‘कहाँ छौ? तिमी कहाँ छौ?’, उसले सोध्छ।
‘अबको १ घण्टामा एयरपोर्टमा ल्याण्ड हुन्छ।
उताबाट आवाज आउँछ – म लिन आउँछु
पर्दैन म ट्याक्सी लिएर आउँछु-मैले भनें।
किन म चढेको गाडीमा पनि नचढ्ने हो? केही जवाफ पाएन उसले सायद बुझ्यो होला भाव त्यसैले केही भनेन।
एकछिनमा नोटिफिकेसनको घण्टी टिङ्टिङ् बज्यो। खोलेर हेरें। लेखिएको थियो -मोटु प्लेन उड्यो?
छैन- मैले लेखें।
‘मेरो प्लेन तिम्रो फ्लाइटको लागि जति हतारमा छ। त्यो वाला प्लेनलाई किन हतार हुन्थ्यो र मोटु मिस् यु कतिवेला भेटुँ भैराछ मोटु तिम्रो कसम।’
ऊ आज पनि मसँग उसका भावना पोखेर रित्तिन चाहन्छ। अनि म पनि उसलाई एकदिनको एकछिन भए पनि जीवनमा हर खुसी पाएको महशुस गर्न सक्थें तर पनि म उसलाई सधैं सताइदिन्थें। म उसलाई कुनै महत्व दिन्नँ र ऊ मात्र मेरो लागि पिछा गर्छ भन्ने भाव व्यक्त गरिदिन्थें।
ल्याण्ड हुने बित्तिकै मोबाइलको फ्लाइट मोड अन गरें एयरपोर्टको वाइफाइले काम गरेछ।
म्यासेजका घण्टी लगातार बजिरहेका थिए मेरो एक घण्टाको फ्लाइटमा ऊ पनि मसँगै उडेछ, मेरा लागि उडेछ, मेरो फेसबुकको म्यासेन्जर भएर उडेछ। उसले मसँगै बिना टिकट बिना भाडा यात्रा गरेछ।
एक मन त सोचें हेरूँ भने म्यासेज सीन देखाउँछ सबै पढिछ भन्ला नपढुँ भने के लेख्यो होला मनमा खुल्दुली लाइराछ के गरूँ कसो गरुँ भयो। मन दोधार भो र पनि मनले भन्छ- हेर के लेखे छ ? यत्तिकै चलाउँदा सीन देखाए होला पढेको छैन भनेस यस विषयमा कुरा भयो भने पनि। म्यासेज खोलें जहाँ उसका मात्र म्यासेज थिए।
मोटु त्यो प्लेनको तिमीनिरको सिटमा म भएको भए… ।
उडिसकेपछि कोही झ्यालबाट सुन्दर हिमाल हेरिरहेका छन्,कोही समथर तराईका फाँट हेरेका छन्। त कोही एयरफोन दुबै कानमा लगाएर बिन्दास पारामा आफूलाई मन पर्ने गीत सुनिरहेका छन्। म तिमीलाई हेरेर मुस्कुराइरहेको छु। तिमी मलाई मायाले चोरी चोरी हेरिरहेकी छौ ताकी मैले थाहा नपावस् भनेर तिमीले सधैं माया रिसमा घोलेर पठाउँछ्यौ। आज पनि ठीक त्यसै गरीरहेकी छ्यौ।
म मौन निदाएँझैं गरिदिन्छु, तिमी पनि निदाए झैं गरिदिन्छ्यौ। हामी दुवैलाई थाहा छ त्यो निदाएको होइन आँखा चिम्लिएर एक अर्कालाई महशुस गरेको हो।
म तिमीलाई सुनाएर हल्का हुन्छु तर तिमी त्यही कुरा मलाई घुर्काएर बुझाउँछ्यौ। केहीबेरमा एयरहोस्टेसले चकलेट र खाजा दिन्छिन्। तिमी हाई गरेझैं गर्दै खाजा समाउँछ्यौ र उहाँ निदाउनु भएको छ भन्दै मेरो लागि पनि राखिदिन्छ्यौ। खाजा नखाएर व्यागमा राख्छ्यौ र फेरि निदाए झैं गर्छ्यौ।
जति जति माथि त्यो नीलो आकाशमा हावामाथि प्लेन उडिरहेको हुन्छ त्यति त्यति म तिम्रा यादहरूमा उडिरहेको हुन्छु। ठीक त्यही प्लेन जसरी, जसमा म पाइलट र तिमी प्यासेन्जर हामी दुईमात्र भएको प्लेन यसरी नै उचाइमा उडिरहोस्।
