Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, माघ २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मम्मीकी छोरी!

Nmb
Nmb
किशोर आचार्य

किशोर आचार्य

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘सारी लगाउन पनि कहाँ सजिलो हुँदो रै’छ र, कुन काँधमा पो हो फाल्नुपर्ने सप्को?’ घरी दायाँ काँधमा घरी बायाँ काँधमा नीलो सारीको सप्को मिलाउँदै आफैसँग फुसफुसाउँछ स्वरुप। ब्लाउजका बाहुला साँघुरा हुन्छन्।

जबरजस्ती लगाउँछ। कपाल? समस्या बल्झन्छ। काँधको सारीको सप्को टाउकोमा लगेर बेर्छ। मसिनो क्याण्डेलको शान्त उज्यालोले कोठाको निशा चिरेको छ। दराजको ऐनामा हेर्छ आफैंलाई ऊ। आफ्नै छायाले छेक्छ उसलाई।

दराजबाट मेकअपकिट निकाल्छ। तिखो हरक सहितको क्रिम अनुहारमा दल्छ। गुलावी लिपिस्टिक लगाएर दुइटा ओठ तलमाथि रगड्छ। लिपिस्टिकको स्वाद नमिठो लाग्छ। ओठ त्यसै त्यसै बाक्ला भएजस्तो लाग्छन् उसलाई। रेली च्यातेर आँखामा गाजल लगाउँछ, आँखा चिलाएजस्तो, अफ्ठेरो भएजस्तो लाग्छ। केही थोपा आँसु आँखाको डिलबाट हतारहतार खस्दै गालामा डोब बनाएर बग्छन्। बिहान काटेको दाह्रीको खतमा बगेका आँसु पर्दा हल्का चहराउँछ उसलाई।

‘बाबा मैले आँखा खोलेकी छैन है।’ रुधिरले छेउँको कोठाबाट स्वरुपले सुन्ने गरी भन्छे।

‘हुन्छ, हुन्छ, एकैछिनमा आउने रे, नआत्तिनु है।’ स्वरुपले सारी मिलाउँदै जवाफ दिन्छ।

वर्षौंदेखि प्रायः ताल्चा लागिरहने एउटा कोठा छ मध्य सहरस्थित त्यस घरको दोस्रो तलामा। त्यस तलामा छन् केवल तीन प्राणी, स्वरुप, रुधिर र जुली — नीला आँखा भएको एक कालो बिरालो। अनि छ एक अर्काले समेत स्वास फेरेको सुन्न सकिने निरवता।

र, सूर्य डुबिसकेको पातलो यो साँझमा खुलेको छ त्यो रहस्यमयी बन्द कोठा।

Laxmi bank
Laxmi bank

स्वरुपले उठेर फेरि हेर्छ ऐनामा आफूलाई । सारीको सप्को तल खसेको छ। मिलाउँछ। सारीको एक छेउमा बलियो गरी एउटा गाँठो पारिएको छ। गाँठोलाई अन्यमनस्क भावले हेरिरहन्छ ऊ। खोलेर हेर्ने आँट गर्दैन। बरु बिस्तारै अतीतको गर्तमा विलीन हुँदै गएका स्मृतिहरू वर्षाको खहरेमा किनारा माथि माथिबाट धमिलो पानी बगेजस्तै वेगवान् बनेर ओइरिन्छन्। स्वरुपलाई त्यसै त्यसै रोउँ रोउँ, कहाँ जाउँ कहाँ जाउँ जस्तो लाग्छ।  हात बलियो गरी मुठ्ठी पारेर सिलिङ्गको सेतो पर्दामा आँखा दौडाउँछ।

***

Ncell
Ncell

‘स्वरुप पोखरेल। गंगलाल हृदयरोग केन्द्र। ए पोजेटिभ। तुरुन्त। ९८४९...०९।’

चैतको तेस्रो हप्ता। भर्खर गर्मी सुरू हुँदै छ। सडकछेउका शिरिषका बोटहरूमा नीला फूल फुलिसकेका छैनन् र ती नांगा छन्। डेरा घरको बार्दलीबाट प्रस्ट देखिने फूरुरु खस्ने ती नीला फूलको प्रतीक्षामा छे अनमोल।

टिङ टिङ टिङ टिङ म्यासेजको धुन बजेपछि अनमोलले आफ्नो मोबाइल खोलेर पढेकी थिई माथिको कुरा। भूकम्प पछि साथीहरू मिलेर उनीहरूले एक रक्तदाता समूह खोलेका थिए। सय बढी आबद्ध रहेको सो समूहको थियो यो म्यासेज।

‘हेलो ! म अनमोल ! हजुर स्वरुपजीको को बोल्दै हुनुहुन्छ?’ म्यासेजको नम्बर डायल गरेर अनमोलले सोधी।

‘हजुर म आफैं बोल्दै छु।’ एउटा निरश पुरुष आवाजले जवाफ फर्कायो।

‘स्वरुप तपाईं आफैं ?’ छक्क पर्दै अनमोल बोली।

‘हजुर हो।’ विनयी थियो आवाज।

अनमोल बोलिन।

‘स्वरुप म आफैं हो। ताजा रगत चाहिएको छ मलाई। भोलि अपरेशन छ मेरो। गंगलालको मेल वार्डको १०६ नम्बर बेडमा छु।’ हात लागेको स्वर्णमुद्रा गुम्ला जसरी बोल्यो ऊ।

अनायश अनमोलका आँखा भित्ताको क्यालेण्डरमा परे। आज अप्रिल १,– झूट बोल्ने दिन।

‘अनि तपाईंको आफन्त कुरुवा कोही छैनन्।’ संवेदनशील र आवेगी दुवै हुनुछ उसलाई एकैसाथ।

