मंसिरमा मेरो विवाह भयो।
मंसिर— जहाँ जाडो बढ्छ तर जीवन न्यानो हुने सपना देखिन्छ। म पनि त्यही सपना बोकेर विवाह गरेर गाउँ पुगेकी थिएँ। सहरमा हुर्किएको मेरो जीवन, मेरा बानी, मेरा विश्वास— सबैलाई प्रेमको भरोसामा सुम्पिएर।
मलाई लाग्थ्यो, विवाह भनेको दुई मनको मिलन हो, दुई जीवनको सहयात्रा हो। तर मलाई के थाहा, कसै-कसैको लागि मंसिर न्यानो होइन, सजायको सुरुआत पनि हुँदो रहेछ।
म सहरमा हुर्किएकी हुँ। महिनावारी मेरो लागि लाज थिएन, रोग थिएन। स्कुलमा पढेकी थिएँ— यो शरीरको स्वाभाविक प्रक्रिया हो भनेर। घरमा आमासँग खुलेर कुरा गरेकी थिएँ। आफ्नो शरीरलाई बुझ्ने अधिकारसँगै हुर्किएकी थिएँ। तर मंसिरमा बिहे गरेर सुदूरपश्चिमको एउटा गाउँ पुगेपछि मैले बुझेँ— ज्ञान सबै ठाउँमा सुरक्षाको हतियार हुँदैन रहेछ। कहिलेकाहीँ ज्ञान नै एक्लो हुँदो रहेछ।
काठमाडौँमा भेटिएको प्रेमले मलाई यहाँ ल्याएको थियो। ऊ गाउँमा हुर्किएको थियो, म सहरमा। फरक परिवेश भए पनि सोच मिल्थ्यो। विवाह प्रेमको परिणाम थियो, सम्झौताको होइन।
गाउँ छिर्दा घरमा उत्सव थियो। सासू–ससुराले मुस्कुराएर स्वागत गर्नुभयो। ‘पढेलेखेको बुहारी’ भनेर चिनाइयो। गाउँका मानिसहरू दुलही हेर्न आए। भोज चल्यो, गीत बज्यो। मलाई लाग्यो— सायद मैले सोचेको भन्दा सजिलो हुनेछ जीवन।
विवाहको करिब बिस दिनपछि मेरो शरीरले आफ्नो स्वाभाविक संकेत दियो। त्यो दिन मैले आफूलाई घरभित्र अलि फरक दृष्टिले हेरिएको महसुस गर्न थालेँ। सासूको व्यवहार बद्लियो, बोली छोटो भयो।
अन्ततः उहाँले भन्नुभयो, ‘अब घरभित्र नबस। देवता रिसाउँछन्।’
स्वर चर्को थिएन तर त्यो निर्णयसँग प्रश्न गर्ने ठाउँ पनि थिएन। किनकि त्यो वाक्यले मलाई दोषी ठहराइसकेको थियो।
म दिनभरि आँगनको कुनामा बसेँ। भान्सामा छिर्न पाइएन। पानी छुन पनि डराइयो। साँझ पर्दै जाँदा म श्रीमानको अनुहार हेरिरहेँ। उहाँ बोल्न चाहनुहुन्थ्यो, म बुझ्थेँ। तर उहाँका शब्दहरू उहाँकै घाँटीमा अड्किन्थे।
त्यो मौनता प्रेमको कमी थिएन। त्यो मौनता समाजसँग टकराउने साहस नजुटेको एक पुरुषको हार थियो।
त्यही साँझ सासूले एउटा पातलो, पुरानो कपडा मेरो हातमा राखिदिनुभयो र भन्नुभयो, ‘छाउ भयौ। चार दिन छाउगोठ।’
त्यो क्षण मैले पहिलो पटक गहिरो गरी बुझेँ, म अब पत्नी होइन। म अब बुहारी होइन। म अब व्यक्ति पनि होइन। म अब एउटा अवस्था थिएँ, छाउ।
छाउगोठ सानो थियो। त्यसलाई ‘कोठा’ भन्न मिल्दैन। त्यो ठाउँ मानिसका लागि बनेको थिएन। माटो भिजेको थियो। भुइँ चिसो थियो। छानोबाट पानी चुहिन्थ्यो। ढोका भित्रबाट राम्ररी थुनिँदैन थियव। नजिकै बाँधिएका गाईभैँसीको सासको आवाज निरन्तर सुनिन्थ्यो।
त्यो ठाउँमा बस्नु भनेको बस्नु होइन— सहनु थियो।
त्यो रात म बसेकी होइन, म त्यहाँ सारिएकी थिएँ। शरीर चिसिँदै गयो। शरीर खुम्चन थाल्यो। खुट्टा छातीमा टाँसेर बसेँ। न निद्रा आयो, न समय बित्यो।
मनभित्र बारम्बार एउटै प्रश्न घुमिरह्यो— यदि यही धर्म हो भने, के म अधर्मी भएर बाँच्न चाहिनँ?
