ईश्वरले बनाएको प्राकृतिक भेण्टिलेटरले नै काम नगरेपछि मानिसले बनाएको कृत्रिम भेण्टिलेटरले कत्ति नै पो थेग्न सक्ने रहेछ र? आखिर उहाँ पनि बितेरै जानुभयो। उहाँ अर्थात् आदरणीय काका निरञ्जन रिसाल (हाम्रा प्यारा निरू दाइ)।
चिकित्सकीय धर्म निर्वाह गर्दै अहिलेसम्म आफ्ना दुई आत्मीय जनहरुलाई कृत्रिम भेण्टिलेटरबाट निकालेर महालयको यात्रातिर लैजाने निमित्त बन्न पुगेको छु डाक्टर कहलिएको म। यस्तो क्षणमा स्वजनहरुको ठूलो आशाको केन्द्रमा हुन्छु म। ‘ए अजय ! के गर्ने अब ?’, “ ए दाइ ! के हुन्छ अब ?”, “कुन डाक्टरलाई भेटौं ?”, “कुन अस्पतालमा लगौं होला ?”, “ न बाहिरै लानुपर्ला कि ?” स यस्तै यस्तै प्रश्नहरु मतिर तेर्सिन पुग्छन्। तर म पनि त आखिर मानिस नै त हुँ नि। मेरा पनि त मन र मुटु छन् नि। स्वजनको पीडाले मेरा पनि त आँखाहरु रसाउँछन् नि।
चिकित्सकीय धर्म एकातिर छ भने पारिवारिक कर्तव्य छ अर्कोतिर। वैज्ञानिक हिसाबकिताब एकातिर छ भने व्यक्तिगत भावना अनि स्नेह छ अर्कोतिर। चिकित्सकीय रिपोर्ट अनि वास्तविक स्थितिलई आत्मसाथ गरेर कहिलेकाहीं कठोर निर्णय नै लिनुपर्ने हुन्छ तर स्वजनहरुको पीडा, छटपटी अनि तिनको ह्रदयदेखिकै माया–ममतालाई नजरअन्दाज गर्न पनि साह्रै नै गाह्रो !
हाम्रो पूर्वीय संस्कार अनि चिन्तन, ‘अन्त्य सुधार्ने सल्लाह’, आफ्नै सैद्धान्तिक सोच, आफ्नो व्यक्तित्व विकासको क्रममा जोडिन पुगेका सांस्कृतिक, चारित्रिक एवं आध्यात्मिक मूल्यमान्यताहरु ! यी सबैले एक साथ काम गर्न पुग्दा रहेछन् यस्तो बेला, अनि रोइरहेको मनले पनि आँखाबाट आँसु झार्न नसक्ने रहेछ, बुद्धिले ह्रदयलाई जित्न सक्ने रहेछ अनि कठोरै निर्णय पनि गर्न समर्थ बनाउने रहेछ। त्यसैले त कृत्रिम भेण्टिलेटरबाट पाइप छुटाउँदा पनि काँप्दा रहेनछन् हातहरु !
थाहा छैन मलाई ! देखेको छैन मैले ! परलोक कहाँ छ ? अनि आत्मा कस्तो छ ? साँच्चै नै ठोकुवा गर्न धेरै नै गाह्रो छ , यो भेण्टिलेटर जिन्दगी कस्तो हुन्छ भनेर ! शरीर उस्तै नै छ, तातो नै छ छाला, आँखा अहिले नै चलेको हो कि जस्तो लाग्छ, खुट्टाका मांसपेशीहरु चलिरहेका नै हुन् कि भन्ने आभाष हुन्छ। थाहा छैन, गंगाजल साँच्चै निलेको नै हो कि घाँटीले। निश्चल पल्टिएको शरीर अहिले नै उठ्छ र मेरो नाम लिन्छ कि भनेझैं लाग्छ। भेण्टिलेटर जिन्दगीबाट अन्तिम यात्रातिर पठाउँदा त्यो शरीरको एकदमै माया लाग्छ, गाँठो पर्दछ छातीमा, गला अवरुद्ध हुन्छ अनि आँखाबाट बलै गरेर आँसु छचल्किन थाल्दछन्। भन्न त भनेका छन् कृष्णले गीतामा, “गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः”, तर म पण्डित बन्न नसक्ने रहेछु यस्तो बेला ! आखिर म पनि त क्षणभंगुर जीवन बाँच्ने मानिसै त हुँ नि !
काका निरञ्जन ! हामी उहाँलाई निरु दाइ भनेर बोलाउँथ्यौं। चार महिना अघिसम्म ठमठम हिंड्ने गर्नुहुन्थ्यो। सन्तोषी, हँसमुख अनि आध्यात्मिक ज्ञानले ओतप्रोत हुनुहुन्थ्यो। हाम्रो बा (उहाँको दाइ)लाई भेट्न दैनिकै जसो हामीकहाँ आउनुहुन्थ्यो। “बाबु आइस् ?” , “खाइस् ?”, “छोरीको के छ ?”स यस्तै यस्तै नै हुन्थे उहाँसँगका संवादहरु। अकस्मात् ह्रदयाघात भयो उहाँलाई चार महिनाअघि चैत्र २०७४ मा। गम्भीरै आघात भए तापनि उहाँ राम्ररी नै बौरिनुभयो। करीब दुई हप्ते अस्पताल बसाइपछि फर्कनुभयो।
तर स्वास्थ्य बिग्रने क्रम भने टुटेन। स्वेटरबाट धागो तानेझैं फोक्सो, मुटु, मृगौला आदिमा अनेक कमजोरी देखिन थाले। चौथो अस्पताल बसाइका क्रममा अकस्मात् रक्तचापमा कमी भएर भेण्टिलेटरमा राखियो उहांलाई। तर चौबिस घण्टे भेण्टिलेटर बसाइमा पनि उहाँमा कुनै सुधार आएन। अन्ततः भेण्टिलेटरबाट निकालेर ‘अन्त्य सुधार्ने’ कठोर निर्णय लिनुप¥यो। हरे ! यो जिन्दगी कति क्षणभंगुर ? कस्तो अविश्वसनीय ? मृत्यु कति सहज ? कति अकल्पनीय ? कहिलेकाहीं त लाग्छ, ईश्वरको सृष्टि पनि किन यसरी अत्याशित रुपमा अन्त्य हुने होला ? प्रकृतिले पनि किन यस्तो खेल खेल्ने होला ?
उत्तर फेरि पनि भगवद्गीतामै छ, कृष्णले अर्जुनको चित्त बुझाउन बोलेका हरेक श्लोक यथार्थ छ। “न जायते म्रियते .....” वा “वासाँसि जीर्णानि.....” भनेर शरीरको नश्वरता अनि आत्माको अमरता प्रतिपादित गरेका छन् कृष्णले।
हो पनि ! हाम्रो निरु दाइको शरीर त पञ्चतत्वमा मिलाई नै सक्यौं हामीले तर उहाँको आत्मा अजर अमरै छ। पक्कै पनि त्यो पुण्यात्मा परमात्मामा नै बिलीन भई नै सक्यो। मात्र हामी शोकसंतप्त परिवारले उहाँको अमरत्वलाई साक्षात्कार गर्नुपरेको छ आज।
(२०७५ साउन २३ गते उहाँको महालय यात्राका क्रममा मनमा उठेका भावनाको शाब्दिक अभिव्यक्ति)