‘जस्ट बिकज यू डुनट टेक यान इनट्रेष्ट इन पोलिटिक्स डज नट मिन पोलिटिक्स वन्ट टेक यान इन्ट्रेष्ट अन यू।’ -पेरिकल्स
चुपचाप आफ्नो कोठामा आनन्दले पल्टिरहेको मसँग आज एक्कासी पोलिटिक्सले इन्ट्रेष्ट लिएको छ। मलाई थाहा छैन मेरा उमेरका युवा के सोच्छन्, उनीहरूको विचार के छ? मलाई यो पनि थाहा छैन कि मैले सोचेका कुरा युवा सोच्छन् कि सोच्दैनन्? उनीहरूको मनमा मैले लेख्ने कुराले ठाँउ ओगट्छ कि ओगट्दैन? यो स्वतन्त्र देश भएकाले मलाई पनि केही कुरा राख्न मन लाग्यो। थाहा छ मलाई यो पढेर मेरा कुरासँग रिसाउने मान्छे पनि धेरै भेटिन्छन् अनि खुशी हुने पनि सायद भेटिएलान्।
मलाई केपी ओली समर्थक पनि भनेर भन्न सक्छन् तर त्यस्तो नठान्नु होला। म केबल सरकार समर्थक हुँ, चाहे त्यो राजाको होस्, कम्युनिष्ट होस वा कांग्रेस किन नहोस्। यो लेखलाई केबल देशको बारेमा सोच्न बसेको एउटा २४ वर्षे केटोको मनोभाव मात्र सम्झेर मेरा कुरामा राजनीति मिसाइदिनु भएन भने म हुनु पर्नेभन्दा बढी खुशी हुनेछु। मलाई लाग्छ सोचमा राजनीति हैन, राजनीतिमा सोच मिसिनुपर्छ।
भर्खर उठेर फेसबुक खोलेको थिएँ, देशमा हुँदै गरेका कुराहरूको अल्पज्ञान पाएँ। अल्पज्ञान यस अर्थमा कि मेरो दिमागमा ज्ञान भर्ने पत्रकार अनि देशका पत्रपत्रिकासँग पनि पूरा ज्ञान छ जस्तो मलाई लाग्दैन। अब यसो नभन्नुस कि मैले नेपाली पत्रकारिताको विरोध गरेँ। मानौ न, दुई जना साथीको बीच झगडा पर्यौ भने ती दुई जनालाई प्रश्न गर्दा त दुईको बोली फरक आउँछ, कतै न कतै झुट मिसिएर अनि राजनीतिको खबर गर्नै पत्रपत्रिकाले पुर्ण सत्य लेख्छन् भन्ने म मान्दिनँ, उनीहरूको गल्ती पनि होइन त्यो।
देशका कुराहरू फेसबुकमा हेर्दा हेर्दै मलाई देशको बारेमा सोच्न मन लाग्यो। अनि सोच्न थालेँ।
अब हाम्रो प्रधानमन्त्रीले के गर्छन्? हामी के गर्छौँ? के फेरि राजतन्त्र फर्कन्छ? या फेरि यो सरकार ढलेर अरूनै सत्तामा आउँछन्? हामीले हाम्रो जमीन फिर्ता पाउँछौ/पाउँदैनौ? के अन्याय भएका सबेले न्याय पाउँछन्? अब यो आन्दोलनले कस्तो असर पार्छ सरकारमा? आन्दोलनकारीलाई कारोना लाग्यो भनेँ के गर्ने? यदि अर्का चुनाव भयो भनेँ कसलाई भोट दिने या नदिने? नदिए किन नदिने? अब देशमा कस्तो परिवर्तन आउँछ? अब हाम्रो हाम्रो प्रधानमन्त्रीले के गर्छन्? हामी के गर्छौँ?
यस्तै यस्तै प्रश्नहरू दिमागमा एकाएक घुमिरहेका थिए। म खाटमा बसेर यसकै बारेमा सोचिरहेथेँ। सोचेँ, के यसको उत्तर खाटमा बसेर पाइन्छ? कि म जाउँ सबैसँग बाटोमा सरकारको बिरोध गर्न। तर यस्तो महामारीको बेलामा मलाई पनि रोग लाग्यो भनेँ अनि अरू कसैलाई सारे भनेँ?
