दलको संज्ञा दिएर मान्छे मलामी नजाने
मान्छेले देको निर्मल पानी सरक्क नखाने
नेपाल अझै भूमरीभित्र यही नै चक्र छ
हाँकेर गफ हुँदैन पूरा यहाँ त बक्र छ।
दलमा लागि समाज टुक्रा गरे है मान्छेले
आधै छ ज्ञान न त छ ध्यान मारे है मान्छेले
मानव धर्म पढेको धेरै भनेर कुर्लिने
नेपालीहरू भाषणभित्र धेरै छन् उर्लिने।।
तै पनि यहाँ मेला र पर्व विवाह मलामी
छुट्याइ जाने चलन आयो मनभो बिरामी
मानवता खै वादमा मात्र हुन भो सीमित
बुझेन अझै मान्छेले किन प्रस्ताव विविध।।
नबुझे बुझ बुझ्नेले गर ज्ञानको शरण
संकिर्ण सोच राख्दछौ कति होला है मरण
फराक पार चिन्तन खार जाऊ है सारमा
अधूरो रहे जे पनि सहे परिन्छ हारमा।।
छोडी देऊ अब मान्छेले मान्छे फरक नदेख
मलामी मेला विवाह पर्व जाऊ है नछेक
देखेर पनि जूनले यहाँ पछ्यौरी नढाकोस्
ज्ञानले जानी ढाकेर त्यहाँ फूल नै चढाओस्।।
नियाली हेरौं मसिनो गरी केस्रा नै उधारी
फाटिगो मान्छे दूधझैं यहाँ बढ्नुछ सुधारी
पश्चिमी कथा गाएर मान्छे यो र त्यो भन्दछ
संकिर्ण आफू छाम्दैन च्यापु खै के पो ठान्दछ।।