास हुन्छ।
बालबालिकाले सामाजिक गुणहरू जस्तै दया, माया, सद्भाव, सहयोग र मानवीय संवेगहरू पनि अनुभूत गर्ने मौका पाउँछन्। बालबालिकालाई समाज र प्रकृतिसँग घुलमिल गराउन पुस्तकले धेरै सहयोग गर्ने कुरा अनुसन्धानले सुझाएको छ। यतिसम्म कि गणित साहित्यका कथाहरूले बालबालिकालाई गणितीय समस्याहरू सुल्झाउन मद्दत गर्छ। काल्पनिक र गैर-काल्पनिक पुस्तकहरूले बालबालिकालाई अलौकिक र लौकिक संसारलाई चिहाउन उद्वेलित गराउँछ।
कलात्मक शैलीमा कथा वाचन गर्ने शिल्पले बालबालिकामा अन्तरवैयक्तिक सीप विकास हुन्छ। रङ्गीन पुस्तकले साना बालबाललिकालाई रङको ज्ञान दिन्छ। अमूर्त र भावनात्मक विषयवस्तुलाई मस्तिष्क मन्थन गराउने पुस्तकहरू उपयोगी छन्।
त्यसो भए किन बालबालिकालाई पुस्तक पढ्न नदिने त?
परीक्षाका लागि मात्रै कोर्सका पुस्तक पढाउने त?
होइन, कोर्सबुकले लिने परीक्षाभन्दा जिन्दगीले लिने परीक्षा धेरै कठिन, बाङ्गो-टिङ्गो छ। जिन्दगीले लिने परीक्षामा उत्तीर्ण हुन पनि पुस्तकहरू सहयोगी हुन्छन्। पुस्तकालय विज्ञानका पिताको रूपमा चिनिएका एसआर रङ्गनाथनले ‘हरेक पाठकको आफ्नो पुस्तक हुन्छ’ भनेका छन्।
बालबालिकाका रुचि, तह र क्षमताअनुसारको पुस्तक पढ्ने अवसर मिल्यो भने उनीहरू पनि पुस्तकको रमाइलो दुनियाँमा सैर गर्न थाल्छन्। पढाइप्रति मोह बढ्छ। जीवन र जगत्का धेरै कुरा सिक्ने अवसर पाउँछन्। महात्मा गान्धीले भनेका छन्, ‘मैले जीवनमा धेरै कुरा सिकेको छु। तीमध्ये धेरै कुरा मैले पुस्तकहरूबाट सिकेको छु।’
अब दराजको सिसाभित्र बन्दी जस्तै बनेका पुस्तकका पानाहरू बालबालिकालाई पल्टाउन दिऊँ।