घना अनि सुनसान जंगल छ। हराएको छ एउटा मान्छे यहीँ जंगलमा। ठूला ठूला रूख छन्, चराको चिरबिर छ, अनि पातको सुस्केरा। किन हराएँ त म भनि सोचिरहेछ त्यो मान्छे, यो अत्यासलाग्दो स्थितिमा। जंगलमा छरिएको छ घामको किरण, डालाबाट भुइँमा छरिएका मकैका गेडा जस्तै। मीठा फल फलेका रुखहरू चारैतिर छन्। जंगलबीच एउटा ठूलो खोला छ, कलकल बगिरहेको छ। खोलामाथि एउटा राम्रो, काठको पुल छ जसको एउटा अन्त्यमा त्यो मान्छे टुक्रुक्क बसेको छ।
पछाडि फर्केर हेरिरहेको छ आफूले पार गरेको दूरीलाई। सोच्दैछ अब फेरि त्यतै फर्कनु उचित हुँदैन। अब त मैले विगतको यात्रा गर्नु अर्थहीन हुनेछ। सोच्दैछ सायद मैले पार गरेको त्यो दूरी नाप्न सक्थें त भविष्यमा मलाई मेरो यात्रा सम्झने खुराक हुने थियो। त्यसैबखत जंगलका हरेक कुनाबाट कसैले उसको नाम बोलाउँछन्, एउटा ठूलो भीडको गाइँगुइँ जस्तो आवाजले त्यो शून्यतालाई चिर्थौछ।
यो जंगल जसमा ऊ हराएको छ त्यो सामान्य जंगल हैन, उसको आफ्नै मनको जंगल हो, उसको भावनाहरूको जंगल हो, उसको काल्पनिक जंगल हो, उसको प्रेमको जंगल हो।
म तपाईंहरूलाई अब यो जंगलसँग थोरै चिनजान गराउँछु .....
तपाईंलाई थाहा छैन कि यो जंगल यहाँ हराउने मान्छे आफैंले बनाएको हो। मैले उसलाई धेरै पल्ट सम्झाएँ, भयो यति धेरै पनि नरोप रहरहरू। अहँ मानेन, बस जिद्धी गरिरह्यो। म मेरी प्रियसीलाई एउटा बगैंचा उपहार दिन चाहन्छु भन्दै जताततै रोपिरह्यो रहरहरू। केही समय यसरी बित्यो मानौं उसको जिन्दगी रहर रोप्नलाई बनेको हो। यदि उसले दिमागमा त्यो जंगल बनाएको भए म त्यसलाई आगो लगाएर सखाप पारिदिन्थेँ तर अहँ अबुजले मनको कुनै कुनामा लगेर त्यहाँ बनाइदियो भव्य जंगल।
मलाई पनि पस्न दिँदैन उसले त्यहाँ भन्छ मनको कुरा दिमागले बुझ्ने भए संसारनै बेग्लै हुने थियो।
अहिले यसबखत जो आवाज आइरहेको छ जंगलबाट, त्यो कोही मान्छे बोलेको हैन, त्यो उसका सम्झनाहरूको आवाज हो। अब यो सम्झनाहरू कहाँबाट आए भन्नुहोला? यी त्यही रहर हुन् जसलाई उसले केही समय अगाडि रोपेको थियो, रहर बढेर सम्झना बनेका छन्। के तपाई सुन्न सक्नुहुन्छ सम्झनाहरू यसरी एकैपटक कराएको? यो, जो हराएको मान्छे छ उसले सक्छ।
मलाई त अचेल लाग्छ ऊ बैरो भएको छ, या भनौं सम्झनाका हल्लाहरूसँग अभ्यस्त भएको छ। धेरै समय भयो ऊ हरेक दिन घुमीफिरी यहीँ आइपुग्छ अनि पुलको एउटा अन्त्यमा उभिएर अर्को छेउ नियाल्छ। रूखमा फलेका फल खान्छ अनि सधैं सोच्छ मेरी प्रियसीसँग हिँडेको पार गरेको यो पुलसम्मको दूरी यदि मैले नाप्न सक्थेँ त भन्न सक्थे मैले उनलाई यति माया गरेको थिएँ अनि यो पनि सोच्छ कि सायद माया नाप्न नमिल्ने भएरै होला यति प्रिय भएको, जसको मोलतोल गर्न सकिन्छ त्यसको के मोल?
आज पनि ऊ त्यो पुलको छेउमा उभिएको छ। सधैं सोच्ने कुरा आज पनि सोचिरहेको छ। विस्तारै एउटा रूखबाट सम्झनाको फल टिप्छ अनि टोलाउँदै खान्छ। कराइरहेका छन् सम्झनाका आवाज, ठूलो कोलाहल छ तर मतलब छैन उसलाई, नजरअन्दाज गरेको छ चर्को कर्कस आवाजलाई। ऊ त त्यसै सम्झना सम्झी मुस्काइरहेको छ। केहीबेर उभिएर फल खाएपछि ऊ सम्झनाले आजलाई अघाएको छ।
भावविहीन मुहार लिएर ऊ फर्कंदैछ आएकै बाटो, पुल पारी हैन नि फेरि, पुल तर्न त धेरै समय अगाडि नै छोडेको हो उसले। पुल नतरी ऊ जताबाट आएको त्यतै यथार्थमा फर्कन्छ, विस्तारै रूखहरू ओझेल पर्छन् अनि ऊ पनि विलिन हुन्छ।
अब तपाई पक्कै भन्नुहुन्छ, हराएको मान्छेले कसरी सरासर बाटो पत्ता लगायो भनेर। खासमा ऊ जंगलमा हराएको हैन आफैंमा हराएको हो, यो जंगलमा त ऊ सधैं आफूलाई भेट्न आउँछ। के तपाईं पनि आफूलाई भेट्न कतै जानुहुन्छ?