कविता
स्वर्गैको पथमा अडीग बटुवा खोज्दैछु मुक्ति भनी,
मेक्षार्थी मनमा अठोट महता गर्दैछु भक्ति गुनी।
जाँदैछौ कुन मार्ग त्यो पथमहाँ के हो तिम्रो साधना ?
लाँदैछौ गहना असीम करूणा बाबा तिमी छौ कहाँ ??(१)??
झुक्यायौ अब त भेटिन्छौ कहिले बाबा तिमी लौ अहो !
छक्यायौ कसरी बिहान त्यसरी गयौ तिमी लौ अहो !
गीताको महिमा बुझेर अहिले हामी सबै सन्तति
गर्दैछौं अहिले अमोघ जपना सम्झी तिमी झल्झली ।।(२)।।
तिम्रा ती सपना कठोर जपना जान्ने जत्ति छौं यहाँ
गीता ज्ञान महानता अनि कथा सुन्ने जत्ति छौं यहाँ।
तिम्रो दिव्य सुगम्य मोक्षपदको गर्छौं सबै कामना
मुक्तिको पथमा कदापि अहिले रोकिन्नँ है साधना ।।(३)।।
गीताको रसमा डुबेर तिमीले बुझ्यौ जत्ति जे कुरा
भक्तिको लयमा झुमेर अनि त पायौ जत्ति जे कुरा ।
तिम्रो दिव्य सुरम्य जीवनकथा बित्यो जसै यो घडी
गीताज्ञान र भक्तिको सहजता मिल्ने भयो त्यै घडी ।।(४)।।
भक्ति, ज्ञान र ध्यान, सांख्यरसको थियौ तिमी नै धनी
माया, प्रेम, दया, क्षमा र ममता तिम्रै मिल्यो जे जत्ति।
पितृको ऋण त्यो म तिर्ने क्षमता राख्नेछु साँच्चै कत्ति ?
आशा यै म लिएर बस्छु अहिले गर्नेछु सक्ने जत्ति ।।(५)।।
तिम्रो जीवनमार्गको विषयमा जे छन् सबै प्रष्ट छन्
खुला त्यो अनि मुक्त जीवनकथा पुस्तकसरी प्रष्ट छन् ।
लुकेन कहिल्यै कुनै पनि कुरा जे हो तिमी भन्दथ्यौ
आफ्नो त्यो मनमा जे उठ्थ्यो जहिल्यै त्यही तिमी गर्दथ्यौ ।।(६)।।
डाक्टरको रूपमा जत्ति पनि गरें सक्थें जत्ति त्यै गरें
पुत्रैको रूपमा जसो पनि भएँ आफ्नै पिताकै भएँ।
आजैको दिनमा नराखी मनमा गर्छु यही घोषणा
बाबाको सपना रहोस् यो मनमा हर्दम् यही प्रार्थना ।।(७)।।