एउटा प्रगतिशील
कलिलो देह पृथ्वीको
परिक्रमा गर्दा-गर्दै बिना इच्छा
निस्किएको छ अनन्त यात्रामा
हिजोसम्मका उसका आवाजहरू
विलीन भए हावामा
हिजोसम्मका उसका सपनाहरू
हराए अनन्त आकाशमा
रित्तियो धर्ती
रित्तियो आकाश
रित्तियो सूर्य किरण
जुन उसको देहले
हिजोसम्म महसुस गर्दथ्यो
विलीन भयो माटोमा
तर
परिवारमा पर्यो बज्रपात
आफन्त र मित्रतामा घात दियो समयले
श्रमले भिजाएको धर्तीमा
अब भोलिबाट खोज्नु पर्ने छ
आफ्नै अस्तित्वको शिला
उसमा आश्रित मानवहरूले
निभेको छ दियो
उसको मन्दिरको
चुँडिएको छ मुटु
उसको प्राण प्यारीको
रित्तिएको छ गाग्रो उसको
हर बिहानीको छायाले भरिने ममताको
आकाश मौन छ
उस्तै मौन छ उसको घरको छानो
जहाँ अब चाड र विपत्तिहरूमा
केबल बज्ने छन्
शून्यताका घण्टी
शीतका थोपा तपतप गरेर
धेरै जसो झरीमा
मात्र बर्सिने बर्सातका थोपाहरू
अब निरन्तर बग्नेछन्
उजाडिएको मनको आँखाको डिलबाट
सायद अब हजार कर्तव्य थमाउने
समाजले त्यो आवाज सुनिएन भन्ने होला
त्यही झरीको बहाना गरेर।