छोरी,
तिमी वसन्तको बगैँचामा
फक्रिन खोजेको एउटा कोमल फूल हौ
तिमीलाई देखेर
भमराहरू मधुको लोभले
वरिपरि गुन्जिरहन्छन्,
चुम्ने बहानामा
चुँडेर शिरमा सजाउने सपना पनि देख्छन्।
तर सम्झिरहनु—
यो संसारको भीडमा
फूलको सुगन्ध सुँघ्नेहरू मात्र हुँदैनन्,
केही त यस्ता हात पनि छन्
जो रस चुसेपछि
त्यही फूललाई पैतालामुनि कुल्चिन्छन्।
त्यसैले छोरी,
ढुक्क भएर निदाउनुअघि
आकाशतिर एकपल्ट हेर,
किनकि कहिलेकाहीँ
निर्मल घाममाथि पनि
अचानक बादलको छाया पर्छ।
तिम्रो बढ्दै गरेको उमेर
बा–आमाको मुटुमा
मायाको कम्पन बनेर बजिरहन्छ।
एउटा कोपिलालाई
हावाहुरी, असिना र चट्याङबाट जोगायौँ,
तर कहिल्यै नदेखिएको
धमिलो बाढीले बगाइदेला कि भन्ने डरले
यी छातीहरू चिरिरहन्छन्।
हुर्कायौँ, बढायौँ, पढायौँ—
आज तिमी वसन्तझैँ फक्रिँदै छौ,
यो समाजको कठोर नजरले
हामीलाई डराइरहेको छ।
बरु तुफानै आओस्,
आकाश गर्जियोस्,
धर्ती नै चिरियोस्—
सायद सहन सक्थ्यौँ होला।
तर तिमीलाई
सानो काँडाले छोए पनि
हाम्रो मन कसरी नरोओस्?
पल्लाघरे साइँलीको आँगनमा
आज मौनता रोइरहेको छ
उसकी छोरीले
प्रेमको उज्यालो बाटो रोजेकी थिई,
तर राक्षसी हातहरूले
प्रेमको टुसै निमोठिदिए।
फेरि अर्की माइलीहरूको
कोख पनि धरापमै छन्
आजकल छोरी,
प्रेमका नाममा
कति नक्कली मुस्कानहरू फक्रिन्छन्,
जहाँ भावना होइन
केवल शरीरको भोक बोल्छ।
त्यसैले छोरी,
तिमी सावधान रहनू—
किनकि तिमी केवल शरीर होइनौ,
तिमी सपनाहरूको आकाश हौ
आमाको कोखको उज्यालो हौ
र
हाम्रो आशाको उज्यालो बिहान हौ।