‘छन्। साथीहरू छन्। अहिले काममा कतै गहिरहेका होलान्,’ उदास थियो स्वरुप ।

एउटा मैलो तन्नाले आधा छोपिएर भित्तातिर फर्केको पातलो शरीर। दायाँ हातमा खोपिएको क्यानुला। खस्न पनि अल्छी माने जसरी थोपा थोपा चुहिरहेको स्लाइन पानी।ट्रेमा राखिएका प्रयोग गरिएका ∕गर्न बाँकी औषधिहरू । टेबलमाथि बासी जस्ता लाग्ने केही फलफूल । कमिला लागेको आधा पाउरोटी र गिलासमा सेलाइसकेको दूध ।

१०६ नम्बर बेडमा जे देखि अनमोलले, यो यही थियो ।

‘स्वरुप । स्वरुप जी।’

पातलो तन्द्राले छोपेको स्वरुप कसैको मधुर आवाजले ब्युँझियो। टाउको मात्र घुमाएर हेर्‍यो उसले।

एक कलिलो नारी आकृति। सफेद अनुहार। हतारको मेकअप। पातलो काँट। नीलो जिन्स र रातो खुकुलो टिसर्ट। काँधसम्म झरेको बाक्लो कपाल। फम्र्युमको हलुका हरक।

‘यो को पो हो?’ आफैंलाई सोध्दै आगन्तुकलाई हेरेर आधा मुस्कुरायो स्वरुप।

‘म अनमोल। अनमोल राई। अघि कल गरेकी थिएँ नि, मैले नै हो।’

‘ए हजुर पो हो?’ थोरै आश्चर्य मिसायो स्वरुपले जवाफमा।

बिस्तारै बेडबाट उठ्न खोज्यो ऊ। अनमोलले आड दिई। ऊ सिरानीको आडमा ढल्किएर बस्यो चुपचाप। अनमोल पनि बोलिन। के पो भन्नु।

नर्स आई र स्लाइनमा एउटा सुई थपेर गई। त्यसको पहेंलो रङ स्लाइनभरि फैलिएर बिस्तारै विलिन भयो।

‘हजुरको ए पोजेटिभ ब्लड ?’ स्वरुपले अनमोलको अनुहार नहेरेरै सोध्यो।

‘हजुर हो।’ निधारमाथि झरेको कपाल मिलाउँदै अनमोलले जवाफ फर्काई।

‘दुख दिइयो।’ लामो निस्वास लियो स्वरुपले।

‘त्यस्तो दु:ख के नै छ र ? यो मेरो दसौं पटक हो,’ बोलीमा हलुका मुस्कान पोती आगन्तुक।

‘दस पटक? मैले अहिलेसम्म दिएको छैन। डर लाग्छ’, आँखा पल्टायो उसले।

‘हाहाहा। डर लाग्छ? आफूले दिए पो अरुबाट चाहिँदा अपेक्षा गर्न सकिन्छ।” बोलिसकेपछि तर्सी केटी । “ओहो ! बिरामीलाई अहिले यसो भन्न नहुने !”

जवाफमा स्वरुप मुस्कुरायो मात्र । तर उसको अनुहारमा आफ्नो जवाफको प्रभाव प्रस्ट महसुस गर्छे अनमोल । उसलाई थप अपराध बोध हुन्छ ।

बोल्ने कुरा सकियो ।

अनमोलले गिलासको नछोपिएको आधा दूध हेरी।

‘दूध किन नखाएको?’ मौनता तोड्ने बहाना हुन्छ उसलाई।

‘मीठो लागेन’, सहज जवाफ स्वरुपको।

‘ए, बिरामी हुँदा पनि मीठोमीठो खानुपर्ने?’, आत्मीय बनी अनमोल।

जवाफ स्वरुपको बन्द ओठभित्र अड्कियो।

अनमोलले गिलासको दुध उठाई र नसोधेरै स्वरुपको ओठमा पुराइदिई। ज्ञानी बच्चाले जस्तै स्वरुपले दूध निल्यो। घुटुक्क घुटुक्क। टेवलको स्याउ काटेर एक टुक्रा उसको मुखमा हालिदिई ऊ। धेरैबेर मुखमा खेलाएर निल्यो स्वरुप । मौन।

“ए यार, कस्तो छ तँलाई ?” साँझ खस्नै थाल्दा आयो एक कोही स–सानो हुरी जस्तै गरेर । सायद स्वरुपको साथी होला ।

“अँ, ठीकै छु ।” निरपेक्ष आभा स्वरुपको ।

“यार, ढिलो भो । एक जनालाई बसपार्क पुराउनु पर्ने । मिटरमा नगई मानेन । फुट्टी कमाइ भएन यार ।”

बिरामीको बिग्रिएको बिछ्यौना मिलाउँदै उत्तेजिन्छ हुरी । “साला आजकल त ट्राफिक पनि नि...।”

“छि ! यति बिस्तरा त अघि नै मै मिलाइदिएको भए पनि हुने नि । कस्तो ख्याल गरिनछु ।” आफ्नो बेहोसीलाई स्वीकार गर्छे अनमोल ।

दुवैले सोध्दैनन् एक अर्कालाई कि उनीहरु को हुन् । लगभग उपस्थितिको वास्ता नभएको जस्तो । र स्वरुपले पनि केही भन्दैन ।

साँझको राउण्ड । डाक्टरको टिम र हातमा रिपार्ट बोकेका नर्सहरु । ढोकानेरको बेडको बिरामी हेरेपछि स्वरुपको पालो आयो ।

“ए अँ, स्वरुप । स्वरुप पोखरेल । अहिले कस्तो छ तपाईलाई ?”

