म होसमा आउँदा कुनै अस्पतालको एउटा बेडमा थिएँ। मेरो अगाडि भएकी सिस्टरले म होसमा आएको देखेपछि खुशी हुँदै डाक्टरलाई बोलाएर ल्याइन्। मैले उहाँलाई सोधेँ, ‘डाक्टर साहेब म कहाँ छु?’
‘तपाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको एउटा बेडमा हुनुहुन्छ।’
‘सर, म कसरी यहाँ आइपुगेँ?’
उहाँले फेरि मलाई जवाफ दिनु भएन।
‘तपार्ईलाई लिएर आउने मान्छेलाई म यता पठाइदिन्छु, उहाँसँगै सोध्नु होला। बरु अहिले भन्नुहोस्, तपार्ईलाई कस्तो छ?’
‘सर, मलाई अरु सबै ठिक छ, मात्र अलिकती सास फेर्न गाह्रो भइरहेको छ।’
‘ल ठिक छ, तपार्ईलाई सञ्चो भइसकेको छ।’
सिस्टरलाई केही औषधि खुवाउन अनुरोध गर्दै बाहिरिनु भयो।
मेरो अगाडि सिस्टर आएर बसिन्। पिपिईले छोपेको पूरै शरीर, मैले पनि पूरै निहाल्न पाइन। तर मैले उनलाई साधेँ, ‘म हिजोदेखि यतै छु है?’
‘होइन, तपाई सात दिनदेखि अचेत अवस्थामा यही बेडमा हुनुहुन्छ।’
मलाई अच्चम्म लाग्यो, सात दिनदेखि यतै! सायद, म मरेर बाँचेको छु। मेरो मनमा मलाई यहाँ कसले लिएर आयो होला? पक्कै पनि म त्यही बसन्तपुर डबली छेउछाउबाट नै ल्याइएको हुनुपर्छ।
केही बेरपछि एक जना कालो वर्ण भएको मान्छे त्यो आइसोलेसन वार्डको सिसा नजिक आएर उभियो। मेरो अगाडि उभिएकी सिस्टर पनि त्यतैतिर फर्किइन् अनि खुसी हुँदै भनिन्- ‘दाई, उहाँको होस आयो नि।’
‘हो र? थ्यांक्स गड!’
अब मलाई चिन्न सजिलो भइसकेको थियो। उनै मलाई लिएर आउने मान्छे हुनुपर्छ।
‘भाइ तपाईलाई कस्तो छ?’ सिसाबाट सानो आवज मेरो कानमा आएर ठोक्कियो।
‘हजुर म अहिले ठिक छु।’
‘अनि, तपाईले नै मलाई लिएर आउनु भएको हो?’
‘हो भाई, हामीहरुले नै लिएर आएको हौं।’
‘हामीहरु भन्नाले को-को भन्न खोज्नु भएको हो?’
‘हामीहरु भनेको म मात्र नभएर हाम्रो एउटा संस्था भन्न खोजेको हो।’
‘त्यो कुन संस्था हो? अनि तपाईहरुले मलाई कहाँ भेटाएर लिएर आउनु भयो, भन्नुहोस् न?’
‘तपाईलाई वसन्तपुरको मन्दिर पेटीबाट प्रहरीसँग हामी पनि गएर यहाँ लिएर आएका हौँ। सरकारले तपार्ईलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। बाँकी कुरा हामीले व्यवस्था गर्दै छौँ।’
‘त्यसो भए मेरो झोला र अन्य सामान त्यही हुँदो हो?’