यदि यही संस्कार हो भने, के म असंस्कारी हुन तयार छैन?
त्यही बेला बाहिर खुट्टाको आवाज आयो। पहिला लाग्यो भ्रम होला। पछि आवाज नजिकिँदै गयो। एक्कासि ढोका खुल्यो। त्यसपछि के भयो, म पूर्ण रूपमा लेख्न सक्दिनँ। किनकि त्यो रात शब्दभन्दा पहिले डर आइपुगेको थियो। त्यति मात्र भन्न सक्छु— म डरले जमिनमा जमिनजस्तै भएकी थिएँ। तर त्यही डरको गहिरो तहमा कतै एउटा अस्वीकार पलायो— म यसरी सकिन्नँ भन्ने अस्वीकार।
म चिच्याएँ, प्रतिरोध गरेँ र जसोतसो उम्किँदै बाहिर दगुरेँ।
मेरो आवाजले घर ब्युँझियो। सासू, ससुरा, श्रीमान्— सबै आए।
म रोइरहेकी थिएँ, काँपिरहेकी थिएँ। त्यो दुष्ट भागिसकेको थियो। त्यो रातले मलाई भाँचेन। त्यो रातले मलाई बदल्यो।
भोलिपल्ट बिहानै मैले स्पष्ट भनेँ— ‘म फेरि छाउगोठ जान्न।’
त्यो वाक्यले गाउँ असहज भयो। कतिपयले भने— धर्म सकियो।
कतिपयले भने— यो सहरको असर हो।
म दोषी बनाइएँ। तर केही महिलाहरू चुपचाप मेरो छेउमा उभिए। उनीहरूले धेरै बोलेनन्। तर उनीहरूको आँखामा मैले आफूजस्तै डर, आफूजस्तै पीडा देखेँ।
त्यही चुप्पीबाट बहस सुरु भयो। बहसबाट चेतना। चेतनाबाट दबाब। पढेलेखेका युवायुवतीहरू अगाडि आए। संघ-संस्थाहरू गाउँ छिरे। बैठक बस्यो। प्रश्न उठ्यो— परम्पराको नाममा जोखिम किन?
अन्ततः छाउगोठ भत्काइयो। त्यो दिन माटो मात्र ढलेन। त्यो दिन महिलालाई अपराधी बनाउने सोच पनि हल्लियो। आज त्यो गाउँ पूर्ण रूपमा आदर्श भएको छैन। कुरीति एकै चोटि मर्दैन। तर एउटा कुरा भने टुटेको छ— महिलालाई चुप लाग्न बाध्य बनाउने डर।
म यो लेख कुनै वीरताको कथा बनाउन लेखिरहेकी छैन। म न त नायिका हुँ, न त क्रान्तिकारी। म त केवल मंसिरमा बिहे गरेर गाउँ पुगेकी एक महिला हुँ— जसले छाउगोठमा बिताएको त्यो रातपछि आफ्नो मौनतालाई स्वीकार गर्न सकिनँ।
यदि मेरो भोगाइले कुनै एउटा घरमा कुनै एउटी महिलालाई चार दिन एक्लै बस्नबाट जोगायो भने त्यो नै पर्याप्त छ। किनकि परिवर्तन सधैँ नारा लगाएर सुरु हुँदैन। कहिलेकाहीँ एक महिलाले ‘अब म सहन्नँ’ भनेपछि सुरु हुन्छ।