जवाफमा स्वरुप मुस्कुरायो मात्र ।

टाउको, छाती, नाडी र त्यसपछि परेली तन्काएर आँखा हेरेपछि अलि छिप्पिएको डाक्टरले टाउको हल्लायो । अनि अरु सँग के के कुरा ग¥यो । अनमोल र स्वरुप दुवैले बुझेनन् ।

“तपाइको कुरुवा ? ए तपाई हो । को तपाई उहाँको ?श्रीमती ?” मोटो ज्यान गरेको डाक्टरले अनमोलतिर फर्केर सोध्यो ।

“म म अनमोल । अनमोल राई ।” तयारी नगरिएको प्रश्नको जवाफ जस्तो थियो उत्तर । थोरै हडबडाएकी थिई ऊ । यताउति हेरीे । अघिको कालो खोपिल्टे हुरी थिएन । कता पो गएछ यही बेला ।

“होइन हजुर उहाँको को ?” एक नर्स विश्वस्त हुन चाहिँ सायद ।

अब को पो भन्नु । रगत दिन आएको मान्छे भन्नु कि ? किन किन उसलाई यसो भनिहाल्न पनि मन लागेन । उसले भनी –“साथी ।” स्वरुप आँखा चिम्लिएर नजानिँदो गरी मुस्कुरायो ।

“ए ठीक छ । सुन्नुस्त । हिजो हामीले उहाँको अपरेशनको प्लान गरेका थियांै । तर आज धेरै रिपोर्टहरु राम्रा आएका छन् । त्यसैले उहाँलाई थप केही दिन अबजरभेसनमा राख्ने कि भन्ने सोच्दैछांै । धेरै चिन्ता गर्नुपर्दैन । केही मेडिसिनहरु चेन्ज गरेका छौं । ल्याइदिनुहोला ।”छिप्पिएको डाक्टरले अनमोलतिर हेरेर भन्यो ।

स्वीकृतिमा अनमोलले टाउको हल्लाई मात्र । केही बोलिन । तर उसलाई त्यसै त्यसै खुसी लागेर आयो । स्वरुपको अपरेशन गर्नु नपरे हुन्थ्यो भनेर उसले भगवान पुकारी ।

कालो खोपिल्टे हुरी आयो । जाउलो, दूध र दालको रस थियो थालमा ।

“हँ डाक्टरहरु आए ? के भनेर गए यार ?” अर्को बेडतिर सरेको डाक्टरहरुको हुललाई देखेर उसले सोध्यो ।

स्वरुपले आँखा घुमाएर अनमोललाई हे¥यो र मुख चुच्चो पा¥यो ।

“सायद अपरेशन गर्नु पर्दैन कि रे । केहीदिन अबजरभेसनमा राखेर हेर्ने भन्नुभएको छ डाक्टरले ।” स्वरुपको तर्फबाट अनमोलले जवाफ दिई ।

“ए हो र , त्यसो भए त राम्रो हुन्थ्यो नि । निको भएपछि आराम पनि धेरै गर्नुपर्थेन । गाडी खाली हुन्थेन ।” थालको जाउलो चम्चाले फिट्दै बोल्यो हुरी ।

अनमोलले धेरै कुरा बुझ्दिन ।

“स्वरुप, रात पर्न थाल्यो । म जान्छु है । भोलि आउँछु फेरि । चिन्ता नलिनु ।” झ्यालबाट पोलको बत्तीले पारेको साइकसको छाया हेर्दै ऊ उठी ।

“रगत, अब भोलि चाहिएन ।” स्वरुपको आवाजमा एक प्रकारको नैरश्यता र उत्साहको विरोधाभास थियो ।

“त के म आउनुहुन्न ?” आउनपाउनुको अनुरोधससानो आवेग सहित प्रेषित गरी अनमोल ।

आमाले लिपेको दलानको चिसो भित्तामा परेको प्रथम प्रभाति किरण स्वरुपको अनुहारमा टप्कियो । ऊ एक स्वस्थ हाँसो हास्यो ।

अनमोलले मुस्कानलाई ओठभित्र लुकाएर उसलाई हेरी।

काँधमा कलेजी झोला भिर्नुअघि सकिदै गएको स्लाइन हेर्दै उसले चिन्ता नलिन आग्रह गरी र हलुकासँग उठेर गई । यो आग्रह थियो कि आदेश स्वरुप धेरैबेर अलमलमा परिरह्यो ।

–

“बाबा आँखा खोलु र ?”

छोरीको आवाजले झस्कन्छ स्वरुप । ५ वर्षकी पुग्छे ऊ आउँदो बैशाखमा । आँखाको नानी जस्तै लाग्छ रुधिर स्वरुपलाई । ऊ निदाएको बेलासंसारको सर्वाधिक सुन्दर दृश्य जस्तै अपलक हेरिरहन्छ ऊ उसलाई कहिलेकाहीं।

“पख न पख । एकैछिनमा आइहाल्ने रे ।” आधा सुकेको स्वरमा वल्लो कोठाबाट चिच्याउँछ स्वरुप ।

एउटा जवरजस्त विश्वासमा रुधिरले आँखा थप खुम्चाउँछे ।

जूली लुसुक्क आएर उसको काखमा बस्छे । सुमसुमाउँछे ऊ ।

“म्याउँ ।”

“तैंले दूध पाइनस र ?” जुलीको कान खेलाउँदै बोल्छे रुधिर ।

“तेरो मम्मीको बुबु खाएको छस् ?”