‘हामीले केही पनि सामान भेटाएनौँ।’
मलाई सामान सोध्नुको कारण मेरो घर भनेपनि, सम्पत्ति भनेपनि आफ्नो पराई जे भनेपनि त्यही पोको थियो। जुन पोकोसँगै मरो सारा संसार जोडिएको छ। म पाँच वर्षको हुँदा आमा र म त्यही मन्दिरको पेटीमा सुतेका थियौँ तर बिहान उठ्ने बेला म मात्र उठेँ, आमा सदाको लागि त्यहीँ निदाउनु भएछ।
उहाँले राति मेरो औँलामा आफ्नो सानो सुनको औँठी लगाइदिएर सदाको लागि जानु भएछ। मैले त्यो औँठी बिगत आठ वर्षदेखि आमा सम्झेर सँगाली राखेँ। भोकले निदाउन नसकी कति रात काटेँ हुँला तर त्यो औँठीलाई बेच्न सकिन। म जहाँ भएपनि जुन औकात र हैसियतमा भएपनि मेरो जीवनमा आमाको न्यास्रो त्यही औँठीले मेटाउँथ्यो।
मेरो एकाग्रतालाई भंग गर्दै आवाज आयो- 'बरु हामी जान्न चाहान्छौं। तपाईको घर कता हो? कति वर्षको हुनुभयो?’
‘त्यही वसन्तपुरमा हो। अहिले म १३ वर्षको भएँ’
‘अनि घरपरिवारमा कोही छैनन्।’
‘आमा बित्नु भएदेखि मेरा चार/पाँच जना साथीहरु थिए। म बिरामी परेको देखेपछि छोडेर कता पो गए।’
‘ए, तपाईको आफ्नै घर छैन भनेको? बस्ने घर के।’
‘घर त मेरो छैन। घर हुनेहरु घरमै बस्छन् तर म र मेरा साथीहरुको वसन्तपुर दरबार क्षेत्र आफ्नै हो। हामी त्यही बस्छौँ। त्यहीँ खेल्छौँ।’
उहाँ फिस्स हाँस्नु भयो। केही बोल्नु भएन।
मैले नै फेरि प्रश्न गरेँ, ‘साँच्चै मलाई के भएको रहेछ?’
‘तपाईलाई कोरोना भाइरस संक्रमण भएको रहेछ। तर अब तपाईलाई सन्चो हुन थालिसकेको छ।’
‘ए, हो र? मैले केही बोलिन। मलाई त्यसको बारेमा धेरै केही थाहा थिएन।’
त्यति भलाकुसारी पछि उहाँ पनि बिदा भएर बाहिरिनु भयो। म भने त्यो अस्पतालको शैयामा अनेक-अनेक कुरा खेलाउँदै पल्टिइरहेँ। मेरो जीवन रक्षा गर्ने त्यो संस्था, ज्यानको प्रवाह नगर्ने पुलिस प्रशासन, नर्स-डाक्टर सबैलाई धन्यवाद।
हुन त मान्छेको मन जब साधारण मनभन्दा माथि उठ्छ तब उसमा केही मानवताको भावना जागृत हुन्छ। त्यतिबेला उसले निस्वार्थ भावले सहयोग गर्न थाल्दछ। अनि त्यो सेवाको लागि कुनै शुल्क लिदैन र शुल्कको आश पनि राख्दैन।
हो, हामीले भन्ने गरेका महामानव र भगवान् पनि तिनै हुन जसले कम समय आफ्नो लागि र धरै समय अरुको लागि खर्चे। त्यस्ता भगवान रुपी मानवलाई म बस्ने वसन्तपुरको कालभैरवको मूर्तिमा पुजा गर्न बिहान-बिहान आउन फुर्सद हुँदैन। धर्म गर्न खोज्ने तर तरिका नजान्नेहरुको भीड त्यहाँ थेगी नसक्नु हुन्छ।
