एउटै बाटो हिँड्छ
यो घाम -
हिउँद होस् कि वर्षा
झरी होस् कि बादल!
तर, याङ्गसी
तिमीले नै
भनेको हैन -
'हिउँदको घाम
बादलको रूखमा
फल बनेर झुण्डिन्छ
त्यसैले त मान्छे
जताजता घाम देख्छ
उतैउतै दौडिन्छ!'
साँच्चि, भन्देउ न-
हिउँदको घाम कस्तो हुन्छ?
अमिलो हुन्छ कि पिरो?
गुलियो हुन्छ कि टर्रो ?
तिमीले घामलाई
कहिल्यै चाखेको छ?
जाऊ त्यो घाम टिपेर ल्याऊ
म बारीमा सुकुल ओछ्याउँछु
त्यहीँ बसौंला
र, घामलाई ताछौंला
म बोक्रा छोडाउँछु
तिमी केस्रा निकाल्नु
तर धेरै नचलाउनु
धेरै चलायो भने त
मीठो चिज पनि
तीतो हुन्छ!
आऊ
दुबै जना मिलौं
र घामलाई साँधौं
म आगो जोर्छु
तिमी नुन र जिरा पिस
म कराई तताउँछु
र, खुर्सानी पड्काउँछु
तिमी बेसार हाल
म धनियाँ पखाल्छु
तिमी त्यसलाई चिमोट
अनि 'रेसपी' तयार हुन्छ
घामलाई त्यसमै हालेर
मिलिमिली मोल्नु पर्छ
अनि तातो ठाउँमा गएर
सँगैसँगै खानु पर्छ।
म तिमीलाई खुवाई दिन्छु ल!
तिमी पनि मलाई
अलिकति खुवाइदेउ
तर मैले खुवाउँदा
औला चै नटोकी दिनु
मैले तिम्रो टोकेँ भने
तिमी चै नरिसाउनु
मलाई एकपटक
तिम्रो पनि स्वाद लिन मन छ
साँधेको घाम र
तिमीमा को मीठो छ
एकपटक जान्न मन छ!
याङ्सी
हामीले खाएको घामले
मनलाई नै डढाएर
प्वाल पार्यो भने
त्यसैमा माटो भरौंला
म गुलाफ बनेर फुल्छु
तिमी शीत बनेर झर्नु
म पत्र बनेर फैलन्छु
तिमी रत्न बनेर टल्कनु
मायाको शीत त
हिउँदमा पनि ठिहिर्याउँदैन
बरू यसले
मनलाई भिजाइ रहन्छ
भिजेको मनमा
कुन माया पो सुकेको छ र?