जबाफमा उसको दायाँ हात चाट्छ बिरालो ।

–

मुटु ठेगानमा नभएका चिसा रातहरु वा धापिला मध्यान्हहरुमा खोलिन्छ बन्द कोठा । कोसौ टाढा भएपनि एउटा रित्तो ट्याक्सी दौडिन्छ घरतर्फ र त्यसबाट झरेर एउटा विकल आत्मा छिर्छ त्यस बन्द कोठाभित्र । छिर्नुको प्रथम दृष्टिमा छ भित्ताको एउटा ठूलो तस्विर – ताजा दुवोको माला । निलो सादा सारी । साँघुरो ब्लाउज । हतारको मेकअप । सिकारु कविको कविता जस्तो लतपतिएको सिउँदोको सिन्दुरर जीवन्त मुस्कान ।

अस्थिर आत्मा गह्रौ खुट्टासहित डोरिन्छ तस्विरसम्म र सुमसुमाउँछ आधा तस्विर । अनि खोतल्छ दराज, खाट, बाकस, सुटकेस र झोलाहरु । लगाउँदा लगाउँदैको आधा लिपिस्टिक । फुटिनसकेका चुराहरु । रङ नखुलिएको सेतो खास्टो । सितारा नखसेका मखमली जुत्ता । पफ्र्युम नसुकेको रेशमी सारी । केहि भित्रीकपडाहरु, प्याड र परिवार नियोजनका खाने चक्किहरु । यात्राका तस्विरहरु । गर्भावस्थामा जँचाएका पूर्जी र भिडियो एक्स–रेका रिपोर्टहरु ।

अनि कुन शक्तिले हो खै , पुछेर आँखाबाट निसृत यादको बाढी । हाँसेर कठोर हाँसो । समालिन्छन् सबै सामान एक एक र राखिन्छन् थपक्क पत्रे चट्टान जस्तै ।अनि फेरि लाग्छ भोटे ताल्चा । कतिञ्जेल ? आफैंलाई हुँदैन थाहा ।

जसरी खुलेको छ आज फेरि यो बन्द कोठा ।

–

“बाबा आँखा दुख्यो मेरो । म खोल्छु अब ।”

“हैट ! अब त म निस्कनु पर्छ !” हतारिन्छ स्वरुप र आफूले लगाएको कपडा हेर्न दराजको ऐना अगाडि उभिन्छ ।

“कतै केटा जस्तो त देखिएको छैन म ?” टाउको सँगै रित्ता कानहरु सारीको सप्कोले बेर्दै सर्तक हुन्छ ऊ ।

“ल पख पख । अब आइहाल्ने रे । आँखा नखोल है मेरो ज्ञानी छोरी ।” उसले बोलीलाई सक्दो विश्वसनीय बनाउँछ ।

“बाबा छिटो आइदिन भन्नु न । मलाई भोक लागिसक्यो । आज त मैले नयाँ कुरा खाने हो ।” थकित स्वरमा रुधिर बोल्छे ।

छोरीको आबाज त सुन्यो उसले तर के भनी प्रस्ट बुझेन । बरु फेरि उसका आँखा सारीको सप्कोमा भएको गाँठोमा अल्झन पुगे ।

–

“स्वरुप जी । यहाँ त बडो कवि पनि हुनुहुँदो रै”छ पहिले पहिले ।” अनमोलले रायोको साग धुँदै गर्दा स्वरुपलाई गिज्याई ।

“कसरी ?” हातमा ट्याक्सीको चाबी हल्लाउँदै मुस्कुरायो स्वरुप ।

“कसरी थाहा पाएँ हुँला ?” पछाडि नफर्की प्रतिप्रश्नमा जवाफ फर्काई ऊ ।

“कालो खोपिल्टेले बतायो कि ?” अनुमान ग¥यो स्वरुपले ।

पछाडि फर्केर ठूलठूला आँखा पार्दै भनी –“उस्, दाजुसँग भेट नभएको जुगौं भइसक्यो ।”कुनै एक घटनापछि उसले कालो खोपिल्टे हुरीलाई दाजु भन्न थालेकी थिई ।

“हस्पिटलको तिम्रो पुरानो डकुमेन्टमा भेटेकी थिएँ यो कविता ।” ट्रयाकको गोजीमा चुहिएला जसरी अलिकति खैरो कागज देखाएर उसले स्वरुपलाई लोभ्याई । उसले माग्यो तर अनमोलले दिन मानिन ।

–

स्वरुपले जतनले सारीको गाँठो फुकायो । पहेँलिदै गएका निला अक्षरहरुका चार लाइन थिए ति । सब्दचित्रमा थिई अनमोल ।

गंगलाल अस्पताल बस्दाको अन्तिम दिन । कालो खोपिल्टेले ब्लाङ्केट, तन्ना, उसका कपडाहरु, गिलास, औषधि, बँचेका फलफूल, एक्स रे र अरु रिपोर्टहरु सबै ट्याक्सीमा राखिसक्दा पनि स्वरुप उठेको थिएन । कालो खोपिल्टेले च्याँठिएर के गरिराखेको भनेर नभनुञ्जेल छिमेकी कुरुवाको कलम सापट मागेर चुरोटको खैरो खोलमा के के लेखिरहेथ्यो ऊ ।घरमा आएर निकै खोजेको थियो उसले तर भेटेन ।

र आज अनयाश भेटियो कविता । स्वरुपको मष्तिस्कमा ताजा भएर आयो अनमोलसँगको त्यो संवाद । आँखाबाट केही थोपा आँशु झरे । उसले उसैगरी गाँठो पारेर राख्यो कागज सारीको आँचलमा ।

–

“बाबा आँखाबाट आँशु आयो मेरो । मम्मी चाहिएन मलाई । म आँखा खोल्छु ।” रुधिरले आँशु मिसाइ बोलीमा ।

“अब आइहालीन त मम्मी । टाढाबाट आउनुपर्छ नि उनलाई ।” कोठाको ढोका लगाउँदै भन्छ स्वरुपले ।