दिनभर त्यही अस्पतालको बेडमा पल्टिएर रहन्थेँ। सुनसान कोठा कोही छैन बोल्ने मान्छे। कता गए होलान् मेरा साथिहरु? के गर्दै होलान्? खुल्ला आकास मुनि आनन्दले घुमिरहेका होलान्। मलाई किन यसरी थुनेर राखेका होलान्? मनमा यो कुरा खेलीरहन्थ्यो।
खानेकुरा भने वसन्तपुरमा जस्तो मागेर खानु पर्ने अवस्था छैन। पटक-पटक खानेकुरा आउँछ, खाइदिनु मात्र पर्यो। त्यहाँ मात्र गाँजा, चुरोट, रक्सी तथा अन्य मद्यपान तथा धुम्रपानको कमी छ।
पटक-पटक फोन आउँछ र सोध्छन, ‘तपाईलाई कस्तो छ?’ मलाई कस्तो छ भनेर सोध्ने अनि अस्पतालमा मेरो अगाडि बसेर मेरै स्वास्थ्य लाभको कामना गरिरहने नर्स तिर हेरिरहन्थें। के त्यो सेवा उनीहरुले पाउने सामान्य पारिश्रमिकमा बिक्री हुनसक्छ र? अहँ सक्दैन। पैसाको लागि डिउटी गर्नेहरुले सेवा गर्न सक्दैनन्। सेवा र जागिर फरक कुरा हो।
सबै ठाउँमा प्रयोग भएको पैसाको अर्थ हुँदैन। रमाइलोमा मान्छे लाखौँ पैसा खर्च गर्न तयार हुन्छन् तर बिरामी वा दुःख पर्दा भएको खर्च उसलाई व्यर्थको लाग्छ। डान्सबारमा नाच्ने नतर्किलाई बियर र हुस्किको मातमा मात्तिदै पैसाको वर्षा गर्छन्तर मानौं उसले आफ्नो मूल्य जति भने पनि किन्न तयार हुन्छन्।
तर त्यही कुकृतिको कारण बिरामी परेर अस्पतालमा बस्दा हरपल उसलाई निको पार्न तयार रहने नर्सको हात र डाक्टरको विद्वतालाई निको भइसकेपछि भनेर नसकिने ‘धन्यावाद’ पनि दिएर आउन चाहाँदैनन्। जो नर्स यहाँ अस्पतालमा दिनरात बिताइरहेकी छन्। तिनीहरु सयौं चोटी बिरामीको दुःखाईसँगै आफूलाई पनि दुखाउँछन्।
उनीहरुको दर्दनाक छटपटावटसँगै आफ्नो मनलाई पनि सित्तैमा पटक-पटक छट्पटाउन विवश हुन्छन्। यदि बिरामीको सिघ्र स्वास्थ्यलाभको सबैभन्दा धेरै कामना गर्ने कोही हुन्छ भने त्यो हो नर्स। उसकै कृपाले बिरामी निको भएर जान्छ तर नर्स भने त्यसैगरी अर्का बिरामीको सेवा गरिरहेकी हुन्छिन्।
धेरै दिन यस्तै कुरा मनमा खेलाउँदै बसेँ। डाक्टर तथा नर्सले मलाई धेरै सम्झाउनु भयो। अब नयाँ जीवन सुरु गर्न आग्रह गर्नुभयो। सडकको बास छोड्न आग्रह गर्नुभयो अनि कुलतबाट पनि यहीँबाट मुक्त भएर जान आग्रह गर्नुभयो। मलाई पनि लाग्यो, अब यहाँबाट गएपछि नयाँ जीवन सुरु गर्छु।
होसमा आएपछि संस्थाको दार्इ लगभग सधैँजसो मलाई भेट्न आउनुहुन्थ्यो।
मैले एक दिन सोधेँ ‘मेरो लागि कति खर्च भयो?’
