मलाई सबभन्दा मन नपर्ने कुरा,
पूर्णविराम हो
किनभने,
मेरा बा ले स्कुलको फि: तिर्न नसक्दा
मेरो पढाइमा पूर्णविराम लागेको थियो।
पढाइ छोडेर हली बनेको रिसमा मैले
गोरुको ढाडमा,
कतिवटा पूर्णविराम चिन्ह कोरें होला ?
आफैं लड्यो भन्ने बहाना गरेर
कतिचोटि रित्तो खुत्रुके फोरें होला ?
पूर्णविराम चिन्हको दुखाइ र पीडा
कि त ती गोरुहरूलाई थाहा छ,
कि त मलाई ।
हरेक खुसी र अवसरहरूको अघिल्तिर
टुप्लुक्क आइपुग्ने पूर्णविराम
अभावहरूको अगाडि कहिल्यै आएन।
त्यसैले मलाई पूर्णविराम कहिल्यै मन परेन
तर,
मेरो पढाइ र अवसरहरू छेक्ने पूर्णविरामले
मलाई आन्दोलनमा जान भने छेकेन
देशमा आमूल परिवर्तन गर्न,
गणतन्त्र ल्याउन भनेर
जनआन्दोलनमा होमिएको म,
मेरो ढाडमा पुलिसले
अनगिन्ती पूर्णविराम चिन्हहरू कोरिदियो
नलिखुट्टो नै फोरिदियो
अनि पो थाहा पाएँ,
पुलिसहरूले त लठ्ठी हैन
पूर्णविराम चिन्ह बोक्दा रहेछन्
कसैको सहयोग नपाएर
प्रमाण जुटाउन नसकेकाहरूको जिन्दगीमा
त्यो लठ्ठी, जिन्दगीको पूर्णविराम चिन्ह बनेर
कतिचोटि बज्रियो होला ?
एउटा खुट्टो कमजोर भएपछि,
पूर्णविराम चिन्ह टेकेर मात्र हिँड्नुपर्ने भएपछि,
आजकल मलाई
पूर्णविराम चिन्ह एकदमै मन पर्न थालेको छ
हरेक रात,
मेरो ओछ्यानछेउमा पर्खेर बस्ने त्यो लौरो,
कतै मेरो जिन्दगीको
पूर्णविराम चिन्ह बनेर त आएको हैन ?