कविता
दिनमा फूल मन पर्दैन भन्छ उ
रातमा जून मन पर्दैन भन्छ उ
शान्त र निलो आकाश
अनि आकाश माथि पौडिएका
सेता कपासे बादल
बादल बन्न मन पर्दैन भन्छ उ।
खै किन हो हिजोआज
आकाश लगायतका सबै-सबै
खुल्ला चिजलाई औधि घृणा गर्छ उ।।
हे हवाईजहाज तिमीलाई त्यो आकाश सुहाउन्न
भो ती चरीहरुलाई नै फिर्ता देउ भन्ने उ।
चराको चिरविर आवाज
कानैमा टाँसि हिड्ने उ
हरियो मकैमा हरियो नै सुगा सुहाउँछ भन्दै
सुगासँगै लुकामारी खेली हिड्ने उ
खै किन हो हिजोआज
उडिहिड्ने चङ्गा लगायतका
सबै-सबै उड्ने चिजलाई औधि घृणा गर्छ उ।।
फेवातालमा तैरिएर हाँसेका हिमालका छाँया
छाँयाहरुसँगै प्रिति गाँस्ने उ।
मछापुच्छ्रेदेखि नअघाएर
फोक्सुन्डौ पुगि अन्नपूर्णलाई अंकमाल गर्ने उ
खै किन हो हिजोआज
आफ्नै छाँया लगायतका
सबै-सबै छाँया जस्तै आकृतिहरुलाई औधि घृणा गर्छ उ।।
भँवरा फूलमा झुम्मिदा भँवरै बन्ने उ
एकान्तमा मयूरसँगै ताल मिलाउने उ
आज आफ्नै घरपालुवा कुकुरसँग पनि डहाडिन्छ
खै किन हो हिजोआज
पशुपंक्षी लगायतका
सबै-सबै स्वतन्त्र जीवहरुलाई औधि घृणा गर्छ उ।
खै किन हो हिजोआज
स्वतन्त्रता, स्वाधिनता, स्वेच्छा, सार्वभौमता लगायतका
सबै-सबै स्वतन्त्र शब्दहरुलाई औधि घृणा गर्छ उ।।
(लेखक कृषि विकास बैँक लिमिटेड, कृषि तथा एसएमई विभाग काठमान्डौँमा कार्यरत छन्।)