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘सर्वप्रथम पैसाभन्दा पनि तिमी निको भयो। त्यसै माथि सरकारले निशुल्क उपचार गरिरहेको छ। तर अब हामी तिमीलाई नयाँ जिन्दगी जिउन सिकाउँछौँ।’
म मौन बसिरहेँ।
‘भाइ, आजसम्म तिमी अस्पतालको बेडमा अचेत पल्टिरहँदा तिम्रो नाम लिएर न कोही भेट्न आए न कसैले फोन गर्यो। त्यसैले म सहजै अनुमान गर्न सक्छु तिमीभित्र धेरै पीडा छ। तिम्रो जस्तै मुटुभरी घाउ भएका हजारौं मान्छे सघर्ष गर्दै बाँचिरहेका छन्।
हेर, यदि त्यो फूल कमलको हो भने त्यसले काँडाको बीचमा फुल्न सक्नुपर्छ नत्र त्यो कमल हुन सक्दैन। त्यसैले अब हिजोको जिन्दगीलाई बिर्सिदेऊ। नयाँ जीवन बाँच्ने तयारी गर। हाम्रो संस्थाले गरेको लगानी त्यतीबेला सार्थक हुनेछ जतिबेला तिमी सामान्य जिवन बाँचेको हुनेछौ।
मैले मौन भएर सोचेँ 'जीवन त अरुको लागि पो बाँच्नु पर्ने रहेछ, आफ्नो लागि त बाँच्नु र मर्नुमा कुनै अन्तर छैन।'
अब मलाई डिस्चार्ज गर्ने दिन पनि आउँदै थियो। चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको व्यवस्था मिलाइयो। मलाई त त्यो टेकुको अस्पताल वार्ड नै प्यारो लागिरहेको थियो। किनकी त्यहाँ न पुलिसको कुटाई, नगर प्रहरीको लखेटाई, हावाहुरी, वर्षाको डर, बेलुका-बिहान न के खाने भन्ने चिन्ता न माघमासको चिसो, न चैतमासको गर्मी झेल्नु पर्ने।
आज त्यो संस्थाको तर्फबाट पनि एक जना अर्को मान्छे आउनु भएको थियो। त्यो दिन मैले अस्पतालका डाक्टर अनि मेरो सेवामा खटिने नर्सलाई अँगालो हालेर रुन मन थियो। के-के कुरा भन्न मन थियो। तर उहाँहरुलाई हेरेर आँखा मात्र रसाए।
शिर ठाडो पारेर बोल्न सकिन। मलाई लागाइरहेको थियो, मेरा झुत्रे कपडा, मेरो सडक बालबालिकाको बिल्ला अनि न शिक्षा न सुसंस्कृति कसरी बोल्न सक्छु। उहाँहरुलाई लाग्यो होला, केही नबोली धन्यावादसम्म नभनेर गयो। तर यस्तो क्षण पनि आउँदो रहेछ जहाँ धेरै कुरा भन्नुपर्ने हुन्छ तर केही भन्न सकिन्न।
अस्पतालको साँघुरो कम्पाउन्डमा धेरै जना मान्छेहरु जम्मा भएका रहेछन्। म बाहिर निस्किदा सबैका अनुहार खुशी देखिन्थे। म नेपालको अन्तिम कोरोना भाइरस संक्रमित रहेछु। आजबाट नेपालमा कोरोना संक्रमित छैनन् रे। सायद, यो कुराले सबै हर्षित थिए होला। सबैले मलाई बधाई दिए। मैले त्यो क्षण, समाज र देशले माया गरे जस्तो लाग्यो।
देशको खुशी म जस्तो सडक बालबालिकासँग पनि जोडिदो रहेछ। देशको प्रगति, उन्नति र हालत देशबासीको अवस्थाले निर्धारण गर्ने रहेछ।
रात परेपछि आफै बल्ने सोलार बत्ती एक-एक गरी बल्न थालेपछि, सबैलाई हात हल्लाउँदै म त्यो संस्थाको दाइसँगै गाडीमा चढेर अस्पतालबाट बाहिरिएँ।
हिजो फरक तरिकाले बेग्लै संसारमा बिताएका दिनहरुको याद आयो। सोचेँ, अब त्यो टेम्पलमा पुगेर साथीहरुलाई भन्ने छु ‘हामीले अब हाम्रो बाटो परिवर्तन गर्नुपर्छ। विद्यालयमा पढ्न जान थाल्नु पर्छ। आफ्नो भविष्य, समाज तथा राष्ट्र निर्माणमा पाइला चाल्नुपर्छ।'
बसन्तपुर, पाटन, पशुपति, स्वयम्भू, कलंकी, चावहिल तथा चोक-चोकका सडक बालबालिका सबै जम्मा पार्छु। अनि सिंहदरबार पुगेर भन्नेछौँ- ‘हामी हाम्रो खेर गएको जिवन, जवानी र साहस देश निर्माणमा लगाउन चाहान्छौँ। जस्तोसुकै कठिनभन्दा कठिन काम पनि हामी गर्न तयार छौँ।
लिपुलेख र सुस्तामा पुर्खाको रगतले कोरिएका सिमा रेखा मेटिन थालेकोले फेरि एक चोटी ताजा रगतले कोर्न तयार छौँ। यो सडक, यो गल्ली, यो माटोले हामीलाई बाँच्न सिकायो, हाँस्न सिकायो। अब यो माटोलाई फुलाउने, फलाउने अनि रक्षा गर्ने जिम्मा हाम्रो हुनेछ।
यति कुरा नसोच्दै गाडी गएर एउटा घरमा रोकियो। एकान्तमा रहेको घर शान्त थियो। हामी दुवै जना घर भित्र छिर्यौँ। प्रतिक्षा कक्षमा एउटा टिभि बजिरहेको थियो- पूर्वको तप्लेजुङबाट पश्चिम हुम्लासम्म रञ्जुमार्गको यात्रा गर्ने पर्यटकको घुइचोले गर्दा टिकेट पाउन मुस्किल।
मैले एकचोटी आँखा मिचेँ अनि कान पनि सफ पार्दै फेरि हेरें। मध्यपहाडी रेलमार्गको कारण पहाडका मान्छे सम्पन्नशाली बन्दै, के भन्दै छ यो। मैले बुझेअनुसार हाम्रो देश यस्तो विकसित छ जस्तो लाग्दैन थियो।
जुरुक्क उठेर नजिक रहेकी एउटा दिदीलाई सोधेँ, ‘दिदी, टिभिमा के आइरहेको छ?’
