‘हल्लो गिरीश! मेरो अमेरिकाको भिसा भयो यार! आज हल्का जमघट गर्दैछु साँझ, घरको छतमा बार्बिक्यु गर्ने, भ्याउलास् नि हैन, सबै केटाहरू आउँछ, सात बजे तिर आउनु,’ गिरीशको मोबाइलमा अनुपमको आवाज आयो।
‘अँ यार! बधाई छ तँलाई। खुसी लाग्यो यार, हुन्छ आउँछु नि,’ गिरीशले मुस्कुराउँदै भन्यो।
‘ए अँ यार! तेरो गितार पनि लिएर आउनु है। यसो ज्याम अप पनि गर्नुपर्छ, सब तेरो फ्यान छ यार केटाहरू,’ केही सम्झे जसरी अनुपम बोल्यो।
‘हुन्छ’ भन्दै थियो, फोन कट्यो।
यसो सम्झियो, बाह्र कक्षा पास गरेपछि उसले पनि अमेरिकाको लागि स्टुडेन्ट भिसा प्रयास गरेको थियो। पहिलो प्रयास नै पन्ध्र दिन अगाडि ‘रिजेक्टेड’। ऊ र अनुपम बाह्र कक्षा सँगै पास गरेका मिल्ने साथी। अनुपमको भिसा सम्बन्धमा केही आएको थिएन। ढिला आयो तर भिसा आएछ। गिरीशको भिसा लागेको र साँझ पार्टी भएकोमा खुसी लागेता पनि कता-कता खुलेर खुसी हुन सकेन।
गिरीशलाई स्कुलमा सबैले चिन्थे। विभिन्न कार्यक्रमहरूमा स्टेजमा गितार बजाएर गीत गाउने गर्थ्यो। विद्यार्थी गुरुवर्ग सबैमा लोकप्रिय। गिरीशको स्वर ठिकै थियो। गितार भने एकदमै राम्रो बजाउने। जुनसुकै गीतको पनि सुन्नासाथ कर्ड्स पत्ता लगाएर गितार बजाउन सक्ने। बाह्र कक्षामै उसका धेरै आफ्नै रचनाहरू भइसकेका थिए। एउटा राम्रो ब्यान्ड बनाउने, एल्बम निकाल्ने मनमा सजाइराखेको थियो।
साँझ यता उता गर्दा नै साँझ सात बजेसम्म गिरीश घरमै थियो। मोबाइल बज्यो!
‘ओए छिटो आइजा न! गितार लिएर,’ अनुपमले भन्यो।
‘ल ल यार! हिँडिहालेँ’ हतारिँदै गिटारकेशमा गिटार हाल्दै गिरीशले जवाफ दियो।
हतार हतार अनुपमको घरतिर लाग्यो। नजिकै थियो अन्दाजी १५ मिनेट पैदल यात्रा। त्यस बिचमा एक पटक पुनः फोन आइसकेको थियो। अनुपमले ‘गितार त ल्याइछस् नि!’ भनेर सोध्न बिर्सेन। गिरीशलाई एकछिन त ‘म हैन त्यसलाई गितार र गितार बजाउने मान्छे पो चाहिएको रहेछ क्या’ जस्तो पनि लाग्यो।
अन्दाजी साढे सात बजे अनुपमको घरमा पुग्दा उसको घरको छतमा मासु पोल्ने काम भइसकेको रहेछ। केटाहरू बियर र मासु खाइरहेका थिए। अमेरिकाको भिसाको खुसीमा सायद घरबाट बियरको पनि अनुमति अनुपमले पाएको थियो।
‘ओहो यार! गिरीश आयो ल! ल ल याँ बस्’ भन्दै अर्को साथी अनिमेषले कार्पेटमा विशेष स्थान बनाइदियो।
केटाहरू रिमझिम भइसकेका थिए।
‘ल यार! गिरीश चाँडै खा! आज मज्जाले तेरो गीत सुन्ने हो!’ अनुपम मासु र बियर गिरीशको अगाडि राखिदिँदै।
केही चोक्टा मासु र एक दुई सिप बियर नखाँदै गितार बजाएर गीत सुनाउन अनुरोध आउन थाल्यो। गिरीशलाई गितार बजाएर गीत गाउन कुनै आपत्ति थिएन। जुनसुकै बेला पनि उसले गितार बजाएर गीत गाइदिन सक्थ्यो।
उसले गितार बजाउन सुरु गर्यो, गीत सुरु गर्यो, सबै झुमे, नाचे, रमाए। पार्टी सकियो। सबै घर-घर लागे।
पाँच दिनपछि अनुपम अमेरिका उडेछ।
दुवै जना विज्ञान पढेका। अनुपम अमेरिका गयो। गिरीशको घरको आर्थिक अवस्था निम्न मध्यम वर्ग। पढाइमा मात्र ठिकै। एमबिबिएसमा स्कोलरशिपमा नाम निकाल्न सक्ने सम्भावना थिएन, पुरै फिस तिरेर पढाउन सक्ने अवस्था घरको थिएन। जेभियर्स एकेडेमीमा बिएससीमा भर्ना हुनुका साथै उसको टोलका साथीहरूसँग एउटा ब्यान्ड पनि बन्यो, गिरीश ब्यान्डको गिटारिस्ट।