म एकाबिहानै मेरो र सरकारको सम्बन्धको बारेमा सोचिरहेको थिएँ। मलाई मेरो सरकार र मेरो सम्बन्ध बाउ र छोराको जस्तो लाग्यो। एउटा अनौठो बाउ र एउटा अनौठो छोरो। बाउ र मेरो सम्बन्धका बारेको म गहिरिएर सोचेँ तब एउटा अचम्मको कुरा कल्पिन पुगेँ।
बाउ र म कतै एउटा स्वीमिङ्ग पुलमा रहेछौँ, मलाई पौडन मन लागिरहेका थियो। बाउ मलाई पुल एकदमै गहिरो छ नजा भनिरहेका थिए। म बाउसँग मुख मुखै लागिरहेका थिएँ भन्दै थिएँ- पौडन पाउँनु मेरो अधिकार हो। बाउ मलाई सम्झाउँदै थिए- बाबु बरू ट्यूब लिएर जा मरिन्छ भन्दै थिए। म कराइरहेको थिएँ- पर्दैन म जान्छु, मेरो अधिकार हो पौडनु, म गएरै छोड्छु। त्यती भनेर म पानीमा हामफाली दिएँ। म डुब्न लागेको देखेर मेरा बाउ पनि पानीमा हामफाले। हामी दुबैले तैरन सिक्यौँ। तैरन त सिक्यौ तर हाम्रो शरीर चलेन। बाउछोरा शान्त भएर पुलमा तैरिरहेथ्यौँ। समय हाम्रो मूर्खतामा गलल हाँसीरहेको थियो।
पुलको कल्पना बारेमा सोचेँ, त्यसले एउटा प्रश्न गर्यो। मैलै बाउलाई मारेको कि बाउले मलाई? जाबो कल्पनाको कुरो त हो नि के उत्तर दिनु भनेर त्यता तिर ध्याननै दिइनँ।
मलाई लाग्छ हामी सबै सरकारका छोराछोरी हौँ। मेरा पूर्खा सरकारका छोराछोरी थिएँ, म पनि हुँ अनि मेरा छोराछोरी पनि सरकारकै छोराछोरी हुनेछन्। यो एउटा सत्य हो र रहिरहनेछ। अहिलेको सरकार मेरै बुबा हुन्, हाम्रै बुबा हुन्। हरेक मान्छेमा केही कमजोरी हुन्छ भनेझै उनमा पनि कमजोरी छन्। खासमा हामी टुहुरा हौ हामीलाई जसले पाल्छ हामी उसैका छोरा।
यस समयसम्म आईपुग्दा हाम्रा अनेक बाउ फेरिएका छन् र सबैका अनेक चरित्र रहेका छन्। कोही राजा जस्ता थिएँ, कोही कांग्रेस जस्ता, कोही कम्युनिष्ट जस्ता। तर बाउ जस्ता कोही थिएनन्। यसमा हाम्रो पनि धेरथोर गल्ती छ, हामीलाई बाउ छान्नै आउँदैन, हामी पार्टी हेरेर बाउ छान्छौँ, गुण हेरेर होइन। दुख यो कुरामा लाग्छ कि हामीले कहिल्यै देश बनाउँन राजनीति गरेनौँ। आफ्नो सरकार बनाउँन मात्र गर्यौ।
अनि हामी पनि केबल छोराछोरी हौइनौँ, राजावादी छौँ। कोहीकोही कांग्रेस, कोही कम्युनिष्ट, कोही के कोही के। हाम्रा बाउ पनि आफ्नो कर्तब्य बिर्सैर बिकामे बाउ भएका छन्। हामी पनि आफ्नो कर्तब्य बिर्सैर बिकामे छोराछोरी भएका छौँ।
म बाउलाई सम्झाउँन सकिरहेको छैन, बाउ मलाई सम्झाउन सकिरहेका छैनन्। एकदमै रीस पनि उठ्छ घरी-घरी बाउसँग। अस्तिको कुरा हो, बाउलाई रीस उठेर जथाभावी भनिदिएँ, बाउले मलाई दुई थप्पड लगाइदिए। हामीमा एउटा नराम्रो कोल्ड वार चलिरहेको छ।
मेरा बाउ मलाई माया नगर्ने हैन, देखाउन नजान्ने हुन् अनि म पनि बाउलाई माया नगर्ने हैन, देखाउन जान्दिनँ। हामी दुबै कमजोर छौँ, राजनैतिक हिसाबले हैन नैतिक हिसाबले मात्र। आजकल मलाई डर लागिरहेको छ। घरमा कलह हुने डरले मन काँपीरहेको छ। बेलाबेला सोच्छुँ, छिमेकीले यस्तै भइ रह्यो भनेँ कुन दिन काखीमुनि हात राखेर खुचिङ्ग भन्नेछन्।
सोच्छुँ, मेरो घर बिर्गनुमा कसको गल्ती छ? भोलि छिमेकील गिज्यायो भनेँ कसलाई औल्याउनु यो गलत छ भनेर? मलाई सम्झना छ, एकपल्ट बाउसँग रीस उठेर मैले मेरो कोठाको झ्यालको सिसा फुटाएको थिएँ अनि बाउले बनाएर दुई झापड लगाएका थिए। अनि केही दिनपछि पानी परेर मेरो कोठामा त्यही झ्यालबाट पानी पस्यो। मलाई त्यती बेला मात्र ज्ञान भयो कि मैले गल्ती गरेँ भनेर। सिसा फुटाउनुको साटो मैले त्यो दिन मेरो घर सफा गरेको भए सायद मेरा बा खुशी पनि हुन्थे अनि सायद मैले भनेको कुरा पनि पो पाउँथे कि? तर अब विगतका कुरा सोचेर के फाइदा।
साँच्चै मेरो घर बिग्रेको देखेर नमिठो अनुभव हुन थालेको छ मलाई। मेरा बाउ, बाउ जस्तो गर्दैनन्। म छोरो जस्तो गर्दिन। घर बिर्गन नदिन केही न केही उपाय त लाउने बेला आएको छ। तर के गर्न सक्छु र म?
बरू यसो गर्छु म एक असल छोरो बन्छु पहिले अनि बाउलाई पनि एउटा असल बाउ बन्न कर पक्कै लाग्नेछ। बाउलाइ असल बाउ अनि आफूलाई असल छोरो बनाउनु मान्छेको कर्तब्य पनि हो नि। बाउ फेरिन्छन् भने बाउ किन फेर्नु ?
म त बाउसँग लडेर संसार हँसाउनुभन्दा बाउसँग हाँसो साट्नु बेस ठान्छु। तपाईहरूलाई के लाग्छ? तपाईहरूलाई यस्तै लाग्नु पर्छ भन्ने पनि छैन। देश स्वतन्त्र छ अनि तपाईहरू पनि।