त्यो दिदिले पनि उत्सुक हुँदै, मलाई नै प्रश्न गर्नु भयो, ‘कता?’
मैले टिभि देखाउँदै भने, ‘उता, त्यो टिभिले के भनिरहेको छ भनेको?’
‘समाचार आइरहेको देख्नु भएन भाइ’ भन्दै उहाँ हाँस्न थाल्नुभयो।
तर म फेरि पनि अलमल्लमा परेँ।
‘यस्तो पनि कहीँ समाचार हुन्छ?’
‘भाइ, तपाई कुन दुनियाँमा हुनुहुन्छ। के तपार्ईलाई यो टेलिभिजनमा आइरहेको समाचार सत्य लागेन?’
‘अहँ लागेन, पत्याउने कुरो गरे पो सत्य लाग्नु। यस्तो हावा समाचार पनि कसरी सत्य लागोस्?’
‘भाइ, तपाई बितेको एक महिना कता हुनुहुन्थ्यो।’
‘म अस्पतालको वेडमा अचेत अवस्थामा थिएँ।’
ए, त्यसो भए तपार्ईलाई थाहा नभएको हुनुपर्छ। यो सबै समाचार सत्य हो। नेपाल आइसल्यान्ड, न्यूजल्याण्ड, स्वीजरल्याण्ड होइन प्याराडाइजल्याण्ड बनिसकेको छ। हजारौं वर्षदेखि नेपालीले देखेका सपना पूरा भइसकेका छन्।
भोकमरी, गरिबी अनि अशिक्षा र बेरोजगारीपनमा जकडिएको नेपाल आज ती सबै पिडाहरुलाई एका देशको कथा जस्तै ठान्दछ। दोस्रो विश्वयुद्धमा जसरी सैनिकहरुले एकै हप्तामा सैयौं पुल बनाएका थिए। त्यस्तै एक महिनामा नै नेपालको मुहार पूरै फेरियो। हिमाली रञ्जुमार्गको कुरा पनि सत्य हो।
अनि पहाडी रेलमार्ग को कुरा पनि सत्य हो। तिनीहरु त उदाहण मात्र हुन्। देशभरी जनताको घरघरमा गाडी पुगिसकेको छन्। कर्णालीका ती विकट वस्ती हुन् वा सुदूरपश्चिमका विकट वस्ती, सबै ठाँउमा सबै खाले सुविधा पुगिसकेका छन्। काठमाडौँका साँघुरा सडकले लन्डन र पेरिसको सडकामा देखिने फराकिलोपनलाई उछिनीसकेको छ।
अनि सडकको चिप्लोपनले सम्भ्रान्त घरमा बिछ्याइएको स्लेट र मार्वललाई गिज्याइरहेको छ। वागमती र बिष्णुमतीमा बग्ने पानीको निश्चलताले ढोरपाटन र मालिकामा बग्ने पानीसँग सामिप्यता राख्द छ। विज्ञानको चमत्कारले सहर बजार हुँदै पूरै गाउँलाई ढपक्क ढाकेको छ। अहिले नेपाली हिँडनेको साँटो गुड्ने अनि गुड्नेको साँटो उड्ने धेरै भइसकेका छन्। सबै प्रदेशले आफ्नो प्रदेशको विकास द्रुत गतिमा गरेर देखाएका छन्।
मलाई कथा सुने जस्तै लागिरहेको थियो। म अगाडिको सोफामा बसेर सबै कुरा सुन्दै थिएँ। उहाँले थप्दै जानुभयो- भ्रष्टचारी र घुसखोरीको जरा उखेलिएको छ। जनताले हरेक काम सरल र सहज तरिकाले गर्न सक्छन्। यो आकस्मिक भएको परिवर्तनले सारा मान्छे अच्चम्मित भएका छन्।