“छिटो न । अरुका मम्मी त बच्चा रोइहाले पनि आइहाल्छन् । मेरो मम्मीले मलाई किन यति धेरै कुराएको ? म नरोएर हो बाबा ? म रोइदिउँ ? हजुरले राम्री मान्छे कहिले रुनुहुन्न भनेर पो नरोएकी म । मम्मीले मलाई माया गर्नुहुन्न, मैले थाहा पाएँ बाबा ।” रुधिरले सुकसुकाउँदै परिपक्क गुनासो गर्छे ।

“एकै छिनमा हेरन मम्मीले कति माया गर्नुहुन्छ सानुलाई, आइतहालिन मम्मी ।” छोरीको आशामा प्राण भरिदिन्छ स्वरुप ।

कोठाबाट निस्कनुपूर्व एक अन्तिम पटक जाँच्छ उसले आफूलाई । दुरुस्त उस्तै लाग्छ आफ्नो आकृति । ठ्याक्कै त्यसदिन भेटेकी अनमोलको जस्तो ।

–

“दाई टिचिङ्गहस्पिटल जाउँ न ।” मुखमा माक्स लगाएकी निलो सारीवाल एक केटीले ट्याक्सीको ढोकामा अलिकति झुकेर अनुरोध गर्छे ।

“तीन सय लाग्छ ।” चालकले यात्रुको अनुहार नहेरेरै दर तोक्यो ।

“भित्ताभरको ठाउँलाई पनि तीनसय । मिटरमा जाउँ न, उठेको रकम दिउँला ।” थोरै आवेग र धेरै अनुरोध मिसाएर बोल्छे केटी । स्वर सुख्खा छ उसको ।

“हिँडेर गए भैहाल्यो नि भित्ताभरको ठाउँ ।” चालकले मुण्टो बटार्यो ।

“बिरामी छु र पो । नत्र त्यहीँ हो मेरो अफिस । सधै हिँडेर जान्छु । हिँडेर आउँछु ।”

“बस्नुस् । मिटरमा जान्नँ । दुई सय दिनुहोला ।” साइड लाइटको धुलो पुछ्दै चालकले दर घटायो ।

“एक सय पचास दिन्छु, हुन्छ ?” केटी नम्र बनी ।

चालकले नबोली ढोका खोलिदियो ।

“स्वरुप, तपाई स्वरुप?” सिटमा बस्न नपाउँदै केटी सानो तिनो बिस्फोट भए जसरी बोली । उसका आँखाहरू चालकको अनुहारमा गएर टाँसिए ।

“ए अनमोल, कस्तो संयोग । के भयो र हजुरलाई । सरी है ।” एकछिन अघिको बार्गेनिङ सम्झेर लज्जा अनुभूत गर्यो चालक । हस्पिटलको त्यो दिन र त्यसपछिका यादहरू अटेसमटेस भएर ओइरिए उसको मनभरि ।

“हेर्नु न कस्तो ज्वरो आइरहेको छ केही दिनदेखि । टाउको दुखिरहन्छ ।” निकट आफन्तलाई सुनाएजसरी सुनाई अनमोल ।

“तपाईलाई कहाँ कहाँ खोजिन मैले । अर्को दिन आउँछु भनेको आउन पाइनँ । हजुरआमा बित्नुभएकोले म त्यसै राति पहाड घर जानुपर्यो। मोबाइलसँगै तपाईको नम्बर पनि हरायो । यसै उसै दिनहरू बिते । काठमाडौं आएपछि म गंगालाल अस्पताल पनि पुगें । तपाई निस्किसक्नु भएको रहेछ । मान्छे कस्तो स्वार्थी हुन्छ है । पहिलो पटक हजुर बिरामी नै भए पनि हस्पिटलमा भेटिए हुने भन्ने लागेको थियो मनमा । अहिले कस्तो छ तपाईलाई ?” एकोहोरो बोलिरही ऊ ।

“म ठीक छु अहिले । एक महिनाजति आराम गरें । अनि काममा फर्किएँ । समयमा पढिएन । यी अहिले ट्याक्सी ड्राइभर भैयाछ ।” अनुहारमा थोरै मुस्कान पोतेर ट्याक्सीको गतिको लयमा जवाफ फर्र्कायो ऊ ।

“काम त काम नै हो नि । के हुन्छ र । तर मिटरमा नगएर यात्रुलाई दुख चाहिँ नदिनु है ।” हाँस्दै कटाक्ष गरी ऊ ।

“भैगोनि त हजुर एक रुपैयाँ नदिनुहोला ।” लजाउँदै जवाफ फर्काउँछ ऊ ।

“कसैको मेहेनत म सित्तैमा किन खाउँ ।” लाडिएकी थिई अनमोल र जवाफमा स्वरुपले ओंठ लेप्राएको थियो ।

नीलो सारी र गुलावी ब्लाउज लगाएकी त्यस स्वप्निल केटीसँगको यही थियो दोस्रो संवाद । स्वरुपको मष्तिस्कमा जमेर बसेको जुन उसले समय कुसमयमा दुख्दै सम्झिरहन्छ ।

–

“रुधिर ।”

एक रहस्यमयी महिला आवाजले रुधिरका आँखा एकाएक खुल्छन् । सिएफएल चिमको दुधिलो उज्यालोमा धेरै बेर चिम्लिएका आँखाहरु खोल्दा बनेका पहेंला सुनौला ठूला साना धब्बाहरूबीच उसले एक नारी आकृति देख्छे।

“मम्मी यतिन्जेल हजुर कहाँ जानुभएको थियो मलाई छोडेर ?” पोखिनु अघिको बादल जस्तै गरेर रुधिरले सोध्छे।

“म कामको लागि पऽऽऽरी गएकी थिएँ छोरी । अब आइहालें नि ।” रहस्यमयी महिला आवाज सर्तक सुनिन्छ।