ब्यान्डको नाम उनीहरूले राखे– ‘निराकार’ अर्थात् कुनै आकार नभएको। बिहान कलेज हुने हुनाले साँझ ब्यान्डको प्राक्टिस हुने गर्थ्यो।
ठमेलको एउटा लाइभ म्युजिक भएको रेस्टुरेन्टमा शुक्रवार शुक्रवार लाइभ संगीत बजाउने कन्ट्र्याक्ट ब्यान्डले पायो। एक साँझ शो गरे बापत पाँज हजार पाउने। ब्यान्डमा पाँच जना थिए। भाग लगाउँदा एक/एक हजार प्रतिव्यक्ति। गिरीश लगायत सबै निकै खुसी थिए। उनीहरूको संगीतले पहिलो पटक एक-एक हजार कमाउँदा। भट्टीमा गए बियर र सुकुटी खाएर पाँच हजार सबै उडाए। उनीहरूले खुसी मनाएका थिए। व्यावसायिक रूपमा संगीत यात्रा सुरु भएकोमा।
गिरीशको बिस्तारै सोही अनुसार साथीभाइ, संगत हुन थाल्यो, कला क्षेत्रका नाम कहलिएका मानिसहरूसँग। रात्रि कालिन जीवन सुरु भइसकेको थियो।
एक वर्षमै पढाइ छोड्यो। वार्षिक परीक्षा छुटायो। घरमा विद्रोह गर्यो, संगीतबाटै नाम, दाम कमाउँछु भनेर घरमा भन्ने गर्थ्यो। बिस्तारै उनीहरूले गाउने रेस्टुरेन्टमा मान्छेहरू गिरीशसँग फोटो खिच्न आउन थाले। उपलब्धि ठान्यो, सबै माझ लोकप्रिय!
सोही रेस्टुरेन्टले कन्ट्रयाक्ट रिन्यु गर्यो। अब एक शोको दश हजार पाउने भए, प्रति व्यक्ति दुई-दुई हजार पाउने भए। मोटरसाइकलमा पेट्रोल हाल्न, चिया कफी, कहिले कहिले बियर खान समेत पुग्ने। जहाँ-जहाँ गयो सबैले चिन्ने। युवतीहरू पनि फोटो खिच्न आउने।
रङ्गिन सन्सार!
रङ्गिन जिन्दगी!
दङ्ग गिरीश!
लामो कपाल पालेको, राम्रै उचाइ भएको, स्टेजमा गितार बजाउने, हेर्दा आकर्षक। विभिन्न युवतीहरू मध्ये सलिनासँग आखिर लगन जुरेको रहेछ, बिहे गर्यो, अन्तरजातीय। बुवा दुवै सरकारी जागिरे भएको हुनाले घरमा आधारभूत कुराहरूमा दुख थिएन। त्यहीमाथि गिरीश एक्लो छोरो थियो। सुरु सुरुमा सबै राम्रो भयो। बिस्तारै आमा र सलिनाको बिचमा भान्छामा ठाकठुक पर्न थाल्यो। गिरीशको रुटिन त्यस्तै थियो, साँझ साँझ ब्यान्डसँग प्राक्टिस। शुक्रवार शुक्रवार शो।
एउटा छोरा भयो। बुवा, आमा, श्रीमती, एक छोरा र सबैले चिन्ने गिरीश। जिन्दगी सबै मिलेजस्तो।
‘भात खुवाइमा त सबैलाई बोलाउनु पर्यो नि! बाबु तँसँग पैसा छ त, तेरो छोराको भात खुवाई गर्नलाई?’ एक दिन बुवाले सोध्नु भयो।
‘ओहो! म सित त सेभिङ त छैन नि बुवा,’ झसंग भयो गिरीश। उसको बैंक अकाउन्ट नै थिएन हालसम्म पनि।
एक शो को दुई हजारले के सेभिङ हुनु! आफ्नै पेट्रोल खर्च, खाजा खर्च त भ्याइ नभ्याई हुन्थ्यो।
यसै बिचमा ब्यान्डका दुई जना साथीहरू अस्ट्रेलिया जाने भए, गए। ब्यान्ड टुक्रिएता पनि संगीत प्रतिको गिरीशको लगाव भावनात्मक भइसकेको थियो। फेरि दुई जना नयाँ साथीहरू भित्र्याएर ब्यान्डको सांगीतिक यात्रा जारी नै रह्यो।
‘ओए गिरीशे! तँलाई मैले सेमी एक्वास्टिक यामाहा गितार ल्याइदिएको छु! भोलि भेटम् साँझ’ अचानक एक दिन अनुपमले फोन गर्यो। अमेरिकाबाट केही दिनको लागि नेपाल आएको रहेछ।
भोलिपल्ट साँझ एउटा रेस्टुरेन्टमा भेट भए, नयाँ गितार पायो गिरीशले। डबल ब्ल्याक लेबल खाए। बिल सबै अनुपमले तिर्यो।