प्यासेन्जरले पाइलटको विश्वास आँखा चिम्लिएर कुनै ठाँउमा शंका नगरेर एयरलाइन्सले तोकेकै भाडादरमा टिकट बुक गरेर उडान भरे जसरी। तिमी मलाई विश्वास गरेर मेरो प्लेनमा यात्रा गर भन्ने मेरो चाहनालाई बुझेर मेरा भावनामा तिम्रो प्रेमको लेप लगाउँदै यस्तै आनन्दित उडान भर्ने रहर छ।
मैले सोचिरहँदा निदाएझैं गरेकी तिम्रो टाउको मेरो काँधमा ढलक ढलक गर्दै ठोकिन पुग्छ, मेरो रक्तसञ्चार वेगले भए झैं लाग्छ।
शरीरमा जिरिंग काँडा फुले झैं भएर आउँछ मैले प्रतीक्षा गरेको पल तिमीबाट प्राप्त गर्दा मन त्यसैत्यसै प्रफुल्ल छ यो प्लेन नरोकियोस् र हाम्रो यात्रा यसरी नै भैरहोस भन्ने सोच्दै विस्तारै तिमीलाई सजिलो हुने गरी मेरो काँध नजिक सारिदिन्छु र विस्तारै तिम्रा केश रेशाहरूलाई सुम्सुम्याउँछु। तिम्रा गाजलु ठूला र कुइरा आँखा माथिबाट लगाएको गाजलले कुनै हिरोइनभन्दा कम लाग्दिनौ।
अझ भनौं मेरो लागि त तिमी जत्तिको राम्री अरु कोही छैन। प्लेन जब हल्लिन्छ मुटु चिसो हुन्छ तब तिमीले सु...वा....स.... भन्दै मलाई अङ्गालोमा बेस्सरी कसेर मेरो छातीमा लुपुक्क परेर टाँसियौ। केही हुँदैन मेरी मोटु कहिलेकाहीँ हावाको वेगले गर्दा उडिरहेको प्लेन ढल्कन्छ तर डराउनु पर्देन भन्दै तिम्रा सुनौला केशमा मेरा दुवै हातले सुम्सुम्याउँदै विस्तारै चुम्छु।
म तिमीलाई तिम्रो इगोको नखरा नदेखाएर एउटा मासुम बच्चाले आफ्नी आमासँग निर्वाध मायाको अपेक्षा र ढुक्क भए जसरी मस्त निदाइदियौ। म तिमीलाई हेरिरहें मायाले चुमिरहें।
उसको लेखेका हरेक शब्दले म उसको भावना र मप्रतिको प्रेमले आँखा रसाएछन्। यताउता हेरेको सबै गाडीबाट ओर्लिएर आ–आफ्नो गन्तव्य लागिसकेका रहेछन् गाडीमा म एक्लै रहेछु।
यत्तिकैमा उसको फोन आयो। मैले एकै घण्टीमा फोन उठाएर बोल्न नपाउँदै- मोटु कहाँ हो तिमी? म तिमीलाई गेटमा कुरिराखेछु छिटो आऊ भन्दै फोन राख्छ।
म सिटबाट जुरुक्क उठेर पाइला बढाउन थालें गेटतर्फका लागि। तर मेरा पैतालाले कहाँ टेकेका छन्? मलाई नै भाउन्न लाइराको थियो?
उसका प्रत्येक शव्द मेरो मुटुमा तीर बनेर गडेका थिए। अनि आजभन्दा पछि मैले उसलाई अब कहिल्यै भेट्न पाउने छैन। अब उप्रान्त उसले मलाई यसरी मायाका शव्द लेख्ने अधिकार रहने छैन, अनि अब फेरि उसले मलाई यसरी उसको धोको रहेको जसरी अङ्गालोमा बेरेर मायाका पुष्पगुच्छाहरू बर्साउन पाउने छैन।
ऊ तल्लो जातको अनि गरिब म कथित माथिल्लो जात भनिने वर्गीय विभेदले हाम्रो मायालाई मान्यता नदिँदा म उसलाई यही कुरा सम्झाउन अन्तिम पटक भेट्न जाँदै थिएँ र उसलाई भन्नु थियो कि हामी अबदेखि कहिल्यै यसरी भेट्न छैनौं र मलाई माया गर्ने अधिकार प्रयोग गर्न पाउने छैनौ। तर म कसरी भनुँला।
भन्दै सोच्दै गर्दा उसले मलाई मोटु आइ लभ यु, मोटु मेरी मोटु तिमीलाई भेट्न मैले यतिका समय, दिन र अवसर कुर्नु परो। मेरी मोटु आजबाट तिमीलाई मबाट कहीँ टाढा जान दिन्नँ। मेरी मोटु मलाई माफ गर… ।
सोच्दा सोच्दै बेहोस भएछु। होसमा आउँदा दुलहीको भेषमा कसैको सुहागरातको लागि सजाइएको बन्द कोठामा कैदी बनाएको थियो समयले… ।