“अब हजुर फेरि पऽऽऽरी त जानुहुन्न नि मम्मी ?” रुधिर अबोध बन्छे।

मौनताले दिन्छ जवाफ।

“भन्नु न मम्मी, किन नबोल्नु भएको?” हातका औंला खेलाउँदै ऊ मम्मीको शरीरमा टाँसिन्छे।

महिला सक्दो कम बोल्नुमा छे सायद । र ऊ फेरि मौन रहन्छे ।

रुधिरलाई छ हतार । सुनाउनुछ उसलाई धेरै कुरा । बोलिरहन्छे ऊ –निर्जन वनमा एक्लो चराको जस्तो स्वरमा ।

“मम्मी, छ नि,स्कुलमा रचनाको मम्मी सधैं लिन आउनुहुन्छ उसलाई । सुविधा र उपहारको मम्मी पनि सधैं आउनुहुन्छ । निलेशको मम्मीले त अण्डा हालेको भात भुटेर ल्याइदिनुहुन्छ । म पनि पाउँछु कहिलेकाहीँ । मलाई बाबाले बनाइदिएको आलुभात मन पर्दैन । अब हजुरले पनि बनाइदिनु है मलाई । म पनि निलेशलाई दिन्छु ।” एकै स्वासमा पोखिन्छे रुधिर ।

“ओहो खाजा मन पर्दैन रे । कति कुरा लुकाएकी रैछ यसले । सानी छे भनेको ठूली भैसकेकी रैछे छोरी ।” रहस्यमयी त्यस महिलालाई ननिको लाग्छ ।

“म बाबालाई भनिदिन्छु नि अब अण्डाभात भुटिदिनु भनेर ।”छोरीका केशराशीहरू खेलाउँदै रहस्यमयी महिला तर्कन्छे ।

“अनि हजुर नि ? हजुर फेरि जाने र मम्मी ?” जवाफको प्रतीक्षा नगरी ऊ बोलिरहन्छे –“ सुन्नुन मम्मी स्कुलमा बाबा जहिले ढिलो आउनुहुन्छ मलाई लिन। म स्कुलमा एक्लै हुन्छु । दिज्युले के के भन्नुहुन्छ नराम्रो । मलाई राति कति निद लाग्छ । होमवर्क नसकी मलाई सुत्नै दिनुहुन्न बाबा । मलाई बाबा मन पर्दैन मम्मी । मम्मी म भोलि उठेर गर्छु, आज गर्दिनँ है होमवर्क । आज छिटो नुनु गर्ने । म हजुरसँगै सुत्छु आज ।” रुधिर उसको शरीरमै टाँसिन्छे ।

ओहो ! छोरीका कति धेरै गुनासा रहेछन् ! सानी केटी भनेर कति वास्ता नगरेको रैछु म ।मैले धेरै माया गर्छु छोरीलाई भन्थें तर कस्तो माया पो गरेछु खै । जति नै गरे पनि एउटा बाउले आमाको भूमिका पुर्ति गर्न नसक्दो रहेछ । कि छोराछोरीका आँखा पनि बेइमान हुँदाहुन यो मानेमा ?” बाउआमा दुवैको स्वतन्त्र र महशुस दिलाउने शारीरिक संरचनायुक्त मानव कल्पन्छ रहस्यमयी महिला ।

“म जानुपर्छ छोरी । बाबाले भन्नुभएको रुधिर ज्ञानी छे । तिमीलाई बस्न भनेर सताउन्न । त्यसैले म आएकी । म कहिलेकाहीँ भेट्न आउँछु नि मेरी प्यारी छोरीलाई ।” फकाउँछे रहस्यमयी महिला ।

“नाइ नाइ म ज्ञानी हुन्नँ । म ज्ञानी छैन । म हजुरलाई जान दिन्नँ ।” रुधिरले भुइँ फाट्ला जसरी खुट्टा बजार्छे ।

रहस्यमयी महिला अफ्ठेरोमा पर्छे ।

“म बसें भने बाबा आउनुहुन्न नि, हुन्छ ?” कुटनीति प्रयोग गर्छे ऊ ।

“नाई मलाई बाबा पनि चाहिन्छ । मैले फोटोमा मात्रै देखेको छु बाबा र मम्मीलाई सँगै ।” उसले जिद्दी छाड्दिने ।

“जिद्दी केटी । म अहिले नै गइदिन्छु ।” रहस्यमयी महिला च्याँठिन्छे । उसको स्वर च्यातिएको जस्तो सुनिन्छ ।

“मम्मी हजुरले मलाई माया नगर्ने रैछ । अस्ति दूध पोख्दा बाबाले पनि यस्तै गाली गर्नुभएथ्यो ।” रुधिरले परेलीमा आँसु अड्काएर गुनासो गर्छे ।

“मलाई भगवानले कति काम दिनुभएको छ । म अहिल्यै जानुपर्छ सानु । बाबाले भन्नुहुन्थ्यो हाम्रो छोरी संसारको सबभन्दा राम्रो छोरी हो रे । राम्रो छोरीले जिद्दी गर्नुहुन्न रुधिर ।” रहस्यमयी महिलाले फकाउने कोशिस छोड्दिने ।

रुधिरले चुपचाप सुनिमात्र रहन्छे । बोझिला लाग्छन् मम्मीका शब्दहरू उसलाई । आधा बुझ्दिन ऊ । यत्ति हो मम्मी बस्न नखोजेको कुरा उसले महशुस गरेकी छे । अड्किएका आँसुहरू आँखामै सुकाउँछे ऊ । खसाल्दिन ।

“मम्मी ।” महिलातिर नहेरेरै रुधिरले बोलाई ।

“भनन ।”

मैले अघि बाबालाई पनि भनेको ।”

“के ?”

