धोकाधडी र स्वार्थकै जगजगी भइरहेको बेला
कल्पना र योजनालाई दुराचारको कालो छायाँले छोपिरहेको बेला
पद र प्रतिष्ठा ओगट्नेहरु सब ‘धृतराष्ट्र’ बनिरहेको बेला
अनि ‘भूत’लाई चटक्कै बिर्सेर ‘वर्तमान’ मस्त निदाइरहेको बेला
म भविष्य सम्झनै सक्दिनँ
साँच्चै ! म सपना सहनै सक्दिनँ
भो ! म अब सपना देख्दै देख्दिनँ ।।१।।
भीष्महरु शरशैयामा भोकै लडिरहेछन्
तर सत्य र न्यायको गाण्डीवले ढालेको होइन तिनलाई
तिनीहरुविरुद्ध,
शकुनीकै पाशा चल्छ
दुर्योधनकै अहं बोल्छ
दुःशासनकै दम्भ चल्छ
धृतराष्ट्रकै मोह बोल्छ
यस्तोमा,
सपना कस्तो होला ?
कल्पना कस्तो रहला ?
योजना कस्तो बन्ला ?
त्यसैले,
साँच्चै ! म सपना सहनै सक्दिनँ
भो ! म अब सपना देख्दै देख्दिनँ ।।२।।
कहिलेकाहीं तन्द्रामै पर्दा पनि,
गोली थापेका छातीहरु देख्छु
रगतको आहालमा पौडिरहेका ठूला माछाहरु देख्छु
टाउको काटिएका, गर्दन छिनेका, हात नभएका, खुट्टा हराएका मुर्कुट्टाहरु देख्छु
कहिलेकाहीं आँखा झकाउँदा पनि,
‘पृथ्वी’को ठडिएको औंला देख्छु
‘भक्ति’ र ‘बलभद्र’को खुकुरी देख्छु
‘ग्ांगालाल’ रोइरहेका, ‘धर्मभक्त’ चिच्याइरहेका
अनि अनेकौं विधवाहरु कोकोहोलो मच्चाइरहेका
‘बाबु’ हराएका ‘नानी’हरु
‘घर’ हराएका ‘बाबा’हरु
‘आमा ! त्यो आउँछ र ?’ भन्दै प्रश्नसूचक आँखा देखाउने कविहरु
ज्ञात अज्ञात रुपमा मृत्युवरण गर्न पुगेका ‘शहीद’हरु
ओहो !
यी सबै म सहनै सक्दिनँ
त्यसैले,
साँच्चै ! म सपना सहनै सक्दिनँ
भो ! म अब सपना देख्दै देख्दिनँ ।।३।।