प्रिय गाउँ,
तिमी आज जस्तो छौ, हिजो त्यस्तो थिएनौ। समयको निर्मम चक्रले तिम्रो मुहार र मेरो जीवन दुवै फेरिदियो। तर मेरा आँखाहरूमा तिम्रो त्यही पुरानै स्वरूप झलझली नाचिरहन्छ। मलाई तिमीलाई फेरि त्यही पुरानै गाउँ भएको हेर्न मन छ, जहाँ आधुनिकताको होहल्ला थिएन तर एउटा गहिरो सुकुन् थियो। त्यो चैन र शान्ति आज सहरका अग्ला महल र व्यस्त सडकहरूमा कतै भेटिँदैन।
त्यो फेरेबाटाको पिपलको रुख, जसको शीतल छहारीमा भारी बिसाउँदा संसारका सारा दुःख भुलिन्थ्यो, त्यहाँ पाउने निद्रा आज मखमली ओछ्यानमा पनि कहाँ पाउनु? बडधाराको त्यो चिसो पानी, जसको एक घुट्कोले आत्मासम्मै शीतलता दिन्थ्यो, आज बोतलका पानीमा त्यो मिठास र तृप्ति कहाँ?
अझै याद छ मलाई— गोठालो जाँदाका ती अनगिन्ती क्रियाकलापहरू। आजका केटाकेटीले सायदै खेल्छन् होला हामीले जस्तो केराको मोचाको बल, प्लास्टिकका वा रिट्ठाका गुच्चाहरू, ढुङ्गाले चिनेको चौतारीमा खेलिने डण्डीबियो, कपडाको डोरीलाई नेट बनाएर खेलिने भलिबल र माटोमा पछारिँदै खेलिने कबड्डी। ती खेलहरूमा हार-जित भन्दा पनि एउटा छुट्टै आत्मीयता हुन्थ्यो।
बर्खाको समयमा जब पानी पर्थ्यो, हामी लट्ठीले भुइँमा सानो खाल्डो पार्थ्यौँ। त्यो खाल्डोमा पानी जम्मा गर्न लट्ठीले नै सानो कुलो कोरेर टाढा-टाढादेखि पानी ल्याउँथ्यौँ। हाम्रो लागि त्यो सानो कुलो नै ठुलो नहर थियो। झरी पर्दा हामी आफैँले बनाएको स्याउलाको घरभित्र गुटमुटिएर ओत लाग्थ्यौँ। त्यो सानो झुपडीभित्र बस्दा लाग्थ्यो— संसारको सबैभन्दा सुरक्षित दरबार यही हो। पाखामा गोरु जुधाउँदा हुने त्यो रोमाञ्चक दृश्य र त्यसले दिने आनन्द अब सायदै कतै भेटिएला। आज पनि जब म ती ठाउँहरूमा पुग्छु, मन भक्कानिएर आउँछ। ती कुलाहरू पुरिइसके, ती स्याउलाका घरहरू माटोमा मिलिसके, तर कता-कता सानो निशानी अझै बाँकी नै छ, जसले मेरो बाल्यकाल सम्झाइरहन्छ।
विद्या प्रबोधिनीको त्यो प्राङ्गण, जहाँ बसेर हामी हिमाल हेर्दै घाम तापेर पढ्थ्यौँ। शिक्षकले पढाएको भन्दा बढी ध्यान त बाहिर पाखामा पाकेका काफल र अमलातिर हुन्थ्यो। 'कति बेला घण्टी बज्ला र साथीहरूसँग जङ्गलतिर कुदौँला' भन्दै हतारिएको त्यो मन, आज कति शान्त र थकित भएको छ। त्यही माटोको घरको ओटालोमा बसेर आफ्नै आँगन हेर्दै भविष्यका ठुला सपना बुनेको थिएँ। आज ती सपना त पूरा भए होलान् तर ती सपना पूरा गर्ने चक्करमा मैले मेरो सुन्दर गाउँ र त्यहाँको सादगी गुमाएँ।
प्रिय गाउँ, मैले तिमीलाई अहिलेसम्म केही दिन सकेको छैन। तर एउटा अठोट छ, एक दिन म तिम्रो काखमा फर्किनेछु। म तिमीलाई दिन सक्ने सबै खुसीहरू बोकेर आउने मन छ। जीवनका अनेक मोडहरू जतासुकै मोडिए पनि, मेरो अन्तिम इच्छा भनेकै मेरो मरण तिम्रै काखमा होस् भन्ने हो।
अहिले गाउँ पुग्दा जुन चिज जस्तो हुनुपर्ने थियो, त्यस्तो भेटिँदैन। हाम्रो आस्था र तिर्सना मेटाउने बडधारालाई भत्काइएको देख्दा मुटु चस्स हुन्छ। ती ढुङ्गे धाराहरू, जसमा हाम्रो आत्मीयता गाँसिएको थियो, आज त्यहाँ सिमेन्ट र पाइपहरू देख्दा मनले स्विकार्नै सकेन। प्रविधिले सुविधा त ल्यायो होला तर हाम्रो संस्कृति र त्यो मौलिकता खोसेर लग्यो।
त्यो गोरेटो बाटो, जहाँ हामी बिहान-बेलुका रमाउँदै हिँड्थ्यौँ, आज त्यहाँ मान्छेका पाइला होइन, जङ्गली जनावरका पदचापहरू सुनिन्छन्। मान्छेहरू सहर पसे, गाउँ रित्तियो। आज मेरो गाउँ मान्छेको होइन, जङ्गली जनावरको बस्ती जस्तो भएको छ। जहाँ पहिले फोन नगरी एक आवाजको भरमा २-३ किलोमिटरसम्म पनि नाम काढेर बोलाएको सुनिन्थ्यो, आज त्यहाँ सन्नाटा छाएको छ। वन-जङ्गल हिँड्दा गोरुको घाँटीमा लगाएको 'घाँडो'को आवाजले गाउँ आउन लागेको सङ्केत दिन्थ्यो, त्यो आवाज अब कहिल्यै नसुनिने गरी हरायो। गोठहरू खाली छन्, भैँसी र गोरुहरू खोज्दा पनि भेटिँदैनन्।
प्रिय गाउँ, तिम्रो बारेमा लेख्न त कति छ कति, यी शब्दहरू र पानाहरूले मात्र तिम्रो महिमा थाम्न सक्दैनन्। तिमी बिग्रिएको र रित्तिएको देख्दा यो मुखले बोल्न त खोज्छ तर विवशताले आवाज रोकिन्छ। तैपनि तिम्रो यादले मलाई कहिल्यै छोडेको छैन र नछोडोस् पनि। ती यादहरू नै मेरो बाँच्ने आधार हुन्।
प्रिय गाउँ, धेरै-धेरै माया र मिठो सम्झना। म छिट्टै आउनेछु, तिम्रो माटो सुँघ्न र तिम्रा ती मेटिएका निशानीहरूमा आफ्नो बाल्यकाल खोज्न।