“आज मैले नयाँ कुरा खाने हो ।”

“के नयाँ कुरा?”

“दिनुहुन्छ नि ?”

“भनन ।”

“दुदु । म हजुरको दुदु खान्छु ।”

“...”

“अस्ति रचनीलाई उसको मम्मीले रुखमुनि बसेर छातीमा टाँस्दै दुदु खुवाउनु भयो। मैले कस्तो हुन्छ भनेर सोधेकी, तिमीले खाएको छैनौ भनेर गिज्याई त्यसले । मैले बाबाको खाएको छु भनेर झूट बोलें । बाबाको त दुदु नै रैनछ । सधै गिलासको दुदु दिनुहुन्छ मलाई र जुलीलाई । रचनीले भन्थी मम्मीको दुदु मीठो हुन्छ रे ।म रचनीले जस्तै हजुरको बुबु खान्छु आज । दिनुहुन्छ नि ?” रुधिरले हल्का संशयपूर्ण अपेक्षा राख्दै जुरुक्क उठेर रहस्यमयी महिलातर्फ हेरी।

रहस्यमयी महिला झन् तीव्र गतिमा पछाडि फर्की । छाती छामी । छाती सिनित्त छ, मरुभूमि जस्तो।

“छि ! लाली पाउडर र सारीमा मात्र ध्यान गएछ ! खोइ त स्तनको आकार मात्रै पनि । अब के देखाउँ छोरीलाई मम्मीको पहिचान जो छोरी माग्दै छे भिख मागे जसरी ।” अनपेक्षित परिस्थितिले थिलथिलिन्छे रहस्यमयी महिला ।

“मम्मी यता फर्कनु न । किन उता हेरेको । बोल्नु न मम्मी । बोलिरहनु न ।” हातका चुराहरु खेलाइदिंदै रुधिरले आग्रह गरी ।

“ओहो ! हामी पुरुषलाई प्रकृतिले कस्तो अन्याय गरेको ! आफ्ना सन्तानलाई बाबु हुनुको पहिचान दिने विश्वसनीय शारीरिक आधार के छ ? सन्तानलाई जीवन दिन आमालाई गर्भाशय दिएको प्रकृतिले बाबालाई जीवन बचाउन एक जोर स्तन दिएको भए के हुन्थ्यो र ?” रहस्यमयी महिलाको माथ मथिङ्गल तरङ्ति हुन्छ । ऊ आफूलाई चिथोर्न मात्र सक्तैन ।

ढ्याप्प ढोका लगाएर रुधिरको अनुहार समेत नहेरी बाहिर निस्कन्छे रहस्यमयी महिला र पस्छे बन्द कोठा भित्र फेरि ।

“मम्मी । मम्मी । नजानु न । भैगो म दुदु खान्नँ । म दुदुखान्न मम्मी, बस्नुस्न... . ।” बन्द ढोका भित्र कैद हुन्छ उसको करुण आवाज ।

–

झरिला दिनहरूमा कहिलेकाहीँ स्वरुपसँगै ट्याक्सीमा घुम्न मन पराउँछे अनमोल। ट्याक्सीमा उपत्यका नजिकका डाँडाहरू चढ्दै गर्दा सम्झन्थे पुराना दिन उनीहरू । आफ्ना आकस्मिक,योजनाहीन एवं असंगठित पहेलीपूर्ण प्रेम कहानीहरू,जसको सुरूआत कसरी भयो, विकास र विस्तार कसरी भयो भन्नेमा उनीहरू सधै दुविधाग्रस्त भइरहन्छन्। दिनु नपरेको रगतको साइनोको अन्तिम अर्थ लाग्छ सधैजसो–यो प्रेम ।

सुत्केरी व्यथाले च्यापेर अस्पताल पुराउँदासम्म अनमोलमा कुनै जटिलता देखिएको थिएन । खुव ख्याल गरेको थियो स्वरुपले अनमोलको । खुवाएको थियो आफैंले पकाएर परिकारहरू । अनेक पटक पुर्याएको थियो अस्पताल । गर्नै दिएको थिएन केही भारी काम । बरु घटाएको थियो ट्याक्सीका ट्रिपहरू ।

“नर्मल ट्राई गर्ने । सबै ठीक छ । बच्चाको धड्कन सुनिएको छ । पाँच घर खुलिसकेको छ ।” सेता कुर्ता सुरूवाल लगाएकी नर्स आएर भनी ।

कालो खोपिल्टे स्वरुपको अनुहार हेरेर छुस्स मुस्कुरायो । स्वरुप प्रतिक्रियाविहीन रह्यो ।

उनीहरू रातभर बाहिर प्रतिक्षालयमा काँपिरहे ।

जब रात अन्त्यतिर थियो ...

“चार पोका ए पोजेटिभ ब्लड तुरुन्तै व्यवस्था गर्नुस् । सुत्केरीको ज्यान जोखिममा छ ।” नजिकै बिस्फोट भएको बमको जस्तै आवाज सुनेर स्वरुप र कालो खोपिल्टे झस्किए ।

उनीहरूलाई नसुनेरै सेता कपडाधारी नर्स हतारिएरभित्र दौडी ।

“स्वरुप तेरो ए पोजेटिभ होइन । बाँकी म ब्यवस्था गर्छु । तँ नआत्ती ।” कालो खोपिल्टेले मोबाइलमा कसैको नम्बर डायल गर्दै स्वरुपलाई आश्वस्त पार्यो।

एकाएक फेरिएको परिस्थितिमा स्वरुप शालिक जस्तो ठिङ्ग उभिनमात्र सक्यो ।

“अनमोल । अनमोल राईको को हुनुहुन्छ ?” आँखामा आधा निद्रा सहितको एक अधबैसे पुरुष आधा ढोका खोलेर धोन्द्रो स्वरमा बोल्यो।

कालो खोपिल्टे स्वरुपभन्दा पहिले हुत्तियो ढोकासम्म ।–“हजुर हामी हौं । कस्तो छ अहिले अनमोललाई ?”