हुन त अहिलेसम्म देशले यस्तो नेतृत्व पाएको थिएन। स्पष्ट दिशाबोध भएको व्यक्ति पाएको थिएन। तर आज असल नेतृत्वको कारण हिजो विरताको माला पैरिने नेपालीले आफ्नै देश बनाएर छोडेका छन्। संसार आज हाम्रो प्रगती देखेर मुर्छित परेको छ। हिजोसम्म पश्चिमी देशको देखासिको गर्ने विश्व आज नेपाल र नेपालीको सिको गर्न थालेका छन्।
विदेशमा रहेका हाम्रा सबै दाजुभाई स्वदेश फर्किएका छन्। आफ्नै गाउँमा सरकारले दिएको सस्तो ऋणबाट व्यवसाय गरी बसेका छन्।
म सोफमा ध्यान मग्न भएकै थिएँ, किनकी अझ पनि मलाई असत्य जस्तै नै लागिरहेको थियो। उता टिभि पनि त्यस्तै अपत्यरीला समचार दिइरहेको थियो।
माथिल्लो तलाबाट मसँगै आउनु भएको दाइ तल झर्नु भयो र मलाई माथि आउनु भन्नु भयो। झुत्रे झात्रे कपडा, झुम्म परेका कपाल सबै गायब थिए।
म पनि माथि गएँ।
माथिल्लो तलामा मरो स्वागत गर्न भोजको आयोजना गरिएको रहेछ। म छक्क परेँ। मेरा आँखा अन्यौलमा परे। मेरा सबै साथी त्यही थिए। सबैको रुपरंग फेरिएको रहेछ। चिन्नै गाह्रो भयो।
त्यो संस्थाको दाइले छोटोमा आफ्नो भनाइ राख्नु भयो, ‘अब तपाईहरु कसैले पनि सडकमा बस्न र सुत्नु पर्दैन। देशमा भएको जादुमय परिवर्तनले हामीले वर्षौंदेखि प्रतिक्षा गरेको स्वर्ण यूग प्रत्येक्ष रुपमा भोग्न र अनुभूत गर्न पाएका छौँ।
बाँकी चमत्कारहरु तपाईहरुले आफै निहाल्न पाइरहनु भएकै छ। अहिलेलाई तपाईहरुको लागि यो घर हाम्रो संस्थाले उपलब्ध गराएको हो। साथै सबैलाई स्कूल पढ्ने व्यवस्था पनि गरिएको छ। यहीँ बसेर अब तपाईहरु आफ्नो नयाँ जीवनको सुरुआत गर्न सक्नु हुनेछ। धन्यवाद।’
जीवन रोडबाट घरमा आइपुगेकोले खुशी लाग्यो। नयाँ तरिकाले भविष्य कोर्ने अठोट अँझ बढेर गयो तर के-के परिर्वतन भए छ त? त्यो रात्री प्रहरको सुनसान जुनले राज्य गरेको ताराहरुको आकाश तिर हेरेर सोच्दै थिएँ। नजिकै आएर एउटा साथिले भन्यो, ‘ओइ, ल यो तेरो औँठी अरु सामान सबै फलिदियौँ। यो औठी मात्र त्यहाँबाट लिएर आएको।’
म निशब्द भएँ। सत्य र माया कहिलै मर्दो रहेनछ।