कविता
धन्य हो त्यो बतास
जसले ती शिखरहरू स्पर्श गरी
अघि बढ्ने अवसर पाएको छ,
जुन मेरा निम्ति दुर्गम हुँदै गइराखेका छन्
निकट भएर पनि अनन्त दूरी
अभावले प्रभाव देखाइरहेछ,
तथापि मानसरोवरको पावन ताजगी
मेरा अगण्य हृदयरन्ध्र हुँदै
भित्र प्रवेश गरिरहेछ
र उसको शीतलता
अनि दिव्य स्पर्शको धीतमार अनुभूति
मलाई यहीं बसेर भइरहेछ
उसलाई थाहा छ
सुदूर मानसखण्डमा उठेका स्वरहरु
पहरामा ठोकिने छन्
र सदाझैं प्रतिध्वनित हुनेछन्
केवल प्रतिध्वनित भएर
वातावरणमा बिलाएर जानेछन्
उसलाई थाहा छ
यो धुनीको राप त्यहाँ पुग्ने वाला छैन
किनकि आजसम्म कहिल्यै पुगेको छैन
सायद त्यसैले होला
ऊ निश्चिन्त देखिएको छ
मेरो अस्तित्वको भस्मबाट
चिर यौवन पाएको छ उसले
सौन्दर्य झनझन प्रगाढ हुँदै गएको छ उसको ।
कुहिरोलाई पुछेर स्थापित भएको,
स्वर्णिम, नृत्यमयी, कोमल
प्रभाती किरणहरूको मेलामा,
कुनै पनि उत्तप्त स्पर्शबाट मुक्त रही,
कलात्मक, मोहक, समुत्रत दुग्धशिखरहरू झल्काउन
त्यसैले त ऊ उत्सुक देखिएको छ,
आत्मप्रेरित भएको छ,
र केही हदसम्म सफल भएको छ।
उसले सोचेको होला
कि मैले ती शिखरहरू अब चुम्न सक्दिनँ
उसले सोचेको होला
मेरा कमजोर पाइलाहरू
ती दुर्गम शिखरतर्फ
अब बढ्ने छैनन्
किनकी आजसम्म कहिल्यै बढेका छैनन्
निर्मल सलिलाको कौमार्य उसको कब्जामा छ
श्वेत बादलका चित्रहरू उसको नियन्त्रणमा छन्
हुन पनि म सुदूर बिन्दुमा उभिएर
एक टुक्रा हिउँ सम्झिन्छु
उसले मलाई जिस्काएका बखत
यो हिउँ मेरो हो भन्छु
त्यसैमा रमाउँछु
म बालक्रीडामा मस्त
ऊ मलाई नामेट पार्नमा व्यस्त
मैले छोएको पनि छैन त्यो हिउँ
मैले छुन आवश्यकसम्म ठानेको छैन
मेरा दिनचर्याहरू कुनै कविता जस्तै
यथार्थ कम
र काल्पनिकता बढी हुँदै गएका छन्
ऊ दशकौंदेखि
त्यही हिउँको तन्ना ओढ्दै आएको छ
उसले साँझ विहान
त्यही हिउँ खाएको छ
सायद त्यसैले उसले सोचेको होला
यो उसको विरासत हो
तर उसले बुझेको छैन
र उसले बुझ्नु जरूरी छ कि
आगो ताप्दैमा आगो कसैको आफ्नो हुँदैन
आगोको फूलमाला पहिरिने चेष्टामा
सर्वांङ्ग जल्नेछ ऊ एक दिन ।
उसले सोचेको होला
मेरो मौनता नै मेरो प्रतिकार हो
मेरो निरीहता नै मेरो परिचय हो
तर उसले बुझेको छैन
र उसले बुझ्नु जरूरी छ
कि मेरो स्वाभिमान हिउँजस्तो चिसो पनि छैन
यो शिखरप्रतिको मेरो समर्पण
बादलजस्तो टुक्रिएको पनि छैन ।
मेरो आशय यति मात्र हो कि
कालोपानी रातो पारिनु हुन्न
म चाहन्छु
कि मेरो सदाशयतालाई कमजोरी ठान्ने भूल
उसले गर्ने छैन ।