भन्ने हो भने डबल ब्ल्याक लेबल जस्ता रक्सीहरू गिरीशले खान पाइराख्थ्यो। शो भएको दिन सबै टेबलका मान्छेहरूले उसलाई ड्रिङ्क अफर गर्ने गर्दथे। रक्सी कुनै ठुलो कुरै थिएन। पैसा भने सधैँ अभाव हुन थालिसकेको थियो। घरमा श्रीमतीका मागहरू, छोरा बिस्तारै घस्रिन थालेको थियो।
‘ओए गिरीश! आज मेरोमा पार्टी छ यार! तँ जसरी नि आउनुपर्छ है! ए अनि! तेरो गिटार ल्याउन नभुलेस् है’ भनी आउने फोनलाई – ‘मैले त भ्याउँदिनँ यार!’ भन्न थालेको थियो गिरीशले।
गिरीशको गणितले उसको जिन्दगीको हिसाब मिलिरहेको थिएन।
बुवाको पेन्सनले नै आफ्नो छोराको स्कुलको फिस लगायतका हुने खर्चलाई तितो सत्यको रूपमा गिरीशले स्विकारिसकेको थियो।
सोचे जस्तो ब्यान्डले पनि गति लिएन। अन्तर्राष्ट्रिय शोहरू कहीँ कतै उनीहरूको ब्यान्डले पाएको थिएन। लगभग जिन्दगी गयो स्टेरियोटाइप केही थान गीतहरू बजायो। एक/दुई पेग रक्सी खायो, दुई/चार हजार नगद लियो र घर गयो। त्यतिमै सीमित हुन थाल्यो।
‘बाबा-आमा पछि के गर्ने नि? यसरी जिन्दगी चल्ला त! छोरा बिस्तारै ठुलो हुँदैछ, जति ठुलो भयो उति खर्च हो,’ एक रात सलिनाले मुख खोलिन्।
गिरीशसँग जवाफ केही थिएन। अन्य काम उसले जान्न पनि जानेको थिएन। उसले जानेको गितार आजकल धेरैले बजाउन थालेका थिए। स्टुडियोहरूमा एरेन्जरले आफै गितार बजाउँथे। छुट्टै गितार वादक बोलाएर खर्च बढाउने काम गर्दैनथे। ब्यान्डमा फुल टाइमर गिटारिस्ट हुँदा जहाँ बजाए पनि आउने रकम दामासाहीले बाँड्दा सन्तोषजनक रकम हातमा कहिले परेन।
घरमा कहिले आमाले, कहिले श्रीमतीले मौखिक रूपमा गिरीशको मन चसक्क हुने गरी घोचपेच गरिरहेका नै हुन्थे। एउटा कुरा गिरीशले ख्याल गर्यो, बुवाले कहिले पनि पैसा, उसले कमाएको नकमाएको सम्बन्धमा मन दुख्ने शब्दहरू कहिले प्रयोग गरेनन्।
एउटा शुक्रवार शो पछि बाह्र बजे घर आयो। ब्यान्डको एकजना साथी फेरि बेलायत जान लागेको थियो। नयाँ ब्यान्ड सदस्य खोज्नु थियो। ब्यान्डलाई जीवन्त राख्नु थियो। मानसिक रूपले यही कारणले तनावमा थियो।
फोन बज्यो।
‘ओए गिरीशे! म लस एन्जलसमा छु यार! तँलाई त यार यहाँ पनि सबले चिन्छन् यार! खतरा गिटारिस्ट भएछस् तँ त! एउटा साथी आउँदैछ, ऊसँग एउटा टुवेल स्ट्रिङ गितार पठाइदिएको छु है, बधाई छ यार! सपनाको जिन्दगी आखिर बाँचिस् तँ त! फुल टाइम गिटारिस्ट भइस्’ एक रात अनुपमले अमेरिकाबाट फोन गर्दै भन्यो।
कोसेली पाएको ३ थान गितारहरू थियो गिरीशसँग। टुवेल स्ट्रिङ गितारले उसलाई पूर्ण रूपमा खुसी दिन सकेन।
बार्दलीमा चुरोट तान्दै अनुपमसँग कुरा गरिसकेपछि कोठामा आयो।
सलिना र छोराको निद्रामा बाधा पर्छ कि भनी बत्ती बालेन। मधुरो प्रकाशमा छोरा र सलिना मस्तसँग निदाइरहेका थिए।
उसका तीन थान गितारहरू कोठाको कुनामा ठडिई उसलाई नै हेरि रहे जस्तो लाग्यो।
टेबलमा पर्स राख्दा एउटा कागज देख्यो। मोबाइलको बत्ती बाली हेर्दा छोराको स्कुलको फिसको कागज रहेछ। दसैँ बिदा हुन लागेकोले एकै चोटि दुई महिनाको फिस आएको रहेछ।
लाग्यो टुवेल स्ट्रिङ गिटारको सट्टा त यार अलिकति क्यास पठाइदिएको भए!
कागज टेबलमै राख्यो भोलि बिहान बुवालाई दिनको लागि।
पल्टियो!
अनायासै बरबरायो ‘ब्लडी! फुल टायम गिटारिस्ट...!’