“तपाई श्रीमान् ?” कम्पित स्वरमा उसले कालो खोपिल्टेलाई दृष्टि गर्यो ।

“होइन होइन ।” कालो खोपिल्टेले स्वरुपतर्फ इङ्कित गर्यो र हातको इशाराले स्वरुपलाई नजिक बोलायो ।

“सुन्नुस्न, हामी डाक्टरहरू कहिलेकाहीँ यस्तै अफ्ठेरो अवस्थामा हुन्छौं । बधाइ दिन ठीक्क परेका ओठहरुले कहिलेकाहीँ समवेदना भन्नुपर्ने जटिल वार्डहोलेवर रुम। तपाईलाई छोरी भएकी छन् । छोरी स्वस्थ्य छिन् । अपशोच ! हामीले अनमोललाई बचाउन सकेनौं ! सरी ।” रेडिमेड जस्तो लाग्ने शब्दहरू बोलेर डाक्टर पछाडि सर्यो।

पछिपछि आएकी नर्सले अनमोलको नयाँ बर्कोमा बेरेको नवजात शिशु बोकेकी थिई। ऊ कसलाई सुम्पौको आभामा उभिई । शिशु कालो खोपिल्टेले लियो ।

–

“बाबा म आज स्कुल जान्न ।”

“किन ?”

“जान्नँ भनेपछि जान्नँ जान्नँ ।”

“किन? मलाई हतार छ । आज टाढा जानुछ ट्रिपमा । म अहिले नै स्कुल पुराइदिएर जान्छु तिमीलाई ।”

“म छिटो स्कुल गएर के गर्नु ? मलाई चिप्लेटी खेल्न पुग्यो बाबा । नजाने ।”

“म सँगै जान्छौ त ?”

“जान्नँ ।”

“अनि किन त ? छिटो छिटो तयार होउ ।”

रुधिर चुपचाप बसिमात्र रहन्छे । स्वरुपले गएर उठाउँछ । “मेलो छोलीलाई आज के भयो ? मिथले गाली गल्नुभयो, हो ? ल उथ उथ ।”

“अहँ स्कुल नजाने म । मलाई मिसले माया गर्नुहुन्छ ।”

“त्यसो भए किन नजाने त ?”

“मलाई मम्मीले स्कुल पुराउनुपर्छ आज । सबैको मम्मी आउँछन् । मेरो मम्मी खोई ? मलाई मम्मी चाहियो ।”

“चुप । नचाहिँदो जिद्दी गर्छेस् । खुरुक्क कपडा लगाइहाल ।”

“नाइ म ज्ञानी बन्छु । हजुरले भनेको पनि मान्छु । तर आज मम्मी नभइ स्कुल जान्नँ । मैले रचनालाई भोलि मम्मीलाई ल्याउँछु भनेकी छु । मलाई मम्मी चाहियो ।”

ए कुरा त्यसो पो ।भन्न बित्तिकै मम्मी पाइन्छ ? मम्मी पऽऽऽरी गएकी छन् । खबर गर्नुपर्छ । ऐले तिमी स्कुल जाउ । बेलुका मम्मीलाई बोलाउँछु म ।”

“साँच्ची ? बेलुका आउनुहुन्छ त मम्मी ?”

“हो पक्का । तर मम्मी आएको बेला बाबालाई नखोज्नु नि । मम्मीले एक्लै भेट्ने रे रुधिरलाई ।”

“हस् । म स्कुल जान्छु बाबा ।”

र बेलुका...

“मम्मी खोई ? म खाजा खान्नँ र होमवर्क पनि गर्दिनँ । मम्मी नआए त भोलि स्कुल पनि जान्नँ । झुट बाबा ।”

“पख पख । मम्मी हिँडिसकिन् रे । एकैछिनमा आउँछिन् रे । तिमी आँखा बन्द गरी बस । नखोल है ।”

अनि स्वरुप पस्यो यदाकदा मात्र खुल्ने त्यस रहस्यमय बन्द कोठाभित्र ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १७:१७
सिफारिस
भदौ २४ को घटनामा कति पक्राउ परे, कति मुद्दा चले, कति छुटे?
भदौ २४ को घटनामा कति पक्राउ परे, कति मुद्दा चले, कति छुटे?
अदालत र अख्तियारमा चाहिएको सुधार
अदालत र अख्तियारमा चाहिएको सुधार
नयाँ आउने सांसदहरूलाई निर्माणाधीन संसद भवनमै शपथ गराउन यसरी हुँदैछ तयारी (भिडिओ)
नयाँ आउने सांसदहरूलाई निर्माणाधीन संसद भवनमै शपथ गराउन यसरी हुँदैछ तयारी (भिडिओ)
प्रधानमन्त्री कार्कीले किन उप्काइन् दुई चरणमा चुनाव गर्ने प्रसंग?
प्रधानमन्त्री कार्कीले किन उप्काइन् दुई चरणमा चुनाव गर्ने प्रसंग?
झापा–५ मा ओली र बालेनसँग प्रतिस्पर्धा गरिरहेका रञ्जित तामाङ
झापा–५ मा ओली र बालेनसँग प्रतिस्पर्धा गरिरहेका रञ्जित तामाङ
किफायती बायाँ हाते स्पिनर ललित
किफायती बायाँ हाते स्पिनर ललित
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

संकल्प यात्रा!
प्रेम भाषा हाे!
ऊ त अरूकै श्रीमान पो रहेछ!
एउटै रंगको कथा: सिन्दूर!
नायकको खोजीमा!
धरहराबाट...
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP